डा.रेणुका साेलुकाे सङ्घर्ष र साहसको यात्रा ‘तुइन जिन्दगी’

डा.रेणुका साेलुकाे सङ्घर्ष र साहसको यात्रा  ‘तुइन जिन्दगी’


‘साल्पाडाँडा काटेर गुँदेल्को ओरालो झरेर खोला तरेर पारी साद्धी पुगेपछि क्यासेट प्लेयर काँधमा भिरेर मज्जाले घन्काउँन थालें। जसरी छोरा मान्छे परदेशबाट फर्किंदा घन्काउँथे, ठीक त्यसैगरी। म सोच्दै थिएँ कि छोरा मान्छे लाहुरे भएर फर्किंदा रेडियो बजेको सुनेपछि जसरी गाउँभरिका मान्छे बाटोमा निस्केर रमिता हेर्छन्, फलानाको छोरो लाहुरे भएर आएछ भनेर गुनगान गाउँदै खुशी हुन्छन्, मलाई हेरेर पनि त्यस्तै गर्नेछन्। यी दृश्य देखाएर मेरा आमाबुबालाई पनि सन्तुष्ट बनाउने हुटहुटीले उक्साइरहेको थियो मेरो मानसपटललाई।’ – लाहुरे भएर फर्किंदा

उपर्युक्त हरफहरू भरखरै बजारमा आएको डा. रेणुका सोलुकृत संस्मरणात्मक निबन्धसङ्ग्रह ‘तुइन जिन्दगी’ मा समाविष्ट प्रथम निबन्ध ‘लाहुरे भएर फर्किंदा’ बाट उधृत गरेको हुँ। लाहुरे भन्नेबितिक्कै हाम्रो समाजको मथिंगलमा स्वाभाविक रूपले कुनै पुरुष आकृति र अनुहार प्रष्ट उभिन्छ। साह्रोगाह्रो, अफ्ठ्यारो र जोखिमयुक्त काम पुरुषले मात्र गर्न सक्छन्। लाहुरे हुन जानु भनेको रणमैदानमा होमिनु हो, त्यो काम लोग्नेमान्छेको मात्र हो। घरभन्दा बाहिर निस्केर धन कमाउन देश-परदेश जाने र गाउँमा रवाफ दिने काम पनि छोरा मान्छेकै हो। यस्ता स्थापित मान्यताहरू नेपाली समाजमा अझै छँदै छन्। पुरुषले प्राप्त गरेको पद र प्रतिष्ठाको आधारमा उसकी स्त्रीले चिनिनुपर्ने थितिलाई हामीले कहिल्यै फेर्न सकेनौंl जस्तो कि- मुखियाको- मुखिनी, मालिक- मालिक्नी, सुब्बा- सुब्बेनी, हवल्दार- हवाल्दारनी, राजा- रानी, मन्त्री- मन्त्रिणी। त्यस्तै लाहुरेको- लाहुरेनी तर साहस, सङ्घर्ष र वीरताका कथा लेख्ने काम पुरुषको मात्र हो भन्ने पुरातन मान्यता भत्काएर निबन्धकार डा. सोलु, समाजमा आमुल परिवर्तनको संवाहक बन्न सफल देखिन्छिन्।

नेपाली विद्यार्थीहरूका लागि फलामे गेटको उपमा पाएको एसएलसी परीक्षामा पटकपटक फेल भएपछि ट्युसन पढ्न झापा दिदीको घर झरेकि लेखिका कपडाको व्यापारी समेत हुन भ्याउँछिन्। व्यापार भएपछि पैसा पनि कमिने नै भयो। ट्युसन पढिसकेर दशैंमा घर फर्किंदा धनकुटा, हिले, भोजपुर हुँदै पहाडी बाटो लाहुरबाट फर्केका पुरुषसरह लत्ताकपडा, चिनी, मसला, साबुन, पोते, चुरा अनि च्युराको भारी कसेर फर्किंदा गर्वानुभूत गर्छिन्। मुख्य कुरा त क्यासेट प्लेयर काँधमा बोकेर घन्काउँदै, गाउँटोल नै थर्काउँदै परदेशबाट घर फर्किंदा आफू पनि लाहुरे नै भएको महसुसले गमक्क हुन्छिन् l सम्भवतः तत्कालिन नेपाली समाजमा लाहुरेको भेषमा परदेशबाट घर फर्किने प्रथम महिला नै रेणुका सोलु हुन् कि झैं भान पार्दछ प्रस्तुत निबन्धले। मनमा आँट र कर्मप्रति तत्परता देखाउन सके छोरी पनि छोरा भन्दा कम हुँदैनन्/छैनन् भन्ने साहसिक सन्देश दिन भरपुर सफल छ यो निबन्ध।

नेपाली समाजमा एउटी नारीले हरेक कुरामा आलोचना खेप्नुपर्छ। उसले बोल्ने भाषा, शब्द, शैली र व्यवहारमा त झन् होशियार हुनैपर्छ। यतिसम्म प्रकृतिले सिर्जना गरेको उसको शारीरिक बनौटमा समेत नारीले दोषको भारी बोक्नुपर्दछ। अनुहार, जिउडाल र कदमा देखिने प्रकृतिप्रदत्त प्रक्रियामा पनि समाजले सामान्यीकरण गर्न हिच्किचाउनु पुरुषप्रधान मानसिकताको चरम नमुना हो। कुनै रोग-बिमारका कारण शरीरमा देखिने स्वभाविक संकेतहरूलाई समेत पुरुष आँखाले नानाथरी शङ्का गरिदिन्छ। अझ महिलाहरू समेत तिनै पुरुषहरूको लर्कोमा उभिएर महिलाकै उछितो काढ्न लालायित हुन्छन्। महिलालाई खिसीट्युरी गर्ने, अनेक थरी लान्छना लगाउने र दुत्कार्ने खेतीपातीको अगुवाइ महिलाले नै गर्छन्।

तेह्र-चौध वर्षकै उमेरमा अस्वभाविक रूपले बढेर आएको आफ्नो भुँडीका कारण लेखिकाले खेप्नु सास्ती खेपिन्। अनावश्यक शङ्का गरेर गाउँभरि कुरा काट्नेहरू पुरुषभन्दा बढी महिला नै थिए। स्त्री-पुरुषको विभेदमा सबैभन्दा पहिला दस्तखत गर्ने नै नारी हुँदारहेछन्। एउटी कुमारी केटीको भुँडी समाजका लागि कति ठुलो बोझ हुँदोरहेछ भन्ने सङ्गीन पीडाको भारी बोकेर काठमाडौं पुगेकी निबन्धकार डा. इन्दिरा सत्यालको शल्यक्रियापछि मात्र आफ्नो पेटमा ज्यानमारा ट्युमर पलाइसकेको थाहा पाउँछिन्। त्यसपछि पनि बिस्तारै घरमा बाआमा र गाउँमा समाजलाई यथार्थ बुझाउन निकै सकस खप्नुपर्यो उनले। सुदूर गाउँमा जन्मिएकी एउटी अबला केटी देशको राजधानीमा एक्लै सङ्घर्ष गर्दै आफूलाई लागेको कुमारी भुँडी आरोप र झन्डै क्यान्सर समेत हुन लागेको रोगलाई परास्त गरेर गाउँ फर्किंदा आफुलाई संसार जितेको सुखानुभूतिमा रमाउँछिन्।

दोस्रो पंक्तिमा प्रस्तुत ‘कुमारीको भुँडी’ शीर्षकको निबन्धले पनि नारी संवेदनशीलतामा सन्देह, भय र त्रासदीपूर्ण परिस्थितिलाई चिर्दै नारी सत्यताको पक्षमा बलियो हस्तक्षेप गरेको छ।

घरको भात-भान्सा, चुल्हो-जुठो, घाँस-दाउरा, मेलापात र हाटबजारमा मात्र सीमित नारीहरू टाढाटाढा शहरमा एक्लै बसेर पढ्न बस्छन्। जागिर खान्छन्, व्यापार गर्छन्, शहरदेखि गाउँसम्मको विकट-अनकन्टार बाटो एक्लै हिंड्छन् भन्दा समाजका कातरहरूले अझै पत्याउँदैनन्।  तर यो निबन्धसङ्ग्रहमा समाविष्ट ‘एउटी युवतीको जोखिमपूर्ण यात्रा’ ले प्रमाणित गरिदिएको छ कि साहसको अगाडी सिंह पनि डराउँछ। घरमा बुबा बिमारी भएर अपर्झट काठमाडौंबाट एक्लै गाउँ फर्किंदा जङ्गलको बाटोमा भेटिएको कुइरे पर्यटक मुख बोलाउ साथी त हुन्छ तर भाषाको समस्याले ऊ पनि नाम मात्रको साथी भन्दा पर केही हुन सक्दैन। अझ जङ्गल बीचमै भेटिएका गाउँका दाजु पर्नेले आइमाई भएर यसरी एक्लै-दोक्लै हिंड्न हुँदैन भनेर झपार्दा लेखक साेलुलाई हीनताबोधको राँकोले सल्काइदिन्छ l यद्यपि उनको हिम्मतलाई न ती दाइको हप्काइले झस्काउँछ, न त भाषा नमिल्ने कुइरेको छायाले तर्साउँछ।

‘बाबा हुनुहुन्छ! बाबा हुनु हुन्न! शीर्षकको निबन्धमा पोखिएको पितृस्नेहले मनलाई द्रविभूत पार्दछ। एकदिन गाडीमा गुडेर अनि चारदिन पैदल हिंडेर बिरामी पिताको मुख हेर्न हतासिएकी लेखिका फाप्लुको डाँडा काटेर एउटा सानो घरमा बास बस्न पुग्छिन् तर उनलाई निद्रै लाग्दैन।

कतै उता बुबालाई केही भइसक्यो कि भन्ने भयले बेस्सरी पिरोलिन्छिन्। भोलिपल्टको मध्यान्हमा कोसी पुग्दा निश्चल कोसीले सान्त्वना दिंदै भनेको भान गर्छिन्, ‘किन आत्तिएकी राधा? तिम्रो बुबालाई केही हुँदैन, अझै धेरै वर्ष!’ लेखिका डा. रेणुका सोलुको न्वारानको नाम ‘राधा’ भएको पनि कोसीमार्फत नै थाहा पाइयो।

परिस्थितिसँग विश्वास नलागेर कोसीको गड्तिरै गड्तिर परपरसम्म आँखा पुर्याउँदै मनमा पलाएका तर्कनासँग बेस्मारी तर्सिन पुग्छिन्। उनलाई लाग्छ कतै उनको बुबाको लास यतै पो ल्याइएको छ कि? लास जलिसकेको खरानी पो उड्दैछ कि यो हावामा? कतै बाटोमा बुबाको लास बोकेर आएका मलामीको लर्को पो भेटिने हो कि! बुबाको नराम्रो खबर सुनाउलान् कि भन्ने भयले बाटोमा चिनेका मान्छे भेट्दा पनि खबर सोध्ने साहस आउँदैनl यस्तैयस्तै त्रास र तर्कनाले सताउनु सताउँछ उनलाई l आफ्नो बुबाप्रतिको माया र श्रद्धा कति हुन्छ भन्ने गहिरो सत्य उजागर गरेकोछ यो निबन्धले l

पिसाबको सङ्क्रमणले निरन्जन भई सिकिस्त भएका बुबाको उपचारका लागि काठमाडौंबाटै लगेको औषधि र पिसाब खोल्ने पाइप हुन्छ। गाउँको शिवटार स्वास्थ्यचौकीबाट एकजना स्वास्थ्यकर्मी पनि लिएर घर पुग्दा बुबालाई तुलसीको मठनेर लडाई राखिएको हुन्छ। आमाबुबाको छातीमा घोप्टो परेर रोइरहेकी। ससाना भाइबहिनी उदास भएर टुलुटुलु हेरिरहेका। त्यो दर्दनाक दृश्यले निबन्धकारलाई विह्वल बनाउँछ। बुबाको पेट फुलेर डम्डम्ती। बुबालाई फाप्लुसम्म बोकाएर लैजाने अनि त्यसपछि प्लेनमा काठमाडौं लगेर उपचार गराउने उनको विचार थियो  तर उनकै काकाले मानेन्।

भने- घरमै मर्न देओ! आफ्नो बुबालाई उपचार गर्न अस्पताल लाने कुरामा पनि हस्तक्षेप सहनुपर्ने नियतिले लेखिका विरक्त मान्छिन्। अन्ततः काठमाडौंबाट ल्याएको औषधि र पाइप स्वास्थ्यचौकी कर्मचारीको सहयोगमा प्रयोग गरिन्छ र बुबा होशमा आउँछन्। लेखिकाको गुम्न लागेको सास बुबा होशमा आएसँगै फर्किन्छ।

पछि बुबालाई काठमाडौं लगेर उपचार गरिन्छ। डेराको बास। एकरात अचानक बुबालाई बेथाले च्याप्छ। मुत्रनलीबाट अत्याधिक रक्तस्राव भएपछि तत्कालै अस्पताल लानुपर्ने हुन्छ  तर, रात धेरै छिप्पिएको हुनाले यातायातको साधन नपाएर त्यो रात बुबाको पीडामा आफू पनि मिसिनुपर्छ। मुत्रनलीबाट बगेको रगतले कोठामा आहाल हुन्छ। हृदयमा हरि नभएको घरधनीको व्यवहार उस्तै सहीनसक्नु l

बिहान हुनेबित्तिकै पनि ट्याक्सीले नमान्दा अर्को फसाद। वीर अस्पतालमा गरिएको अमानवीय व्यवहारले झन् आक्रोश जन्माइदिन्छ। धन्न सोलुका काङ्ग्रेस नेता बलबहादुर केसीको सहयोगले उपचार सहज/सम्भव हुन्छ र बुबा निको हुन्छन्। उपचारका क्रममा अस्पतालको लम्बेतान बसाई र भोग्नुपरेका अन्य समस्याको लेखाजोखा झन् छिचोलिनसक्नु। त्यसको लागि पुरै किताब नै पढ्नुपर्ने हुन्छ।

बुबाको उपचारका लागि रगत चाहिन्छ। तर रगतको व्यवस्था गर्न असम्भव प्रायः भइरहेको बेला एकजना अपरिचित व्यक्तिले रगत दिन्छन्। ती मान्छेसँग अस्पतालमै बुबाको पिरले हस्याङ्फस्याङ् गर्दा जिउ ठोक्किएर चिनजान भएको रोचक कथा पनि जोडिन्छ यहाँ। ती अपरिचित मान्छेले दिएको रगतले ‘मरो क्यार’ भनेको मान्छे बाँचेर घर-गाउँ फर्किए बुबा। यहाँनेर मेरो मनले चाहिं एउटा कुरा भनिहाल्यो कि – यो निबन्धको शीर्षक ‘प्राण नै सबथोक’ नभएर ‘मान्छेको रूपमा भेटिएका भगवान’ हुनुपर्ने थियो कि?

‘तुइन जिन्दगी’ भित्र अठार निबन्ध सङ्ग्रहित छन्l ती सबै निबन्धले कुनै न कुनै तवरले नारी आवाजलाई नै बुलन्द पारेका छन्।  नारीका सुखदुख, हिंसा, विभेद, भोगाइ, जीवनशैली, आरक्षण, आधिकार, अस्तित्व, सङ्घर्ष, साहस र सफलताको कथा हरेक निबन्धको वरिपरि घुमेका छन्। यो धरामा नारीको जन्म नै प्रकृतिको सर्वोत्तम सिर्जना हो भन्ने कुराको धुरन्धर पक्षपाती भएर जिकिर गर्ने निबन्धकार स्वयम् पनि प्रखर लेखिकासँगै जब्बर अधिकारकर्मी समेत हुन्। त्यसो र, प्रकाशित निबन्धसङ्ग्रह नारी संवेदनालाई घनीभूत उचाल्न हदैसम्म सफल देखिन्छ।

प्रस्तुत पुस्तकमा समाविष्ट एकएक निबन्धले नारी-न्यायका सर्वाङ्गीण आयामहरू मेलैसँग उजागर गरेका छन्। जस्तै: ‘सती जाने सौभाग्यहरू’ ले विवाहको बेला बेहुलाले बेहुलीलाई सौभाग्यस्वरूप सिन्दुर, पोते, तिलहरी, चुरा लगायत गरगहना लगाइदिन्छ तर बेहुलीले चाहिं बेहुलालाई किन नलगाइदिएको त्यस्तै गह्रुङ्गा र भारी सामग्री? फेरि स्वास्नीभन्दा पहिला लोग्ने मरे ती गहना पनि किन फुकालेर फाल्नुपर्ने? अनि बाहिरी गहनाभन्दा आन्तरिक ज्ञानको गहना महान हुन्छ। ती पनि लोग्नेसँगै सती जान किन अभिशप्त छन् भनेर यक्ष प्रश्न सोध्छन् निबन्धका हरफहरूले।

महिलाको पेट अनेक कारणले दुख्छ। खानकी नमिलेर, रोग-बिमारले, महिनावारी हुँदा, गर्भवती हुँदा र विविध कारणले। त्यो कुरा पुरुष मनले कहिल्यै बुझ्न नसकेको दुखेसो ‘भुँडीको मर्म’ निबन्धले गरेको छl

थुप्रै रोगले ग्रसित बुबाको देहावसान काठमाण्डौमा हुँदा दागबत्ती दिने छोरा हुँदैनन् l छोराको नाममा लेखिकाको यौटै भाइ पनि भारतको कालिम्पोङमा भएको, ऊ आउन नपाएको र उसकै मञ्जुरीले बुबाको दाहसंस्कार पशुपति आर्यघाटमा गर्नुपर्यो l समाजको संस्कार विपरित आफैंले बुबालाई दागबत्ती दिएर एक क्रान्तिकारी काम गरेकी लेखिका सगौरव भन्न पुग्छिन्- म छोरी हूँ, छोरी!

घरमा बाउले आमालाई दुख-पीडा दिएको, हेपेको, घरेलु हिंसा गरेको, काम नसघाएको, रक्सी खाएर पिटेको, चरम लैंगिक दुर्व्यवहार गरेको देखेका, बुझेका र अनुभूत गरेका छोरीचेलीलाई विवाहको भय हुन्छl उनीहरू विवाह गर्न मान्दैनन्, बरु बुढीकन्या नै बस्न मन्जुर हुन्छन् भन्ने मनोवैज्ञानिक सत्य बोलेको छ ‘विवाहको भय’ निबन्धलेl

छोरी र बुहारीलाई समान व्यवहार गनुपर्छ र त्यो शुरुवातको श्रेय आफैंले लिनुपर्छ भन्ने उदाहरण पेश गर्छ- ‘के छोरी, के बुहारी’ ले। ‘राजोनिवृत्तिको असर’ मा महिला प्रजनन प्रक्रिया, स्थगन र पुरुष हिंसाको मनोदशालाई मिहीन रूपमा केलाइएको छ।

महिला र पुरुष बीचको आत्मिक सम्बन्ध सुमधुर हुन सकेन भने, सहअस्तित्वको सम्मान हुन सकेन भने विवाहित नै भए पनि त्यो अवैध हुन्छ र लोग्ने-स्वास्नी नै भए पनि अनिच्छाले गरिएको यौन सम्पर्क बलात्कार हुन्छ भन्ने मनोवैज्ञानिक संश्लेषण गर्दछ- ‘वैवाहिक बलात्कार’ शीर्षकको निबन्धले।

महिलालाई मनोरन्जनको साधन, खेलको मैदान र सन्तान उत्पादन गर्ने मेसिन मात्र ठान्ने कथित पितृसत्तात्मक समाजलाई सचेतनाको सन्देश दिएर यो निबन्ध नारी न्यायको पक्षामा सतिसाल उभिएको छ।

आफू जहिल्यै नारी स्वतन्त्रता र अधिकारका पक्षमा खरो वकालत गर्ने भए पनि स्वयंले चाहिं निकटस्थ पुरुषहरूबाट सदैव मान, सम्मान, साथ र माया पाइरहेकी लेखिका भाग्यमानी हुन्। उनलाई पिताले सानैदेखि घरको सम्पूर्ण व्यवहार सुम्पेर राजकुमारी बनाए। विवाहपछि पतिले दुधे बालक आफूले स्याहारेर पत्नीलाई उच्च शिक्षा अध्ययनका लागि अवसर दिए अनि पछि छोराले घरको काम छोडेर सामाजिक काममा समय दिन प्रेरित गरे। अत: ‘सम्बन्धका तीन आयाम’ निबन्धले सबै घरपरिवार र सम्बन्धहरू यस्तै सहयोगी, बुझ्झकी र विश्वासिलो हुनुपर्छ भन्ने बौद्धिक सन्देश प्रवाह गरेको छ।

जीवनको उत्तरार्द्धमा केही समय छोरासँग बस्ने रहर गरेर आमा भारतको कालेम्पुङ् जानु र आमाको उतै देहावसान हुनुले लेखिकाको मुटुमा फलामे भाला रोपिन्छ। आफ्नै हातमा प्राण त्यागेका पिताको शोक सेलाउन नपाउँदै पराई माटोमा अस्ताएकी आमाको शरीरको अन्तिम दर्शन गर्न र काजक्रिया गर्न कालेम्पुङ जाँदाको दर्दनाक दृश्यले पाठकहरूलाई पनि भावविभोर बनाउँछ।

  सधैं रामरौस गरेर गाडीको यात्रामा रमाउने लेखिका त्यसबखत शोकमग्न यात्रीको रूपमा आफूलाई निशब्द पार्न विवश हुन्छिन्। आमाको दाहसंस्कार टिस्टा नदीमा गरिसकेपछि टिस्टालाई अब हाम्रो आमाघर भन्दा मुटु कटक्कै काटिन्छ। ‘शोकमग्न यात्री र टिस्टा अब हाम्रो आमाघर’ शीर्षकका दुई निबन्धसङ्ग्रहकै सबैभन्दा दुखान्त निबन्धहरू हुन्। आमा गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न कसैले सक्दैन यो संसारमा।

नारीले आफ्नो सीमा आफैं निर्धारण गर्नुपर्दछ। कसैबाट हेपिएर, पेलिएर, दबिएर अनि म त आइमाई हुँ भन्ने हीनताबोध पालेर आफ्नो अस्तित्व रक्षा गर्न सकिन्न।   आफूलाई जहिल्यै पुरुषहरूको खेलौना बनिदिन हाजिर हुने अनि आफैं महिला हिंसाको रुन्चे गीत गाउँदै हिंडेर नारी मुक्ति हुँदैन।

नारीले आफूलाई जताततै अग्रस्थानमा उभ्याउनुपर्छ भन्ने सन्देश समाजका हरेक तह र तप्कामा पुर्याएकाले लेखिकालाई सबैले तँ नारीवादी भने अनि उनले पनि भनिन्- हो, म नारीवादी !

‘सम्बन्धको सौन्दर्य’ शीर्षक निबन्धले अहिलेका युवतीहरूमा आफ्नो जीवनसाथी सही ढङ्गले छान्न सक्ने सचेतना आइसकेको सत्य उजागर गर्छ। निबन्धकारले आफ्नै छोरी र उनकी साथीको अन्तरसम्बाद सुनिसकेपछि आफूलाई ढुक्क महसुस गर्छिन्। उनलाई लाग्छ कि- आफूले जीवनभर गरेको नारी शक्ति उपासनाले बा सार्थक रूप लिंदैछ। सम्बन्ध अनिच्छित र एकोहोरो होइन सौहार्दपूर्ण र दोहोरो हुनुपर्छ भन्ने ज्ञान अहिलेको पुस्तामा आइसकेकाले यसको सुवासना र सुन्दरता फैलिने विश्वास निबन्धकार गर्छिन्।

अठारौँ निबन्ध छ- ‘शङ्काको आगो’। एक होनहार महिला साहित्यकारको जीवन उनकै शंकालु लोग्नेका कारण बर्बादीको गर्तमा भासिंदै गरेको नमीठो घटना सुनाएर पटाक्षेप हुन्छ। यो निबन्ध पढ्दै गर्दा कताकता नजाती लाग्यो मलाई पनि।

 निबन्धकारले नाम नखुलाए पनि सामाजिक संजाल प्रयोगकर्ता सर्जक भएकाले उनलाई प्रायः धेरैले चिन्छन् जस्तो लाग्छ। आफूभित्र जतिसुकै प्रतिभा, क्षमता, इच्छा, चाहना, रहर अनि उद्देश्य भए पनि सँगै जीवन बिताउनुपर्ने सहयात्रीले साथ नदिंदा कुण्ठाको भारी बोकेर दमित चाहनालाई बालुवामा सेलाउनुपर्ने बाध्यता हुँदोरहेछ। ती अभागी सर्जकलाई सहानुभूति दिंदै ‘तुइन जिन्दगी’ का आखिर हरफहरू सपनालोकमा विचरण गर्न जबर्जस्ती लम्किन्छन्।

यो कुनै समीक्षा होइन। समालोचना त झन् हुँदै होइन। यो त एक पाठकीय दृष्टि मात्र हो। साहित्यकार डा. रेणुका सोलुको जीवनवृत्त केलाइएको यो निबन्ध संचयनप्रति न्यायिक अक्षर प्रदान गर्न सक्नु-नसक्नु आफ्नो ठाउँमा छ तर पुस्तक पढिसकेपछि मनमा लागेका कुरा जस्ताको तस्तै पोखें। यो पुस्तक विमोचनको संघारमा थियो तर मैले चाहिं अगाडि नै यसको डिजिटल कपी प्राप्त गरिहालें। ‘तुइन जिन्दगी’ भित्र प्रवेश गरेपछि बाहिर निस्किन मन लाग्दैन।

अठार उप-शीर्षकमा विभक्त निबन्धहरू जति पढ्यो उति पढौंपढौं लाग्छन्।  नेपाली समाजमा नारी पात्रमाथी गरिएको एउटा न्यायिक दस्तावेज हो यो सङ्ग्रह। यो निबन्धको सबैभन्दा सवल पक्ष भनेको सरल भाषाशैली हाे। गहन विषयवस्तु, प्रखर विचार, उत्कृष्ट भाषाशैली, बोधगम्य वाक्यगठन, आकर्षक शब्दसंयोजन र सुकोमल भावधाराले पुस्तकको ओज बढाएको छ।

पुस्तक पढ्दै जाँदा कतै पनि उल्झन, गुम्फन र झन्झटहरू भेटिंदैनन्। सलल बगेका कथानकहरू, परिवेशहरू र भोगाइहरु जो कोहीले आफ्नै जीवन सम्झेर सहज ग्रहण गर्दछन्। किताब पढुन्जेल कहीं कतै पनि अल्छीपना र दिक्दारी आउन नदिने सुललित प्रस्तुति यो निबन्धसङ्ग्रहलाई सफलताको गोरेटोमा अघि बढाउने साधन हुन्। कतै अस्पस्टता छैन। कहीं क्लिष्टता छैन। नेपाली भाषा-साहित्यका हरेक पाठकले एकै बसाइमा स्पस्ट बुझ्न सक्ने सरल कृति हो यो। 

डा. सोलुलाई म आदरपूर्वक ‘दिदी’ सम्बोधन गर्छु। उहाँले पनि मलाई प्रेमपूर्वक ‘भाइ’ भनेर बोलाउनुहुन्छ। हामी दिदीभाइको सम्बन्ध सिर्जनात्मक छ। व्यवहार भावनात्मक छ। विश्वास प्रगाढ छ।  त्यसो र, आआफ्ना सिर्जनाहरू साझा गर्न एकरत्ती कन्जुस्याइँ गर्दैनौं हामी। फलस्वरूप किताब सार्वजनिक हुनुअगावै पाण्डुलिपि पढ्ने सुयोग जुराइदिनुभो दिदीले। यसर्थ, म भाग्यमानी पाठक हुँ। अब पढिसकेपछि दिदीका लागि केही त बोल्ने पर्यो। मनमा लागेर यति बोलें।  यहाँभन्दा बढी बोल्नु हुँदैन पनि मैले। lत्यसो गर्यो भने पाठकहरूलाई पुस्तकको अर्गानिक स्वाद लिनबाट वन्चित गराए जस्तो हुन जाला फेरि। बाँकी त पाठकहरुले नै छामिहाल्नेछन्- सग्लै किताब। सङ्घर्स र साहसको यात्रा ‘तुइन जिन्दगी!’        

प्रकाशित: १८ आश्विन २०८१ १३:१० शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School