चाकडीका कडीहरू

चाकडीका कडीहरू


सबैभन्दा प्रचलित र शास्त्रीय तरिकामा दुई हात मोल्दै, टाउको कन्याउँदै, हजूर हजूर भन्दै, ङिच्च ङिच्च दाँत ङिच्याउँदै, नहाँस्दा पनि हुने ठाउँमा अनावश्यक हाँस्दै आफ्ना ख्वामित् सामु चाकरीभाव प्रकट गरिन्छ। सिनेमा सिरियलहरूमा चाकडीको भाव देखाउन यस्तै तरिका प्रयोग गरिन्छ। आधुनिक युगमा ठूला ठूला काम पट्याउन भन्दा खुद्रा मसिना लाभ हत्याउन यस्तो विधि प्रयोग गरिन्छ। यो चाकडीको छुद्र र भद्दा रूप पनि हो।

जतिसुकै राम्रो र स्मार्ट मान्छे पनि यो विधि अनुसार चाकडी गर्दा अत्यन्तै कुरूप देखिन्छ। तर उसलाई त्यसको पर्वाह हुँदैन किनभने ऊ चाकडीको पलमा होइन चाकडीले दिने फलमा एकोहोरिएको हुन्छ। यस्तो छुद्र चाकडीले दिने फल अत्यन्तै छुद्र हुन्छ। गणतान्त्रिक युगमा महत्त्वाकाङ्क्षी, टाठाबाठा, स्तरीय, प्रजातान्त्रिक, प्रगतिशील र क्रान्तिकारी चाकडीबाजले यस्तो विधि कमै मात्र अपनाउँछन्। त्यसैले टापटिपे चोर र यो विधिले चाकडी गर्ने चाकडीबाजको नियति उस्तै हुन्छ- खुद्रा परिणाममा चित्त बुझाउनुपर्ने!

कुनै अमूक मान्छे आफूभन्दा माथिको हो, आफ्नो निहित स्वार्थ वा आफ्ना वैरीको अधोगति उसबाट सिद्ध हुन्छ भन्ने थाहा मात्र पाउनुपर्छ, यस्ता चाकडीबाजका दुई हत्केला त्यस्ता महानुभावसामु स्वतस्फूर्त रूपमा आफ से आफ मोलिन थालिइहाल्छन्। हत्केलामाथि तिनको असीम भरोसा हुन्छ। भनौं भने त्यसैको बलमा थोरबहुत सुख र खुशी आफ्नो पाउमा ल्याउन समर्थ हुन्छन्।

तिनलाई पाखुरी बजाएर ठेला उठाउनु भन्दा हत्केला मोलेर चोला फेर्नु कता हो कता सुबिस्ता लाग्छ। त्यसैले ती पाखुराको पछि नलागेर हत्केलाको पछि लाग्छन्। कतिपयले त आफ्नो जीवन पद्धति नै त्यस्तै बनाएका हुन्छन्। आफ्नो भौतिक शरीरलाई समेत सोही अनुरूप ढालेका हुन्छन्।

**** ****

ख्वामितले अर्बौं असुलेर यसो दुई पाँच हजार दान दिए भने `अत्यन्तै दानी, करूणाका खानी, समाजसेवा गर्ने सनातनी बानी´ यस्तै यस्तै के के हो के के चाकडी शिरोमणिहरूले प्रशस्ति गाइदिन्छन्। रानी ऐश्वर्यको समाजसेवी भनेर यसैगरी प्रशंसा गरिन्थ्यो। तर राज्यकोषको रकममा उनले गर्ने शपिङका फेहरिस्त बाहिर आउन्नथ्यो।

दुई मान्छेबीच बोलचालको प्रवेश बिन्दु अभिवादन हो। हाम्रो संस्कृतिमा अभिवादनको एउटा अनिवार्य अङ्ग नमस्कार हो। सामान्यतया आफूभन्दा माथिका मान्छे वा मान्यजनलाई श्रद्धाभाव व्यक्त गर्न वा इज्जत गर्न नमस्कार गरिन्छ। यदाकदा समकक्षीहरूबीच पनि अभिवादनको लागि नमस्कारको आदानप्रदान हुने गर्दछ। नमस्कार यदाकदा प्रोटोकल निरपेक्ष पनि हुने गर्दछ।

नमस्कार शब्द र नमस्कार मुद्रामा `हजूर´ शब्द थपिएपछि त्यहाँबाट चाकरीको सुगन्ध आउँछ। स्तरीय चाकडीबाज त्यतिले पनि नपुगेर नमस्कार गरुञ्जेल आफ्नो मेरूदण्डलाई पनि अङ्ग्रेजी `सी´  आकारमा सेट गर्छन्। जागिरे जीवन शुरू गर्दा मोबाइलको टावर झैं सीधा शरीर रिटायर्ड हुँदा बाँस झैं नुहेको देखिनु यस्ता चाकडीबाजको लक्षण हो। यो न फलेको हाँगो नुहेको हो; न बुढ्यौलीको लक्षण नै हो। केवल चाकडीतन्त्रमा शरीर समायोजन भएको मात्र हो।

कसैले बोलाउँदा `हजूर´ भनेर रेस्पोन्स गर्नु चाकडी होइन। तर निजामती र जङ्गी प्रशासनमा हजूर शब्दको प्रयोग नै चाकडीकै खातिर भएको हो भन्दा अत्युक्ति हुँदैन। पहिले पहिले दरबारियाहरूलाई पनि उहाँ नै भन्ने गरिन्थ्यो। पछि चाकडीबाजहरूले उहाँको सट्टा हजूर हुँदै मौसूफ भन्ने शब्द आयात गरेर प्रचलनमा ल्याए । चाकडी चाप्लुसीका सम्पूर्ण नीति, नियम, निर्देशिका, तौर, तरिका भनेकै दरबारबाटै नि:सृत हुने हुन्। दरबार भनेको राणाकाल र शाहकालमा श्री ३, श्री ५ र तिनका शक्तिशाली भक्तहरू बस्ने महल थिए भने लोकतन्त्र र गणतन्त्रमा ती बास, निवास, गुँड,  कुञ्ज, कुटी, झुपडी आदि नामले प्रख्यात छन्। सरकारी सेवाका उच्च र मध्यपदस्थहरूको त कुरै गर्न परेन। एकाध निम्न पदस्थहरू समेत आफूभन्दा निम्छरा भेटे यही तरिका कपी-पेष्ट गर्छन्। तिनको दर्शन र आदर्श जहिले पनि दरबार र त्यसका रीतिरिवाज नै हुन्।

**** ****

ख्वामितले अर्बौं असुलेर यसो दुई पाँच हजार दान दिए भने `अत्यन्तै दानी, करूणाका खानी, समाजसेवा गर्ने सनातनी बानी´ यस्तै यस्तै के के हो के के चाकडी शिरोमणिहरूले प्रशस्ति गाइदिन्छन्। रानी ऐश्वर्यको समाजसेवी भनेर यसैगरी प्रशंसा गरिन्थ्यो। तर राज्यकोषको रकममा उनले गर्ने शपिङका फेहरिस्त बाहिर आउन्नथ्यो।

नगदका पोका चढाइसकेपछि सामान्य शिष्टाचार नै काफी हुन्छ। उच्च घनत्वको चाकरी पनि आवश्यक पर्दैन। यदाकदा त्यही सामान्य शिष्टाचार नि आवश्यक पर्दैन। चाकडीग्राही महानुभाव चरम मुद्रापिशाच परे मुद्रा चढाउँदै हप्काएरै पनि काम लिन सकिन्छ

ख्वामितले एउटा कविता लेखे भने त्यसको विश्लेषण र प्रशंसामा एउटा विशाल ग्रन्थ नै प्रकाशन गरिदिने लेखक सम्पादकहरू पनि हुन्छ्न्। `ख्वामित् ! हजूर चन्द्रमा, हामी धरतीको धूलो´ भन्दै कसैले चाकडी गरेर ख्वामितलाई उनी देउता झैं भएको भान पार्न सक्यो भने त्यसलाई सबैभन्दा सफल चाकडीबाज भन्नुपर्छ। यस्ता चाकडीबाजहरूको उत्तरोत्तर प्रगतिको कामना गर्नै पर्दैन। तिनैको सदैव उन्नति र प्रगति हुँदै आएको छ। अरूको होइन।

ख्वामितले पुङ न पुच्छरको सुर न तालको गीत गाए त्यसलाई अत्यन्त लोकप्रिय, कर्णप्रिय, कालजयी गीत भन्दै प्रशंसा गर्नु, त्यसलाई सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नु पनि चाकडीको एउटा जबर्जस्त तरिका हो। अंग्रेजीको नाममा यस, नो र ओके बाहेक अरू केही नबोले पनि `हजूरको अंग्रेजी त साह्रै राम्रो´ भनेर प्रशंसा गर्नु चाकडीका यसैभित्रका कडी हुन्। कतिखेर भाषण सकिएला भनेर व्याकुल भएका श्रोतालाई नजरअन्दाज गर्दै `साह्रै दमदार स्पीच दिनुभो हजूर! श्रोता मन्त्रमुग्ध भए!´ भन्दै प्रशंसा गर्नु पनि यसैभित्रका कडीहरू हुन्।

**** ****

चाकडीग्राहीका छोराछोरी, पति, पत्नी,  गुप्तपति/गुप्तपत्नी, ग्रर्ल्डफ्रेण्ड/ब्वाइफ्रेण्ड र मनपसन्द अरू नातेदारको प्रशंसा त चाकडीको मामुली कडी नै भइहाल्यो। अथवा भनूँ त्यो पनि क्लासिकल काइदा भो। तिनले पालेको कुकुर, बिराला, मुसा, चरा इत्यादिको प्रशंसा र खातिरदारीमा पनि चाकडीबाजहरूले शब्द, समय, श्रम र साधन खर्चिन्छन्। स्मरणरहोस् आजकालका ख्वामितहरूले गाईभैंसी, खसीबाख्रा, हात्तीघोडा पाल्दैनन्। अधिकांश ख्वामितको घरमा कम्तीमा अवश्य हुने भनेको एकथान श्वानचाहिं हो। ख्वामितका मानवमाथा यस्ता श्वानहरूलाई दैनिक एक किलो खसीको ह्याकुलाको मासु चढाएर टेण्डर, नियुक्ति वा बढुवा वा मालदार अड्डाको अधिपति पड्काउने अनेकौं मालप्रेमी महामानवहरूमा यो विधि समर्पित छ।

आफूभन्दा मान्यजन वा वृद्धवृद्धा वा स–साना केटाकेटी भए ठाउँ जाँदा खाली हात नजानु हाम्रो मौलिक संस्कृति नै हो। छोरी माइतबाट घर फर्किंदा कोसेली लिएर फर्किनुलाई पनि यसैभित्र समेट्दा फरक पर्दैन। यो संस्कृतिको दुरुपयोग गरेर चाकडीका उस्तादहरूले कोसेलीका पोका बोकेर चाकडी गर्न निस्कन्छन्। ती पोका नगदका पनि हुन सक्छन्। जिन्सीका पनि हुनसक्छन्। नगदका पोका एलोप्याथिक औषधि हुन् भने जिन्सीका पोका आयुर्वेदिक औषधिका।

किनभने जिन्सीका पोकाले भन्दा नगदका पोकाले इच्छाएका सारा काम तुरुन्तै तमाम हुन्छ। नगदका पोका चढाइसकेपछि सामान्य शिष्टाचार नै काफी हुन्छ। उच्च घनत्वको चाकरी पनि आवश्यक पर्दैन। यदाकदा त्यही सामान्य शिष्टाचार नि आवश्यक पर्दैन। चाकडीग्राही महानुभाव चरम मुद्रापिशाच परे मुद्रा चढाउँदै हप्काएरै पनि काम लिन सकिन्छ। त्यसैले यो चाहिं तरिका बहुत भरपर्दो तरिका हो। न हात मोल्नुपर्ने झण्झट न धनुष्टङ्कार मुद्रा तय गर्नुपर्ने झिंजो। एकथान सामान्य नमस्कार गर्नुस् थपक्क नगदको पोको अगाडि राख्नुस् फटाफट आफ्नो काम फत्ते गर्नुस्! र, हिंडिहाल्नुस्। स्तरीय चाकडीबाजले सबैले यही विधि प्रयोग गर्छन्। `चिनेको भन्दा किनेको मान्छे काम लाग्छ´ त्यत्तिकै भनिएको होइन नि!

**** ****

एक समय यस्तो थियो कि श्री ५ वा श्री ३ को दर्शन पाउनु त भाग्यमा लेखेर आएको हुनुपर्छ भनिन्थ्यो। चाकडी गर्न पाउनु त झन् अहोभाग्य नै भैगो। दशैंमा `तीन न तेह्रका तर दरबारनेरका´ मान्छेकहाँ टीका थाप्न जानू यसैभित्रको एउटा कडी हो। गणतन्त्रकालमा पनि दरबारको प्रवृत्तिगत विशेषता हस्तान्तरण भई ज्यूँ का त्यूँ रहेको कुरामा दुईमत छैन।

एकजना जागिरे चाकडीबाज कुशेऔंसीको दिन आफ्ना बाउको मुख हेर्थे हेर्दैनथे तर आफ्ना हाकिमकहाँ भने `हजूर मेरो बाउभन्दा कम होइसिन्न´ भन्दै सखारै पुग्थे। तर अचम्म यो कुरा उनी गुपचुपमा होइन खुल्लमखुल्लै गर्थे र भन्थे- `त्यतिकै आउँछ त पद, पावर र पैसा ? त्यतिकै हुन पाइन्छ हाकिम ? त्यतिकै टिकिरहिन्छ त यस्तो गजबको ओहोदामा !´ र अरूलाई पनि आफ्नो कला सिक्न प्रेरित गर्थे।

अर्का उस्ताद भने आफ्नी आमाको खासै वास्ता गर्दैनथे। मातातीर्थ औंसीको दिन आफ्नी आमाको मुख हेर्नू भन्दा पहिले आफ्नो हाकिमकी स्वास्नी जो दिदी भन्न पनि सुहाउन्नथिन् `आमा!´ भन्दै छाँद हाल्दै कोसेलीपात लिएर जान्थे। उनलाई चाहिं अलिक शरम लाग्दोरहेछ शायद। अलिक जोगिएर लुकिछिपी जान्थे। तर के गर्नु मालप्रेमी हाकिम कि मालप्रेमी श्रीमती न परिन्! आफ्नो खातिरदारीको बखान रवाफका साथ दुनियाँलाई सुनाउँदै हिंड्थिन् र अरूबाट पनि त्यस्तै अपेक्षा राख्थिन्। जसले उनको अपेक्षा पूरा गर्यो उनका पतिको नजरमा ऊ आँखाको नानी बन्थ्यो। जसले गरेन ऊ आँखाको कसिंगर बन्थ्यो। जिल्लातिर त अझ हाकिमको भन्दा हाकिमकी श्रीमतीको शासन चर्को हुन्छ। `तँ हाकिम कि म हाकिम´ भनेर तिनले सानातिना निम्छरा कर्मचारी माथि राज गरिरहेका हुन्छन्। यसलाई महिला सशक्तीकरण भित्रै समेटौं। कुरो अन्यत्र नमोडौं।

**** ****

स्मार्ट मोबाइलको सर्वसुलभता र फेसबुक, इन्स्टा, एक्स लगायतका सामाजिक सञ्जालको व्यापकताले चाकडी गर्ने मनुवाहरूलाई अलिक सहज बनाइदिएको छ। तर यसरी स्मार्ट फोन मार्फत फेसबुकादिमा गरिने भर्चुअल वा स्मार्ट चाकडीले दिने फलको कुनै ग्यारेण्टी हुँदैन। राणाकालमा वा पञ्चायतकालमा पावरफूल मान्छेलाई चिनेकै भरमा, नमस्ते गरेकै भरमा हल्काफुल्का चाकडी/चियापान गरे गराएकै भरमा ठूल्ठूला काम हुन्थे रे! तर बहुदलकाल र गणतन्त्रकालमा भने चिन्नु र खातिरदारी मात्रै पर्याप्त हुँदैन किन्नु पनि आवश्यक हुन्छ रे! त्यसैले चाकडीको सामाजिक सञ्जालीय डिजिटल तरिकाको पूरा भर पर्नु जोखिम हुन्छ।

चाकडीग्राहीका पोष्टहरू लाइक वा प्रशस्तियुक्त कमेन्ट वा तिनका हरेक पोष्टको शेयर वा रि–ट्वीट वा चाकडीयुक्त शुभेच्छा, शुभकामनाहरू पर्याप्त हुँदैनन्। त्यस्तो कामले चाकडीको थप मार्ग मात्र प्रशस्त गर्छ अरू खास केही लछारपाटो लगाउँदैन। तैपनि यसखाले चाकडीबाजहरू सामाजिक सञ्जालतिर कन्दनी कसेर यत्रतत्र लागिपरेका भेटिन्छन्। यिनलाई हार्दिक सहानुभूति !



Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School