प्रकाशित मिति : भाद्र १, २०८१ शनिबार
नयाँ सर्वेक्षणमा अमेरिकी राष्ट्रपतिका उम्मेदबारहरु कमला ह्यारिस र डोनाल्ड ट्रम्प ब्याटलग्राउण्ड राज्यका रुपमा चिनिने एरिजोना, जर्जिया, नेभाडा र नर्थ क्यारोलिनामा नेक टु नेक देखिएका छन् । द न्यु योर्क टाइम्स र सिएना कलेजका नयाँ सर्वेक्षणहरूले कमला ह्यारिसले एरिजोना, जर्जिया, नेभाडा र नर्थ क्यारोलिनामा कडा प्रतिस्पर्धामा देखिएकी छिन् ।
ह्यारिसले अब एरिजोनामा सम्भावित मतदाताहरुको ५० प्रतिशत समर्थन पाएकी छिन् भने ट्रम्प ४५ प्रतिशतमा सिमित भएका छन् । नर्थ क्यारोलिनामा पनि उनी ट्रम्पभन्दा अगाडि छिन् । नर्थ क्यारोलिनामा ट्रम्पले चार वर्षअघि जितेका थिए । त्यस्तै जर्जिया र नेभाडामा अझै ट्रम्प अगाडि भएतापनि ह्यारिसले उल्लेख्य प्रगति गरेकी छिन् ।
अगस्ट ८ देखि १५ सम्म गरिएको सर्वेक्षणमा ट्रम्प र ह्यारिस यी चार महत्वपूर्ण राज्यहरूमा औसत ४८ प्रतिशतमा बाँधिएका छन्। मे महिनाको तुलनामा यो डेमोक्र्याटहरूका लागि महत्त्वपूर्ण सुधार हो । जतिबेला ट्रम्प एरिजोना, जर्जिया र नेभाडामा ५० प्रतिशत समर्थनका साथ अगाडि थिए भने बाइडेन निकै पछाडि थिए ।
नयाँ सर्वेक्षणहरूले ह्यारिसले आफ्नो पक्षमा भएको समर्थनलाई सफलतापूर्वक सुदृढ गरेको प्रमाण प्रस्तुत गरेको छ । विशेष गरी युवा, अश्वेत र महिला मतदाताहरूलाई उनले आफ्नो पक्षमा ल्याउन सफल भएकी छिन् ।
गत हप्ताको टाइम्स सिएना सर्वेक्षणमा तीन ब्याटलग्राउण्ड राज्यहरु ह्यारिसले मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिनमा पनि ट्रम्पलाई थोरै अन्तरले उछिनेकी थिइन् । ती राज्यहरूमा जितेमा डेमोक्र्याटहरुलाई ह्याउट हाउसको बाटो सहज हुने मानिदै आएको छ ।
जर्जिया र नेभाडामा भने ट्रम्प अगाडि छन् । जर्जियामा ट्रम्पले ५० प्रतिशत समर्थन पाएका छन् भने ह्यारिस ४६ प्रतिशतमा सिमित छिन् । त्यस्तै नेभाडामा ट्रम्पले ४८ प्रतिशत समर्थन पाएका छन् भने ह्यारिस ४७ प्रतिशत समर्थनका साथ साँगुरो अन्तर कायम गर्न सफल भएकी छिन् ।
यी ९ वटा राज्यले गर्नेछन् अमेरिकामा आगामी राष्ट्रपतिबारे निर्णय
अमेरिकाको राष्ट्रपति छान्न आगामी नोभेम्बर ५ तारिख मंगलबार आमचुनाव हुनेछ । जुन चुनावबाट अमेरिकी जनताले नयाँ राष्ट्रपति छान्नेछन् । जुन चुनावी प्रकृयामा झण्डै १ लाख नेपाली अमेरिकनहरु पनि मतदानका लागि योग्य छन् । त्यसैले अमेरिकामा रहेका नेपाली र नेपाली अमेरिकनहरुले पनि यो चुनावलाई निकै उत्सुकताका साथ हेरिरहेका छन् ।
अमेरिकाको राष्ट्रपतीय चुनावमा मतदान गर्नका लागि १८ बर्ष उमेर पुगेको अमेरिकी नागरिकता प्राप्त व्यक्ति हुनुपर्छ । यो योग्यता पूरा गरेका नेपालीहरु अमेरिकामा लगभग १ लाखको हाराहारीमा रहेको अमेरिकी सरकारको तथ्यांकले देखाएको छ । चुनाव भन्नासाथ अत्याधिक चासोका साथ हेर्ने नेपालीहरु अमेरिकी राष्ट्रपतीय चुनावमा पनि सकृय रुपमा सहभागी हुँदैछन् ।
अमेरिकामा राष्ट्रपतिको चुनावमा निर्वाचित हुनका लागि कम्तीमा २७० इलेक्टोरल मत ल्याउन आवश्यक हुन्छ । हरेक राज्यका लागि इलेक्टोरल मतभार फरक फरक तोकिएको हुन्छ । अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।
जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ । ५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । अमेरिकामा अधिकांश राज्यमा विगतको इतिहास र पार्टीको प्रभावको आधारमा चुनाव कस्ले जित्छ भन्ने लगभग सुनिश्चित जस्तै नै हुने गर्छ । तर अमेरिकाका केही राज्यहरु त्यस्ता राज्यहरु छन् जसले पटकपटक आफ्नो चुनावी परिणाम बदल्ने गरेका छन् । त्यसैले अमेरिकी राष्ट्रपति चुनाव कस्ले जित्छ भन्ने कुराको निर्धारण यी राज्यहरुको चुनावी परिणाममा निर्भर गर्ने गरेको छ ।
२०२० को चुनावी परिणाम र अहिलेको मत सर्वेक्षण हेर्दा ९ वटा राज्यहरु मिनेसोटा, भर्जिनिया, विसकन्सिन, पेन्सिलभेनिया, मिसिगन, नर्थ क्यारोलिना, एरिजोना, जर्जिया र नेभाडामा सबैको ध्यान केन्द्रीत भएको छ । यीबाहेक अन्य राज्यको विगतको इतिहास, मत परिणाम र सर्वेक्षण हेर्दा डेमोक्रेटिक उम्मेदबारले २०३ र रिपब्लिकन उम्मेदबारले २१९ इलेक्टोरल भोट जित्ने लगभग सुनिश्चित देखिन्छ । त्यसैले डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदबारलाई चुनाव जित्न यी ९ राज्यबाट थप ६७ इलेक्टोरल मत प्राप्त गर्न आवश्यक हुन्छ भने रिपब्लिकन उम्मेदबारलाई ५१ इलेक्टोरल मत प्राप्त गर्न आवश्यक हुन्छ ।
मिनेसोटामा अहिलेसम्म डेमोक्रेटिक उम्मेदबारले नै जित्दै आएका छन् भने भर्जिनियामा २००४ सम्म रिपब्लिकन उम्मेदबारले र त्यसपछि डेमोक्रेटिक उम्मेदबारले जित्दै आएका छन् । तर यी २ राज्यको इलेक्टोरल मतभार १० र १३ गरी २३ मात्र हुन्छ भने यी २ राज्यमा जित्दा डेमोक्रेटिक उम्मेदबारको इलेक्टोरल मत जम्मा २२६ हुनजान्छ ।
बाँकी ७ वटा राज्यमा रिपब्लिकनहरुको रिपब्लिकनले जितेमा कुल मतभार ३१२ हुन जान्छ । जुन राष्ट्रपति चुनाव जित्नका लागि प्रयाप्त रहेको छ । तर मार्जिन कम भएका विसकन्सिन, पेन्सिलभेनिया र मिसिगनमा डेमोक्रेटिक पार्टीका उम्मेदबारले जितेको खण्डमा भने डेमोक्रेटिक पार्टीका उम्मेदबारलाई २७० इलेक्टोरल मत प्राप्त हुन्छ, जुन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि प्रयाप्त छ ।
१५ इलेक्टोरल मतभार रहेको मिसिगनमा २०१६ मा ट्रम्पले जितेपनि २०२० मा बाइडेनले जितेका थिए । २०१६ अगाडिका ७ वटा राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदबारले नै जितेका थिए । त्यस्तै १९ इलेक्टोरल मतभार रहेको पेन्सिलभेनियामा पनि २०१६ मा ट्रम्पले र २०२० मा बाइडेनले जितेका थिए । तर २०१६ अगाडिका ६ वटा राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदबारले नै जितेका थिए । १० इलेक्टोरल भोट रहेको विसकन्सिनमा पनि २०१६ मा ट्रम्पले र २०२० मा बाइडेनले जितेका थिए । तर २०१६ अगाडिका ७ वटा राष्ट्रपति चुनावमा पनि डेमोक्रेटिक पार्टीका उम्मेदबारले नै जितेका थिए ।
नर्थ क्यारोलिनामा सन् २००८ मा एकपटक बराक ओबामाले जितेका थिए, त्योबाहेक १९८० देखिका हरेक चुनावमा रिपब्लिकन राष्ट्रपति उम्मेदबारले जित्दै आएका छन् । अझ यसपटक नर्थ क्यारोलिनाको इलेक्टोरल मतभार १५ बाट बढेर १६ पुगेको छ । डेमोक्रेटिक उम्मेदबारलाई राष्ट्रपति चुनावमा नर्थ क्यारोलिनामा जित्न सहज छैन । त्यस्तै ११ इलेक्टोरल मतभार रहेको एरिजोनामा सन् २०२० मा जो बाइडेनले जितेपनि त्यसअगाडिका ६ वटा राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदबारले लगातार जितेका थिए ।
त्यस्तै १६ इलेक्टोरल मतभार रहेको जर्जियामा सन् २०२० को चुनावमा बाइडेनले जितेपनि त्यसअगाडिका ६ वटा राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदबारले लगातार जितेका थिए । त्यस्तै अर्को राज्य नेभाडामा ६ इलेक्टोरल मतभार रहेको छ । यो राज्यमा पछिल्ला ४ वटा राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदबारले जितेपनि २००२ र २००४ को चुनावमा रिपब्लिकनले जितेका थिए । पछिल्लो सर्वेक्षणमा यो राज्यमा ट्रम्प ७ प्रतिशतले अगाडि रहेका थिए । त्यसैले यसपटकको चुनावमा यो राज्यको परिणामबारे पनि चासो चुलिएको छ ।