काभा यू-२० भलिबल : पहिलो सहभागितामै उपाधि जित्ने नेपालको लक्ष्य

काभा यू-२० भलिबल : पहिलो सहभागितामै उपाधि जित्ने नेपालको लक्ष्य


२५ असार, काठमाडौं । नेपाली यू-२० महिला भलिबल टिमले यही जुलाई १८ देखि माल्दिभ्समा हुने काभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्दैछ । पहिलो पटक नेपालको उमेर समूहको टोली बनाएर उक्त प्रतियोगिताका लागि अहिले तयारी चलिरहेको छ ।

नेपाल भलिबल संघले पहिलो पटक यू-२० टिम बनाएर अन्तर्राष्ट्रिय उमेर समूहको प्रतियोगितामा खेल्न लाग्दा खेलाडीसँगै प्रशिक्षक संघ र समग्र नेपाली भलिबल नै उत्साहित छ ।

‘एकदमै खुशी र रमाइलो क्षण हो यो । सबै जना उत्साहित छौँ’, मुख्य प्रशिक्षक कुमार राईले भने, ‘दुई दशक भलिबलमा काम गर्दा पहिलो पटक उमेर समूहको राष्ट्रिय टोली हेर्न पाएको छु । यो ठूलो कुरा हो ।’

राईले न्यु डायमण्ड एकेडेमीमार्फत नेपाली महिला भलिबलमा धेरै खेलाडी उत्पादन गरेका छन् । त्यसैले पनि उनको हर्ष बढेको छ ।

भलिबल संघले सहाना प्रधान पाउण्डेसनसँग मिलेर सहाना प्रधान यू१९ भलिबल आयोजना गरेको थियो । त्यसैबाट यू२० राष्ट्रिय टिमका लागि खेलाडी छनोट गरिएको हो । उक्त प्रतियोगिता सकिने बित्तिकै संघले खेलाडी छनोट गरेर काभा यू२० का लागि तयारी सुरु गरेको थियो ।

प्रशिक्षक कुमार राईले प्रशिक्षणको समयअवधि अझ बढी भएको भए राम्रो हुने बताए । ‘अलिकति प्रशिक्षण अवधि कम भयो । कम्तिमा एक महिना हुनुपर्ने । तर पनि केही छैन राम्रो नै छ’, उनले भने ।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीहरु पनि उत्साहित छन् । ‘भलिबल खेलेकै कारण पहिलो पटक विदेश यात्रा गर्न पाउँदा खेलाडीहरु उत्साहित छन्’, प्रशिक्षक राईले भने, ‘अरु कराते तेक्वान्दो ब्याडमिन्टनजस्ता व्यक्तिगत खेलका जुनियर खेलाडीहरुले विदेशमा खेलिरहेका हुन्छ । भलिबल खेलेर पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाइने रैछ भनेर उनीहरु उत्साहित छन् ।’

जेनिशा विश्वकर्मा ।

नेपाली टिमको कप्तान रहेकी जेनिशा विश्वकर्माले काभा च्याम्पियनसिप खेल्न पाउनु ठूलो अवसर रहेको बताइन् । ‘पहिलो पटक यू२० टिम बाहिर खेल्न जान लागेकोले हामी एकदमै उत्साहित छौँ । नेपालको जर्सी लगाएर खेल्ने अवसर आउँदा सबैलाई खुशी लागेको छ’, जेनिशाले अनलाइनखबरसँग भनिन्, ‘हामीले त्यसै अनुसार तयारी पनि गरिरहेका छौँ ।’

पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न जाँदा नै कप्तानको भूमिका पाएपछि जेनिशा पनि गद्‌गद् छिन् । भनिन्, ‘जुन भरोसा राखेर र विश्वास गरेर कप्तानी दिनुभाछ त्यो विश्वासलाई कामय राख्दै टिमलाई राम्रोसँग नेतृत्व गरेर खेल्छु ।’

प्रशिक्षक कुमार राईले उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता भलिबलको विकासमा सहयोग पुग्ने बताए । ‘भलिबलको विकास गर्ने नै उमेर समूहबाट हो । यू-१५, यू-१८, यू-२० भइरहनपर्‍यो तब मात्र खेलाडी तलबाट ग्रो अप हुन्छ’, उनले भने, ‘संघले राम्रो सुरुवात गरेको छ । यसरी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउनु राम्रो हो । भलिबलको विकास अब सुरु हुन्छ ।’

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले पछिल्लो समय नेपालमा भलिबलका गतिविधिहरु बढिरहेको भन्दै भलिबलमा राम्रो दिन आइरहेको बताउँदै आएका छन् ।

नेपालले सिनियरका साथै अब उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेल्दैछ । महिला र पुरुषको फ्रेन्चाइज लिगको लागि निजी कम्पनीसँग एमओयु समेत गरिसकेको छ । यसले उमेर समूह नयाँ प्रतिभावान खेलाडीका लागि राम्रो अवसर पाउने संघको विश्वास छ ।

एकै ठाउँमा खेल्दा सजिलो

यू२० को १२ सदस्यीय नेपाली टोली एकै टिममा खेलेका खेलाडीहरु छन् । जसमा न्यू डायमण्डबाट सँगै खेल्दै आएका ६ खेलाडी छन् । उनीहरुले सहाना प्रधान भलिबलमा बागमती प्रदेशको प्रतिनिधित्व गरेका थिए । यस्तै एरेभष्ट भलिबल क्लबबाट सँगै खेलेका चार खेलाडीले लुम्बिनी प्रदेशबाट खेलेका थिए । यसबाहेक गण्डकी र सुदूरपश्चिम प्रदेशका एक एक खेलाडी छन् । उनीहरु पुलिस र आर्मीबाट घरेलु भलिबल खेल्ने गर्छन् ।

काभा यू-२० भलिबल : पहिलो सहभागितामै उपाधि जित्ने नेपालको लक्ष्य

एनभीए च्याम्पियनसिप र लिगमा सिनियर टिमबाटै सँगै खेलेका खेलाडीहरु हुँदा टिममा समन्वय मिलाउन सहज हुने प्रशिक्षक कुमार राई बताउँछन् । ‘एकै ठाउँमा खेलेका खेलाडीहरु हुँदा पक्कै सहज भाछ । त्यसले गर्दा पनि प्रतियोगितामा राम्रो हुन्छ जस्तो लाग्छ’, उनले भने । यू२० टिममा सेटर र लिवेरोका साथै दुई मुख्य स्पाइकर न्यु डायमण्डबाटै खेलेका खेलाडी छन् । यस्तै लुम्बिनीबाट पनि एकसाथ खेलेका चार खेलाडी छन् ।

फरक टिमबाट खेलाडी आउँदा सुरुमा केही कठिन भएपनि अहिले समन्वय मिलिरहेको कप्तान जेनिशाले बताइन् । ‘अधिकांश खेलाडी एकै टिममा खेल्दै आएकोले सहज हुन्छ’, जेनिशाले भनिन्, ‘अहिले टिमको कम्बिनेसन मिलाइरहेका छौँ । कोअर्डिनेसन पनि राम्रो भएको छ ।’

यस्तै सहाना प्रधान भलिबलमा लुम्बिनीको कप्तानी गरेकी निशा चौधरीले पनि सुरुमा गाह्रो भएपनि अहिले टिममा राम्रो समन्वय भइरहेको बताइन् । ‘एकै टिमबाट खेलेका खेलाडीहरु हुँदा समन्वय राम्रो हुन्छ । कसले कसरी खेल्दा थाहा हुन्छ । राष्ट्रिय टिमको क्याम्पमा सुरुमा अली गाह्रो भएपनि अहिले सजिलो भइरहेको छ’, उनले भनिन् ।

 सिनियर खेलाडीसँग खेल्दाको अनुभव

अहिले जुनियर राष्ट्रिय टिममा रहेका १२ खेलाडीसँगै नै नेपालको सिनियर राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनीहरुले नेपालको सिनियर खेलाडी र विदेशी खेलाडीसँग एकै टिममा रहेर एनभीए लिगसम्म खेलिसकेका छन् ।

त्यसले गर्दा उनीहरुसँग सिनियर प्रतियोगिता र खेलाडीसँग खेल्दाको अनुभव छ । यो अनुभवले फाइदा हुने प्रशिक्षक र खेलाडी बताउँछन् । ‘सिनियर खेलाडीसँग राष्ट्रिय प्रतियोगिता खेल्दा पक्कै पनि फाइदा हुन्छ’, मुख्य प्रशिक्षक कुमार राईले भने ।

यस्तै एभरेष्ट भलिबल क्लबको प्रशिक्षण सम्हालिसकेका अर्जुन घिमिरेले पनि सिनियर खेलाडीसँग खेल्दाको अनुभव काम लाग्ने बताए । ‘त्यति ठूलो खेलाडीसँग खेल्दा यिनीहरुले अरु खेलाडीलाई डोमिनेट गरेरै खेल्नुपर्ने हो । तर प्रशिक्षणमा राम्रो गरिराछन् म्याचमा त्यो अनुसार प्रदर्शन गर्न सकेको छैन । म्याच खेल्दा पनि त्यही जोश कायम राख्नुपर्छ’, उनले भने ।

एकै टिमसँग सँगै खेलेपनि कमजोर पारिवारिक पृष्ठभूमि र अन्तर्राष्ट्रिय एक्सपोजर यी खेलाडीसँग नभएकोले अझ राम्रो प्रदर्शन देखिन समय लाग्ने बताउँछन् । ‘सिनियर टिममा खेल्दा दिदीहरु हुँदा अलि कठिन भएपनि हाम्रो उमेर समूहमा खेल्दा हामीमा कन्फिडेन्स बढेको छ’, कप्तान जेजिशा भन्छिन् ।

लक्ष्य उपाधि

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको यू२० टिमले उपाधि जित्ने लक्ष्य राखेको छ । प्रतियोगितामा नेपाल र आयोजक माल्दिभ्ससहित श्रीलंका र कीर्गिस्तान गरी चार टोलीको सहभागिता रहनेछ ।

सुरुमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । लिगपछि पहिलो र चौथो हुने तथा दोस्रो र तेस्रो हुनेबीच सेमिफाइनल खेल हुने प्रशिक्षक कुमार राईले जानकारी दिए ।

नेपालको पहिलो खेल श्रीलंका सँग रहेको छ । त्यसपछि कीर्गिस्तान र माल्दिभ्ससँग खेल्नेछ ।

प्रशिक्षक राईले श्रीलंकासँगको पहिलो खेलमै महत्वपूर्ण हुने बताए । ‘सुरुमा श्रीलंकासँग परेको छ पहिलो खेल भएकोले त्यही खेल नै टफ हुन्छ । त्यसपछि कीर्गिस्तानसँग खेल्दा युज्ड् टु हुन्छ । माल्दिभ्स विरुद्ध सहज नै होला’, उनले भने ।

सुरुमा गाह्रो भएपनि सेमिफाइनल खेल्न पाउने भएकोले पछि सहज हुँदै जाने प्रशिक्षक राईको विश्वास छ । ‘सिंगल राउण्ड रोविन भएपछि लिगको पहिलो र चरौथो र दोस्रो र तेस्रोबीच सेमिफाइनल हुन्छ । सुरुमा केही बिग्रियो भने पनि हामीलाई सच्याउने अवसर छ’, उनले भने ।

काभा यू-२० भलिबल : पहिलो सहभागितामै उपाधि जित्ने नेपालको लक्ष्य

त्यसैले नेपालको यस पटक लक्ष्य उपाधि भएको प्रशिक्षक र खेलाडी बताउँछन् । ‘हाम्रो एक मात्र लक्ष्य स्वर्ण पदक जित्ने नै हो’, प्रशिक्षक राई र घिमिरे दुवैको एक मत छ, ‘हामीले सपना विपना दुवैमा उपाधि मात्र टार्गेट देखेका छौँ ।’

कप्तान जेनिशा र खेलाडी निशाले पनि लक्ष्य स्वर्ण नै भएको बताइन् । ‘सबैको लक्ष्य स्वर्ण नै हुन्छ र हाम्रो आशा पनि त्यही हो र सबैले मिहिनेत गर्‍यो भने सकिन्छ भन्ने विश्वास छ । हामी राम्रो तयारी गरिरहेका छौँ ।’

उमेर समूहको टिम भएपनि नेपाली खेलाडीहरुको उचाइ पनि राम्रो भएकाले खेलमा फाइदा पुग्ने प्रशिक्षक र खेलाडीको विश्वास छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School