समाजमा भएका अनेकौं उतारचढावलाई नजिकबाट हेरिरहेका, अध्ययन गरिरहेका र समुन्नत समाजको चाहना गर्ने पूर्वजहरूले सहकारी समाजको परिकल्पना गरे । उन्नाइसौं शताब्दीमा युरोपमा यस्ता धेरै चिन्तकहरू थिए जसले समाजको दुरवस्थाको परिवर्तन गरेर नयाँ र उन्नत समाजको कल्पना गरे । भुइँ मानिसले पाएको दुःख, अभावबाट कसरी मुक्ति खोज्ने भनेर उपाय निकाले ।
तिनैमध्येका एक थिए रोबर्ट ओवेन । उनले समाज परिवर्तनका लागि गरेका प्रयास सफल त भएनन् तर उनले लिएको विचार अनुसार ‘रोजडेली इक्विटेवल पायोनियर सोसाइटी’ गठन गरेर काम गर्नेहरूले सफलता पाउँदै गए । रोजडेलीहरूले गरेको पहिलो सफल अभ्यास नै सहकारी आन्दोलनको पहिलो सहकारीको रूपमा स्वीकार भयो । सन् १८४४ मा बेलायतको मेनचेस्टर शहरमा यो ‘समाज’ को सुरुआत भएको थियो ।
रोजडेलीहरू रोबर्ट ओवेनले चलाएको समाज सुधारको अभियानमा संलग्न थिए । त्यो अभियान सफल त भएन तर त्यसबाट रोजडेलीहरूले धेरै कुरा सिके । सिकेका कुरालाई व्यवहारमा नियम बनाएर प्रयोग गरे । यिनै नियम र व्यवहारले उनीहरूलाई सफल बनाएको हुनाले पछि खुल्दै गएका सहकारीहरूले पनि रोजडेलीहरूले बनाएका नियमहरूको पालना गरे ।
नियममा विश्वास भएका र नियमको नियमित पालना गर्नेहरूलाई मात्रै सदस्य बनाउने गरे । सन् १८९५ मा यस्ता सहकारीहरूको अन्तर्राष्ट्रिय महासंघ बन्यो । यसले सहकारीमा अभ्यास गरिएका नियमहरूलाई सिद्धान्तको रूपमा स्वीकार गरियो । सहकारी समाजका लागि मूल्य र सिद्धान्त बने ।
महासंघले समय–समयमा सहकारीको परिभाषा, मूल्य र सिद्धान्तलाई विकास एवम् व्याख्या गर्दै गयो । यिनै परिभाषा, मूल्य र सिद्धान्तका आधारमा विश्वभरि सहकारी फैलँदै गयो । सहकारी समाज, सहकारी अर्थतन्त्र र सहकारी संस्कार निर्माण हँुदैगयो ।
नेपालमा विधिवत् रूपमा २०१० सालमा सहकारी विभागको गठन गरेर प्रवेश भए पनि पहिलो सहकारीको गठन २०१३ सालमा राप्तीका बाढी पीडितलाई सहयोग गर्न चितवनको राप्तीदुनमा पहिलो सहकारी गठन भयो । पहिलो पटक २०१६ सालमा सहकारी ऐन बन्यो ।
पञ्चायतकालमा सहकारीलाई पञ्चायत मातहतमा राखियो र प्रजातान्त्रिक नियन्त्रणको अभ्यास हुन रोकियो । यसको कारण भनेको सहकारीमा प्रजातन्त्रको अभ्यास हुँदा पञ्चायतले आफूलाई असुरक्षित ठान्यो । मैले थाहा पाएसम्म पञ्चायतकालभरि सहकारीका सात सिद्धान्त कहिल्यै पढाइएन ।
बहुदलीय व्यवस्थामा पहिलाको सहकारी ऐन खारेज गरेर सहकारी ऐन २०४८ बन्यो । ऐनले सहकारी समाज भनेन । सहकारी संघ–संस्था भन्यो । सहकारीका मूल्य र सिद्धान्तमा विश्वास भएका मात्रै सदस्य हुन्छन् वा सदस्य भएपछि बुझाइन्छ भन्ने कल्पना गरियो ।
सहकारी समाज निर्माण गर्न अगुवाइ गर्ने अगुवाले सहकारी समाजको भाव, आदर्श, मूल्य, सिद्धान्त राम्ररी बुझेको र अरूलाई बुझाउन सक्ने हुनुपर्छ । जसरी कुनै धर्मको अगुवाइ गर्नेले त्यो धर्म र विशेषता राम्ररी बुझेको र व्याख्या गर्न सक्ने हुनुपर्छ ।
जब सदस्यले सहकारीका मूल्य र सिद्धान्त बुझ्नेछन् तब सहकारी समाज निर्माण गर्न स्वयम्ले यी मूल्य एवम् सिद्धान्तको पालना गर्नेछन् । सहकारी समाज निर्माणका लागि सदस्यहरूले काम गर्नेछन् । गरेको कामको स्वमूल्याङ्कन र स्वनियमन गर्नेछन् भन्ने कल्पना गरियो ।
सहकारी समाज निर्माणका लागि सदस्यले यी आधार मूल्य–स्वावलम्बन, स्वउत्तरदायित्व, प्रजातन्त्र, समानता, न्याय र ऐक्यबद्धताको पालना गर्ने छन् । सदस्य र संस्था दुवैले पालना गर्ने नैतिक मूल्य–इमानदारी, खुलापन, सामाजिक उत्तरदायित्व र अरूको हेरचाहलाई स्वयम्ले नियमपूर्वक व्यवहारमा ल्याउने छन् भन्ने कल्पना गरियो ।
त्यसैगरी सहकारीका सिद्धान्तहरू पहिलोः ऐच्छिक तथा खुला सदस्यता, दोस्रो– सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रण, तेस्रो– सदस्यहरूको आर्थिक सहभागिता, चौथो– स्वायत्तता र स्वतन्त्रता, पाँचौं– शिक्षा, तालिम र सूचना, छैटौं– सहकारी–सहकारी बीचको सहयोग र सातौं– समुदाय प्रतिको चासो । यी सिद्धान्तको नियमपूर्वक पालना हुनुपर्ने हो ।
सहकारी समाज निर्माण गर्न सहकारीका मूल्य र सिद्धान्तको नियमपूर्वक र नियमित अभ्यास हुन जरूरी छ । यसका लागि सबैभन्दा पहिला सहकारीका मूल्य र सिद्धान्त बुझेका र यसलाई आत्मसात् गर्ने, व्यवहारमा उतार्न प्रतिबद्ध मानिसहरू सहकारीको नेतृत्वमा हुन जरूरी छ ।
सहकारीको स्थापना सहकारी समाजको निर्माणका लागि गरिन्छ । अंग्रेजीमा ‘को–अपरेटिभ सोसाइटी’ भनिने यसको अर्थ नेपालीमा सहकारी समाज हुन्छ । तर नेपालमा सहकारी समाज नभनेकाले यसलाई पूर्ण अर्थमा बुझिएन कि जस्तो लाग्छ ।
सहकारी समाज निर्माण गर्न अगुवाइ गर्ने अगुवाले सहकारी समाजको भाव, आदर्श, मूल्य, सिद्धान्त राम्ररी बुझेको र अरूलाई बुझाउन सक्ने हुनुपर्छ । जसरी कुनै धर्मको अगुवाइ गर्नेले त्यो धर्म र विशेषता राम्ररी बुझेको र व्याख्या गर्न सक्ने हुनुपर्छ ।
त्यति मात्रै होइन अगुवाको आचरण अनुयायीका लागि स्वीकार्य हुनुपर्छ । हिन्दु धर्ममा व्यासासनमा बसेर प्रवचन गर्ने पण्डित, गुरु, आचार्यसँग कस्तो ज्ञान, आचरण र व्यवहारको अपेक्षा गरिन्छ ? उनले घुँडा फट्याएको जिन्सको पेन्ट र टिसर्ट लगाएर पुराणको आसनमा बसे, बेलुका मासु सहितको मदिरा सेवन गरे भने के हुन्छ ?
यस्तै अरू धर्ममा पनि धर्मका अगुवाहरूसँग निश्चित आचरण र नियम पालना भएको अपेक्षा अनुयायीहरूले गर्छन् । तब मात्रै अनुयायीमा पनि यो आचरणको केही भाग अपेक्षा हुन्छ ।
त्यस्तै समाज र राज्यका विभिन्न जिम्मेवारीमा बसेका मानिसमा पनि यो अपेक्षा समाजको हुन्छ । राज्यको हुन्छ । शिक्षक, प्रहरी, सरकारी कर्मचारी, न्यायाधीश, प्राध्यापक, डाक्टर, इन्जिनियर, नेता आदि आदिसँग पनि पदीय मर्यादा अनुरूपको ज्ञान, आचरण, व्यवहारको अपेक्षा हुन्छ ।
एउटै विश्वविद्यालयमा हुन्छन् भनेर विद्यार्थी र प्राध्यापकको आचरण एवम् व्यवहार एकै खालको हुन सक्दैन । दुवै पक्षका लागि अदालत कर्मथलो हो तर न्यायाधीश र वकिलको भूमिका उस्तै हुन्छ भनेर अपेक्षा गरिंदैन ।
सहकारी समाज भनेको स्वावलम्बी, स्वाभिमानी, आत्मनिर्भर, पारस्परिकता, सहयोगी, सहकार्य, समता आदि विशेषता भएको हुन्छ । यी विशेषता प्राप्तिका लागि सहकारीको मूल्य र सिद्धान्तको नियमपूर्वक र नियमित अभ्यास निरन्तर गरिरहनुपर्छ । तब मात्रै सहकारी समाजको लक्ष्य पछ्याउन सकिन्छ ।
नेपाली समाजको हकमा के भयो ? नेपालमा सहकारी ऐन बन्यो । सहकारी खोल्न पाइने भयो, खोलियो । तर, न सहकारीका मूल्यको ख्याल गरियो न सिद्धान्तको । जब मूल्य र सिद्धान्तको बारेमा सहकारी अभियानमा लागेका मानिस बेखबर भए तब सहकारी समाजको कुरा नै हरायो । सहकारीका आचरण, व्यवहार, दर्शन, आदर्श सबै खुइलिए, हराए अनि छोपिए ।
त्यसपछि के भयो ? सहकारीमा दुई खालका मानिसको प्रवेश भयो । एक खालका मानिस सहकारीको माध्यमबाट सदस्य र समुदायको आवश्यकता पूरा गर्न चाहने । अर्को खालका मानिस सहकारीको माध्यमबाट आफ्नो स्वार्थ पूरा गर्न चाहने ।
सदस्य र समुदायको पक्षमा काम गर्न चाहनेले जति जाने, जति सिके त्यसका आधारमा काम गर्दै गए । तिनीहरू पनि कोही कोही अप्ठ्यारोमा परेका छन् । त्यसको कारण सहकारीलाई ठीकसँग नबुझ्नु, सहकारीका मूल्य र सिद्धान्तको ठीक–ठीक र नियमपूर्वक एवम् नियमित प्रयोग गर्न नसक्नु, संस्थाले गरेको व्यवसायको चरित्र र जोखिमलाई राम्ररी नबुझ्नु मुख्य हुन् ।
सम्बन्धित पार्टीले सहकारीलाई भोट बैंक बनाउने र कार्यकर्ताको व्यवस्थापन गर्नेभन्दा पर सोच्न सकेनन् । पार्टीका कार्यकर्ता र नेताले सहकारीमा लागेर सहकारी समाज बनाउने कुरा कहिल्यै सोचेनन् र गरेनन् ।
सहकारीको मूल्य र सिद्धान्तलाई राम्ररी नबुझेको भए पनि केही इमानदार र सक्षम नेतृत्वका कारण सहकारी र सहकारी व्यवसाय टिकेका छन् । तिनलाई आजको अवस्थामा राम्रा सहकारी भनिन्छ । तर अर्को दश वा बीस वर्षमा ती संस्थामा के हुन्छ भन्न सकिन्न ।
किनकि त्यहाँ संस्थागत विकास र सुशासनको अभ्यास कम छ । सहकारी समाजको बारेमा, सहकारी मूल्य र सिद्धान्तका बारेमा त्यस्ता राम्रा भनिएका सहकारीमा पनि सिक्ने र सिकाउने कुरामा कमी छ ।
अर्को खालका मानिस त सहकारीमा आफ्नो स्वार्थ पूरा गर्न आए । स्वार्थ पनि खाल–खालका छन् । त्यसमा आफू धनी बन्ने चाहना भएकाहरू र धनी पनि बन्ने र आफ्नो करियर पनि बनाउने चाहना भएकाहरू । धनी मात्रै बन्न चाहनेहरू चुपचाप धन बटुल्ने काममा लागे ।
उनीहरू सहकारीमा जम्मा भएको धन आफ्नो बनाउन लागे । तिनीहरूमध्ये कतिले अभियानमा सम्पर्क नै गरेनन् । नियामक निकायलाई कुस्त खुसी पारे । जे जे गर्नुपर्छ गरे । केहीले अभियानको नेतृत्व हत्याउन र शक्ति आर्जन गर्न जे जे नगर्नुपर्ने हो त्यो सबै गरे । नियामक निकाय र अभियान देखेको नदेख्यै गरिरह्यो ।
सहकारीका मूल्य, सिद्धान्तका कुरा र सहकारी समाज निर्माण गर्ने विषय न प्रारम्भिक सहकारीमा भेटिन्छ न संघहरूमा । सहकारीको मूल दर्शन, मूल्य र सिद्धान्तको पक्षमा सहकारीका सदस्य, नेतृत्व, सहकारी अभियानका ठूला नेता, नियामक निकाय कसैको ध्यान गएन । ध्यान केवल आ–आफ्नो स्वार्थमा केन्द्रित भयो ।
सहकारी अभियानको छाता संगठन महासंघ र केन्द्रीय निकायमा नेतृत्व गर्नेहरू १५० छन् भनेर मान्ने हो भने तीमध्ये सहकारीको आदर्श, मूल्य, सिद्धान्तलाई आत्मसात् गरेका र त्यस अनुरुप सोच, कार्य, आचरण, व्यवहार भएका कति जना होलान् ? के दश जना भेटिन्छन् ? म त यति सङ्ख्या पनि भेट्न मुस्किल छ भन्छु ।
यी मध्येका केही जेलमा छन्, केहीको भागाभाग छ । धेरैका प्रारम्भिक सहकारी नै छैनन् । धेरै नेताले प्रतिनिधित्व गरेको जिल्ला, विषयगत, प्रदेश र कति केन्द्रीय सहकारी संघको दश–बीस वर्षदेखि साधारणसभा भएको छैन । झोलामा लेटरप्याड बोकेर वर्षौंदेखि उही मानिस प्रतिनिधि र नेता भइरहन्छन् ।
सम्बन्धित पार्टीले सहकारीलाई भोट बैंक बनाउने र कार्यकर्ताको व्यवस्थापन गर्नेभन्दा पर सोच्न सकेनन् । पार्टीका कार्यकर्ता र नेताले सहकारीमा लागेर सहकारी समाज बनाउने कुरा कहिल्यै सोचेनन् र गरेनन् । नियमक निकायको क्षमता यति धेरै सहकारीलाई नियमन गर्न सक्ने छँदैछैन । बरु यो निकायका कतिपय अवस्थामा भएका गलत निर्णयको कारण अहिलेको अवस्था आउनमा सघाउनै पुग्यो ।
यसको निष्कर्ष के हो भने– नेपाली समाजमा सहकारी अभियानको आवश्यकता छ । यसले जानी नजानी पनि नेपाली समाजमा निकै ठूलो योगदान गरेको छ । यसका उपलब्धिलाई जोगाउँदै सहकारी अभियानलाई पुनर्संरचना गर्न आवश्यक छ । सहकारीको मूल मर्म, आदर्श, मूल्य, सिद्धान्तको अध्ययन र अध्यापन गर्ने गरी संरचना बनाउनुपर्छ ।
सहकारी समाज निर्माण सहकारी अभियानको उद्देश्य हुनुपर्छ । यो उद्देश्य पूरा गर्न मन, वचन र कर्मले लाग्न सक्नेलाई सहकारी अभियन्ता भन्ने गर्नुपर्छ । सहकारी अभियन्ता पालिका–पालिकामा हुनुपर्छ । यस्ता अभियन्ताका लागि सहकारी ज्ञान र आचरण हुन जरूरी छ । यो राज्यले निर्धारण गर्नुपर्छ ।
यस्तो ज्ञान र आचरण भएकाहरूले प्रारम्भिक सहकारीहरूलाई नियमित प्रशिक्षित गर्नेछन् । आवश्यकता अनुसार यस्तै अभियन्ताहरूले सहकारीको नेतृत्व पनि गर्न सक्छन् । सहकारीको नेता बन्न सहकारी ज्ञान र आचरण भएपछि मात्रै योग्य हुने व्यवस्था गर्नुपर्छ ।
हरेक प्रारम्भिक सहकारीमा सहकारीको मर्म, आदर्श, मूल्य र सिद्धान्त बुझेका व्यक्ति हुनुपर्छ । हरेक सहकारीको लक्ष्य सहकारी समाज निर्माण हुनुपर्छ । सहकारी समाज निर्माणको लक्ष्य बिर्सिएको, हराएको सहकारी अभियानले सहकारीको गन्तव्य भेट्टाउँदैन ।
अहिलेकै अवस्थाले निरन्तरता पाए अर्को दश–बीस वर्षमा फेरि यस्तै समस्या दोहोरिनेछ । छद्म चरित्र भएकाहरूको जिम्मा र नेतृत्वले सहकारीको गन्तव्य भेट्टाउँदैन ।