बार्सिलोना । गायक सविन राईसहितको टोली सांगीतिक प्रस्तुतिका क्रममा यतिबेला स्पेनको बार्सिलोनामा रहेको छ । अप्रिल १९ देखि डेनमार्कबाट सुरु भएको लाइभ कन्सर्ट युरोपका ९ वटा देशहरुमा सम्पन्न भइसकेको छ । फराहो ब्यान्ड सहित सविनको लाइभ म्युजिक कन्सर्टले सोमबार बार्सिलोनामा पनि संगीत प्रेमी दर्शकको मन जितेको छ ।
स्पेनअघि फिनल्याण्ड, स्वीडेन, पोल्याण्ड, पोर्चुगल, क्रोएशिया, बेल्जियम, माल्टामा गायक सविनसहितको टोलीले जोडदार प्रस्तुति दिइसकेको छ ।
युरोपको पहिलो सांगीतिक यात्रा गरेका गायक राईले अब फ्रान्स र जर्मनीमा आफ्नो प्रस्तुति दिनेछन् । मे २५ मा जर्मनीमा हुने प्रस्तुतिसगै उनको युरोपको पहिलो सांगीतिक यात्रा टुंगिनेछ
‘कोमल त्यो तिम्रो वदन’ ‘गुराँसको फेदमुनि’ ‘म संसार जित्ने आश गर्दैछु,’ लगायतका आफ्ना चर्चित गीतहरु सुनाएर उनले युरोपमा पनि दर्शक स्रोताको मन जितेका छन्।
युरोप टुरमा क्रममा उनले माल्टा, पोर्चुगल,क्रोएशिया र डेनमार्कमा भने दर्शकको उल्लेखनीय साथ पाए।
युरोपको पहिलो सांगीतिक यात्राको सेरोफेरोमा रहेर अनलाइनखबरकर्मी वसन्त रानाभाटले गायक सविन राईसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश :
एक महिनाभन्दा लामो समयदेखि युरोपमा हुनुहुन्छ । सांगीतिक टुर कस्तो भइरहेको छ ?
हालसम्म युरोपका नौ वटा देशमा नौ वटै शोहरु सम्पन्न भइसकेका छन् । आयोजक र हामीले सोचेभन्दा बढी दर्शकको उपस्थिति रह्यो । असाध्यै उत्साहित र खुशी छौं ।
तर स्पेन बार्सिलोनाको कार्यक्रम अलि गोलमाल देखियो नि ?
स्पेनमा अग्रनाइजर एक जना भाइ हुनुहुन्थ्यो । उहाँ भाइले झन्डै धोका दिनुभयो ।कार्यक्रम नै होला नहोला जस्तो पनि भयो। तर पोर्चुगलका आई पोपर्सका भाइहरु हामी सँगै माल्टा जानुभएको थियो । स्पेनको यो कुरा थाहा पाइसके पछि उहाँहरु आफैं बार्सिलोना आएर कार्यक्रम टेक ओभर गर्नुभयो । बार्सिलोनाको शो पनि उत्साहपूर्वक नै सम्पन्न भएको छ। हामी धेरै खुशी छौं।
तपाईंसहित फराहो ब्याण्ड र प्राविधिकसहित ६ जनाको टोली हुनुहुन्छ । ब्याण्ड सहित महिनौं लामो टुर गर्न कति जटिल छ ?
तत्काल अहिले ब्यान्डका चारजना र प्राविधक दुई जना गरी ६ जनाको टोली छौं । स्टेज र साउण्ड सहयोगका लागि प्राविधिक पनि संगै हुनुहुन्छ । तर नेपालमा कार्यक्रम हुँदा हाम्रो टिम ८ जनासम्मको हुन्छ । तर विदेशमा अप्ठयारो हुन्छ भनेर नै अलि सानो टिम बनाएका आएका हौं । संख्या धेरै भएपछि आयोजकलाई जटिल त जटिल नै हुन्छ।प्राविधिक रुपमा हाम्रा आफ्ना सामानहरु पनि हुन्छन् । यो सबै म्यानेज गर्न पनि आयोजकलाई अलि ग्राहो नै हुन्छ ।
तर लाइभ ब्याण्ड प्रस्तुतिको ब्युटी नै छुट्टै हुन्छ नि हैन ?
हो । लाइभ ब्याण्डको ब्युटी नै अर्कै हुन्छ । एक्लो कलाकार आएर ट्र्याकमा गीत गाउँदा आयोजकलाई म्यानेजमेन्ट गर्न सजिलो होला । पैसा कमाउनको लागि पनि राम्रै होला । तर, संगीतकर्मीको खास मिहिनेत चाहिँ लाइभ ब्यान्डमा नै देखिन्छ । उनीहरुको दु:ख ।उनीहरुको सुन्दरता । ट्र्याकमा भन्दा ब्यान्डमा नै झल्कन्छ । दर्शक स्रोताले पनि ब्याण्डबाट संगीतको छुट्टै मज्जा लिदै आएका छन् ।
तपाईंको यो युरोप टुर पहिलो पटक होइन ?
यो मेरो पहिलो युरोप टुर हो।एक महिनाभन्दा बढी लामो समयदेखि हामी युरोपमा नै छौं।आयोजकहरूसँग परिचित हुने मौका मिल्यो । ठाउँहरु चिन्न, माहोल बुझ्न सजिलो पनि भयो । कतिपय देशहरुमा यसअघि ब्याण्डको प्रस्तुति भएकै रहेनछ । खुशीको कुरा पहिलो लाइभ ब्याण्डको रुपमा प्रस्तुति राख्ने अवसर हामीले पायौं ।
यसअघि अष्ट्रेलिया, अमेरिका पुगेर पनि प्रस्तुति दिइसक्नुभएको छ । युरोपमा के भिन्नता पाउनु भयो ?
दर्शक, स्रोता, फ्यान हरु त उस्तै हुन् । यहाँको भिन्नै । अमेरिका, अष्ट्रेलियाको भिन्नै भन्ने हुँदैन । भौगोलिक रुपमा केही भिन्नताहरु छन् । युरोपमा ऐतिहासिक भवनहरु संरक्षण गरेर राखेको देखें । पुराना घरहरु, भवनहरु निकै सम्हालेर राखेको देखें । र अर्को कुरा संख्यात्मक रुपमा भने अष्ट्रेलियामा दर्शकहरु अलि बढी पाएँ । ठुलो देश र नेपालीको बसाइ बाक्लो भएर पनि होला । युरोपका स-साना देशहरुमा नेपालीको बसाइ त्यति बाक्लो छैन । तर पोर्चुगल र माल्टा जस्ता देशमा भने दर्शकको ठुलो उपस्थिति रह्यो । र डेनमार्क, क्रोएशियामा पनि उस्तै ।
२०–२५ वर्ष पहिले त्यतिबेला तपाईंलाई सुन्ने स्रोता दर्शक अहिले थुप्रै विदेशमा नै छन् होला । उनीहरु त तपाईंलाई सुन्न आउने नै भए । त्यो अलवा तपाईंको कन्सर्टमा नयाँ पुस्ताको सहभागिता देख्नु भयो ?
‘गुराँसको फेदमुनि’ सुन्नेहरूको अहिले उमेर अलि माथि गइसक्यो । उनीहरु त आउँछन् नै । ‘तिमी नै हौ’, ‘जाउ कि बसु’, ‘समर्पण’ जस्ता गीतहरु अहिलेको युवा पुस्ताले मन पराइरहेका छन् । यी दुवै उमेर समूहको उपस्थिति रहँदै आएको महसुस मैले गरेको छु।यही कारणले आयोजकको लगानी पनि सुरक्षित हुने उहाँहरुले बताउदै आउनुभएको छ। हामीले देख्दै आएको पनि त्यही नै हो। नयाँ गीतले युवाहरु तान्छ । पुरानो गीतहरू सुन्ने दर्शक स्रोता पनि हुनुहुन्छ ।
तपाईंको आवाज जस्तै फ्यान हरु पनि अलि पृथक छन् भनिन्छ नि ! प्राय: कन्सर्टमा हिंड्ने बानि नभएकाहरुलाई पनि निस्कन बाध्य बनाइदिनु हुन्छ रे ?
हा हा ब। खै गएर त सोधिदैन । तर आउँछन् होला जस्तो लाग्छ । जसलाई सानै देखि सुनेर हुर्किएको छ । सायद त्यही पुरानो यादले पनि कार्यक्रममा जाउ जाउ जस्तो हुन्छ होला । सबै कलाकारहरुको जस्तै साहेद मेरो केसमा पनि त्यही नै होला ।
अनि, अर्को कुरा देशभित्र र विदेशमा स्टेजमा प्रस्तुति दिंदा के फरक महसुस गर्नुहुन्छ ?
सबैभन्दा पहिले त दर्शकको संख्यामा नै भिन्नता हुन्छ । विदेशमा संख्या कम हुन्छ । तर स्वदेशमा बढी । अर्को कुरा, अहिले नेपालको म्युजिक सिनारियो धेरै राम्रो हुँदै गएको छ।स्टेज, साउण्ड, लाइटमा परिवर्तन भएको छ । मलाई त धेरै उन्नति भएको जस्तो लाग्छ।तर हामीले दिने प्रस्तुतिमा त खासै फरक लाग्दैन ।
विदेशमा हजारौंको संख्यामा कलिला युवाहरुलाई आफूअघि देख्दा कस्तो लाग्छ ?
नेपालमा अवसरको कमी छ । गर्यो भने त नेपालमा पनि छ । तर देशमै केही गर्छु भन्नेलाई सरकारबाट खासै सहयोग मिल्दैन । हामीले पनि धेरै पैसा कमाउने सोचेका हुन्छौं । छिटो पैसा कमाउने पनि सोचेका हुन्छौं । नेपालमा वातावरण पनि छैन । सायद त्यही भएर, मन मरेर आउछ होला । उहाँहरुलाई देख्दा म त्यही सम्झन्छु । सायद म भएको भए पनि त्यस्तै हुन्थ्यो कि ।
स्टेजबाट उनीहरूलाई के सन्देश दिंदै आउनुभएको छ ?
‘जहाँ हुनुहुन्छ राम्रो संग बस्नुहोस् । देशको इज्जत फाल्ने काम नगर्नुहोस् । नेपाली नराम्रो हुन्छ कसैले नभनोस् । आफ्नो कारणले आउने पिँढीलाई अप्ठयारो नहोस् । देशको नाक काट्ने कुनै पनि नराम्रो काम नगर्नुहोस । मैले भन्दै आएको यही नै हो ।’
केही सीप सिकेर नेपाल फर्कनुहोस् भन्नु भएको छैन ?
धेरै मान्छे फर्कन्छन् जस्तो लाग्दैन । आंफूले सिकेको सीप प्रयोग गर्ने वातावरण पनि नहोला । सरकारबाट पनि त्यति साह्रो सहयोग हुँदैन । अनि सबै कुरा पैसामा आएर अड्किन्छ । विदेशमा दु:ख गरेर जति कमाएको हुन्छ । त्यहा नेर त्यो पाउँदैन । अनि फेरि त्यही त हो ।
अर्को कुरा,विदेशमा हप्तै पिच्छे कलाकार आउछन् । आजभोलि कलाकारहरुको चार्म घट्दै गएको हो ?
दर्शक स्रोता माझ अलि बढी परिचित कलाकारलाई ल्याउन अलि बढी खर्च हुन्छ नै । त्यो खर्च जोगाउनका लागि भर्खर एक-दुईवटा गीत गरेको ल्याइदिने । नातेदारको पनि कुरा आउँदो रहेछ । ऊ मैले चिनेको कलाकार हो । उहाँ मेरो भान्जा पर्नुहुन्छ।उ मेरो भतिज पर्छ ।सायद यी विविध कारणले पनि होला ।
त्यसोभए यसलाई सुधार गर्नु पर्छ भन्ने लाग्दैन ?
सुधार गर्न पाए त राम्रो हुन्थ्यो नि ! तर के गर्ने ? सुधार हुँदैन ।
विदेशमा उच्छृंखल व्यवहारहरू देखिँदै आएका छन् नि ! दर्शकले बोतलले हान्नेदेखि कलाकार मदिरामा मातिने सम्मका घटनाहरु छर्लङ्ग छन् …. .
कलाकारको पनि आफ्नो घेरा हुन्छ । त्यहीभित्रै बस्नुपर्छ । कलाकार भन्दैमा जहाँपायो त्यही रक्सी पिउने । जे पायो त्यही गर्ने हो भने सबैले हेप्छन् । त्यसैले आफ्नो घेराभित्र बस्नुपर्छ । तर, एकाध घटनासँग जोडेर तुलना गर्न भने मिल्दैन । त्यस्तो कहिलेकाही हुन्छ । तर, म यही भन्छु। ‘उच्छृंखल नबनौ।’
अन्त्यमा, कलाकारले आफ्नो क्षेत्रमा लामो समयसम्म टिकी राख्न के गर्ने ?
सबैभन्दा पहिले गीत राम्रो हुनु पर्यो । प्रस्तुति पनि राम्रो हुनु पर्यो । राम्रो काम पनि गर्न सक्नु पर्यो । अर्काले बनाइदिएको एउटा गीत त हिट होला । तर, त्यसैको भरमा लामो समयसम्म टिक्न ग्राह्रो होला । जसले आफैं लेख्न सक्तैन । आफैं बनाउन सक्तैन । त्यो कलाकार त्यति लामो समय टिक्दैन । आफैंले बनाउन सक्ने, आफैंले लेख्न सक्ने क्षमतना जसले राख्छ । उसले राम्रो गीत दिइराख्न सक्षम हुन्छ। त्यही कलाकार लामो समयसम्म टिकिराख्न पनि सक्छ।