डिङबोचेमा दुई रात

डिङबोचेमा दुई रात


तेङबोचेबाट देबोचेसम्म नै बोटबिरुवाका बगैंचा भएर गएको छ हाम्रो हिँड्ने बाटो। गोडाले ओरालो झार्दैछ तर प्रभातकालीन सुरम्यता र प्राकृतिक प्रभावले मनको उल्लासलाई झन्झन् मास्तिर उकाल्दै छ। जसको वर्णनका लागि शब्द अपूरा-अधुरा छन्।

आखाअगाडि अजङ्गको आमाडब्लम हिमाल सर्वाङ्ग सौन्दर्य प्रदर्शन गरिरहेछ। आमाडब्लमको नग्नतालाई ढाका टोपी लगाएको ल्होत्से हिमाल लुकेर हेरे जसरी टाउको मात्र निकालिरहेछ। यिनैका प्रभावशाली सौन्दर्यरूपी कुचोले मस्तिष्कमा मडारिरहने विचारहरू भकाभक बढारिँदै छन्।

पाङबुचेको बाटोतिर समान उचाइका धुपीसल्ला उभिएका छन्। सोमरे (४०१० मिटर)बाट माथि उक्लेपछि भने रुखविरुवा भेटिँदैनन्। वनस्पतिको नाममा घाँसको थुप्रोजस्तो देखिने बाउन्निएका धुपीसल्लाका पोथ्रा ‘भैरुङपाती’ र फूलजस्तो देखिने रातोरातो वनस्पति ‘सुनपाती’को बुट्यान मात्र भेटिन्छन्।

पुड्किँदै जाने यिनीहरूको उचाइ लोबुचे पुग्दा एक भित्ता जति पनि रहँदैन। हामी उच्च भौगोलिक उचाइमा पुगिसकेको कुरा यसले पनि पुष्टि गरेको छ। वनस्पति र उचाइको सम्बन्ध व्युत्क्रमानुपातिक हुन्छ। जति उचाइ बढ्दै जान्छ, त्यति वनस्पतिको उचाइ घट्दै जान्छ।

सोमरेमा पुग्दा दिनको उमेर आधाभन्दा बढी भइसकेको छ। भोक र थकाइले लल्याकलुलुक पारेको छ शरीर। लन्च भनिने दिउँसोको खान्की खान्छौं। खान्कीले भोक भगाउने, शरीरमा शक्ति भित्र्याउने र थकाइ सामसुम पार्ने काम एकैसाथ गर्छ।

आज दालभात खाने मन छैन। लगातार एउटै खान्की खाँदा मुखले पनि माग गर्छ अर्को स्वादको खान्की। चाहे डा. अरूणा उप्रेतीको भाषामा भनिने पत्रु खाना नै किन नहोस् ! एग चाउमिन खाएँ, मेरो पाहुनाले खाएको लन्च। थप पनि दिइन् साहुनीले। दालभातको तात्तातो दाल खाऊँ कि जस्तो लागेर सोधेको थिएँ। भरिया भाइले प्रतिप्रश्न तेस्र्यायो मैतिर, ‘ठुलो खसीको दाल छ, खानुहुन्छ दाइ ?’

रागाको मासुमा झोल हालेर त्यसैलाई दाल बनाएको रहेछ। नखाने जनाएँ। मागेको होइन। ‘अलिकति सुप खानुस् है दाइ।’ साहुनीले मिठो आदेश दिइन्, बटुकाभरि मसरुम सुप टक्य्राउँदै। मेरो पाहुनाले भन्दा बढी परिकार र मूल्यको खान्की खाएँ आज मैले। त्यो पनि निःशुल्क। पाहुना लिएर पदयात्रामा निस्कँदा पथप्रदर्शकलाई गास र बासको पैसा लिँदैनन् प्रायः होटल रेस्टुरेन्टले। कुनै कुनै इलाकामा स्थानीय संगठनबाट बेचिने खानाको कुपन किन्नुपर्दाबाहेक।

उचाइ बढ्दै जाँदा त्यही अनुपातमा चिसो बढ्ने नै भयो। हात ठिहिर्‍याउन र नाकबाट पातलो पानी निस्कन थालेको हिजोदेखि नै हो। चिसो पानी त मुखमा हाल्नै सकिँदैन। अब मनतातो पानीबिना हातमुख धुन पानी मुस्किल छ। धुने के भन्नु ! धोएजस्तो मात्र गर्ने हो। झनै साबुनले धुने कर्म त हैरान बेसाउनु हुन्छ। मरिगए चिप्लो नै निख्रँदैन। चिसो सिरेटोबाट बच्न नाक, कान र घाँटी छोपेर हिँड्नु परेको छ।

रेडियो र नेट नाम्चेसम्म टिप्छ। नाम्चेका होटलमा साँझतिर जब सबै हातमा मोबाइल चल्छन् तब भार थेग्न नसकेर नेटले धर्म छाड्छ। तेङबोचे (३८६० मिटर) सम्म डाटाले काम गर्छ कहिलेकाहीं। डिङबोचे नपुग्दै पाङबुचे (३९३० मिटर) गाउँ काटेपछि त डाटा, नेट मात्र होइन, मोबाइलमा फोनले पनि टावर देखाउन छाड्छ। यतातिर नेट चलाउन एभरेस्ट लिन्क र एयर लिन्कको एक जिबी २४ घण्टे कार्ड किन्न पाइन्छ। यसका लागि पर्यटकले आठ सय र नेपालीले ६ सय तिर्नुपर्छ। 

एउटा अनौठो कुरा भयो आज। कुरा के भने मध्याह्नको हिँडाइमा पनि पसिना निस्केन शरीरबाट। हिजो दिउँसोको यत्तिको हिँडाइमा कम्ती पसिना छुटेको थिएन ? गर्मी यति धेरै महसुस भएको थियो कि शरीरलाई नजिकैबाट बगेको चिसो दुधकोशीको पानीमा चोबली हालूँ, होइन भने होटल पुग्नासाथ चिसो पानीले खलखली नुहाइदिऊँ जस्तो। तर होटलमा आइसकेपछि तत्काल नुहाउने मेसो नै मिलेन। सावरका लागि विदेशी पाहुनाहरूको लाइनका कारण।

पालो आउने कहिले हो कहिले ! १२-१५ मिनेटमा पसिना सुकेपछि त चिसोचिसो पो भयो। पालो हापेर कोठातिर फर्किए पाइला। सफा रुमाल मनतातो पानीमा भिजाएँ र त्यसैले शरीर पुछेर चित्त बुझाएको थिएँ। आजदेखि त यो पुछपाछको कार्यक्रमसमेत बन्द होला जस्तो छ, साइबर सेवा बन्द भएझैं। आगामी पदमार्ग झन्झन उचाइका छन्। 

नुहाउन त कोशौं परको कुरा। चिसोकै कारण डेङबोचेभन्दा माथिका होटलहरूमा त नुहाउने सावरको व्यवस्था नै हुँदैन। हिँड्न छोड्यो कि चिसो भइहाल्छ। फेरि अपराह्नपछि मौसम खराब हुनु उच्च हिमखण्डको दैनिकी नै हो, चाहे दिनमा जतिसुकै राम्रो मौसम किन नहोस्। जतिजति दिन ढल्कँदै गयो, झन्झन् चिसो स्याठ न्वारानदेखिको बल निकालेर बेगले चल्छ।  

आजको वासस्थान डिङबोचे गाउँ (४४१० मिटर) आइपुग्यौं। तेङबोचेबाट यहाँसम्म आइपुग्दा ठ्याक्कै पाँच घण्टा लागेछ। जम्मा पाँच सय ५० मिटर माथि उक्लेछौं। साधारणतया हाम्रो शरीरले एक दिनमा पाँच सय मिटरसम्मको उचाइ पचाउन सक्छ। ५० मिटर बढी उचाइ उक्लेछौं। नाम्चे (३४४० मिटर) बाट डिङबोचे (४४४० मिटर) सम्म आउँदा ठ्याक्कै एक हजार मिटर भएछ।

विज्ञनुसार प्रत्येक एक हजार मिटर नाघेको ठाउँमा दुई रात बास बस्नु जरुरी हुन्छ। यसले शरीरको तापक्रमलाई उचाइनुसार घट्दै गएको तापक्रमसँग व्यवस्थापन÷सन्तुलन कायम गर्छ। आखिर जिन्दगी भनेको व्यवस्थापन न हो। यसैले डिङबोचेमा दुई रात बास बस्ने सुझाएँ पाहुनालाई। हिजो साँझ अलि असहज महसुस भएको थियो। अहिले सामान्य अवस्थामा ओर्लिएँ म। तर मेरा एकजना पाहुनाको टाउको दुख्न छोडेको छैन। यसले यहाँ अर्को रात पनि आराम गर्नु भनेर संकेत दिएको हुन सक्छ।

हिमाली भेगमा सक्छु भनेर हतारमा यात्रा गर्नु हानिकारक हुन्छ। त्यस्तै नसकी नसकी उचाइमा उक्लनु पनि हानिकारक हुन्छ। लेक नलागे पनि ज्यानले दुःख झेल्नुपर्छ। यदि उच्च ठाउँको यात्रामा तापक्रमको व्यवस्थापन गर्न चुक्याैं अर्थात् आफूलाई वातानुकूलित पार्न सकेनौं भने सास फेर्न गाह्रो हुने, टाउको दुख्ने हुन्छ। दिउँसो भने सुत्नु हुँदैन।

सुरुवातीमै तात्तातो लसुनको सुप र अदुवा–मह–कागती चिया, कफीजस्ता तातो÷गर्मी पेय पदार्थ पिउनुपर्छ। यसो गर्दा पनि कम हुनुको साटो उल्टी आउन थाल्यो। ज्वरोले छोडेन, ज्यानले असजिलो मानिरह्यो भने ‘अल्टिच्युड’ अर्थात् लेक लागेको हो भन्ने बुझ्नुपर्छ। अक्सिजन नाप्दा ६० भन्दा मुनि देखायो भने यो पनि खतराको संकेत भनेर बुझ्नुपर्छ। यस्तो अवस्थामा तत्कालै तलतिर (कम उचाइतिर) फर्किहाल्नुको विकल्प छैन। अन्यथा ज्यानका लागि जोखिमपूर्ण अवस्था आइलाग्न सक्छ।

अहिले डिङबोचे गाउँलाई हिउँ र चिसोले कब्जा गरेको छ। होटलमा अपराह्नदेखि नै हिटर बलेको छ। हिजो तेङबोचेदेखि नै होटलले बाल्न थालेको हिटर अब यात्राको अन्तिम बस्ती गोरक्षेपका होटलसम्म बलिरहने छ। दूरदराजका बस्तीहरूमा विद्युत् पुर्‍याउन कठिन हुन्छ। त्यसैले अबका यात्राको अन्तिम होटलसम्म विद्युत्को सुविधा छैन।

सौर्य ऊर्जाबाट काम चलाउने गर्छन्। होटललाई साह्रै फारु गरेर चलाउनुपर्ने बाध्यता छ। डाइनिङ हलमा डिनर खाने बेलासम्म मात्र उज्यालो हुन्छ। सुत्ने कोठाहरूमा बत्तीको सुविधा छैन। अनकन्टार ठाउँमा अवस्थित यहाँका मानिसले सामान्य सुविधा उपभोग गर्नसमेत कति कठिन रहेछ भन्ने यसले पुष्टि गर्छ।

अँध्यारो कोठामा के गरी बस्नु ? सिरकभित्र घुस्रेर निन्द्रादेवी निम्त्याउनुबाहेक अरू उपाय भेट्दिनँ। बेलुकी १० नबज्दासम्म नसुत्ने बानी। जसोतसो ८ः३० बजाएँ। जाडोले अँठ्याएको शरीरले ओछ्यानको न्यानो पाएर पनि होला भुसुक्कै भएछु। मध्यरातमा ब्युझिएँ। चाँडो सुतेपछि बिचमा ब्युँझिनु अस्वाभाविक होइन। धेरै बेर मनमा के के कुरा खेलेको याद छ तर कतिबेला निदाएछु यादै भएन। ब्युझिँदा ६ः१० भइसकेको छ। पर्दा खोलेर बाहिर हेर्छु।

‘बाहिरै आऊ न, हामीसँग साटिन !’ स्निग्ध, स्वच्छ र पवित्र हिमाल मौन आह्वानसहितको विनम्र अनुरोधमा झुकिरहेथ्यो। ‘तिम्रै रूपले तानेर त यहाँसम्म आएको हुँ। तिमीसँग लहसिँदाको अतुलनीय खुसी र अविस्मरणीय सन्तुष्टि लैजान,’ बिहानको स्फूर्तिमा भावविभोर भएर मनमनै साउती मारेँ। हत्तपत्त कपडा लगाएर बाहिर निस्किहालेँ। गुलाबी घामको किरणमा डाँडामाथि हिस्सी परेका हिमाल-पिक हाँसिरहेका छन्। प्रेमिकासँगको रोमाञ्चक स्मृति कल्पेर प्रेमी त्यसैत्यसै हासेजस्तो।

उत्तरतिर लोसासा हिमाल, एलाम्पिक पिक। पूर्वतिर छपलु हिमाल, खाङ्लेमु हिमाल, मकालु हिमाल (खाङ्लेमु पछाडि पहिलोपटक), बरुन्चे हिमाल, आमाडब्लम हिमाल आङ सेकाइरहेका छन्। दक्षिणतिर खाङ्तेका हिमाल, थामसेर्कु हिमाल, कुसुम खाङारु हिमाल, कोङ्दे रि हिमाल, कोङ्दे पिक, नुम्बुर पिक, थामे पिक, सुन्दर हिमाल, खुम्बिला हिमाल जति हाम्रो महानताको मनोभाव उकास्न अग्लिएका हुन् जस्तो लाग्छ।

पश्चिमतिरका सेताभन्दा सेता चोलाक्छे पिक, तबुचे पिक, छोयू हिमाल, फकल्टे पिक (पहिलोपटक देखिएको) लगायतले मनका काला मयल पखाल्दैछन्। यिनै मोहक हिमालचुलीलाई साक्षी राखेर डिङबोचे वरपर डुलेँ। चौतर्फी चिसो हाबी छ। चरक्क पोल्ला कि जस्तो गरी झलमल्ल लागेको घामले रत्तिभर न्यानो पार्न सकेको छैन। खुम्बु क्षेत्रको सूर्योदयको उपत्यका भनेर समेत चिनिन्छ यो घमाइलो ठाउँलाई।

आज एक दिन यहीं सुस्ताउँदैछौं हामी, अगाडिको यात्रा रोकेर। यही क्रममा नास्तापछि नजिकैको नाकार्साङ डाडा (५६१६ मिटर)को उचाइ नाप्दैछौं। यसको उचाइ भनेको कालापत्थर (५६४४ मिटर)को हाराहारी हो। डाँडो चढ्नासाथ दायाँ तलतिर सुर्के बारीमा बनेका डिङबोचेका होटलहरू चरिरहेका रङरङका जर्सी गाईजस्ता रहरलाग्दा देखिएका छन्। जति उकालो उक्लियौं, उति हिमालको आकार र आकर्षक बढ्दो छ।

सय सय मिटरको फरकमा झन्डा गाडिएको छ। जसको उपस्थितिले कति मिटरको उचाइमा पुगियो भन्ने जानकारी मिल्छ। भोलि उक्लने थुक्ला डाँडा ४६०० मिटर बराबरको उचाइमा पुग्यौं, एक घण्टा ३० मिनेटमा। अर्को शब्दमा, डिङबोचेको उचाइभन्दा १२०६ मिटरको उचाइ बढी माथि आएछौं। आधा घण्टा बसेर हाई पचाएपछि फर्कियौं।

डिङबोचे गाउँ भएर नै एलाम्पिक आधारशिविर पुगिन्छ। यहींकै अर्को बाटोले थ्री पास पुर्‍याउँछ। खोम्माला डाँडा, लोबुचे गाउँ हुँदै गोरक्षेप गएपछि सगरमाथा आधारशिविर पुगिन्छ। फेरि गोरक्षेप फर्केर जोङ्ला, थाङ्ना गाउँ पछ्याउँदै जाने पाइलाले गोक्यो उतार्छ। गोक्योबाट नै गर्ने हो, रेन्जोला पास (५४०० मिटर)। त्यसपछि लुङदेन गाउँ, थामे गाउँ हुँदै नाम्चे बजार फर्कन सकिन्छ।

प्रकाशित: ८ भाद्र २०८१ ०८:१२ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School