३० असार, काठमाडौं । उहिले, २ सय वर्षअघि । पाटन टंगल टोलका वृषराज राजकर्णिकार घरमा विभिन्न किसिमका मिठाइ बनाउँथे । आफ्नो परिवारलाई खुवाउँथे, अनि टोलछिमेकलाई पनि चाख्न दिन्थे ।
यो क्रम चल्दै थियो । एकदिन उनको पारखी हातको तारिफ राजदरबारसम्म पुग्यो । वृषराजलाई राजदरबारले मिठाइ बनाउन बोलाउन थाल्यो । त्यसपछि उनको दैनिकी दरबार पुगेर मिठाइ बनाउने हुन थाल्यो ।
राजा, रानी, राजकुमार, राजकुमारीमात्र होइन, भाइभारदारसम्म दरबारका अधिकांशले वृषराजले बनाएको मिठाइ खान थाले । उनी राजदरबारमा कहलिएका मिठाइ बनाउने भान्से बन्न पुगे ।
समय एकनास कुदिरहेको थियो । वृषराज दरबार पुगेर मिठाइ बनाउन थालेको केही वर्षमै नेपालको राजदरबारमा अप्रत्यासित र शासन सत्ता उल्ट्याउने भयानक हत्याकाण्ड भयो । जसलाई ‘कोतपर्व’ भनियो । यो विक्रम सम्वत् १९०३ साल भदौ ३१ को घटना थियो । त्यसपछि नेपालको शासन व्यवस्थामा जंगबहादुर राणाको उदय भयो ।
कोतपर्व मच्चाएर शासन सत्ता हत्याएका जंगबहादुरलाई राजारानी र भाइभारदार मिलाउन केही समय लाग्यो । भयानक घटनापछि वृषराज महिनौंसम्म दरबार जान सकेनन् ।
एकदिन वृषराज घरमै बसिरहेका थिए । अचानक दरबारका एक कर्मचारी उनको घर आइपुगे, र भने– ‘तिमीलाई दरबारमा मिठाइ बनाउन बोलाउनू भन्ने आदेश छ ।’
वृषराजले सहमतिको टाउको हल्लाए । अनि, भोलिपल्टबाट उनको दैनिकी सुरु भयो ।
कोतपर्वबाट शासन सत्ता हत्याएर ‘श्री ३ महाराज’ बनेका जंगबहादुर राणा शौखिन थिए । उनलाई मिठाइ पनि खुबै मनपर्ने ।
वृषराज राजदरबार आएर मिठाइ बनाउने गरेको जंगबहादुरको कानमा परिसकेको थियो । त्यही भएर जंगबहादुरले वृषराजलाई मिठाइ बनाउन फेरि दरबारमा डाकेका थिए ।
त्यसपछि वृषराजले बनाएका मिठाइ खान थाले जंगबहादुर । वृषराजको हातै मिठो, जंगबहादुर उनले बनाएको मिठाइ खाएर लठ्ठ । अब जंगबहादुरलाई वृषराजले नै बनाएको मिठाइमात्र खाने बानी पर्यो ।
एकदिन वृषराज मिठाइ बनाउन दरबार गएका थिए । भान्सामा मिठाइ बनाइरहेका थिए । अकस्मात श्री ३ जंगबहादुरसँग भेट भयो ।
‘महाराज, सरकारहरूलाई यतिका समयदेखि मिठाइ खुवाइरहेको छु, मलाई एउटा समस्या पर्यो,’ वृषराजले शिर निहुराएर जंगबहादुरसँग बिन्ती बिसाए ।
‘के समस्या पर्यो तँलाई भन् ?,’ जंगबहादुरले सोधे ।
‘महाराज, मेरो परिवार ठूलो हुँदै गयो, पाल्न गाह्रो हुन थाल्यो,’ वृषराजले कुरोको चुरो फुकाए ।
‘मैले के गर्नुपर्यो त भन् ?,’ जंगबहादुरले फेरि सोधे ।
‘महाराज, ठूलो परिवार पाल्न केही आम्दानी पनि हुन्छ, म मिठाइ पसल खोल्न चाहन्छु, यसो ठाउँ निगाह बक्स भए हुन्थ्यो,’ वृषराजले एक सासमा भनी भ्याए ।
एकैछिन गमेर श्री ३ जंगबहादुरले भने, ‘ल जा, तेरो काम भयो ।’
अनि, वृषराज गदगद हुँदै दरबारबाट हान्निदै घर पुगे ।
केही दिनपछि दरबारबाट वृषराजलाई फेरि बोलावट भयो ।
वृषराज कुदेर दरबार पुगे । अनि, उनलाई सुनाइयो, ‘महाराजबाट तिमीलाई मिठाइ पसल राख्ने ठाउँ निगाह बक्स भएको छ ।’
वृषराज हर्षले पुलकित भए । खुसीको सीमा रहेन ।
त्यसपछि वृषराजले थाहा पाए– दरबारले उनलाई मिठाइ पसल चलाउन थापाथली चोक छेउमा ठाउँ व्यवस्था गरिदिएको रहेछ ।
हाल थापाथली चोकबाट प्रसूतिगृह जाने बाटोको छेउमा रहेको एउटा सार्वजनिक पाटीमा वृषराजले मिठाइ पसल खोल्ने अनुमति पाए ।
हो, त्यहीँबाट सुरु भयो नेपालकै सबैभन्दा पहिलो मिठाइ पसल– ‘राम भण्डार’ । यो विक्रम सम्वत् १९०५ साल (सन् १८४८) को कुरा हो । वृषराजले मिठाइ पसलको नाम भगवान रामको नामबाट राखे ।
थापाथलीको एउटा सार्वजनिक पाटीमा दशकौंसम्म राम भण्डार चलिरह्यो । मिठाइ बनाउने, बेच्ने, दिन दुई दिन बिराएर मिठाइ पकाउन दरबार जाने काम वृषराज र उनको परिवारका सदस्यहरूले जारी राखे ।
दशकौंको यो यात्रामा एक दिन क्रमभंगता हुन पुग्यो । दशकौं पुरानो त्यो पाटी जीर्ण थियो । जुन सार्वजनिक पाटीमा राम भण्डार चलिरहेको थियो, त्यो पाटी एकदिन भत्कियो । वृषराजलाई आपत आइलाग्यो ।
उनी कुदेर दरबार पुगे र बिन्ती बिसाए । श्री ३ जंगबहादुरले पनि ‘तँ पिर नगर्, तेरो समस्या म सल्टाइदिन्छु’ भने । वृषराज ढुक्क हुँदै घर फर्के ।
केही दिनपछि दरबारले वृषराजलाई बोलाएर राम भण्डारको व्यवस्था भएको बतायो । थापाथलीको पाटीबाट उठेको राम भण्डारलाई त्यसपछि थापाथलीबाट ललितपुर कुपन्डोल जोड्ने पुलको आडैमा पारिपट्टि दरबारले एउटा सार्वजनिक जग्गा छुट्याइदिएको रहेछ ।
अनि, वृषराजले राम भण्डारलाई आफू बाँचुन्जेल त्यही ठाउँमा चलाइराखे । उनका छोराले पनि जीवनभरि त्यही ठाउँमा पसल राखे । र, त्यसपछि उनका छोराले पनि ।
कालान्तरमा त्यो ठाउँ छाड्नुपर्ने सरकारी निर्णयपछि राम भण्डार सरेर पुनः थापाथली चोक आइपुगेको थियो । यो २०२४ सालितरको कुरा हो ।
त्यहाँबाट सुरु भएको राम भण्डारको अविरल यात्रा अहिले १ सय ७६ वर्षमा कुदिरहेको छ । यो चानचुने समय होइन ।
राम भण्डारलाई अहिले उनै वृषराजको पाँचौं पुस्ताले हाँकिरहेको छ । तर, वृषराजका चौथो पुस्ता (पनाति) ६९ वर्षीय दिवाकरराज राजकर्णिकारले व्यवस्थापन सम्हालिरहेका छन् ।
‘पौने २ सय वर्ष लामो लिगेसीलाई निरन्तरता दिन पाउँदा औधी खुसी छु, सन्तुष्टि पनि त्यति नै छ,’ राम भण्डारका सञ्चालक दिवाकरराज राजकर्णिकार उद्वेलित हुन्छन्, ‘अहिले पनि ६५–७० वर्ष उमेरका ग्राहकहरू आउनुहुन्छ, अनि म १० वर्षको हुँदा मेरो बुबाले हात समातेर राम भण्डारमा मिठाइ खुवाउन ल्याउनुहुन्थ्यो भन्नुहुन्छ । यस्तो सुन्दा म बेला–बेला भावुक हुन्छु ।’
दिवाकरका अनुसार पहिले मिठाइ भनेको जेरी, स्वारी, माल्पा, सेल, लाखमरी, लालमोहन, गँुदपाक, बम्बैसन लगायत हुन्थ्यो । नुनिलोमा आलुचप हुन्थ्यो, समोसा धेरै पछि बन्न थालेको हो ।
‘मैले थाहा पाउने बेलासम्म मिठाइ भनेको लक्जरी खानेकुरा थियो । जो कोहीले मिठाइ खान नसक्ने, आम्दानीले नपुग्ने,’ दिवाकर २०१८–२०२० सालितिरको कुरा सम्झिन्छन्, ‘पैसा धेरै हुनेले मात्र मिठाइ किनेर खान सक्ने अवस्था थियो ।’
५७ वर्ष लाग्यो अहिले राम भण्डार रहेको घर
अहिले राम भण्डार रहेको थापाथली चोकस्थित घर भएको जग्गा २०२४ सालतिर दिवाकरका बुबाले किनेका थिए । २०१८ सालमा दिवाकरका हजुरबुबाको निधन भएको ६ वर्षपछि उनका बुबाले राम भण्डार रहेको यो जग्गा पाटनतिरका अमात्यहरूसँग किनेका थिए । खासमा यो जग्गा थापाथली चोकमै बस्ने राणाहरूले गाई पाल्ने गोठ थियो । त्यही गोठ भएको जग्गा राणाहरूले पाटनका अमात्यहरूलाई बकस गरिदिएका रहेछन् ।
आठ आना जग्गामा रहेको गोठ अमात्यहरूले दिवाकरका बुवालाई ‘पैसा भएपछि तिरे हुन्छ’ भनेर नामसारी गरिदिएका रहेछन् ।
त्यही गोठ भत्काएर दिवाकरका बुबाले दुई तले झिँगटी छानो भएको घर बनाएका थिए । केही दशक सोही घरमा राम भण्डार चलेको थियो । त्यसपछि उक्त घर भत्काएर अहिलेको घर बनाइएको थियो ।
‘त्यसयता निरन्तर यही घरमा राम भण्डार चलिरहेको छ,’ दिवाकर सम्झिन्छन्, ‘२०४८ सालसम्म पनि हामी २४–२५ जनाको ठूलो परिवार थियो । मेरो बुबाका पाँच दाजुभाइ र उहाँहरूका सबै सन्तान हामी यही एउटै घरमा बस्थ्यौं । संयुक्त परिवारमा बेग्लै रमाइलो हुन्थ्यो । बच्चादेखि बुढासम्म सबैले मिठाइ पसलमा काम गर्थ्यौं ।’
उनका अनुसार परिवारका सबै सदस्य राम भण्डारमा काम गर्थे । बच्चाहरू पसलमा बस्ने, हेर्ने गर्थे । बुबा, ठूलो बुबा, काकाहरू पसलको काउन्टरमा बस्ने, भान्साको काम गर्ने, अनि आमा, ठूलीआमा, काकीहरू मिठाइ बनाउनेदेखि अन्य काम गर्थे ।
खासमा राजकर्णिकार भन्ने जात नै मिठाइ बनाउने पेसा भएको जात हो । पुख्र्यौली पेसा नै मिठाइ बनाउने भएपछि यसमा अब्बल हुनु अस्वाभाविक होइन ।
‘२००७ सालमा राणा शासन समाप्त भएपछि पनि राजदरबारबाट मिठाइ बनाउन हामीलाई नै बोलाइन्थ्यो,’ दिवाकर बुबा र हजुरबुबाले भनेको सम्झिन्छन्, ‘पाटनतिर बस्ने धेरै राणाहरूको घरमा पनि बुबा र हजुरबुबा मिठाइ बनाउन जानुहुन्थ्यो । धेरै ठूलो परिमाणमा बनाउनुपरे राम भण्डारमै बनाएर बोकेर जानुहुन्थ्यो ।’
राजाका हुन् वा राणाका दरबार, मिठाइको पैसा कहिल्यै पनि ढिलो पाएको वा नदिएको भन्ने थाहा नभएको दिवाकर बताउँछन् । ‘दरबारबाट कहिल्यै पनि मिठाइको पेमेन्टमा समस्या भएन,’ उनी भन्छन् ।
राम भण्डारको जेरी किसुनजीको ‘फेभरेट’
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) राम भण्डारमा बनेको जेरी खाने नियमित ग्राहक थिए । किसुनजीले लामो समय राम भण्डार आएर जेरी खाएको दिवाकर सम्झिन्छन् ।
समय परिस्थितिले किसुनजी राजनीतिमै व्यस्त हुन थालेपछि र राजनीति छाडेर ललितपुर बाँडेगाउँमै बस्न थालेपछि भने राम भण्डार आउन छाडे ।
तर, राम भण्डारको जेरीको स्वादले किसुनजीलाई सधैं तानिरहन्थ्यो । कोही किसुनजीलाई भेट्न आउने भयो भने उनले ‘राम भण्डारबाट जेरी ल्याउनू’ भन्ने गरेको र ती ग्राहक राम भण्डार आएर ‘किसुनजीले खाने जेरी कस्तो हो, दिनुस् त !’ भन्दै आउँथे । र, दिवाकरले जेरी बट्टामा हालेर पठाइदिन्थे ।
‘राम भण्डारको मिठाइ राजादेखि रंकसम्म अधिकांशले खाएका छन् । धेरै राजनीतिक नेताहरू राम भण्डारका नियमित ग्राहक थिए,’ दिवाकर भन्छन्, ‘यो देख्दा गौरव महसुस हुन्छ ।’
जन्मदेखि मृत्युसम्म मिठाइ
दिवाकरका अनुसार मिठाइ भन्ने चिज मान्छेको जन्मदेखि मृत्युसम्म जोडिन्छ । धेरैले मिठाइको व्यापार कम भयो भन्ने गरे पनि खासमा त्यस्तो भएको छैन ।
मान्छे जन्मिँदा पनि खुसीयालीमा मिठाइ चाहिन्छ, कुनै सफलता हात लागे पनि मिठाइ चाहिन्छ, मृत्यु कर्ममा पनि मिठाइ चाहिन्छ । हिन्दु धर्म संस्कृतिमा मिठाइविना पूजाआजा पनि हुँदैन । दसैं, तिहार, तीज जुनसुकै चाडपर्वमा मिठाइ नभई हुन्न । ‘त्यही भएर मिठाइको महत्त्व एकदमै ठूलो छ,’ दिवाकर भन्छन् ।
पाँच पुस्ताको समय नै लगानी
राम भण्डारमा अरू व्यापार–व्यवसाय जस्तो करोडौं, अर्बौं रुपैयाँ लगानी भएको भने छैन । खासमा राम भण्डारमा वृषराजका पाँच पुस्ताले आफ्नो सिंगो जीवन समर्पण गरेको छ । यो पैसामा हिसाब गर्न सकिने चिज पनि होइन ।
‘समय क्रम अनुसार मिठाइ डिस्प्ले गर्ने क्याबिनेट, दराज, फ्रिजर राख्नुपरिहाल्यो । मिठाइ भनेको चाँडै नै बिग्रिने चिज हो, यसका लागि अब सानोतिनो फ्रिजरले पुग्दैन, कोल्ड रुम नै बनाएका छौं,’ दिवाकर भन्छन्, ‘त्यसका लागि ६–७ लाख खर्च भएको छ । तर, अन्य व्यापार जस्तो करोडौं लगानी गर्नुपर्दैन । समय अनुसार परिमार्जन गरिरहनुपर्छ ।’
व्यापार भनेको पैसा कमाउनलाई नै गर्ने भए पनि अन्तिम सत्य त्यो नभएको दिवाकर बताउँछन् । ‘हाम्रो पाँच पुस्ताको इमानदारिता, निष्ठा र समर्पणको नतिजा हो अहिलेसम्म अनवतरत चलिरहेको राम भण्डार,’ उनी थप्छन् ।
मिठाइ व्यापारमा पनि जोखिम हुने उनी बताउँछन् । बनाएको मिठाइ बिकेन भने फाल्नुको विकल्प हुँदैन ।
हाल राम भण्डारमा दिवाकरको परिवारबाहेक १८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तीमध्ये पनि ४० प्रतिशत महिला कामदार छन् । कामदारलाई राम भण्डारमै तालिम दिएर दक्ष बनाइएको दिवाकर बताउँछन् ।
‘पहिला–पहिला काम पाइन्छ भन्दै आउनेको संख्या व्यापक हुन्थ्यो, तर अहिले काम पाइन्छ भन्नेहरू एक जना पनि भेटिँदैनन्,’ दिवाकर भन्छन्, ‘यसको अर्थ के हो भने सरकारले रोजगारी दिन सकेन र अधिकांश युवा विदेश पलायन हुनु हो ।’
‘रसमाधुरी’ ले थप उचाइ दिएको राम भण्डार
राम भण्डारले २०३५ सालतिर एउटा नौलो मिठाइ बनाएर बेच्न थाल्यो । त्यसको नाम थियो– ‘रसमाधुरी’ ।
दूध, क्रिम, रसबरी जस्तो मिठाइ, काजु, किसमिस हालेर बनाइ शिशाको कपमा पस्किने गरी रसमाधुरी उत्पादन थालेपछि ४६ वर्षअघि राम भण्डारले एउटा भिन्नै पहिचान बनायो ।
‘मेरो बुबा र आमा एकपटक घुम्न कलकत्ता जानुभएको थियो । त्यहाँ एउटा मिठाइ पसलमा कचौरामा राखेको मिठाइ खानुभएछ, एकदमै मिठो लागेछ । त्यसको नाम रसमाधुरी रहेछ,’ दिवाकर सम्झिन्छन्, ‘घर फर्केपछि बुबाले रसमाधुरी नै नाम राखेर मिठाइ बनाउन थाल्नुभयो । त्यसपछि रसमाधुरीकै नामले राम भण्डारको नाम झन् प्रख्यात भयो ।’
उनका अनुसार रसमाधुरी खानकै लागि कता–कताबाट मान्छे राम भण्डार आउँथे । एउटै उत्पादनले राम भण्डारको पहिचान थप उचाइमा लगिदियो ।
‘म त्यसबेला स्नातक अध्ययन गर्थें । साथीहरूले मेरो नामै रसमाधुरी राखिदिएका थिए,’ दिवाकर हाँस्दै पुराना दिन सम्झिन्छन्, ‘यो मिठाइ अहिले पनि हामी बेचिरहेका छौं । कुनै ग्राहकले रसमाधुरी दिनुस् न भन्दा म पुराना कुरा सम्झेर अभिभूत हुन्छु ।’
पाँचौं पुस्तापछि पनि अगाडि जाने विश्वास
दिवाकरलाई राम भण्डार अझै उनी पछिका पुस्ताले पनि अगाडि लैजान्छन् भन्ने विश्वास छ । अहिले दिवाकरका छोरा (राम भण्डार संस्थापक वृषराजका पाँचौं पुस्ता) ले व्यवसाय सम्हालिरहेका छन् । प्रत्येक दिनको हिसाबकिताब मात्र नभई, मिठाइ बनाउन आवश्यक दूध, खुवा, चिनी लगायत सामग्री आपूर्तिसम्मका कुरा दिवाकरका छोराले हेरिरहेका छन् । उनी गुणस्तर नखस्कियोस् भनेर बढी ध्यान दिन्छन् ।
दिवाकरका छोराले अस्ट्रेलियाबाट एमबीए गरेका छन् । नौ वर्ष उतै बसेका उनी बाउबाजेको लिगेसी बोकेको राम भण्डारलाई अझै अगाडि बढाउने उद्देश्यले नेपाल फर्किएर व्यापार सम्हाले ।
‘छोराले अहिले राम भण्डार सम्हालिरहेको छ,’ दिवाकर आशासाथ भन्छन्, ‘छोरापछिको पुस्ताले पनि हाम्रो बाजे–बराजुको लिगेसीलाई निरन्तर अगाडि बढाउँछन् भन्ने विश्वास छ ।’
हेर्दा राम्रो देखिने मिठाइ नखानुस्
मिठाइ बजारमा प्रतिस्पर्धालाई स्वाभाविक मान्ने दिवाकर पछिल्लो पटक सुरु भएको अस्वस्थ प्रतिस्पर्धाबाट भने चिन्तित छन् । प्रतिस्पर्धाका नाममा स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वस्तु मिसाएर मिठाइ बनाउने गरिएको उनको गुनासो छ ।
‘रसबरी एकदमै सेतो, बर्फी एकदमै सेतो छ भने ग्राहक चनाखो हुनैपर्छ । त्यत्तिकै सेतो हुँदैन । यस्तोमा हाइड्रो भन्ने रसायन राखेर बनाइन्छ । यस्तो रसायन लुगामा सेतापना दिन प्रयोग गरिन्छ,’ बजारमा व्याप्त अस्वस्थ प्रतिस्पर्धाबारे दिवाकर ग्राहकलाई अपिल गर्छन्, ‘हेर्दा राम्रो देखिने मिठाइ नखानुहोला । बढी रङ हालेको मिठाइ पनि नखानुहोला । अखाद्य चिज राखेर जनताको स्वास्थ्यमा खेलबाड गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ ।’
ग्राहक राम भण्डार आएर ‘तपाईंहरूकोमा रसबरी सेतो छैन, बर्फी पनि सेतो छैन, लड्डु रातो छैन किन ?’ भनेर सोध्ने गरेको दिवाकर सुनाउँछन् ।
‘लड्डु रातो बनाउन त मैले रङ बढी हाल्नुपर्यो, रसबरी र बर्फी एकदमै सेतो बनाउन हाइड्रो रसायन हाल्नुपर्यो,’ उनी भन्छन्, ‘प्रतिस्पर्धाका नाममा अस्वस्थ प्रतिस्पर्धा गर्नुभएन । ग्राहक पनि सचेत हुनुपर्छ ।’
समाज सेवामा सक्रिय दिवाकरराज
राम भण्डार संस्थापकको चौथो पुस्ता दिवाकर मिठाइ व्यवसाय बाहेक समाज सेवाको काममा पनि उत्तिकै सक्रिय छन् ।
दिवाकर राम भण्डार सञ्चालन सँगसँगै समाज सेवाका लागि काठमाडौं जेसिसमा संलग्न भए । त्यो बेला उनी ३५ वर्षका थिए । रोटरीमा पनि सदस्य बने । बिस्तारै उनले नेपाल क्यान्सर रिलिफ सोसाइटीमा पनि लामो समय काम गरे । भक्तपुर क्यान्सर अस्पतालमा १० वर्ष अध्यक्षको जिम्मेवारी पनि पूरा गरे । अहिले पनि समाज सेवाका कामलाई निरन्तरता दिइरहेका छन् ।
तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर