महामहिम राष्ट्रपतिज्यू,
विषय : धन्यवाद ज्ञापन गरिएको ।
प्रस्तुत विषयमा तहाँ संसदमा तपाईंले निकै ठूलो कष्ट उठाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । एक नागरिक हुनुका नाताले म हर्षित छु । म तपाईंका प्रति कृतज्ञ छु । म कुनै किन्तु, परन्तु, नत्र नजोडी धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
यो धन्यवाद दिनैपर्ने खाँचो मैले किन देखेको छु भने, तपाईंले संसदमा दुई घण्टासम्म एकोहोरो नीति तथा कार्यक्रम पढ्नुभयो । तपाईंले त्यो नपढ्न पनि सक्नुहुन्थ्यो । तर पढ्नुभयो । फेरि पनि धन्यवाद । तपाईंले सादगी जीवनको झल्को दिनुभयो । संसदले धन्यवाद प्रस्ताव पारित नगरेर के भो ! म टक्र्याउँछु तपाईंलाई टनका टन धन्यवाद । ल, हेरौं त, मलाई कसरी रोक्दा रहेछन् सांसदहरुले !
पढ्नु महत्वपूर्ण हो नि राष्ट्रपतिज्यू । त्योभन्दा महत्वपूर्ण कुरा– दोहोर्याउनु । हेर्नोस् न, हिजोआज ‘रिडिङ कल्चर’ नै छैन । अझ पढेको कुरो दोहोर्याउने चलन हराउँदै गएको छ । तपाईंले यसअघिका सरकारले दिँदैआएका आश्वासनलाई दोहोर्याउनुभयो । सम्भवतः यीमध्ये कतिपय कार्यक्रमको हुबहु पठन अर्को वर्ष पनि दोहोरिएला । कम्तीमा त्यही बहानामा भए पनि तपाईंले पढ्नुभयो । यो हो नि, पठनसंस्कृति !
राष्ट्रपतिज्यू, तपाईंले कृषिक्रान्तिका मोटा किताब लेख्नुभएको छ । समाजवादका बारेमा तपाईं लेख्नुहुन्थ्यो, प्रदीप गिरि बोल्नुहुन्थ्यो । तपाईंले कविता पनि लेख्नुभएको छ । (नेपालमा जुनसुकै क्षेत्रमा सफलता पाए पनि अन्तिम खुड्किलो बाँकी हुन्छ राजनीति गर्ने । नेता भइसकेपछि पनि एउटा घिड्घिडो बाँकी हुन्छ, कवि बन्ने) त्यसैले फेरि पनि उही रटान गर्छु– नीति कार्यक्रम नै भए पनि पढ्नु भनेको पठन संस्कृतिको प्रवद्र्धन हो । धन्यवाद राष्ट्रपतिज्यू ।
पठन खासमा एकान्तको कर्म हो, तर तपाईले पढ्न थाल्दा राजधानी नै रोकियो । तपाईंले सरकारको कार्यक्रम पढ्न शीतल निवासबाट बानेश्वर जाँदा दिनभर काठमाडौंका सडकमा चरम अस्तव्यस्तता उत्पन्न भयो । अनि मंगलबार बिहान डमी राष्ट्रपतिको सवारी चलाइयो । दुई वर्षअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी नीति तथा कार्यक्रम पढ्न जाँदा सडकमा निस्किएको भन्दै राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरसमेत कुटिएका थिए । आखिर यो सबै तपाईंले गरेको त होइन । तपाईंले राष्ट्रपति चुनिनुअघि प्रेससँग भन्नुभएको थियो, ‘गणतन्त्रको राष्ट्रपति कस्तो हुन्छ म देखाउँछु ।’ देखियो राष्ट्रपतिज्यू ।
खासमा नीति तथा कार्यक्रम तपाईंले आफैं लेख्न नपाउने भइसकेपछि तपाईंले नपढे पनि हुन्थ्यो राष्ट्रपतिज्यू । त्यत्रो बेर, त्यो पनि अर्कैको पाठ पढ्दा तपाईंलाई सायद दिक्दार पनि लाग्यो होला । तपाईं ठाउँ–ठाउँमा अक्मकिँदा सांसदहरु हाँसेका भए त्यो तिनकै कमजोरी हो, तपाईंको होइन ।
खासमा मंगलबार बिहान सेनाका जवानलाई डमी राष्ट्रपति बनाएर जुन रिसल्ला चलाइयो, घोडसवार बग्गीहरुका बीचमा राष्ट्रपति डमी भएर आउँदा सभामुख, राष्ट्रिय सभा अध्यक्षको उर्जाको जुन अपव्यय भयो, मलाई त लागेको थियो, त्यहाँ पनि डमी सभामुख राखिदिए के बित्थ्यो ? अनि तपाईंलाई डमी नीति तथा कार्यक्रम पहिल्यै पढ्न अभ्यास गराएको भए सायद यत्रो अक्मकिनु पर्ने थिएन ।
तर यो तपाईंको गल्ती होइन राष्ट्रपतिज्यू । अब सेनाले के कस्तो चाँजो मिलायो, तपाईंलाई के थाहा, वा भनुँ के मतलब ! तपाईं त परमाधिपति मात्रै हो नि । तपाईं त्यहाँ फुर्सदमा हुँदाहुँदै कहाँ कसले डमी रिसल्ला चलायो ! यो सरकारले सोधखोज गर्नुपर्छ ।
त्यसैले जो आफ्नो नै होइन, त्यसलाई पढ्ने लेठो किन गरिरहनु महामहिम ? अर्काकै स्क्रिप्ट पढ्ने भए भुषण दाहाल, साइग्रेस, वा सरकारमै रहेका पूर्वप्रस्तोता रवि लामिछानेलाई यो स्क्रिप्ट पढ्न दिए हुँदैन ? मैले यो नमागिएको सल्लाह केवल तपाईंको हितलाई लक्ष्य गरेर दिएको हुँ । अन्यथा नलिनुहोला । हुन त लिए पनि फरक पर्दैन । यो देशमा अचेल जसले जस्तोसुकै उपाय सुझाए पनि कसलाई के फरक परेको छ र ?
त्यही फरक नपर्ने भएरै होला, तनहुँको म्याग्दे गाउँपालिका भवन उद्घाटन गर्न तपाईंजस्तो पाको व्यक्तिलाई दुःख दिए । सेनाकै हेलिकप्टरमा उडे पनि गाथलाई आराम त भएन नि आखिर ! प्रधानमन्त्री प्रचण्ड आफैं पाको हुँदै हुनुुहुन्छ । अस्तिको साता उहाँ सल्यानको दार्मा गाउँपालिका उद्घाटन गर्न जानुभयो । गणतन्त्रको राष्ट्रपति कस्तो हुन्छ म देखाउँछु भनेर तपाईंले घोषणा गरेजस्तै गणतन्त्रको प्रधानमन्त्री कस्तो हुन्छ भनी देखाउने अभूतपूर्व अवसर उहाँलाई पनि प्राप्त थियो । उहाँले पनि पटक–पटक देखाइसक्नुभएको हुनाले म तिनै कुरा सम्झाएर धेरै कचकच गर्न चाहन्नँ । आखिर उद्घाटन, शिलान्यास, बिदा, पोशाकलगायत सजावटी दृश्यहरुमै अल्झेर यो पुस्ताको बाँकी आयु खेर नजाला भन्न सकिँदैन ।
सुरुङभित्र सोफा लगेर दौरासुरुवाल र औपचारिक जुत्तामा बसे पनि, जाडो याममा स्कुले बच्चीहरुलाई पञ्चकन्या बनाएर दिनभर स्वागतमा उभ्याए पनि, वा पञ्च–महाराजाहरुको पालामै जस्तो जहाँ गयो, त्यहीँ बिदा दिने चलनलाई हुबहु निरन्तरता दिए पनि म एक जनता तपाईंहरुलाई उप्रान्त केही भन्दिनँ । किनकि मलाई आफ्नै अज्ञान प्यारो छ, त्यसलाई कसैले सहनशील भनेर फुर्क्याउँछ भने म मख्ख पर्न बाहेक के गर्न सक्छु र महामहिम ? क्रमभंग र उथलपुथल गर्ने क्रान्तिकारी नेताले नै हुबहु भूतपूर्व शासकहरुको भद्दा नक्कल गर्न थालेपछि हाम्रो काम त हेरिदिने त हो । म त हेर्न आको ।
त्यसैले विगतमा बाचा गरिएको नयाँ नेपाल त बनेन राष्ट्रपतिज्यू, हुन त यसमा पनि तपाईं एक्लैको दोष छैन । अझ भनौं, तपाईंको दोष नै छैन । किनकि तपाईंले नयाँ नेपाल बनाउँछु भनेको पनि त होइन । दोष त ती शहीदहरुको हो, जसका अधुरा सपना पूरा गर्छौं भन्दै बाँचेकाहरुको उमेर, उर्जा, समय बर्बाद गराइयो । जो बाँचेका छन्, ती सही छन् । मर्नु त शहीदहरुकै गल्ती थियो । आज हामी एक मिनेट मौनधारण गरिदिएको भरमा यो युगका कर्तव्यहरुबाट च्यूत हुने अवसर पाइरहेका छौं । हुन त यसमा पनि तपाईं एक्लैको के दोष ?
तपाईंको, अर्थात् तपाईंमार्फत् सरकाले वाचेको नीति तथा कार्यक्रममा सबैभन्दा बढ्ता चासो थियो रोजगारीको । कति रोजगारी सिर्जना हुँदैछ यो देशमा, कति हुनेवाला छ, सबैका कानध्यान त्यही घोषणातर्फ आकृष्ट थिए । त्यता तपाईंले प्रवेश गर्नुभएन, यो तपाईंको गल्ती होइन । तपाईं संवैधानिक राष्ट्रपति हो । परिआए तपाईं सेरेमोनियल समेत हुन सक्नुहुन्छ । त्यसैले यी सबै सदाशय, र भावी दिनमा हुन सक्ने सम्भावित सकारात्मक क्रियाकर्मका लागि धन्यवाद । अब अझै कति धन्यवाद भनिरहुँ !
तर राष्ट्रपतिज्यू, ‘तर, किन्तु’ नभनुँभन्दा भन्दै पनि म कांग्रेसप्रति स्तब्ध छु, जसले संसदबाट राष्ट्रपतिलाई धन्यवाद पास गरियोस् भन्ने प्रस्तावसमेत पारित हुन दिएन । के तपाईंले धन्यवाद पाउनुपर्दैन र राष्ट्रपतिज्यू ? तपाईं सर्वथा यसका लायक हुनुहुन्छ । तपाईंले नीति तथा कार्यक्रम पढेकै हो । तपाईंले धन्यवाद पाउनैपर्छ । (सहकारी ठगी, अपराधको कुरा नगरी पनि सुशासनको सुकिलो बहस गर्न सकिन्थ्यो भन्ने कुरा कांग्रेसजस्तो पुरानो पार्टीले किन बुझेन ?) कर्मचारीले १०–५ बजेसम्म काम गरिदिएवापत धन्यवादमात्रै होइन, तक्मा विभुषण नै पाइने देश हो यो । डाक्टरले तोकिएको उपचार गरेवापत, पत्रकारले तथ्य लेखिदिएवापत, शिक्षकले संगठनका चरम व्यस्तताका बीच समेत ‘पढाइदिएवापत’ धन्यवाद पाइने देश हो यो ।
यो बेग्लै कुरा हो महामहिम, यहाँ खेती फलाएवापत किसानले धन्यवाद पाउँदैन । यहाँ सुरुङ खन्ने वा धरहरा बनाउने मजदुरले धन्यवाद पाउँदैन । त्यहाँ जस खोसेरै भए पनि नेताले लिन्छ । बरु आफ्नो नाम लेखियोस् भनेर दोहोर्याएर शिलान्यास, उद्घाटन गर्छ । कुनै भित्तामा आजसम्म मजदुरकोे नाम लेखिएको छैन । धरहरा ओलीको हो, फल्चा बालेनको ।
त्यसैले काठमाडौं १६ को कार्यालय भवनमा नेताको नाम कुँद्न छुटेको भन्दै शिलालेख तोडफोड हुन्छ । राज्यकोषमा जनताले थुपारेको पैसाबाट त्यो भवन बनेको भए पनि सारा जनताको नाम लेखेर साध्य हुन्छ त ? जसले टेन्डर पास गर्यो, जसले भवन बनाउँछु भन्यो, या बनाउने बारेमा सोच्यो, धन्यवाद पाउनुपर्ने त्यसैले हो । सोच्ने निर्णय गर्नु निकै ठूलो काम हो । किनकि त्यो नेता वा कर्मचारीले त्यो निर्णय नगर्न पनि सक्थ्यो, तर गर्यो । यो महानता हो ।
म महामहिममार्फत् निज नेताहरुप्रति पनि हदैसम्म धन्यवाद ज्ञापन गर्न चाहन्छु । तपाईंलाई संसदबाट धन्यवाद भन्न नदिनेहरु प्रति म कत्ति ढिलो नगरी खेद प्रकट गर्छु । यो देशमा जनताका काम त समयमा हुन्थेनन् नै, अब त नेताकै काम पनि समयमा हुन छाड्यो । भनेपछि हामी कति तलसम्म गिरियो, नेपाल यसरी कसरी उँभो लाग्ने राष्ट्रपतिज्यू ? तपाईं आफैं भन्नुहोस् त, कसरी उँभो लाग्ने ?
त्यसैले यो ओरालीमै सही, धन्यवाद राष्ट्रपतिज्यू । फेरि अर्को नीति तथा कार्यक्रममा भेटौंला । त्यस बेलासम्म तपाईं अंग्रेजी गायिका डिडोको गीत ‘थ्यांक यु’ सुन्दै रहनुहोला । विज्ञेषु किमधिकम ।