कसरी बनाउने व्यवस्थित र सफल जीवन?


के तपाईं कहिल्यै अराजक, अस्तव्यस्त र बेपर्वाह मानिसको कोठामा प्रवेश गर्नुभएको छ? त्यहाँ जानुभएको छ भने त्यहाँ बेहाल अवस्था देख्नुहुनेछ। लुगाफाटो यत्रतत्र छरिएका, टेबलभरि फोहोर र कागजका टुक्राहरू, भुइँमा कफीका दागहरू, हेरिनसक्नु बिस्तारा आदि यस्ता व्यक्ति बस्ने ठाउँको परिचय हो। यो एउटा सानो उदाहरण र चित्रण हो।

अव्यवस्थित जीवनशैली सफलताको तगारो हो, सफलता विरुद्धको एउटा घातक हतियार हो। कहिलेकाहीं पढेलेखेका र उच्च योग्यता भएका मानिसहरू पनि अव्यवस्थित जीवनशैलीको सिकार बनेका हुन्छन्। उनीहरू पनि घर परिवार र समाजमा व्यावहारिक र व्यावसायिक पक्षहरूमा पछि परेका देखिन्छन्। भनिन्छ, व्यवसाय सञ्चालन गर्ने तौरतरिका मिलेन भने पर्याप्त लगानी गरे पनि व्यवसाय फस्टाउन सक्दैन। त्यसैगरी आफ्ना छोराछोरीहरूका निम्ति कुनै पनि परिवारले जतिसुकै लगानी किन नगरून्, व्यवस्थित जीवनका लागि आवश्यक सिप प्रदान गर्न सकिएन भने परिवार नै असफल बन्न पुग्छ।  

अव्यवस्थित जीवनलाई चुस्त, व्यवस्थित र सङ्गठित बनाउनु आजको आवश्यकता हो। यो सिकाइको पहिलो पाठमध्ये एक हो। यस्तो सिकाइ सैन्य प्रशिक्षण शिविरमा, कुनै आवास वा छात्रावासमा पनि सिकाइने गरिन्छ। यिनै सङ्गठित जीवनका आधारले नै मानिसको जीवनको महत्त्वपूर्ण आधारशीला निर्माण गर्छन्। जब मानिसका दैनिक व्यवहार र गतिविधिहरू सङ्गठित र सिलसिलाबद्ध हुन्छन्, तब मात्र भविष्यका लागि उसका योजनाहरू स्पष्ट हुँदै जान्छन्। हामीले चाहने तनावयुक्त जीवन होइन, तनावमुक्त जीवन हो। सङ्गठित व्यवहारले नै जीवनलाई तनावमुक्त बनाउन स्पष्ट रूपले मार्गनिर्देश गर्छ।

अव्यवस्था र मनोवैज्ञानिक विकृति

मनोविद्हरूले अव्यवस्थित जीवनलाई अनुत्पादक बानीहरूमा अन्तर्निहित मनोवैज्ञानिक विकृतिका रूपमा चिनाउने गर्छन्। यो विकृति कहिलेकाहीं गल्तीहरूका रूपमा मात्र होइनन्, व्यक्तिका आन्तरिक कमजोरीहरूको अराजक बानीका रूपमा विकास भएका हुन्छन्। आफ्ना सरसामान र किताबहरू खोज्न र पत्ता लगाउन नसक्ने विद्यार्थी, आफ्नो विषयवस्तुमा प्रस्ट र सिलसिलाबद्ध प्रस्तुति दिन नसक्ने वक्ता वा नेताहरूले गर्ने व्यवहार यसैका उपज मान्न सकिन्छ। उनीहरूले काम बिग्रिसकेपछि मात्र मैले यसो गर्नुपथ्र्यो, मैले त्यसो गर्नुपथ्र्यो भनेर पछुताउने कुरा मात्र गर्नु तर बानी व्यवहारमा कहिल्यै सुधार ल्याउन नसक्नु यस्तै अव्यवस्थित तथा विशृङ्खलित व्यक्तिका जीवनकथाका केही झलक वा तस्बिरहरू हुन्।

वास्तवमा अव्यवस्थित हुने कुराले व्यक्तिगत र व्यावसायिक जीवनलाई मात्र असर पु¥याइरहेको हुँदैन, यसले सम्बन्धमा पनि नकारात्मक असर पार्न सक्छ। यस्तो कुराले प्रायःजसो व्यक्तिमा निराशा र चरम द्वन्द्व निम्त्याउँछ। यस्ता व्यक्तिहरू अनावश्यक रूपमा झगडा र गलफती गर्न पनि पछि पर्दैनन्।

उदाहरणका लागि कुनै एक जोडीले आफ्ना साझा रूपमा गर्नुपर्ने काम र व्यवहारहरू देखाएका छैनन् भने उनीहरू दुवैको जीवन नै अव्यवस्थित रहन्छ। उनीहरूले गर्ने कामहरू पनि अधुरै रहन्छन्। उनीहरूले एक आपसमा व्यक्त गरेका साझा प्रतिबद्धताहरू पनि बिर्सन पुग्छन् र आफ्ना महŒवपूर्ण कागजपत्र पनि बिर्सेर एक अर्कामाथि अविश्वास र शङ्का व्यक्त गर्न थाल्छन्।

कल्पना गर्नुहोस् त, यस्तो व्यवहारले सम्बन्धमा रहेको अर्को व्यक्तिलाई पनि नराम्रो असर पुर्‍याइरहेको हुन्छ। यसले उनीहरूलाई आफूहरूले बहन गर्नुपर्ने अतिरिक्त जिम्मेवारीबाट पनि विमुख गराइरहेको हुन्छ। यस्ता व्यवहार र गतिविधिका कारण उनीहरूका बिचमा पनि आपसी मनमुटाव, असन्तुष्टि र सम्बन्धलाई पनि असन्तुलित बनाइदिन्छ। यसबाहेक यस किसिमको अव्यवस्थित साझेदारीको सम्बन्धले उनीहरूको साझा जिम्मेवारीको मार्ग भत्कन पुग्छ।

यो एक किसिमको व्यवहारको असक्षमता हो। यस्ता असक्षम व्यक्तिका कामहरू पनि अस्तव्यस्त हुने गर्छन्। महत्त्वपूर्ण भेटघाटहरू छोड्नु, ढिलो भुक्तानी दिनु, समयको ख्याल नगर्नु, आत्मकेन्द्रित हुँदै गएर उनीहरू समाज र सम्बन्धहरूबाट एक्लिँदै गइरहेका हुन्छन्। यसैका कारण उनीहरूको जीवन, पारिवारिक र सामाजिक सम्बन्धहरू कमजोर हुँदै जान्छन्।

साथै यस्ता गतिविधि र व्यवहारका कारण सिंगो परिवार तनावमा पुग्छ र परिवारमा थप अराजकता निम्तन्छ। यस्ता गडबडी जोसुकैका लागि हानिकारक हुन्छन्। यसबाट कतैतिरबाट पनि सुखद परिणाम निस्कँदैन, बरु एक अर्काप्रतिको विश्वास, एकअर्काबिच हुने सञ्चार र एकअर्कामा हुनुपर्ने घनिष्ट सम्बन्धमा दरार सिर्जना हुन पुग्छ।

अव्यवस्थित जीवनका तीन प्रमुख आयामहरू रहेका हुन्छन्, जसले व्यक्तिका दैनिक जीवन र उसका सफलताका आधारशिलालाई क्षतविक्षत बनाएका हुन्छन्। यी तीनवटा आयामहरूमा पहिलो व्यक्तिको काम गराइमा देखिने ढिलासुस्ती, दोस्रो निर्णय पक्षघात अथवा सही समयमा सही निर्णय लिने क्षमताको अभाव पर्छ भने तेस्रोमा शारीरिक र मानसिक रूपमा रहने अव्यवस्थितता तथा एक किसिमको अस्वस्थता पर्छ।

कामप्रतिको ढिलासुस्ती

ढिलाइ अव्यवस्थित व्यक्तिमा निहित एक साझा मनोवैज्ञानिक चुनौती हो। यसले सबै किसिमका सङ्गठनात्मक प्रयासहरूमा बाधा पुर्‍याउने गर्छ। साथै प्रायः मानिसहरूलाई कार्यसम्पादनमा अनावश्यक ढिलाइ गरिदिन्छ, परिणामस्वरूप कामप्रतिको जिम्मेवारीको चाप थपिँदै जान्छ र तनाव सिर्जना हुन्छ।

ढिलाइलाई मानव समाजमा सामान्य घटनाका रूपमा लिने गरेको पाइन्छ तर यो सामान्य घटना वा कमजोरी मात्र होइन। यो त मानव व्यवहार र मनोवैज्ञानिक कारकहरूको एक जटिल अन्तरक्रिया र समस्या हो। यसले कुनै पनि कार्य प्रारम्भ गर्न र प्रारम्भ गरेको कामलाई समयमै पूरा गर्ने कुरामा अवरोध उत्पन्न गराउँछ।

समयसँग मात्र जोडिएको कुरा होइन, व्यक्तिको सोच र नियतसँग जोडिएको कुरा पनि हो। यो व्यक्तिका आवेग र आत्मनियमन गर्न नसक्ने कुरासँग पनि जोडिएको हुन्छ। यस्ता व्यक्तिहरूले जहिले पनि तत्काल प्राप्त गर्न सकिने सन्तुष्टिलाई प्राथमिकतामा राख्ने गर्छन्। उनीहरूले दीर्घकालीन लक्ष्य र त्यसबाट प्राप्त गरिने सन्तुष्टिप्रति दूरदृष्टि राख्न सकेका हुँदैनन्। यस्ता कुरामा उनीहरूमा संज्ञानात्मक कमजोरी लुकेको हुन्छ।

मानौं कि कुनै असाइनमेन्टहरू पूरा गर्न कठिनायी भएमा उनीहरू सामाजिक सञ्जाल खोतल्न थाल्छन्, यसले उनीहरूलाई तत्कालको आनन्द पनि दिने गर्छ। भविष्यमा प्राप्त गर्न सक्ने फाइदा र सन्तुष्टिभन्दा उनीहरू तत्कालको पुरस्कारमा विश्वास गर्छन्।

यस्तो कुराले व्यक्तिलाई झनै कमजोर बनाएको हुन्छ र यसले व्यक्तिमा ढिलाइको क्रम र प्रवृत्तिलाई झनै बढाएको हुन्छ। त्यसकारण यस्ता ढिलाइका नकारात्मक पक्षहरूबाट मुक्त हुन ढिलाइको मनोविज्ञान बुझ्न आवश्यक हुन्छ। व्यवस्थित जीवनका लागि व्यक्तिका भावना, अनुभूति र व्यवहारका जटिलताहरू पन्छाउन सक्यौं, जीवनलाई उत्पादनमूलक कार्यमा र समग्र कल्याणमा लगाउन सक्यौं भने मात्र ढिलाइको हानिकारक पक्षबाट टाढै रहन सकिन्छ।

अव्यवस्थितपनले पक्षघातलाई मलजल

सही समयमा सही निर्णय गर्न नसक्ने अवस्था नै निर्णय पक्षघात हो। निर्णय पक्षघात एक मनोवैज्ञानिक घटना वा समस्या पनि हो। जब व्यक्तिहरू यसको सिकार बन्छन्, उनीहरूले आफ्ना अगाडि देखिएका विकल्पहरूको सही छनोट गर्न सक्दैनन्। मैले छनोट गरेको निर्णय गलत पो हुन्छ कि? मैले निर्णय गरेको कुराले कस्तो परिणाम दिने हो? भन्ने अनिश्चितता र सम्भावित डरले उनीहरूलाई सताएको हुन्छ।

आज हाम्रो समाजमा हरेक क्षेत्रमा विकल्पहरू धेरै रहेका हुन्छन्। सामान्यभन्दा सामान्य किसिमका विषयहरूदेखि लिएर जीवनका महत्त्वपूर्ण क्षेत्र र विषयहरूमा यस्ता विकल्पहरू प्रचुर रहेका छन्। तिनै विकल्पहरूमध्ये सही समयमा सही विकल्पको छनोट गरी निर्णय गर्न नसकेमा यसले निर्णय पक्षघातलाई बढावा दिन्छ र यसले व्यक्तिलाई अनावश्यक चिन्ता र तनावग्रस्त बनाइदिन्छ। यस्तो भएमा व्यक्तिका प्रगतिका बाटाहरू रोकिन्छन्।

व्यक्तिको उत्पादकता र व्यक्तिगत जीवनका सुखद आयामहरू धरायसी बन्छन्। साँच्चै नै यस किसिमको निर्णय पक्षघातको नतिजा दूरगामी प्रकृतिको हुने गर्छ। यस्तो बाधा हटाउने रणनीतिमा व्यक्तिले अनावश्यक छनोटहरूको विकल्पलाई कम गर्दै लैजानुपर्छ। प्राथमिकताको स्पष्ट क्षेत्र पहिचान गर्न सक्नुपर्छ। निर्णय क्षेत्रमा आत्मविश्वासको उच्च भावना राख्नुपर्छ र व्यवस्थित कदम चालेर चुस्त र मिठो परिकल्पना गर्न सक्नुपर्छ।

शारीरिक अव्यवस्थितपनले मानसिक अव्यवस्था

शारीरिक अव्यवस्थितपनले मानसिक वा दिमागी अराजकतालाई पनि प्रतिबिम्बित गरिरहेको हुन्छ। यसले गर्दा कुनै काम वा विषयवस्तुमा व्यक्तिको ध्यान केन्द्रित गर्न र कुन काम प्राथमिकताका आधारमा सम्पन्न गर्नुपर्ने हो भनी छुट्याउन चुनौती सिर्जना गर्छ। यसले गर्दा अनावश्यक वस्तुहरूको खोजीमा मन डुल्ने गर्छ र समयको बर्बादी मात्र हुन जान्छ। यसैका कारण तनाव बढ्ने र बिस्तारै आत्मसम्मानको भावना कमजोर बन्दै जान्छ। आज हामीले यस्ता व्यक्तिहरूका कार्यसम्पादनमा देखिने जटिलता र यस विषयमा उनीहरूले गर्ने अनेक बहानाका कुराहरू देख्दै र सुन्दै आइरहेका छौं।

शारीरिक र मानसिक किसिमको अव्यवस्थितपनले व्यक्तिको उत्पादक सामर्थ्यमा, कल्याणको भावना र निर्णय क्षमतामा आघात पुर्‍याउँछ। उनीहरूमा निहित अनिर्णय, ढिलाइ एवम् आफ्ना सामान र सम्पत्तिको व्यवस्थापन गर्न नसक्नुका कारण अनेक किसिमका जटिलता र अव्यवस्था जम्मा हुन पुग्छन्।

 मानौं, कसैलाई ‘के तपाईंले आफ्नो कार्यालयलाई कसरी पुनव्र्यवस्थित गर्ने भनेर सोच्दै हुनुहुन्छ ? भनेर सोधियो भने यही प्रश्नले तपाईंको दिमाग भारी हुन जान्छ। यसपछि तपाईंको मनमा विभिन्न विकल्प आउन सक्छन्। तपाईं आफ्ना व्यक्तिगत कामहरू छोडेर अफिस व्यवस्थित गर्न सक्नुहुन्छ त? यस्ता प्रश्नले तपाईंलाई घेर्न थाले भने पक्कै तपाईंमा अलमलको अवस्था आउनेछ र तपाईं आफ्ना प्रयासहरूलाई आधाआधीमै छोड्न थाल्नुहुनेछ। यस किसिमको अव्यवस्थाले दृष्टिदोष गराउन सक्छ र अवरोधहरू सिर्जना गर्न सक्छ। यसले गर्दा तपाईंको दक्षतामा ह्रास ल्याउने र तनाव मात्र बढाउँछ। अव्यवस्थित कोठा अव्यवस्थित दराज र अव्यवस्थित कार्यस्थलको कुरूप दृश्यले व्यक्तिको ऊर्जा र एकाग्रतालाई कमजोर बनाउने गर्छ।

त्यसैगरी मानसिक अव्यवस्थता, अव्यवस्थित विचार र विकेन्द्रित भइरहेको ध्यानले व्यक्तिलाई समग्रतामा अव्यवस्थित बनाइरहेको हुन्छ। कहिलेकाहीं थेग्नै नसक्ने गरी बोकिएको ज्ञान र सूचनाको भारी र असुहाउँदा कार्यहरूले व्यक्तिलाई भावनात्मक रूपमा उथलपुथल मच्चाउने गर्छन्।

व्यक्तिको वैचारिक धरातलमा देखिएको यो अव्यवस्थाले निर्णय गर्ने क्षमतालाई पनि कमजोर बनाउँछ। स्पष्ट रूपमा निर्णयमा पुग्न बाधा सिर्जना गरिदिन्छ। उनीहरू अरू कसैले दिएका रायसुझावबाट पनि अन्तिम निर्णयमा पुग्न सकेका हुँदैनन्। उनीहरू एक किसिमले आफ्नै पागलपनमा हराइरहेका हुन्छन्, आफ्ना विगतका अनुभवहरूबाट पनि विश्लेषण गर्न असमर्थ हुन्छन्।

वास्तवमा शारीरिक र मानसिक अव्यवस्थाबिच यस्तो गहिरो सम्बन्ध हुने गर्छ, जसले हरसमय एकअर्कालाई मलजल गरिरहेका हुन्छन् र व्यक्तिलाई अराजकताको जङ्गलमा पुर्‍याएर छोडिदिएका हुन्छन्। त्यसैले व्यक्तिले यस्तो शारीरिक र मानसिक अराजकतालाई हटाउन विशुद्ध मनले ध्यान केन्द्रित गर्नुपर्छ।

सफलताको पुनस्र्थापना

अव्यवस्थित र अराजकताबाट मुक्त नभएसम्म जीवन सुन्दर बन्न सक्दैन, सुमधुर सम्बन्धको विकास हुन सक्दैन। यस्ता मनोवैज्ञानिक अवरोध हटाउन आफैंलाई आत्माबाटै जागरुक बनाउनैपर्छ। व्यावहारिक र व्यावसायिक रणनीतिहरूका माध्यमबाट नै यी जटिलताहरूलाई जित्न सकिन्छ। आफैंमा पूर्ण क्षमताको विकास गर्दै नम्रता र इमानदारीका साथ आफ्ना कमजोरीलाई हेर्नुपर्छ। आफुलाई स्पष्ट मार्गनिर्देश गर्ने व्यक्तिहरूबाट सहयोग पनि लिनुपर्छ।

आफ्ना कामहरूलाई ससाना व्यवस्थित चरणहरूमा सुव्यवस्थित गर्दै लैजानुपर्छ। काल्पनिकता र तात्कालिकभन्दा जीवनलाई गहिरो लाभ हुने दीर्घकालीन र यथार्थपरक लक्ष्यहरू आत्मसाथ गर्नुपर्छ। आफूलाई चुस्त र सङ्गठित बनाउन, दैनिक जीवनलाई योेजनाबद्ध र सुसङ्गत बनाउन आधारभूत तहबाटै प्रयासको थालनी गर्नुपर्छ। यसो गर्नाले जीवन सङ्गठित मात्र होइन, समग्रतामा सशक्त बन्दै जान्छ र यही आत्मविश्वासको भावनाले हामीले जीवनमा अझै ठुलो सफलता आर्जन गर्न सक्छौं।

अव्यवस्थित जीवनलाई व्यवस्थित बनाउन भौतिक स्थानहरू घटाउने मात्र नगरी विचार, कार्य र प्राथमिकतालाई पनि कम गर्ने रणनीति अख्तियार गर्नुपर्छ। सजगता, अभ्यास, प्रभावकारी सङ्गठनात्मक प्रणालीको कार्यान्वयन, शारीरिक एवं मानसिक स्वस्थ र शान्तिका लागि अनुकूल वातावरण सिर्जना गरेर आफूमा निर्णयात्मक क्षमताको विकास गर्नुपर्छ। त्यसैले हामी सबैले आजैबाट प्रयास गरौं । कुनै पनि यात्राको थालनी पहिलो कदमबाटै सुरु हुने गर्छ।

प्रकाशित: २४ जेष्ठ २०८१ ०६:०८ बिहीबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School