‘सायद म बाङ्गाटिङ्गा धर्सा हुँ
कहिलेकाहीं जोडिन्छु र अर्थ हुन्छु
कहिलेकाहीं टुक्रिन्छु र व्यर्थ हुन्छु’
जोडिएका धर्साहरूले गणितमा कोण, त्रिभुज, चतुर्भुजहरू बनाउँछन् । जिन्दगीमा जोडिने धर्साहरूले जिजीविषालाई इन्द्रेणी रङ दिन्छन् । छुट्टिएका धर्साहरूले गणित र जीवन दुवैतिर खास अर्थ राख्दैनन् ।
२०३५ सालमा मुक्तकको रूपमा छापिएका साहित्यकार सरुभक्तका यी तीन पंक्तिलाई अहिलेको पुस्ताले मुक्तक मान्दैन, तर यसमा सन्निहित जीवनको गहिरो दर्शनलाई कसैले नकार्दैन ।
थुप्रै पाठक, समीक्षक यो ‘मुक्तक’लाई सरुभक्तकै जीवनसँग जोडेर बुझ्छन् । सँगसँगै केही आम मान्छेले आफ्नो कथा समेत यसमा भेट्टाउँछन् । आफ्नो अनुभव लेख्नु र त्यसलाई पाठक, समीक्षकको पनि साझा बनाउनु चानचुने कुरा होइन । सायद सर्जकको सफलताको मुख्य मापक नै यही हो ।
सरुभक्तको जीवन बाङ्गाटिङ्गा धर्सा जस्तै छ । मानव सभ्यता र समाजले बनाइदिएको मानक र बाटोमा उनी हिंडेनन् । अरूले नहिंडेको, कसैले गोरेटो नबनाएको जीवनको कुमारी राजमार्ग खन्दाखन्दै उनी जीवनको सातौं दशकमा आइपुगेका छन् ।
बेलायती लेखक एवम् दार्शनिक ब्रटेन्ड रसेल मान्छेको चोलालाई लक्ष्य प्राप्तिको कठिन यात्रा मान्छन् । उनी भन्छन्, ‘जीवन राति हिंड्नुपर्ने लामो यात्रा हो, जहाँ नदेखिएका शत्रु, पीडा, थकानले घेर्छन् । लक्ष्यमा पुग्ने आशा थोरैमा मात्र बाँकी रहन्छ ।’
दुसाध्य र चुनौतीपूर्ण जीवनलाई अवसरमा बदल्ने र नमूना बन्नेहरू धेरै छन्, विरक्तिएर अस्तित्व सिध्याउनेहरूको पनि यहाँ कमी छैन । सन् १९५० को नोबेल पुरस्कार विजेता रसेलले भने जस्तै चुलीसम्म पुग्ने र त्यहाँ टिक्न यस्तो चुनौती मोल्नैपर्छ ।
पोखराको पुरानो बजार बागबजारको नेवार साहूको परिवारमा जन्मिएको जेठो छोराले बाउकै बिंडो धान्नुपर्ने थियो । सात सन्तानमध्ये जेठो भएकाले सबैभन्दा पहिले बिहे हुनुपथ्र्याे । अहिले धर्मछोरीको नाति जत्रै सरुभक्तकै छोराकै छोरो हुनुपर्ने थियो । साहित्यकार सरस्वती प्रतीक्षा सरुभक्तकी धर्मछोरी हुन् ।
सबैजसोलाई मिलिरहेको जीवनको यो सूत्र भक्तराज श्रेष्ठको जीवनमा फेल खायो । उनले किशोरावस्थामा आफ्नो नामको अघि ‘सरु’ जोडे, पछाडिको राज हटाएर आफैंले आफ्नो न्वारान गरेः सरुभक्त ।
जीवनको दुई बीसताका रोजेको नामको चर्चा उनका कृतिहरूको भन्दा पनि बढी हुने गरेको छ । उनलाई घरीघरी लाग्छ– मेरो जीवन नै गलत बुझाइमै बित्ने भो । वास्तवमा उनी भक्तराजबाट सरुभक्त भएकै दिन विवाह भन्ने संस्था उनका लागि अन्त्य भयो ।
उनी भन्छन्, ‘तपाईं फूल भन्नुहोस् कि काँडा ? म सरुको भक्त हुँ । सरु मै हुँ नि ! भक्त पनि मै हुँ, सरु ममै एकाकार छ ।’
सबै व्यक्तिगत सम्बन्ध, भावना सार्वजनिक गर्न जरूरी हुँदैन । मान्छेले खोज्दा पनि खोज्दैन । नेपाली साहित्यमा चार दर्जनभन्दा बढी प्रकाशित कृति र त्यति नै अप्रकाशित कृतिका सर्जक सरुभक्तबारे चासो हुनुलाई भने अस्वाभाविक भन्न मिल्दैन ।
‘कुनै युवतीसँग किशोरावस्थामा गहिरो अनुराग, विछोड भएपछि उसकै नाम जोडेर जीवनभर अविवाहित !’ धेरैले यही अनुमान गर्छन् सरुभक्तको जीवनबारे । तर उनले अहिलेसम्म यसबारे चुँसम्म गरेका छैनन् ।
अरूले जंगल ठानेर छाडिदिएको विरल बाटोमा हिंड्दा हिंड्दै सरुभक्तले पृथक् जीवन दर्शन भेट्टाएका छन् । उनका लागि जीवन अहम् हो । प्रेमचाहिं जीवनको सर्वश्रेष्ठ अहम् । यही अहम्वादी दृष्टिकोण र शून्यवाद अंगीकार गरी उनले केही कृति समेत सिर्जना गरेका छन् ।
बाल साहित्यदेखि महाकाव्यसम्म सिर्जना गरेका सरुभक्तको साहित्यिक यात्रा पनि उनको जीवन जस्तै पृथक् छ । नेपाली भाषा, साहित्यको औपचारिक अध्ययन नगरेको, मातृभाषा नेवारी भएको परिवेशबाट उनी अहिले आख्यान, काव्य, छोटो विधा मुक्तकदेखि बालसाहित्यसम्मका ज्ञाता बनेका छन् ।
साहित्यसँगको उनको नाता स्कुलबाटै जोडिएको हो । पोखराको लामाचौरमा सेती गण्डकीको गडतीरमा छ, गण्डकी बोर्डिङ स्कुल । त्यही स्कुलमा नेपाली सेनाका पूर्वनिमित्त सेनापति कुलबहादुर खड्का २०२३ ताका शिक्षक थिए । गैरनाफामूलक, नमुना यो स्कुलमा खड्काले पढाउने विद्यार्थीमध्ये सरुभक्त पनि थिए ।
सरुभक्तको बोलीमा नेवारी लवज थियो । कक्षामा एक पटक उनको नेवारी लवज मिसिएको वाक्य शिक्षक खड्काले बारम्बार दोहोर्याइदिए । यता, कक्षामा हाँसोको फोहोर छुट्यो, उता सरुभक्तले नेपाली बोल्नै छाडे । साथीहरूले समेत उनलाई जिस्क्याउन थाले ।
त्यसपछिका दुई वर्ष उनका लागि निकै नीरस रहे । उनले कहिले हुन्छ वा हुन्न दुईशब्द त कहिले टाउको हल्लाएरै निर्वाह गरे । कक्षा ६ मा पुग्दा शिक्षक शान्ति आइज्याक सुब्बा आए । मासिक परीक्षामा सुब्बा सरले सरुभक्तलाई १० पूर्णाङ्कमा ८ दिएछन् । त्यति मात्र होइन, लेखनको प्रशंसा समेत गरिदिए । नेपालीमा लेखेर पाएको पहिलो प्रशंसा बालकको जीवनमा टर्निङ प्वाइन्ट बनिदियो, नेपाली भाषाप्रति अगाध स्नेहको जग भइदियो । अहिले सरुभक्तका कृति नेपालका विभिन्न विश्वविद्यालयमा पढाइन्छन् ।
न जागिर खानु छ, न गृहस्थ जीवन नै चलाउनु छ भन्ने यकिन गरिसकेकाले हो पो हो कि ? उनी विश्वविद्यालयका किताब पढ्ने तर परीक्षा नदिने विद्यार्थीमा दरिए । भलै, उनले रोजेको बिब्ल्याँटो बाटोले बारम्बार जीवनको परीक्षा भने उनीसँग लिएकै छ
तीन/चार कक्षामा पुगेपछि मात्र नेपाली सिक्नुपर्ने धेरै जनजातिको दुःख सरुभक्तले समेत झेल्नुपर्यो । घरमा मातृभाषा र स्कुलमा नेपाली र अङ्ग्रेजी सँगसँगै तीन भाषा सिक्नुपर्दा बालबालिकामा पर्ने बोझबारे हाम्रो शिक्षा क्षेत्रमा खासै चर्चा अहिले पनि हुँदैन ।
नेपाली बोल्न थाल्यो कि टटमट भइहाल्ने समस्या निकै पछिसम्म उनले व्यहोर्नुपर्यो । तर, सुब्बा सरको त्यो प्रशंसा सञ्जीवनी बन्यो । सरुभक्तमा चाहें भने नेपालीमा केही न केही गर्न सक्छु भन्ने आत्मविश्वास जाग्यो । त्यो आत्मविश्वासको मूल जरोको सहारामा जमिनमा साहित्यका हाँगाहरू फैलिन थाले ।
बागबजारका सबैजसो नेवारका घरमा त्यो बेला नेवारी नै बोलिन्थ्यो । पूरै नेवार टोल थियो, अरू जातिको समिश्रण थिएन, नेवारी बाहेक अरू भाषा चल्थेन । स्कुल भर्ना भएपछि स्कुल सँगसँगै सरुभक्तको नेपाली भाषासँग संगत भयो । उनको मावली पोखराकै हेम्जा । आमा लक्ष्मी बाहुन समुदायमा हुर्किएकाले उनलाई खाँटी नेपाली आउँथ्यो । नेवारी बोल्दाबोल्दै पनि नेपाली मिसिने, आफ्ना कुरा भन्न उखान, टुक्का मिसाइदिने !
केही महिनाअघि शल्यक्रिया गरेका आँखाले पनि सरुभक्तले पढ्न छाडेका छैनन् । अहिले उनलाई ताज्जुब लाग्छः किताबमा पनि नहुने ती उखान, टुक्का आमाले कहाँबाट ल्याएकी थिइन् ? कापीमा टिपिराख्नुपर्नेमा त्यसो नगरेकोमा उनलाई पछुतो लागिरहन्छ । आमा नरहेपछि ती उखान, टुक्का पनि रहेनन् !
बेला, मौकामा स्कुलमा शिक्षकहरूले कथा, कविता सुनाउँथे । रमाइला कथा र लय हालेर सुनाइएका कविताले विद्यार्थीको ध्यान नतान्ने कुरै भएन । सँगसँगै सरुभक्तको बाल मस्तिष्कमा कविता लेख्नुपर्छ, यो समाजका ठूला मान्छेले गर्ने काम हो भन्ने खालको बिम्व बनिदियो ।
पूर्णलाल कायस्थ, विक्रम गुरुङ सँगसँगै उनले पनि सरहरूले सुनाउने सिर्जना सुन्ने र सुनिसकेपछि नक्कल गर्दै लेख्ने गर्न थाले । अरूको नक्कल, चोरीका सिर्जना सार्वजनिक रूपमा सुनाउन मिल्ने कुरै थिएन । फेरि अहिले जस्तो त्यतिबेला न साहित्यिक गोष्ठीहरू भइरहन्थे, न सामाजिक सञ्जाल नै थियो । साथीहरूबीच सुनाएर रमाइलो गर्दागर्र्दै नजानिंदो किसिमले उनीहरू साहित्यमा लहसिए ।
कहिले सेतीमा पौडिने, कहिले सिम्पानीको वनमा चुत्रो, ऐंसेलु टिप्दै दौडिने यी किशोरहरूको जीवनको लयमा अकस्मात् सानो भूकम्पको झट्का आयो । २०२८ सालमा यो समूहका प्रिय गुरु शान्ति आइज्याकलाई स्कुलले बर्खास्त गरिदियो ।
जोशमा सरुभक्तले साथीहरू सहित कक्षा १० मा पढ्दा पढ्दै त्यो स्कुलै छाडिदिए । वन, नदी किनार दौडिने, पढाइमा भन्दा फिल्म हलतिर बढी ध्यान दिने समूहले नयाँ स्कुल खोज्नुपर्यो । घरनजिकैको राष्ट्रिय माविबाट सरुभक्तले एसएलसी पास परेका हुन् ।
उनका बुवा बागबजारका गणेश साहू छोरालाई डाक्टर, इन्जिनियर बनाउन चाहन्थे । सरुभक्तको नाम काठमाडौंको अमृत साइन्स कलेजमा लेखाइयो । सर्जक छोरालाई बुवाले बनाइदिएको राजमार्ग रुचिकर भएन ।
दुई वर्ष राजधानीमा बिते तर सरुभक्तले आइएस्सीको प्रमाणपत्र पाउन सकेनन् । २०३५ सालतिर पोखरा फर्केर फेरि प्रमाणपत्र तहमा नै भर्ना भए । पृथ्वीनारायण क्याम्पसबाट स्नातकसम्म पढे ।
स्नातकोत्तर पढ्न राजधानी छिरेका सरुभक्तले पढ्नचाहिं धेरै किताब पढे, धेरै विषय पढे । विश्वविद्यालयको पाठ्यक्रमका अर्थशास्त्र, इतिहास, समाजशास्त्र र अंग्रेजी पढे । जे रुचि हुन्थ्यो, त्यही पढ्ने तन्नेरी सरुभक्तलाई परीक्षा दिन भने जहिल्यै दिक्क लाग्ने !
न जागिर खानु छ, न गृहस्थ जीवन नै चलाउनु छ भन्ने यकिन गरिसकेकाले हो पो हो कि ? उनी विश्वविद्यालयका किताब पढ्ने तर परीक्षा नदिने विद्यार्थीमा दरिए । भलै, उनले रोजेको बिब्ल्याँटो बाटोले बारम्बार जीवनको परीक्षा भने उनीसँग लिएकै छ ।
स्कुलबाट सुरु भएको साहित्यको नसा बढिरह्यो । क्याम्पस हुँदै पछि त जीवनै साहित्यका लागि समर्पित देखियो । पृथ्वीनारायण क्याम्पसमै उनी नाटक लेखन, निर्देशन, अभिनय र कवितावाचनमा सरुभक्तका रूपमा चिनिइसकेका थिए ।
पहिलो कृति ‘बन्द खामभित्र’ मुक्तक सञ्चयन निकाल्ने बेलामा उनलाई सङ्कट आइलाग्यो, नाम सरुभक्त राख्ने कि भक्तराज ? पछि लेखकको नाम सरुभक्तै छापियो ।
सरुभक्तका अनेक परिचय छन् । हङकङ पोखरा, भेडीगोठैमा, चाइना कम्पनी जस्ता चर्चित गीतका सर्जक उनले पाठकले खुट्याउनै कठिन पर्ने विज्ञान कथा र उच्चस्तरका उपन्यासहरू पनि लेखेका छन् ।
आधा दर्जन बाल साहित्यका कृति हालै सार्वजनिक गरेका उनका काव्य, खण्डकाव्य, विज्ञान कथा, गजल, मुक्तकका कृति समेत बजारमा छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका संगीत नाट्य विभागका प्रमुख बनेका उनी पछि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति नै भए ।
शेक्सपियर शैलीको कपाल पाल्ने नाटककार सरुभक्तमा शेक्सपियरप्रति बिछट्टै सम्मान छ । बेलायत जाँदा विमानस्थलबाट उनी सीधै शेक्सपियरको जन्मस्थल स्टाट फोर्ड एभन पुगेका थिए । शेक्सपियरले आफ्नी प्रेमिकालाई समर्पण गरी लेखेका ब्ल्याङ्क भर्स जस्तै सरुभक्तको साहित्य र जीवन पनि कसैप्रति समर्पित भएको अनुमान भइरहन्छ ।
क्याम्पस पढ्दा र प्राज्ञ हुँदा केही वर्ष सरुभक्त राजधानीमा बसे । राजधानीका अवसर र माहोलले उनलाई कहिल्यै आकर्षित गरेनन् । राणा कालमा मानिसहरू मोफसलबाट हिंडेरै नेपाल भनिने काठमाडौं जान्थे ।
हुन पनि काठमाडौं नै पूरै नेपाल थियो, त्यसले बाँकी देशलाई चिन्थेन । चाकरी गर्न त्यसरी जाने परम्परा अझै छुटेको छैन, झन् बढेको छ ।
मोफसलमा केही गर्नु छ भने तल जग आफैंले खन्नुपर्छ, घर आफैंले बनाउनुपर्छ । काठमाडौंका अवसरले आकृष्ट नगर्ने सरुभक्तले पोखरेली युवा सांस्कृतिक परिवार स्थापनामा पहल लिए । उसो त नेपाली साहित्यको चर्चित ‘संरक्षण कविता आन्दोलन’को संयोजन पनि उनले नै गरिरहेका छन् ।
जीवनको तीन बीससम्म बा-आमाको सामीप्य पाउने सरुभक्तप्रति बाँचुञ्चेल उनीहरूको चिन्ता देखियो । सानामा बरालिएर हिंड्छ, भने जस्तो पढेन भन्ने पीर थियो । सरुभक्त तन्नेरी भइसकेपछि गृहस्थ जीवनमा गएन भन्ने मुख्य चिन्ता बन्यो । जीवनको उत्तरार्द्धमा आमाको मुख्य चिन्ता सरुभक्तको सम्झनामा छः यसले के गरिखाला ?
भाइबुहारी, नातिनातिना सहितको ठूलो संयुक्त परिवारमा सरुभक्त छन् । “वैवाहिक जीवनमा नभए पनि व्यावहारिक जीवनमा छु । अरूले नहिंडेको बाटो हिंड्दाखेरी अलिकति समस्याहरू चाहिं भोग्नुपर्ने रहेछ” उनी भन्छन्, “त्यही बाटोमा भेटिन्छ, जिन्दगीका कतिपय सिद्धान्तहरू ।” हम्मेसी कोही नहिंड्ने बाटोमा काँडा हुन्छन्, बाटोमा लेउ, काइहरू हुन्छन् । यात्री चिप्लनु, लड्नु अनौठो विषय हुँदै भएन ।
सरुभक्त भ्याएसम्म पोखराका धेरै साहित्यिक कार्यक्रममा पुग्छन् । साहित्यकार र साहित्यिक अभियन्ताहरू दुवैमा ऊर्जा भर्न पनि आफू कार्यक्रमहरूमा जाने गरेको उनी सुनाउँछन् । न निजी गाडी, न मदिरा र खानपानको विशेष सोख, न विशेष सम्मानको अपेक्षा । सीमित आवश्यकता भएको उनको जीवन लयमै चल्छ भन्ने विश्वास गर्न सकिन्छ ।
कक्षामा सुब्बा सरको मूल्याङ्कनको ऊर्जा नबिर्सने सरुभक्तसँग पहिलो पुरस्कारले दिलाएको खुसी पनि अझै ताजा छ । २०३५ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवमा उनी तेस्रो बनेका थिए । भयो के भने त्यस बेलाका सदस्य सचिव सत्यमोहन जोशीको आवा आयो, ‘तु आउनू, दौरा–सुरुवाल लिएर ।’
उनले बालाई थाहा नदिई बाकै दौरा, सुरुवाल, कोट लिएर राजधानी पुगी पुरस्कार थापेका थिए ।
तत्कालीन राजाबाट उनले तेस्रो पुरस्कार ग्रहण गर्दा पहिलो पुरस्कार भने सरुभक्तकै गुरु मुकुन्दशरण उपाध्यायले पाएका थिए । सरुभक्त २०४२ सालको कविता महोत्सवमा प्रथम बने, २०४८ सालमा उनको उपन्यास ‘पागल बस्ती’ले मदन पुरस्कार पायो । अचेल महिनामै एक, दुई पुरस्कार र सम्मान उनलाई अर्पण गरिन्छन् ।
अहिले सरुभक्त नेपाली साहित्यको यस्तो चुली बनेका छन् जसलाई सम्मान, पुरस्कृत गर्दा स्वयं ती पुरस्कार, सम्मान र संघ, संस्थाले आफ्नै कद अग्लिएको अनुभूत गर्छन् ।