नेपालको प्रजातान्त्रिक आन्दोलनमा २०४६ साल चैत ३ गते साहित्यकारहरूले मुखमा कालोपट्टी बाँधेर गरेको विरोध निकै महत्वपूर्ण छ। सुरुमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने भनिएको सो कार्यक्रम प्रज्ञा भवनलाई प्रहरीले सुरक्षा घेरामा राखेपछि त्यहाँबाट पायक पर्ने त्रिचन्द्र क्याम्पसमा गरिएको थियो।
यस कार्यक्रमको विषयमा त्यसमा संलग्न हुनेहरू धेरैले संस्मरणात्मक आलेखहरू लेखेका छन् र लेखिंदै पनि छन्। शायद आगामी दिनमा पनि लेखिंदै जानेछन्। तर फरक–फरक व्यक्तिहरूले आ–आफ्नै ढङ्गले लेख्दै आएका छन्। कतिले सम्झनाको सुस्तताका कारण भने कतिले मनगढन्ते ढङ्गले पनि लेख्ने गरेका छन्।
दृष्टान्तको लागि प्रज्ञा भवनमा गर्ने भनिएको मुखमा कालोपट्टी बाँध्ने कार्यक्रम प्रहरीले प्रज्ञा भवनलाई घेराउ गरेको थाहा पाएपछि हतारहतार त्रिचन्द्र क्याम्पसमा स्थान परिवर्तन गरिएको भन्ने एक मत छ भने, अर्को मतका अनुसार प्रज्ञा भवनमा प्रहरीले हस्तक्षेप गर्ला भनेर त्रिचन्द्र क्याम्पस विकल्पका रूपमा पहिल्यै तय गरिएको भन्ने खालका लेखहरू पनि आएका छन्। तर जे भए पनि यथार्थ के हो भने, सुरुमा सो कार्यक्रम प्रज्ञा भवनमा सम्पन्न गर्ने योजना थियो, तर प्रहरी हस्तक्षेपले गर्दा त्रिचन्द्र क्याम्पसमा सम्पन्न गरियो। यो चाहिं शतप्रतिशत सत्य हो।
सो कालोपट्टी बाँध्ने कार्यक्रममा लेखक कलाकारहरू मोहन कोइराला, कमल दीक्षित, युद्धप्रसाद मिश्र, अशेष मल्ल, खगेन्द्र सङ्ग्रौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायत सुप्रसिद्ध लेखिका पारिजात पनि सामेल भएकी थिइन्।
मैले पारिजातको जीवनी पुस्तक ‘सुश्री पारिजात’ लेखनका लागि अध्ययन अनुसन्धानको क्रममा दुई पुस्तकमा पारिजातको सो कालोपट्टी बाँध्ने कार्यक्रम र सामूहिक गिरफ्तारीको विषयमा विल्कुलै ‘असत्य’ अर्थात् ‘गलत’ लेखिएको पाएँ।
हुनत मैले जीवनी लेख्दै गर्दा कतिपय शुभचिन्तकले फलानाले झुट लेखेको छ, असत्य लेखेको छ भनेर तपाईंको जीवनीमा आउनुपर्छ भन्ने सुझाव पनि पाएको हुँ। तर जीवनीमा मैले फलाना फलानाले असत्य लेखे भन्नु मेरो उद्देश्य थिएन। जे यथार्थ थियो, त्यो मात्र उल्लेख गरें। तर अहिले भने मलाई लाग्यो, कुनै पुस्तकमा असत्य लेखिएका छन् भने ती लेखकको जीवनकालमै सो कुरा प्रष्ट लेखिदिनुपर्छ ताकि ती लेखकले पनि गल्ती महसुस गरुन् र आगामी संस्करणमा तिनलाई सच्याउने अवसर प्राप्त होस्।
मैले यहाँ मूल रुपमा दुई पुस्तकलाई दृष्टान्तको रूपमा लिएको छु। प्रकाश सायमी लिखित ‘बर्षादी दिनहरू’ (२०६६ साल, रत्न पुस्तक भण्डार) र हरिवंश आचार्य लिखित ‘चिना हराएको मान्छे’ (विसं २०६९, फाइनप्रिन्ट)।
पुस्तकमा लेखक सायमी लेख्छन्ः
“सुरुमा जब सबै कालोपट्टी बाँध्नेहरूलाई पकडेर ट्रकमा चढाइयो, अन्त्यमा पारिजातलाई पक्डन जाँदा उहाँले गिरफ्तारीको निम्ति इन्कार गर्नुभयो। “मलाई पुरुषले समात्ने होइन, तेरो महिला प्रहरी बोला।” पारिजातको कुरा सुनेर प्रहरीवृत्त अप्ठेरो परिस्थितिमा अल्झियो। त्यहाँ तत्काल महिला प्रहरी उपस्थित थिएनन्। पारिजात अडानमै। ट्रक दरबारमार्गतिरै फर्किन थाल्यो। पारिजात तयार थिइनन्। ट्रक गुड्न तयार छ। प्रहरीको असमञ्जसलाई बुझेर केही बाम खेमाका साथीहरूले पारिजातलाई बोक्नु भो- “समात्न आउने अनि खाली हात आउने ?”
यसबीच पारिजातले सबै साथीहरूको मर्का बुझेर मलाई पनि बोलाउनुभयो- हरिगोविन्द लुईंटेल लगायत केही साथी अघि बढेर दिदीलाई बोकेर ट्रकमा हाल्यौं। मलाई अनौठो र अचम्म लाग्यो, कालोपट्टी मुखमा बाँध्नेदेखि ट्रकमा चढाउने काममा म कसरी सरिक भएँ, थाहै भएन। दिदीलाई त्यो कुरा पछि मैले कैदमुक्त भएपछि भनें पनि।”
(चैत ३ को सम्झनाः पेज २६-२७)
प्रकाश सायमीको पुस्तकमा वर्णित यो विवरण पढ्ने पाठकले कुनै अविश्वास गर्नुपर्ने ठाउँ देखिंदैन। लेखकले पारिजातलाई आफू सहितले बोकेर ट्रकमा हालेको भनेपछि पाठकलाई होला भन्ने नै लाग्छ। अझ पछि कैदमुक्त (हिरासत मुक्त ?) भएपछि भनें भन्दा त शङ्का गर्ने ठाउँ देखिंदैन।
दोस्रो पुस्तकका लेखक हरिवंश आचार्य लेख्छन्ः
“नभन्दै एकछिनमा प्रहरीको एक जत्थाले कलेजलाई घेर्यो र भएजति सबै साहित्यकार, कलाकारहरूलाई ट्रकमा राखेर लग्यो बग्गीखानातिर।
पहिले त बग्गीखानाभित्र हामी सबैलाई एउटै हलभित्र राखिएको थियो। सबै हँसीमजाक, ठट्टा गर्दै बसिरहेका थियौं। एकछिनपछि प्रहरीले पारिजात दिदी, युद्धप्रसाद मिश्र, मदन दाइ र मलाई गाडीमा राखे। हामीलाई लिएर गएको देखेर सबै जना कराए तर प्रहरीले लग्यो।
प्रहरीले युद्धप्रसाद मिश्र र पारिजातलाई महेन्द्र पुलिस क्लबको चौरमा राख्यो। हामी दुई जनालाई चाहिं माथि लिएर गयो र एउटा कोठाभित्र छिरायो।”
(कालोपट्टीः पेज १८०-१८१)
हरिवंश आचार्यको पुस्तकमा वर्णित यो विवरणलाई पनि पाठकले कुनै पनि शङ्का गर्नुपर्ने देखिन्न। उनको लेखाइ अनुसार प्रहरीले कलेजलाई घेर्यो र ‘सबै’ साहित्यकार कलाकारलाई ट्रकमा राखेर बग्गीखानातिर लग्यो। सबै भनेपछि त्यहाँ उपस्थित कोही नछुटेको भन्ने नै अर्थ लाग्छ। त्यति मात्र होइन बग्गीखानाबाट पारिजात, युद्धप्रसाद मिश्र, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई गाडीमा राखेर महेन्द्र पुलिस क्लबमा लग्यो। त्यहाँ लगेर पारिजात र युद्धप्रसाद मिश्रलाई क्लबको चौरमा राख्यो। लेखकको यति विस्तृत विवरण पढ्दा पाठकलाई प्रत्यक्ष प्रसारण जस्तै जीवन्त अनुभव हुन्छ।
तर यथार्थ भने त्यो थिएन। प्रकाश सायमी र हरिवंश आचार्यले बयान गरेजस्तो भएकै थिएन।
त्रिचन्द्रको त्यस घटना अघि पनि सामूहिक गिरफ्तारीका घटना भएका थिए। प्रहरीले कीर्तिपुरको अडिटोरियम हलमा उपस्थित सबैजसोलाई सामूहिक गिरफ्तार गरेको थियो। यो पनि सामूहिक गिरफ्तारी थियो। यस कार्यक्रममा सामेल पारिजात शारीरिक रूपले सक्षम नभएकाले चौरमा बस्न उनलाई सहज थिएन। त्यसैले उनलाई म्हैपीबाट ट्याक्सीमा ल्याउँदा एउटा मुडा पनि ल्याइएको थियो र धर्ना बस्दा सबै भुईंमा बसेका थिए तर पारिजात मात्र मुडामा बसेकी थिइन्। त्यसबेलाको फोटोमा त्यो प्रष्ट देख्न सकिन्छ।
जब मुखमा कालोपट्टी बाँधेर धर्ना बसेकाहरूलाई प्रहरीले घेराउ गरे र सामूहिक गिरफ्तार गर्न सुरु गरे, पारिजातले भनिन्, “म गिरफ्तारी दिन तयार छु। तर पुरुषले छुने होइन मलाई गिरफ्तार गर्न महिला प्रहरी चाहिन्छ!”
त्यहाँ महिला प्रहरी थिएनन्। प्रहरीहरूले मुडामा बसेकी पारिजातलाई त्यत्तिकै छाडेर गए। पारिजात केही समय त्यहीं एक्लै परिन् र पछि कुनै शुभचिन्तकले उनलाई ट्याक्सीमा राखेर घर पुर्याइदिए। वास्तवमा यथार्थ यही नै थियो। मैले जीवनी लेखनको क्रममा यसलाई पुष्टि हुने सामग्रीहरूको विस्तृत अध्ययन गरें। साथै तत्कालीन समयमा अर्थात् २०४६ सालको सो कार्यक्रममा म सामेल नभए पनि त्यसको जानकारी त राखेको थिएँ नै। त्यसको सम्झना पनि थियो। पारिजात गिरफ्तार नभएको विषयमा धेरैले आफ्ना संस्मरणमा पनि लेखेका छन्। पारिजात स्मृति ग्रन्थमा पनि यो कुरा आएको छ।
दृष्टान्तका लागि सो दिन मुखमा पट्टी बाँध्ने कार्यक्रममा सामेल लेखक खगेन्द्र सङ्ग्रौलाको लेखको अंश उद्धृत गर्न चाहन्छु। उनी लेख्छन्ः
“अभिव्यक्ति स्वतन्त्रतालाई कैदमुक्त गर्न हामी त्रिचन्द्र कलेजमा जुट्यौं। थियौं विविध विचार र प्रवृत्तिका थुप्रै लेखक र कलाकार। पाका र नामी कवि–लेखक युद्धप्रसाद र मोहन कोइराला, कृष्णचन्द्र र ध्रुवचन्द्र आदित्यादि। ती सबैका माझमा, सर्वाधिक आकर्षणको पात्र थिइन् पारिजात दिदी। शरीरले अशक्त, मनले सशक्त। तागतले निर्बल, विचारले सबल। हामी सबै पक्राउ पर्यौं, पारिजात दिदी छुटिन्। महिला प्रहरी थिएनन्, पुरुष प्रहरीलाई पारिजात दिदीले आफूलाई छुन दिइनन्। हामी सबै उता प्रहरी खोरमा चलान भयौं, यता पारिजात दिदी सरस्वती सदन बाहिर एकल रहिन्। तीन घण्टा धर्ना कस्ने हाम्रो संकल्प थियो। पारिजात दिदीले घाममा टट्टिंदै संकल्प पूरा गरिन्। र, चैत ३ र पारिजात दिदी एकअर्काका पर्याय जस्ता बने। चैत ३ ले पारिजात दिदीलाई सम्झाउने, पारिजात दिदीसँगै चैत ३ को याद आउने।”
(पारिजात दिदी जीवित भए…, नयाँ पत्रिका, २०७६ साल जेठ ४, शनिवार)
साहित्यिक, सांस्कृतिक र ऐतिहासिक रूपले २०४६ सालको चैत ३ एक महत्वपूर्ण घटना हो, साहित्यकार कलाकारहरूले मुखमा कालोपट्टी बाँधेर पञ्चायती व्यवस्था विरुद्ध गरेको आन्दोलन। यस्तो महत्वपूर्ण घटनाको विषयमा ‘गलत’ लेखिनुहुन्न, कथंकदाचित लेखिएको भए त्यसलाई सच्याइनुपर्छ।
भर्जिनिया, अमेरिका।