क्रोधित देवताले विश्वको अन्त्य गर्न सक्छन् भन्ने त्रास हाम्रा पुर्खामा परापूर्वकालदेखि थियो। तर जलवायु परिवर्तन, आणविक हतियार, कृत्रिम बुद्धिमत्ता अथवा सिन्थेटिक जीव विज्ञानको सहायताले यसप्रकारको विनाश गर्ने क्षमता हामी आफैँले विकास गरेका छौँ।
पछिल्ला वर्षमा भएको प्रविधि विकासको परिणामस्वरूप पृथ्वीलाई हानि पुर्याउने हाम्रो क्षमता तीव्ररूपमा बढेको छ। प्रविधिले सिर्जना गरेको नयाँ शक्तिलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्न हामीसँग साधन छैनन्। मानवतालाई बचाउन र फस्टाउने वातावरण बनाउन यो दिशामा केही पहल हुनैपर्छ। एकापसमा गहिरो अन्तरसम्बन्ध रहेको विद्यमान विश्वका साझा चुनौतीलाई सम्बोधन गर्न हामीमा सामूहिक चेतनाको विकास हुन आवश्यक छ। सँगसँगै प्रविधिको विकासले सबैको हित गर्ने सुनिश्चतता पनि आवश्यक छ।
हाल, देशहरू र समुदायहरूबीच विद्यमान शून्य–योग प्रतिस्पर्धा (जिरो–सम कम्पिटिसन) का कारण विश्वव्यापी जोखिमहरू न्यूनीकरणमा ठूलो अवरोध खडा भएको छ। दुरूपयोगको संभावना रहेको त्यही प्रविधिले हामीमा साझा जिम्मेवारीको भावना बढाउन मद्दत गर्ने क्षमता राख्छ। प्राविधिक विकासले हजारौँ वर्षदेखि धार्मिक विश्वासलाई आकार दिएको छ। बोटबिरुवा र जनावरलाई घरपालुवा बनाउन थालेपछि सभ्यता सुरु भएको हो। यही कारणले विश्वमा अधिकांश धर्म (जीवात्मवाद अर्थात् एनिमिज्म बाहेक) को प्रादुर्भाव सम्भव भएको हो। यो विश्वास प्रणालीलाई लेखन, चर्मपत्र तथा कागजको विकासले लिपिबद्ध गरेको हो भने टोरा, बाइबल, कुरान र भागवत्गीता जस्ता पवित्र ग्रन्थहरूले यसलाई फैलाउन मद्दत गरेका हुन। इसाई धर्मको एक प्रमुख धारका रूपमा रहेको प्रोटेस्टेन्टवादको सफलताका लागि धेरै हदसम्म छापाखानाको विकासलाई श्रेय दिन सकिन्छ।
अहिले प्राविधिक कम्पनीहरू गीताजिपिटी, कुरानजिपिटी तथा बाइबलजिपिटी जस्ता मोडल च्याटबट्सहरू निर्माण गर्न लागेका छन्। यो प्रविधिगत विकासले सर्वसाधारणलाई आफ्ना परम्परागत धार्मिक ग्रन्थबाट स्वचालितरूपमा व्यक्तिगत परामर्श सल्लाह लिन संभव हुनेछ। यहुदी धर्मको पवित्र भनाइलाई व्याख्या गरेको ताल्मुड ग्रन्थ जसरी अन्ततः आफैँ पवित्र ग्रन्थका रूपमा विकसित भएको थियो, त्यसरी नै कृत्रिम बौद्धिकता (एआई) मार्फत सिर्जित व्याख्यात्मक भनाइहरूले कालान्तरमा त्यही पवित्रता प्राप्त गर्न सक्ने देखिएको छ। यसले के देखाउँछ भने जसरी एआई जस्ता शक्तिशाली प्रविधिले विभिन्न खाले हानि पु¥याउन सक्छ त्यसरी नै यो प्रविधिले सजिलैसँग हाम्रा सामाजिक परम्परा र विश्वास प्रणालीको निरन्तर विकासमा सकारात्मक प्रभाव पार्न सक्छन्।
विशेषगरी, यस्ताखाले प्रविधिले मानिसमा विश्वव्यापी चेतनाको विकास हुन सक्छ भने आफ्ना परम्परागत पहिचानमा आधारित रहेर समाजको सामूहिक आवश्यकतालाई परिपूर्ति गर्न उनीहरूमा थप जागरुकता विकास गर्न मद्दत हुन सक्छ । जीवात्मवाद (एनिमिज्म), बौद्ध धर्म, सामूहिक जिम्मेवारीको अवधारणालाई विस्तार गर्ने एकतावाद (युनिटारियनिज्म) को पदचाप पछ्याउँदै एआई प्रणालीले यस्ता विश्वव्यापी प्रयासलाई झन् घनिभूत पार्न सक्छ।
सन् २०१६ मा गुगलको डिपमाइन्डले विकास गरेको एल्गोरिदम ‘अल्फागो’ ले गो नाम गरेको खेलका दक्षिण कोरियाली ग्रान्डमास्टर लि सेडोलाई पराजित गरेको थियो। प्रविधिको यो अदभूत प्रदर्शनले आगामी दिनमा एआईको परिवर्तनकारी क्षमतालाई रेखांकित गर्दछ। गो खेलका ग्रान्डमास्टरले खेलेका हजारौँ खेलका आधारमा अल्फागोलाई प्रशिक्षित गरिएको थियो।
अल्फागोको सफलता खासमा मानवताका लागि ठूलो विजय थियो। खेल भइरहँदा यस्तो लाग्थ्यो, ग्रान्डमास्टर लि सेडो एकातिर थिए र टेबलको अर्काे भागमा सबै मानव ग्रान्डमास्टर थिए। कम्युटरको एल्गोरिदमको सामूहिक बुद्धिमत्ता एकातिर थियो र सेडो अर्काेतिर थिए। त्यो दिन, धेरै हिसाबमा, कम्युटर प्रोग्रामले हाम्रो सबैभन्दा राम्रो प्रदर्शनको प्रतिनिधित्व गरिरहेको थियो।
कल्पना गरौँ, यदि हामीले भविष्यको एल्गोरिथ्मलाई मानव जातिले हालसम्म रेकर्ड गरेका सबै धार्मिक र धर्म निरपेक्ष परम्पराहरू अध्ययन गर्न दियौँ र हाम्रा सांस्कृतिक र आध्यात्मिक उपलब्धिहरूका सबैभन्दा उत्कृष्ट सन्दर्भका आधारमा त्यसमा सुधार गर्न सकिने योजनासहितको घोषणापत्र बनाउन निर्देशन दियौँ भने यसले कस्तो नतिजा देला ? आफ्ना समग्र सिकाइको प्रयोगमार्फत समुदायको सदस्यका हिसाबमा हाम्रा व्यक्तिगत आवश्यकता र एकै ग्रहलाई साझेदार गर्ने मानव जातिको सामूहिक आवश्यकताबीच कसरी बृहत्तर सन्तुलन कायम गर्न सकिन्छ भन्नेमा यसले सुझाव दिन सक्छ। कुनै पहाडको टुप्पो तथा वरपर उत्खनन गर्दा भेटिने कुनै शिलालेख जस्तै त्यो अवस्थामा यो प्रविधिले यहुदी धर्मको ताल्मुडले पाएको सम्मान र वैधता पाउन सक्छ।
हिजोआज, अधिकांश मानिस कुनै चिजको खोजीनीति गर्न अथवा जिमेल लेख्दा सुझावसहितको वाक्य लेख्न जेनेरेटिभ एआई बट्स च्याटजिपिटीमा निर्भर रहने गरेका छन्। विमान चालकले कुनै गल्ती गर्दा प्रविधिले चेतावनी दिएझैँ कारहरूमा हाल जडित कम्प्युटर प्रणालीले अर्काे लेनमा गाडी गएमा चालकलाई चेतावनी दिन्छ। निकट भविष्यमै, प्राकृतिक भाषाका निर्वाध इन्टरफेसहरूले हाम्रा बिदा मनाउने योजना बनाउने छन्। आफैँले कोड गर्न नसक्ने व्यक्तिहरूलाई उनीहरूकै प्रम्प्टका आधारमा कम्युटर प्रोग्राम निर्माण हुनेछ। यो प्रविधिले चिकित्सकलाई उपचारका विकल्पबारे सुझाव दिनेछ । यसले किसानहरूलाई खेतीपाती गर्ने तौरतरिका र रणनीति सिफारिस गर्नेछ। एआई प्रणालीले हाम्रा जीवनका धेरै महत्त्वपूर्ण निर्णयहरूमा ठूलो भूमिका राख्नेछ । यसले हामीले गर्ने कार्यको अर्थ लगाउन र हामीलाई साझा हितको क्षेत्रमा चिन्तित हुन अभिप्रेरित गर्नेछ।
अल्फागो र लिबीचको दोस्रो खेलमा, एल्गोरिदमले एउटा यस्तो चाल बनायो, जसलाई कतिपय मानव विशेषज्ञले गल्तीको रूपमा हेरेका थिए। विद्यमान मेट्रिक्सको आधारमा हेर्दा, उक्त चाल लाभदायी हुने संभावना १० हजारमा एक थियो। तर अन्त्यमा, त्यो चाल कुनै पनि मानिसले यसअघि नसोचेको उत्कृष्ट चाल थियो। मानव खेलाडीहरूलाई कमजोर पार्नुको सट्टा, अल्फागोले अन्ततः खेल खेल्ने नयाँ तरिकाहरू प्रस्तुत गरेर खेललाई अझ राम्रो बनाएको थियो।
समग्रमा, यी सबै प्रविधि रं गो खेलको आविष्कारको श्रेय मानिसलाई दिन सकिन्छ। त्यसो त, मानिसले निर्माण गरेको अर्काे अल्फाजिरो प्रोग्रामले पूर्ववर्ती प्रोग्राम ‘अल्फागो’ लाई परास्त गरिसकेको छ। आफैँविरुद्ध खेलेर हासिल गरेको सिकाइका आधारमा उसले अल्फागोलाई परास्त गरेको थियो। प्रविधि, अर्को शब्दमा भन्नुपर्दा हामी नै हौं। त्यसैले यो हाम्रा लागि विकसित हुनुपर्छ। जसरी, अल्फागो र अल्फाजिरोले गो प्लेयरका खेलका नयाँ उपायहरू उपलब्ध गराएका थिए, त्यसरी नै हजारौँ वर्षदेखि मानिसले सिर्जना गरेको सांस्कृतिक सामग्रीलाई एआई प्रणालीले मानव जातिलाई अझ उन्नत मार्गमा अगाडि बढ्न सहयोग गर्न सक्छ। हामीले सिर्जना गरेको खतरालाई सम्बोधन गर्न समय घर्किरहेको छ। यसका लागि विश्वव्यापी खाका तयार गर्नुपर्छ। त्यो हाम्रो चाल हुनेछ।
– वनसेयर्डडटवल्र्डका संस्थापक मेटजलको यो लेख प्रोजेक्ट सिन्डिकेटबाट श्रीराम सुवेदीले भावानुवाद गरेका हुन्।
प्रकाशित: १ असार २०८१ ०७:४० शुक्रबार