करिब १३ वर्ष अगाडि हलिउडमा बनेको एउटा चलचित्र हेरेकी थिएँ। नाम थियो- ‘द वे ब्याक’। चलचित्रको कथा, सात दशकभन्दा अगाडिको साइबेरियाको गुलागमा (पूर्व सोभियत संघको कठिन श्रम कैद गरिने ठाउँ) कैद गरिएकाहरूलाई केन्द्रित गरेर बनाइएको थियो। चलचित्रमा देखाइएको दृश्यमा, यताउति हेर्दै एउटा राजनैतिक कैदी अर्को राजनैतिक कैदीलाई साउती गरेर भन्छ- ‘विस्तारै बोल, स्टालिनका आँखा र कान जताततै छन्!’
आज अनायासै त्यो चलचित्रको याद आउनुको कारण, त्यो बेला र अहिलेको समयमा केही पनि त फरक परेको रहेनछ भन्ने सोच नै हो। होला, प्रविधि फरक भयो होला, तिथि र मिति फरक भए होलान्; तर, अहिले पनि युद्धले छाडेको छैन; अहिले पनि युद्धबन्दीहरू घटेका छैनन्। अहिले पनि, यातना दिने काम घटेको छैन। फरक भएको छ त केवल समय।
अष्ट्रेलियन चलचित्र निर्देशक पिटर वाइरले निर्देशन गरेको उक्त चलचित्र, सन् १९४१ मा साइबेरियाको गुलागबाट भागेर चार हजार माइल हिंडेर भारतको (सिक्किम ?) पुगेका कैदीहरूको कथा हो; जुन स्वतन्त्र जीवन जिउने तीव्र आकांक्षाको अनुपम उदाहरण मात्रै नभई हिम्मतले मानिसलाई असम्भव मानिएको कार्यमा हात हाल्न पनि अघि सार्ने रहेछ भन्ने प्रमाण समेत हो।
नाजी जर्मनी र सोभियत संघले पोल्यान्डमाथि हस्तक्षेप गरेपछि स्टालिन सरकारद्वारा जासुसी गरेको र स्टालिनको आलोचना गरेको आरोपमा पक्राउ गरेर साइबेरिया गुलागमा २५ वर्षको कठोर कैदमा पठाइएका पोलिस नागरिक स्लावोमिर राविक्जले लेखेको पुस्तक ‘द लङ्ग वाक’ को कथामा आधारित उक्त चलचित्रलाई सत्य कथा नै हो पनि भनिन्छ भने अर्कोतर्फ त्यो कथा स्लावोमिरको नभएर त्यस्तै कैदमा परेको अर्को व्यक्तिले सुनाएको आफ्नो आत्मकथालाई आफ्नै बनाएर स्लावोमिरले छापेका हुन् पनि भनिन्छ। जे भए पनि त्यहाँ वर्णन गरिएका तथ्यहरूमा केही न केही सत्यता छ भनेर अनुसन्धानले पनि ठहर्याइसकेको छ।
त्यतिबेला चलचित्र हेर्दाहेर्दै विशेषगरी माओवादी आन्दोलनताका गाउँघरमा पुग्दा त्यहाँका बच्चाहरूले बुझेका कुरा झल्झली याद आएको थियो भने अहिलेको समयमा कहिले रसिया र युक्रेनका युद्धबन्दीहरूलाई त्यसैगरी राखिंदो हो। या, इजरायल र हमासका द्वन्द्वमा समातिएका मानिसहरूका कथा पनि त्यस्तै हुँदो हो भन्ने लागिरहन्छ।
समग्रमा भन्नु पर्दा सो चलचित्र, एउटा चलचित्र मात्र नभई कम्युनिस्ट शासनकाललाई चित्रण गर्ने इतिहासको एउटा माध्यमको रूपमा पनि लिन सकिन्छ जस्तो लाग्छ। तर, ढुक्क हुनुहोस्, त्यो उहिलेको कथा थियो; अहिले कम्युनिस्टदेखि तर्सिनुपर्दैन
उक्त चलचित्रको एउटा दृश्यमा एउटा खुँखार अपराधी कैदीले आफ्नो छातीमा स्टालिनको ठूलो ट्याटु बनाएको देखिन्छ। उसलाई व्यंग्य गर्दै अर्को राजनैतिक कैदीले भन्छ, ‘त्यो ट्याटुलाई त्यहाँ भन्दा शरीरको नदेखिने अंगमा बनाएको भए कसैले देख्दैनथ्यो नि !’
तब त्यो अपराधी आक्रोशित भएर झम्टिंदै जवाफ दिन्छ, ‘स्टालिनले धनीबाट चोरेर गरिबलाई बाँड्छ; ऊ धेरै ठूलो मान्छे हो।’
त्यो संवाद सुनिरहँदा २०५५ सालको माघ महिनामा गोरखापुग्दा त्यहाँ भेटेको एक जना १०/१२ वर्षको बालकको जवाफ याद आएको थियो। उनको भनाइ थियो– ‘माओवाद भनेको धनीहरूको सम्पत्ति गरिबलाई बाँड्ने पार्टी हो, यो पार्टीले गरिबको हित गर्छ, अन्याय गर्न दिंदैन।’
विचरालाई के थाहा नेताहरू सत्तामा पुगेपछि ‘एनिमल फार्म’ को सुँगुरले दिमागी कार्य गर्नुपर्ने हुनाले दूध जति आफूले खानुपर्छ, श्रम जति तिमीहरूले गर्नुपर्छ भनेर तोकेको जस्तै तोक्न सक्छन् भनेर ! नेता भनेको हाँक्न मात्रै जानेको व्यक्ति हो, नारिएर जोतिन सक्ने गोरुको भूमिका निभाउने जनता जस्ता हुँदैनन् भनेर ! जबसम्म नारिन जान्दैनन्, तबसम्म उनीहरूले नारिने र जोतिनेको कथा कसरी बुझ्छन् ?
हुनत, कतिपयलाई अहिले माओवादी सत्ताबाट हटिसक्यो; उनीहरूको कुरा गरेर के फाइदा भन्ने पनि लाग्दो होला ! तर, माओवादीको ठाउँमा यो वा त्यो, जुनसुकै पार्टी राखेर हेर्दा पनि जवाफ या प्रतिफल योभन्दा फरक हुने होइन क्यारे ! जे होस्, आज पनि त्यो चलचित्र झल्झली सम्झिरहेछु; समय-समयमा त्यो चलचित्रको अति नै मन छुने दृश्यहरू आँखा अगाडि आइरहन्छ।
एउटा अर्को दृश्यमा, गुलागमा थुनिएको कैदीले डाँडापारिको मनोरम प्रकृति हेरेर स्वतन्त्र हुने सपना देख्छ र त्यही सपनाको आधारमा भाग्ने योजना बुन्छ। त्यो प्रसंगले भर्खरै हेरेको मलयालम भाषाका लेखक बेन्यामिनको किताब (आडुजिविदम) ‘खबुज’ मा आधारित चलचित्र ‘द गोट लाइफ’ को याद आयो। जसमा त्यो कथाका नायक नजिबले स्वतन्त्रताको निमित्त गरेको भाग्ने प्रयासले रुवाएरै छाड्छ। मानिसको निमित्त स्वतन्त्र भएर बाँच्ने जिजीविषा कति प्यारो हुनेरहेछ भने उसले त्यसको लागि प्राण नै अर्पिन पनि बेर लगाउँदैन।
फेरि फर्कौं, ‘द वे ब्याक’ कै कथातिर। पहिला दुईजना मिलेर भाग्ने योजना बनाएर त्यसको तयारीमा, बाँच्नको लागि सीमित रूपमा मात्रै दिइने गरेको खाना बचाउन थाल्दछन्। योजनाकारमध्ये एकजना चित्रकार हुन्छ, ऊ यौन आकांक्षाले कुण्ठित भएका कैदीहरूलाई केटीको चित्र बनाएर दिंदै त्यसको सट्टा खाना लिएर जम्मा गर्न थाल्दछ।
पछि हुँदाहुँदा त्यसरी भाग्न चाहनेको सङ्ख्या सात जना पुग्छ। तीमध्ये एकदमै स्वार्थी अमेरिकन नागरिक देखाइएको छ, जो एकजना वृद्धले लगलग काम्दै खान लागेको खाना भुईंमा खस्ने बित्तिकै आफ्नो बुटले कुल्चिएर अधिकार जमाइहाल्छ।
त्यसको बदलामा त्यही पोलिस नागरिकले वृद्ध व्यक्तिको खाना किन त्यसो गरेको भनेर प्रश्न गर्दा अमेरिकनको जवाफ हुन्छ, ‘त्यो बुढो मान्छे हो, उसले भोलिको बिहान नदेख्न पनि सक्छ तर हामीलाई खानाको धेरै जरुरत छ।’
स्वार्थीपनको पराकाष्ठा जताउने उक्त अमेरिकनले त्यसरी वृद्धको खाना खाइदिएपछि त्यो पोलिस नागरिकले आफ्नो भागको खाना ती वृद्धलाई खुवाउँछ। ती पोलिसको दयालुपना देखेर अमेरिकनको जवाफ हुन्छ, ‘दया, यसले तिमीलाई मार्न सक्छ।’
अर्थात्, दयालु या दयावान् हुनु भनेको आफ्नो स्वार्थको लागि कुनै हालतमा पनि राम्रो कार्य होइन; तर त्यही पोलिसको दयालु स्वभावको सहारा लिएर अमेरिकन कैदी पनि भाग्ने योजनामा सामेल हुन्छ। चलचित्रमा देखाइएको यो दृश्यले पनि मानवीय स्वार्थको पराकाष्ठा कतिसम्म हुन्छ भन्ने उदाहरण देखाएको छ।
स्वतन्त्रतापूर्वक बाँच्न असीमित बाधा र व्यवधानलाई छिचोलेर अगाडि बढेको समूहमध्येबाटै एक जनाको साहसले लत्तै छाडिदिन्छ र भन्छ– ‘मलाई छाडिदेओ, अर्थात्, यहीं (बाटोमै) मर्न देओ।’
आफू भाग्ने योजनामा सामेल हुनु अगाडि त्यो अमेरिकन कैदीले पोलिसलाई वाचा गराउँछ कि यदि भाग्ने क्रममा एकअर्का कमजोर पर्दा छाडेर हिंड्न पाइन्न।
त्यहाँबाट भाग्न तयार भएका मध्ये एक जना अलि स्वास्थ्य कमजोर भएको व्यक्ति पनि हुन्छ, जसलाई रतन्धो रोग लागेको हुन्छ। उसलाई योजनामा सामेल गरायो भने ऊ भाग्न सक्तैन र उसको मृत्यु हुन सक्छ भन्ने साथीहरूको तर्कको विरोध गर्दै समूहकै एक जनाको आवाज निस्किन्छ— ‘केही गरी उसको मृत्यु भइहाल्यो भने पनि ऊ एउटा स्वतन्त्र व्यक्तिको रूपमा मर्छ।’
उसको लागि त्यो नै उपलब्धि हो भन्ने ठहर हुन्छ। त्यो मार्मिक भनाइ र त्यसलाई दृश्यांकन गरिएको घटनाले मानिसको स्वतन्त्र हुने चाहनाको सुन्दर वर्णन गरेको छ। नभन्दै, भागेको पहिलो रात नै आगो बाल्न दाउरा खोज्न गएको बेलामा अरु साथीहरूबाट छलिएर रतन्धो भएको मानिस बसेको बस्यै मरिरहेको भेटिन्छ। उसको मृत्यु दुःखद् घटना भए पनि सबैको ठहर हुन्छ, कम्तीमा उसको मृत्यु स्वतन्त्र मानिसको रूपमा भयो। यसको मतलब, मानवअधिकार र बाँच्न पाउने अधिकारको व्याख्या संयुक्त राष्ट्रसंघले नगरी दिंदै पनि मानिसले स्वतन्त्रताको हकको प्रत्याभूति उत्तिकै रूपमा गरेका रहेछन् भन्ने कुरा यस कथाले देखाउँछ।
उक्त चलचित्रमा मन छुने गरी स्वतन्त्रताको महत्वलाई अति नै सुन्दर तरिकाले एउटै वाक्यमा दर्शाइएको छ। त्यो दृश्य हो, अनेक हन्डर र ठक्कर खाँदै, भोक र तिर्खा सहँदै मङ्गोलिया जान हिंडेको त्यो समूहको सोचाइमा मङ्गोलियामा गएपछि स्वतन्त्रताको सास फेर्न पाइन्छ भन्ने थियो। तर जब उनीहरू मङ्गोलियाको सिमानामा पुग्छन्, त्यहाँ राखेको स्वागतद्वार देखेर उनीहरूको आशाको धरोहर गर्लम्मै ढल्छ। किनकि, मङ्गोलिया पनि कम्युनिस्ट देश भइसकेको हुन्छ।
कम्युनिस्टले दिएको यातनामय जीवनबाट भागेका उनीहरूसँगै बाटोमा त्यस्तै यातनाबाट भागेकी एक युवती पनि सामेल भएकी हुन्छे। त्यो युवतीले सिमानामा गाडिएको स्वागत मार्गमा हेर्दै भन्छे, ‘मिष्टर, दे आर कम्युनिस्ट!’
त्यो सुन्ने बित्तिकै समूहमा सामेल अमेरिकनको प्रतिक्रिया आउँछ– ‘त्यही कारणले सबै कुरा फरक पर्छ !’ अर्थात्, त्यति बेलाको स्टालिन सत्ताको आतंकलाई छोटकरीमा तर, घनले टाउकोमा ठोके जस्तै चोटिलो भाषामा अर्थ्याइएको छ।
अर्कोले सोध्छ, ‘त्यहाँ कतै लुक्ने ठाउँ छैन ?’ चारैतिर समथर भूमि देखिएको स्थानमा लुक्ने स्थानको जोहो कसरी हुन सक्थ्यो र ? तर पनि, उनीहरू टाढा देखेको गुम्बामा पुग्छन्, जहाँ लडेको बुद्धको मूर्ति, गाडिएको मानव खप्परको थुप्रो र क्षत–विक्षत भएको भवन मात्र भेट्छन्। अर्थात्, कम्युनिस्ट हुने बित्तिकै सभ्यताका सबै मानवीय प्रमाणहरू मेटाएरै छाड्नुपर्छ जस्तो भाव त्यहाँ देखिन्छ !
उक्त चलचित्रको दुइटा पाटो छ। एउटा राजनैतिक; अर्को बाँच्ने क्रममा भोकभोकै पर्दा ब्वाँसोहरूले मारेर खान लागेको शिकार समेत ब्वाँसोको बथानलाई खेदेर भगाएर लुछ्दै खाएको; मरुभूमिमा पानी पिउन नपाउँदा साथमा भएको अलिकति पानी कपडा भिजाउँदै पालै पालो चुसेको, नुन खान नपाएको तडपमा खानाको रेसिपीमा दुई पटक नुन हाल्छु भनेर धीत मारेको आदि आदि मार्मिक दृश्यहरूले भरिएको छ।
समग्रमा भन्नु पर्दा सो चलचित्र, एउटा चलचित्र मात्र नभई कम्युनिस्ट शासनकाललाई चित्रण गर्ने इतिहासको एउटा माध्यमको रूपमा पनि लिन सकिन्छ जस्तो लाग्छ। तर, ढुक्क हुनुहोस्, त्यो उहिलेको कथा थियो; अहिले कम्युनिस्टदेखि तर्सिनुपर्दैन। जेहोस्, चलचित्रको अति नै मार्मिक लागेको भनाइ नराखी लेखको बिट मार्न पनि मन लागेन।
स्वतन्त्रतापूर्वक बाँच्न असीमित बाधा र व्यवधानलाई छिचोलेर अगाडि बढेको समूहमध्येबाटै एक जनाको साहसले लत्तै छाडिदिन्छ र भन्छ– ‘मलाई छाडिदेओ, अर्थात्, यहीं (बाटोमै) मर्न देओ।’
उसलाई कुनै हालतमा पनि नछाड्ने प्रतिबद्धता जनाउने अर्को साथीलाई सम्झाउँदै लत्तो छाड्नेवाला भन्छ, ‘बाँच्नको लागि संघर्ष गर्नु भनेको एक किसिमले विरोध जनाउनु हो तर जिउँदै रहनु भनेको एक हिसाबले सजाय हो।’ आफ्नो छोरालाई कम्युनिस्टहरूले मारेको पीडाले भरिएको व्यथाको पुन्तुरो फुकाउँदै थियो ऊ !
उक्त चलचित्र वा ‘द गोट लाइफ’ हेरेपछि, कसैले पनि जीवनको बारेमा गुनासो गर्न सोच्नैपर्छ होला ! किनकि स्वतन्त्रता हरण भएपछि मात्रै, स्वतन्त्र भएर बाँच्नुको महत्व थाहा पाउन सकिन्छ।