वैज्ञानिक तथ्य अनुसार सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्षको रूपमा रह्यो र केही वर्षयता विश्वभर नै अत्यधिक गर्मीले जनजीवन कष्टकर बनाइराखेको छ। बढ्दो शहरीकरण, ग्रीनहाउस ग्याँस र इन्धनको अत्यधिक उत्सर्जन, वन विनाश र औद्योगिकीकरणले गर्दा द्रुत गतिमा भइराखेको जलवायु परिवर्तनले पृथ्वीको तापक्रम अस्वाभाविक रूपमा बढिराखेको छ।
बढ्दो तापक्रम तथा गर्मीको प्रभाव नेपालमा पनि स्पष्ट रूपमा देखिन थालेको छ। आजभोलि केही वर्षअघिको जस्तो मीन-पचासको जाडोवाला हिउँद रहेन, हिउँदयाममै गर्मी हुन थालेपछि गर्मीयामले त भतभती पोल्ने भइहाल्यो! यी र यस्तै परिवर्तनले मौसमी प्रणालीमा नै फेरबदल भइराखेको स्पष्ट रूपमा महसुस गरिराखेका छौं।
नेपालका अधिकांश क्षेत्रहरू तराईदेखि पहाड र हिमालसम्म गर्मीको बढ्दो प्रभाव परेको छ। गत वर्ष जेठको अन्तिम सातातिर प्रायः चिसो भइरहने सगरमाथाको प्रवेशद्वार नाम्चेबजारमा गर्मीले जनजीवन कष्टकर भयो भन्ने समाचारले धेरैलाई अचम्मित पारेको थियो। त्यसैगरी गत वर्ष नै जेठको दोस्रो सातादेखि नै मधेश प्रदेशका जिल्लामा दिनको तापक्रम ४० देखि ४४ डिग्री सेल्सियससम्म पुगेकोले जनजीवन नै ठप्प भएको थियो।
पछिल्लो समय धनगढी, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, दिपायल, सुर्खेत र काठमाडौं लगायत ठाउँहरूमा चैत महिनामै चर्को गर्मी महसुस गर्नुपर्यो। हालका दिनहरूमा तराईका ठाउँहरूको तापक्रम दिनमा ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। बढ्दो तापक्रम वृद्धि र गर्मीको असरले जनजीवनका विभिन्न क्षेत्रहरू लगायत बालबालिका, सुत्केरी महिला, वृद्धा तथा दीर्घ रोगीहरूमा जोखिम निम्त्याएको छ।
गर्मीले गर्दा झाडापखाला, निमोनिया, भाइरल ज्वरो, पेट दुख्ने, टाउको दुख्ने लगायत बिरामीको सङ्ख्या बढिराखेका छन्। साथै, तराईका अधिकांश ठाउँमा विद्यालयको पठनपाठन प्रभावित भएको छ। बढ्दो तापक्रमसँगै डेंगुको प्रकोप पहाड तथा उच्च पहाडमा उक्लिसकेको छ, र लामखुट्टेबाट सर्ने भाइरसको प्रकोप अझ बढ्ने भविष्यवाणी छ।
त्यसैगरी गर्मीको बढ्दो प्रभाव तथा चरम मौसमका घटनाहरूले कृषि उत्पादनमा नकारात्मक असर क्रमिक रूपमा पर्दै गइराखेको छ। खडेरी, सुख्खा, कम वर्षा र अति वर्षाले बालीनालीमा क्षति र उत्पादनमा कमी भइराखेको छ।
गर्मीले मजदुर वर्ग जो घर बाहिर निर्माण र कृषि लगायत काममा संलग्नहरू बढी प्रभावित भएका छन्। आर्थिक रूपले सम्पन्नले त घर तथा काम गर्ने ठाउँमा वातानुकूलित वातावरण बनाउन सक्छन्, तर विपन्नहरूले त जस्तोसुकै मौसममा पनि काम गर्नुपर्छ। काम नगरी साँझ–बिहानको चुलो बल्न मुस्किल हुन्छ। यही दरमा प्रभाव रहे गरिबीको रेखामुनि रहेका जनसङ्ख्यालाई अत्यधिक गर्मीको चपेटाले गरिबीको दुष्चक्रबाट उम्कनै नसकिने बनाउनेछ।
गर्मीको समय नेपालमा सामान्यतया जेठदेखि भदौसम्म हुने भए पनि यस वर्ष वैशाखमै केही ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेको थियो। काठमाडौं गर्मी हुने ठाउँ होइन, तर आजकल एक हप्तासम्म पानी नपर्दा गर्मीले आम समुदायलाई अत्यन्तै कठिनाइ थपिरहेको छ। यही रफ्तारमा गर्मी बढ्ने क्रम जारी रहिरहेमा चाँडै नै हामीले ठूलो सङ्कट सामना गर्नुपर्ने हुन्छ। अब प्रश्न उठ्छ: सङ्कट आएपछि मात्र कदम चाल्ने कि बढ्दो गर्मीसँग जुध्न अहिलेबाटै पूर्व-तयारीमा जुट्ने?
गर्मीको चुनौतीको सामना गर्न केही अल्पकालीन योजना त छन् तर ती पर्याप्त छैनन्। गर्मीले कहाँ र कसलाई सबैभन्दा बढी प्रभाव पारिरहेको छ भन्ने विषयमा पर्याप्त रिपोर्टिङ भइरहेको छैन। यस्ता चुनौतीको सामना गर्न नेपाली राज्य र समाज कत्तिको तयार छ भन्ने विषयमा विस्तृत रूपमा छलफल गर्नु आवश्यक छ।
नेपालमा बढ्दो गर्मीको सामनाको लागि दीर्घकालीन सोचको कमी छ। जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय कार्ययोजना भए पनि गर्मीको चुनौतीको लागि यथेष्ट पहल भएको देखिंदैन। यस्तो सङ्कटपूर्ण अवस्थाको सम्बोधन गर्न अब ढिला गर्नुहुँदैन।
अब, राज्यको मात्र मुख नताकी नागरिक स्तरबाट पनि तत्परता लिनुपर्दछ। हरेक व्यक्ति, परिवार, समाज, टोलहुँदै वडा, पालिका, प्रदेश र समग्र देश नै गर्मीको विनाशकारी प्रभावलाई सामना गर्न न्यूनीकरण तथा अनुकूलन कार्यहरूमा लाग्नुपर्दछ। जुन रफ्तारमा सङ्कट निम्तिइराखेको छ, अब त्यही रफ्तारमा कार्य गर्नुपर्छ। पर्चा, पम्प्लेट, गोष्ठी आदिमा मात्र समय खर्चिने र अल्झिने भन्दा समाजका सबै वर्ग, तह, तप्का वृक्षरोपण तथा शहर, गाउँबस्तीलाई हरियाली तथा स्वच्छ बनाउनतिर लाग्नुपर्छ।
तत्कालीन रूपमा, सरकारी तथा गैर-सरकारी संस्थाहरूले गर्मीसँग जुध्न विभिन्न उपायको जस्तै सर्वसाधारणलाई सावधानीका उपायहरूबारे सचेतना फैलाउनेदेखि गर्मीको दीर्घकालीन समाधानका लागि वृक्षरोपण, जलस्रोतहरूको संरक्षण र वातावरणीय स्थायित्वलाई प्रवर्धन गर्ने दीर्घकालीन योजना तयार गर्नु आवश्यक छ। साथसाथै भविष्यमा यस्ता सङ्कटहरूको सामना गर्न सक्ने क्षमता विकास गर्न वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्दछ।
ठूला–ठूला कार्यान्वयन नहुने कुराभन्दा स–साना कार्य तथा व्यवहारमा परिवर्तन ल्याउन सकिने, तत्कालै गर्न सकिने– जस्तो पैदल हिंड्ने बानीको प्रवर्धन, साइकल चलाउने संस्कृतिको विकास आदिमा जोड दिंदा यातायातबाट हुने प्रदूषण नियन्त्रण गर्न सकिन्छ। नागरिकहरूलाई साइकल चलाउन उत्प्रेरित गर्नाले कार्बन उत्सर्जन घटाउने मात्र होइन शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्यलाई पनि बढावा दिन्छ।
धनगढी, नेपालगन्ज, भैरहवा र जनकपुर जस्ता पहिलेदेखि नै स्थानीय संस्कृतिमा साइकल संस्कृति रहेका शहरहरूमा साइकल पूर्वाधार विस्तार गर्नुपर्छ। समर्पित बाइक लेनहरू, साइकल चलाउने तालिम तथा साइकलको सुलभतालाई प्रवर्धन गर्नुपर्दछ।
गाउँ तथा शहरमा वृक्षरोपण र पर्यावरणको पुनर्स्थापना पहलहरू गर्नुपर्छ। अहिले बिरुवा रोप्यौं भने आउने तीन वर्षभित्र बढ्दो तापक्रम विरुद्धको लडाइँमा रोपेका रूख बिरुवाहरू बलियो स्तम्भको रूपमा खडा हुनेछन्। रूखहरूले छायाँ मात्र प्रदान गर्ने हैन, प्राकृतिक रूपमा वायु शुद्धीकरणको काम पनि गर्नेछ।
वृक्षरोपणले कङ्क्रिट शहरहरूलाई चिसो पार्न, धूलो कम गर्न र हावाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। रूख र हरियो खुल्ला ठाउँहरूले प्राकृतिक वातानुकूलनको रूपमा काम गर्नेछ। विशेषगरी चर्को गर्मीको प्रभावलाई कम गर्नेछ, गर्मीले थलिएकालाई छहारी प्रदान गर्नेछ।
यसबाहेक, रूखहरू धुलो र प्रदूषणको प्रभाव कम गर्न प्रभावकारी छन्। रूखहरूको छायाँमा हिंड्दा पैदल यात्रीहरूलाई सहज र रमाइलो अनुभव गर्नेछन्। अब, सडक छेउछाउ, पार्क र सार्वजनिक स्थानहरूमा रूख रोप्नतिर लाग्नुपर्छ। साथै खोलानालाको सरसफाइ गरी पर्यावरण कायम राख्दै र बढ्दो तापक्रमको सामना गर्न शहरहरूलाई तयारी अवस्थामा राख्नुपर्छ।
वृक्षरोपणका साथै दिगो शहरी योजना पूर्वाधारमा स्थानीय तथा मौलिक संस्कृति र परम्परालाई समेट्नुपर्छ। जस्तो तराई क्षेत्रका शहर तथा शहरोन्मुख गाउँहरू थारू वास्तुकला उपयुक्त हुन्छ। थारू समुदाय सदियौंदेखि गर्मी तथा प्रकृतिसँगै सामञ्जस्य गरी जीवन बिताएको हुनाले, प्रचण्ड गर्मीसँगै जुध्ने सजिलो प्रविधि छ।
केही मध्यकालीन र दीर्घकालीन समाधानमा आजैदेखि लाग्नुपर्छ। जस्तो कि, कृषि क्षेत्रमा जलवायु-मैत्री प्रविधिहरूको अवलम्बन गर्ने, सुख्खा प्रतिरोधी बीउबिजन, आधुनिक सिंचाइ प्रणाली तथा जैविक कृषि प्रविधिहरूलाई प्रोत्साहित गर्नुपर्छ।
थारूहरूको परम्परागत वास्तुकलालाई शहरी भवन डिजाइनमा समावेश गर्दा स्वदेशी प्रविधिको प्रयोग पनि हुने र थारू समुदायको आत्मसम्मान पनि बढ्ने हुन्छ। साथै स्थानीय सामग्रीको प्रयोगले व्यापार घाटा कम गर्ने माटो-इँटाको पर्खाल र खरको छाना जस्ता स्थानीय प्रविधिहरूले प्राकृतिक इन्सुलेशन मात्र प्रदान गर्दैन हाम्रो मौलिक प्रविधिको प्रवर्धन पनि गर्नेछ। हाम्रो समुदायमा भएको सामूहिक ज्ञान, सीप र नवीन समाधानका उपायहरू प्रयोग गरेर, चरम मौसम तथा जलवायु परिवर्तनसँगै जुध्न सक्छौं।
बढ्दो गर्मीको जोखिमसँग लड्नको लागि स्थायी, अस्थायी समाधानमा गरिब तथा सीमान्तकृत समुदाय लक्षित हुनुपर्छ। अति विपन्न समूहहरूको पहिचान गरी लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्दछ। जस्तो कि पानी तथा अन्य जीवन जोगाउने सामग्रीहरूको वितरण।
विगतमा भएको प्रकृतिको चरम दोहनका गल्तीहरूबाट पाठ सिकी, हाम्रा परम्परागत ज्ञान र प्रकृतिसँगै सहअस्तित्वमा अगाडि बढ्नु नै अहिलेको आवश्यकता हो। पहिले ‘एक व्यक्ति एक रूख’ भन्ने अवधारणालाई वर्तमान अवस्थाको सङ्कट समाधानको लागि अब ‘एक व्यक्ति दुई रूख’ रोप्ने अभियानको आवश्यकता देखिन्छ।
यसका लागि कस्तो कानुनी व्यवस्था गर्नुपर्ने हो ? वित्तीय प्रबन्ध कति गर्नुपर्ने हो ? र सबैको जवाफदेही कसरी सुनिश्चित गर्ने लगायत विषयहरूमा व्यापक छलफल गरी निर्णय गर्नुपर्छ।
बढ्दो गर्मीको सामना गर्न केही तत्कालीन उपायहरू विभिन्न सञ्चारमाध्यम, विद्यालय तथा समुदाय मार्फत जनचेतना फैलाउनुपर्छ। गर्मीजन्य रोगहरूको उपचार र रोकथामका लागि स्वास्थ्य सेवालाई तयारी अवस्थामा राख्नुपर्छ। तर अल्पकालीन उपायमा मात्र लागे अझ ठूलो संकट आउने पक्का छ।
त्यसैले केही मध्यकालीन र दीर्घकालीन समाधानमा आजैदेखि लाग्नुपर्छ। जस्तो कि, कृषि क्षेत्रमा जलवायु-मैत्री प्रविधिहरूको अवलम्बन गर्ने, सुख्खा प्रतिरोधी बीउबिजन, आधुनिक सिंचाइ प्रणाली तथा जैविक कृषि प्रविधिहरूलाई प्रोत्साहित गर्नुपर्छ।
वन विनाश तथा डढेलो रोक्न कडा कानुनी व्यवस्था र वृक्षरोपण कार्यक्रमलाई प्रोत्साहित गर्नुपर्छ। जलस्रोतहरूको संरक्षण र पुनः उपयोगका लागि स्थानीय तहमा ताल, पोखरी तथा नदीहरूको सफाइ अभियान र वर्षाको पानी सङ्कलन प्रणालीलाई प्रवर्धन गर्नुपर्छ।
नेपालले दिगो विकास र जलवायु-मैत्री नीतिलाई यथाशीघ्र कार्यान्वयनमा लैजानुपर्छ। यसका लागि सरकार, गैरसरकारी संस्था र सर्वसाधारण सबैले योगदान दिनुपर्छ।
वातावरण संरक्षणमा हाम्रो आजको कदमले हामी प्राकृतिक सम्पदा भावी पुस्तालाई सुरक्षित गर्न सक्छौं। यदि हामीले समयमै कदम चाल्ने हो भने बढ्दो गर्मी र जलवायु परिवर्तनको सामना गर्न सक्छौं, नत्र भने हाम्रो जनजीवन झन् कष्टकर हुने निश्चित छ।
(संयुक्त राष्ट्रसंघमा कार्यरत लेखकका निजी विचार हुन्।)