प्रचण्ड भर्सेस प्रभाकरमा बहस नलैजाऔं

प्रचण्ड भर्सेस प्रभाकरमा बहस नलैजाऔं


अब माओवादीले कता फर्केर बहस गर्छ ? के माओवादीको रिभाइभ सम्भव छ ? के माओवादी गएको एक दशकको लगातार ओरालो यात्राको गम्भीर समीक्षा गर्न तयार छ ? के माओवादी आफ्ना एजेण्डाको नेतृत्व गर्ने सामथ्र्य र शक्ति-सञ्चयका लागि फ्रन्टलाइनमा आउन तयार छ ? के माओवादी विधि-पद्धतिको दायरामा आउन तयार छ ? अझ सबैभन्दा टड्कारो सवाल के माओवादी भविष्यको नेतृत्वका लागि योग्य छ ? जनता र कार्यकर्ताले हामीसँग अपेक्षा गरेका यी प्रश्नहरूको व्यावहारिक जवाफ के हो ? अहिले हजारौं कार्यकर्ता, लाखौं समर्थक-शुभेच्छुक–शुभचिन्तकहरूको जिज्ञासु नजर माओवादीतिर छ ।

तथ्यले के देखाउँछ भने माओवादी अनपेक्षित संकुचनमा छ । पार्टी प्रणाली र पद्धतिमा चलेको छैन । दिशानिर्देश गर्ने कुनै विधि-विधान छैन । माओवादीले निर्धक्कसाथ भन्न सक्नुपर्छ कि भौतिकवाद भन्दा व्यक्तिवादको पक्षमा आफूलाई उभ्याउने होडबाजीमा छौं । भौतिकवादले परिवर्तनको शाश्वत सत्यलाई स्वीकार्छ । हामी पनि भौतिकवादका लामा-लामा आख्यान दिन सक्छौं तर नीति-नेतृत्व-संरचना हेरफेरको लागि हामी मानसिक रूपमा तयार रहनुपर्ने अवस्था आउन सक्छ मात्रै भनिदियो भने हाम्रो मस्तिष्कका सबै कोषिकाहरू तरंगित हुन्छन् । किनकि हामी तिनलाई अपरिवर्तनीय र अनुलंघनीय ठान्छौं ।

हामी यस्तो गज्जबका भौतिकवादी प्राणी हौं जसले व्यक्तिगत सम्बन्धका आधारमा विषयलाई हेर्ने दृष्टिकोण बनाउँछौं । गएको एक दशकमा हामीले नेकपा एमालेसँग चुनावी कार्यगत एकता, संयुक्त सरकार र पार्टी एकता समेत गर्‍यौं । हँसिया हथौडालाई सूर्यभित्र हुल्यौं । कांग्रेससँग चुनावी कार्यगत एकता गर्‍यौं र रूखमा भोट हाल्यौं ।

सरकार ढाल्ने र गठन गर्ने संसदीय व्यवस्थाको भद्दा प्रहसनमा हाम्रा सक्रियता लज्जाजनक रहेको टिप्पणी व्यापक छ । के यी सबै गतिविधिहरू कुनै सिद्धान्त–विचार र राजनीतिक एजेण्डाको धरातलमा थिए ? के यी सबै हाम्रो पार्टीको विशाल संरचना र हाम्रो सैद्धान्तिक वा राजनैतिक विजयका लागि गरिएका पहलकदमीहरू हुन् ? किमार्थ होइनन् ।

दुनियाँलाई थाहा छ बाध्यता सबैका थिए होलान् अरूलाई पहिलो र ठूलो पार्टी बन्ने बाध्यता थियो । हामीलाई पार्टीको साख जोगाउन र अस्तित्व धान्न बाध्यता थियो । के हामी यसलाई नेतृत्वले लिएको पहलकदमी, दूरदृष्टि र शानदार उपलब्धिको व्याख्या गर्ने सोचमा छौं ?

यदि त्यसो होइन, पार्टी बिग्रेको छ, यसको जरासम्म पुगेर उपचार खोज्नुपर्छ भन्ने हो भने विना आग्रह–पूर्वाग्रह समीक्षा गरौं, बहस गरौं र निक्र्योलमा पुगौं । पार्टीमा मत–अभिमत, फरक मत, विचार, बुझाइ र धारणा आउनेवित्तिकै नेतृत्वलाई काउण्टर भयो भनेर कोकोहोलो गरियो भने हामीले यस पार्टीलाई भजनमण्डली बनाउँछौं । भजनमण्डलीमा महिमागान कसरी उत्कृष्ट बनाउन सकिन्छ ? पूजा विधि कसरी तय गर्ने र भजन-कीर्तनको चाँजोपाँजो कसरी गर्ने भन्ने हुन्छ । हामी त्यसप्रकारको भक्ति प्रदर्शन पनि नगरौं ।

३५ वर्ष पार्टी सत्ताको एकल नेतृत्वमा रहँदा प्रचण्डले सयौं बैठक, दर्जनौं महाधिवेशन, भेला, सम्मेलनहरू सामना गरेकै छन् । जीवनको उत्तरार्धमा आफ्नै नेतृत्वको पार्टी अवसान भएको हेर्न उनलाई पनि रहर छैन होला । गतिशील र प्रगतिशील धाराको नेतृत्व र प्रतिनिधित्व गर्दै यहाँसम्म आइसकेका प्रचण्डलाई तलदेखि माथिसम्म मज्जाले ठोक्न दिनुस् । वैचारिक र नीतिगत ठोकाइले उनमा एउटा धार निर्माण हुन्छ । भक्तहरू नआत्तिनुस् । प्रचण्डसँग रहने एउटा डार्क सर्कल छट्पटाउँदैमा पार्टीले नोक्सानी व्यहोर्नु पर्दैन । पार्टीलाई वास्तविक लयमा ल्याउँदा आफ्नो हविगत के हुन्छ ?

तल कार्यकर्तालाई कारिन्दा ठान्ने र माथि प्रचण्डको भजन गाउँदै दुनो सोझ्याउनेहरूलाई समस्या होला । तर ठूलो पार्टी हुँदा हामी भक्तहरूलाई पनि लाभ बढी होला भन्नेसम्म त हेक्का राख । यति कुराले माओवादीभित्रका समस्या, पीडा, आक्रोश, असन्तुष्टि र असंगतिको प्रतिनिधित्व गर्छन् । अब माओवादी कसरी रिभाइभ हुनसक्छ त्यसको चर्चा गरौं ।

पार्टी प्रणालीका बारेमा जोसुकैले उठाए पनि गतिशील तर्क, उपयुक्त विधि पद्धति र नेतृत्व ट्रान्सफरको जनवादी तरिका स्वाभाविक बहसको विषय हो । यसलाई अतिरञ्जित गर्नु भनेको यथास्थितिमै माओवादी पार्टीको इतिहासलाई विश्राम दिऊँ भन्नेमा सहमत हुनु जस्तै हो

हाम्रो सुधारका लागि पहिलो शर्त पार्टीको लोकतन्त्रीकरण हो । २१औं शताब्दीको जनवादमा हामीले प्रत्याह्वानको अवधारणा अघि सार्‍यौं । दुई दशकअघि तय गरिएको त्यो अवधारणामा निर्वाचित अवधिमै व्यक्तिले उत्कृष्ट पर्फर्मेन्स दिन नसके बीचमै फिर्ता बोलाउन सक्ने उपाय खोजी गरिएको थियो ।

तर पार्टीमा प्रत्याह्वानको त कुरै छोडौं निश्चित अवधि तोकेर निर्वाचन गरौं भन्दा पार्टी माथि नै औंला उठाएको अर्थमा बुझ्ने प्रचलन हामी भित्रै छ । कहिल्यै अद्यावधि गर्न नपर्ने । चुस्त–दुरुस्त हुन नपर्ने । भद्दा, जीर्ण र जकडिएका संरचनाहरूको भारी बोक्दै कहाँ पुग्ने हो ? यो अनिश्चय हामी भित्र छ ।

महत्वाकांक्षाहरूको पखेटा बाँधेर राजनीतिमा कसले उडान भर्न सक्छ ? क्षमता र प्रतिभाहरूको तुलना चाकडी र वफादारितासँग हुन थालेपछि हामी कसरी उँभो लाग्छौं ? यी प्रश्नको समुचित जवाफका लागि हामीले पार्टीलाई लोकतान्त्रिक अभ्यासमा लानैपर्ने हुन्छ ।

आफैंले स्वघोषणा गरेको सोपानक्रमको आयु कति हुन्छ ? प्रोटोकल घटबढ हुने चिन्ताले नै हामीकहाँ युवा जमात अर्धजीवित छ । बीपी कोइरालाको प्रोटोकल राणा सरकारले निर्धारण गरेको थिएन । युवा बीपीलाई जनताको दुई तिहाइले प्रोटोकल दियो । मदन भण्डारीको लोकप्रियता र प्रोटोकल पञ्चायतले दिएको थिएन । युवा मदन भण्डारीलाई त्यो उचाइ र प्रोटोकल जनताको समर्थनबाटै प्राप्त थियो ।

प्रचण्डलाई प्रोटोकल कांग्रेस–एमालेको सदाशयताबाट प्राप्त भएको होइन । जनताकै समर्थनबाट प्रोटोकल बनेको हो । आन्दोलन र इतिहासका विशिष्ट क्षणपछि प्रोटोकलको उचाइ र घनत्व कायम राखिरहने कुरा जति चुनौतीपूर्ण छ, निरन्तरताको राजनीतिमा जनता र कार्यकर्ताबाट प्रोटोकल निर्माण गर्ने कुरा त्योभन्दा कैयौं गुणा चुनौतीपूर्ण छ ।

कांग्रेस र एमालेमा ज–जसले नेतृत्वको आशीर्वादलाई बेवास्ता गरी जनताको आवाज उठाए र कार्यकर्ताको भावना बुझे ती युवा नेताका रूपमा परिचित छन् । विडम्बना सबैभन्दा बढी भौतिक विज्ञानको जगमा उभिएर परिवर्तनको नेतृत्व गर्ने, प्रशिक्षण लिने र दिने हामी प्रोटोकलको लालसामा चाकडी र बफादारिताको होडमा छौं ।

निष्कर्षमा माओवादी पार्टीलाई गति दिने हो भने यसको ‘रिभाइभ’ सम्भव छ । त्यसका केही आधारहरू छन् । पहिलो कुरा चुस्त सांगठनिक चेन हो । त्यसले निपुणता र कुशलताका साथ आफ्ना एजेण्डाहरूको आवश्यकता, निरन्तरता सुदृढीकरणको सन्देश आम जनतासम्म हमेसा पुर्‍याइरहनुपर्छ । यो व्यवस्था र एजेण्डाका हिसाबले माओवादी आजको सबैभन्दा जेठो पार्टी हो ।

भलै यो अग्लो, मोटो र फराकिलो बन्न सकेको छैन । यो नीतिगत भ्रष्टाचारको माखेसाङ्लोमा बेरिएको पनि छैन र यसले राज्यको सम्पत्ति दोहन गरेको छैन । यसर्थ यसलाई फेरि पनि जनताको पार्टी बनाउन सकिन्छ, त्यो सम्भव छ ।

अर्को कुरा निर्वाचित प्रणालीबाट कमिटी फर्मेसन गर्दा विजेताले कार्यकारी भूमिकामा काम गर्छ । उपविजेताले अर्को पटकको तयारी गर्छ । आफूलाई कार्यकर्ता वा जनताले नरुचाउनुका कारण खोतल्छ । आफ्ना कमजोरी सच्याउँछ र आफूलाई तयार पार्छ । त्यसो हुँदा नेता कार्यकर्तातिर र कार्यकर्ता जनतातिर फर्किनुपर्छ । जनता र कार्यकर्ताबाट अनुमोदित पार्टी प्रतिनिधिहरू स्वीकार्य हुन्छन् । तिनले निश्चित समयावधिमा राम्रो काम गर्ने कोसिस गर्छन् ।

माओवादीभित्र प्रचण्ड अझै एक कार्यकाल सर्वसम्मत भइहाल्छन् बाँकी सबै निकायका लागि निर्वाचन प्रणाली अपनाइयो भने यस पार्टीभित्रका अन्तरविरोधहरू मात्रै समाधान हुँदैनन् पार्टी गतिशील बन्छ र आम कार्यकर्ताले चुन्ने र चुनिने परिपाटीभित्र आफ्नो भविष्य देख्न सक्छन् ।

माओवादीभित्र ४० देखि ५० को उमेर समूह निकै निराश छ । आगामी १५ वर्ष पहिलो पुस्ताले नै नछोड्ने त्यो पुस्तासँगै माओवादी पार्टी सकिने अवस्था देखिंदा यो उमेर समूहको ठूलो हिस्साले आफ्नो राजनीतिक जीवनको करिअर सुरु नै नगरी पार्टीबाट मात्र होइन सामाजिक सोपानक्रमबाटै बिदा लिनुपर्ने हुन्छ ।

त्यसैले पार्टी प्रणालीका बारेमा जोसुकैले उठाए पनि गतिशील तर्क, उपयुक्त विधि पद्धति र नेतृत्व ट्रान्सफरको जनवादी तरिका स्वाभाविक बहसको विषय हो । यसलाई अतिरञ्जित गर्नु भनेको यथास्थितिमै माओवादी पार्टीको इतिहासलाई विश्राम दिऊँ भन्नेमा सहमत हुनु जस्तै हो ।

हामीसँग विशाल युवापंक्तिको आशा छ, पार्टीका लाखौं समर्थकको आशा छ, देश र जनताको आशा छ । माओवादी केन्द्रले भविष्य दिनसक्छ भन्ने आशा गर्नेहरूलाई निराश बनाएर कित्ताकाट गरी प्रचण्ड र प्रभाकरको नाममा विभाजन रेखा कोर्न कुनै जरूरी छैन । पार्टी निर्माणका लागि यी मुद्दाहरू आज नउठे भोलि उठ्नेछन् र प्रभाकरले नउठाए अरू कसैले उठाउनेछ । यसर्थ भौतिकवादीहरूले अनुहार हेरेर होइन भविष्यका लागि एजेण्डा हेरेर बहस गर्नुपर्छ ।

(न्यौपाने माओवादी केन्द्र अन्तर्राष्ट्रिय विभागका सदस्य हुन् ।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School