अश्लील गीत, सामाजिक भ्रम र कलाको भद्धा मजाक : ‘मास्टर्नी’ आलोचनात्मक विमर्श


समाजकाे आजकाे रूप  हजाराैं वर्षकाे संस्कार, शिक्षा र हजाराैं व्यक्तिहरूका सामाजिक याेगदानकाे परिणतिबाट निर्मित भएकाे हाे। सिर्जना र विनाश सायद सँगसँगै आएकाे हुन्छ – राम र रावण जस्तै । कृष्ण र कंश जस्तै । उन्नयन र अवराेध पनि एकसाथ हुन्छन् नै । यी प्रतिराेधी चरित्रले नै समाजकाे गतिशीलता निर्माण गरिरहेकाे हुन्छ।

संस्कार भएपछि असंस्कारकाे विषय उठ्छ, सभ्य भएपछि असभ्यताकाे सन्दर्भ निस्कन्छ। हाे अहिले सामाजिक सञ्जालमा एउटा गीतले गजब विमर्श जन्माएकाे छ। याे विमर्श पनि त्यही प्रकृतिकाे हाे – संस्कार विरुध्द असंस्कार,सभ्यता विरुध्द असभ्यता र उन्नयन विरुध्द क्षयाेन्मुख प्रस्तुति।

यसैका सन्दर्भमा इतिहासबाट केही दृष्टान्तसहित अनुभूति पस्कन्छु। गीतले केही  गीत कला मात्रै हाेइन सभ्यताकाे सामाजिक विमर्श र पहिचान पनि हाे। यसकाे आँखीझ्यालबाट त्यस समाजकाे प्रतिबिम्ब पनि झल्किएकाे हुन्छ । लेखक र समाजकाे अंशत स्वभाव रुचि र मनाेविज्ञान पनि त्यसमा पाेखिएकाे हुन्छ । गीत मानव सभ्यताको सबैभन्दा पुरानो सांस्कृतिक अभिव्यक्ति हो। गीतले प्रेम, करुणा, संघर्ष, विद्रोह, श्रम, देशभक्ति र मानव संवेदनालाई स्वर दिन्छ तर पछिल्ला वर्षहरूमा विश्वका धेरै देशमा केही गीत लोकप्रियताका नाममा अश्लीलता, महिलामाथिको वस्तुकरण, हिंसात्मक संकेत र भ्रामक यौन कल्पनाको प्रचार गर्ने माध्यम बनेका छन्। यस्ता गीतहरू छोटो समयका लागि भाइरल भए पनि तिनले दीर्घकालीन रूपमा समाजमा विकृत मूल्य स्थापित गरिरहेका छन्।

अश्लीलता पशुत्वकाे भाव हाे जहाँ कला हुँदैन केवल याैनिकताकाे नग्न प्रदर्शन, उत्तेजना, हिंसाकाे प्रश्रय प्रतिबिम्बित हुन्छ। गहिराइका ज्ञानहीन शुष्क सिर्जनालाई अभिनव गुप्तले मृत्युमय र महापाप भनेका छन्।

हाल चर्चामा रहेको नेपाली चलचित्रको शीर्ष गीतमाथि उठेका विवादले पनि यही प्रश्नलाई केन्द्रमा ल्याएको छ – के लोकप्रियता प्राप्त गर्न गीतले सांस्कृतिक मर्यादा त्याग्न सक्छ? के मनोरञ्जनको नाममा शिक्षकीय पेशाको गरिमा, महिलाको अस्मिता र सामाजिक मूल्यलाई हल्का बनाउनु उचित हुन्छ? यी प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न यस लेखको मुख्य उद्देश्य हो।

अश्लील गीतका केही प्रतिनिधि प्रवृत्ति

विश्वका विभिन्न देशमा चर्चित भएका केही विवादास्पद गीतहरूमा निम्न प्रवृत्तिहरू देखिन्छन्:

• महिलालाई शारीरिक आकर्षणको वस्तुका रूपमा मात्र चित्रण गर्ने।

• यौन सम्बन्धलाई मनोरञ्जनात्मक उपभोगको वस्तु बनाउने।

• मादक पदार्थ, हिंसा र यौन आक्रामकतालाई “कूल” व्यवहारका रूपमा प्रस्तुत गर्ने।

• शिक्षक, विद्यार्थी, नर्स, प्रहरी जस्ता पेशागत पहिचानलाई यौन संकेतसँग जोडेर प्रस्तुत गर्ने।

• किशोर–किशोरीलाई लक्षित गरेर दोहोरो अर्थ भएका शब्दहरूको प्रयोग गर्ने।

• याैन क्रियाकलाप र उत्तेजनसँग जाेडिएका शब्दावली।

अश्लील गीतबाट रातारात चर्चित हुने र आर्थिक उपार्जन हुने भ्रम:

अश्लील गीत लेखकहरू आफूलाई रातारात सुपहित बनाउन,भाइरल भएर चर्चाकाे शिखरमा पुग्न र पर्याप्त भ्युज पाएर आर्थिक सम्पन्नता प्राप्त गर्न सकिन्छ भन्ने भ्रममा छन् । हाेला क्षणिक सम्पन्नता पनि हाेला तर त्यसले दीर्घकालीन सम्पन्नता र सन्तुष्टि  दिन सक्दैन । यस्ता गीतहरू त मानाैं गन्धे झार मात्रै जुन हर सिजनमा फरक किसिमले उब्जन्छन्,अल्पायु हुन्छन् र मरिजान्छन् । बरु तिनले बाँचुञ्जेल मान्छे बचाउने अन्न खाइदिन्छन्, मार्छन् र तिनलाई सर्वनाश गर्छन्। अश्लील गीतले सभ्यता समाप्त बनाउँदै लगेजस्तै।

यस्ता गीतका वास्तविक हरफ उद्धृत गर्नु उपयुक्त नहुने भएकाले तिनको आशय मात्र उल्लेख गरिएको हो। धेरै देशमा यस्ता गीतमाथि प्रसारण प्रतिबन्ध, उमेर सीमा, रेडियोबाट हटाउने निर्णय तथा सार्वजनिक आलोचना भएको पाइन्छ।

१) महिला केवल मनोरञ्जनको साधन हुन् भन्ने भ्रम

यस्ता गीतले महिलाको व्यक्तित्व, ज्ञान, श्रम र भावनालाई ओझेलमा पारेर शरीरलाई मात्र केन्द्र बनाउँछन्। यसले लैङ्गिक असमानतालाई सांस्कृतिक रूपमा सामान्य बनाउने खतरा हुन्छ।

२) प्रेम भनेको केवल यौन आकर्षण हो भन्ने भ्रम

प्रेममा सम्मान, विश्वास, जिम्मेवारी र भावनात्मक सम्बन्धको महत्त्व हुन्छ। अश्लील गीतहरूले प्रेमलाई केवल शारीरिक आकर्षणमा सीमित गर्ने प्रयास गर्छन्। यस्ता गीतमा कुनै साहित्यिक मूल्य हुँदैन। कुनै गहिराई पनि हुँदैन केबल अश्लील शब्दका हलुका शब्दजाल मात्रै ।

३) असभ्य भाषा प्रयोग गर्नु आधुनिकता हो भन्ने भ्रम

आधुनिकता भनेको अभिव्यक्तिको स्वतन्त्रता हो, तर त्यो स्वतन्त्रता जिम्मेवारीविहीन हुँदैन। सभ्य भाषा प्रयोग गर्नु पुरातनता होइन, सांस्कृतिक परिपक्वता हो। आधुनिकता त संस्कार,सेवा, सफलतासँग जाेडिनु पर्ने हाे तर यस्ता गीतमा त्यस्ताे पाईदैन।

४) भाइरल हुनु नै कलाको सफलता हो भन्ने भ्रम

क्षणिक लोकप्रियता र दीर्घकालीन सांस्कृतिक योगदान एउटै कुरा होइनन्। धेरै महान् गीतहरू भाइरल नभए पनि पुस्तौँसम्म सम्मानित छन्। भाइरल हुने रहरले दुई जनाले बेडमा एकान्तबासमा हुने क्रियाकलाप सार्वजनिक बनाउँछन्। निजी विषयलाई प्रचार गर्छन्।

सामाजिक दण्ड र कारबाही

विश्वका विभिन्न देशमा अश्लील वा घृणा फैलाउने गीतमाथि विभिन्न प्रकारका कारबाही भएका उदाहरण पाइन्छन्।

सन् १९६९मा बेलायतमा जेटेमकाे माेइनुन प्लसकाे गीत अश्लील शब्दका कारण बेलायत सरकारले सार्वजनिक प्रसारणमा राेक लगाएकाे थियाे । यस्तै अष्ट्रेलियामा लाेलाका गीतहरु बालबालिकामा याैन उत्तेजना बढाउने आराेसहित प्रतिबन्धित भयाे।

यस्तै सन्  १९८५मा डारलिङ निक्की गीत पनि अश्लील शब्दचयनकै कारण प्रतिबन्धित भएकाे थियाे । सन् १९८९मा मि साे हर्नीलाई फ्लाेरिडा अदालतले अश्लीलताकै कारण प्रतिबन्धित गरिएकाे थियाे। रिज्डी सेरम्जकाे ब्लुनी सण्डे गीतलाई आत्महत्या दुरुत्साहनकाे आराेपसहित युराेप र अमेरिकामा आजसम्म प्रतिबन्धित गरिएकै छ। यस गीतका कारण लेखक,गायक,तिनका प्रेमिकाहरु लगायत हजाराैंले आत्महत्या पनि गरेकै थिए। भारतमा पनि चाेलीका पिछे क्या है,सेक्सी सेक्सी,आज नाचे,मै हुँ बलात्कारी,लगायतका गीतहरु भारतका अश्लीलता र उत्तेजना फैलाएकाे आराेपमा दण्डित वा प्रतिबन्धित भएका थिए।

नेपालमै पनि कतिपय गीतहरु विवादित भएका छन् र आलाेचित पनि भएका छन्। कतिपय कलाकारले पछि सार्वजनिक रूपमा माफी मागेका उदाहरण पनि छन्। यसले समाजले कलात्मक स्वतन्त्रतालाई स्वीकार गरे पनि अश्लीलताप्रति पूर्ण उदारता नदेखाएको स्पष्ट हुन्छ।

अश्लीलता लेख्नु हुँदैन भन्ने सैद्धान्तिक दृष्टान्त

१. भरतमुनिको ‘नाट्यशास्त्र’

नाट्यशास्त्रले कला समाजको शिक्षण र संस्कारसँग सम्बन्धित हुनुपर्ने बताउँछ। रस सृजनाको उद्देश्य केवल उत्तेजना पैदा गर्नु होइन, भावनात्मक परिष्कार गर्नु हो। अश्लीलता दाेष त्यज्य साहित्य हाे भनेका छन्।

२. अरस्तुको ‘क्याथार्सिस’ सिद्धान्त

कलाले मानवीय भावनाको शुद्धीकरण गर्नुपर्छ। यदि कलाले केवल निम्नस्तरको उत्तेजना मात्र उत्पन्न गर्छ भने त्यसले क्याथार्सिसको उद्देश्य पूरा गर्दैन। अरस्तुले साहित्यबाट मान्छेका नकारात्मक भावहरु विरेचन हुन्छ। त्यसका लागि श्लील ,उच्चस्तरीय भाषा प्रयाेग हुनुपर्छ भनेका छन्।

३. नेपाली सांस्कृतिक दृष्टि

नेपाली लोकसंस्कृतिमा हास्य, प्रेम र रोमान्स प्रशस्त पाइन्छ, तर मर्यादाको सीमा पनि कायम गरिएको हुन्छ। सभ्य संकेत र अश्लील प्रदर्शनबीच स्पष्ट भिन्नता राखिएको छ। नेपालकाे साँस्कृतिक पहिचान नै सभ्य शालीन मर्यादित भाषिक प्रस्तुति हाे। हाम्रा पुर्खाहरुले कहिल्यै न लाेक साहित्यमा अश्लीलता मिसाए न साहित्यमा। बरु दाेषपूर्ण साहित्यलाई महापाप भनिएकाे छ । आनन्दवर्धन तथा अभिनव गुप्तले त अश्लील र कमजाेर साहित्यलाई मृत्युमय मानेका छन्।

४. अभिव्यक्ति स्वतन्त्रता र सामाजिक उत्तरदायित्व

लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार हो। तर कुनै अभिव्यक्तिले अर्काको गरिमा, सम्मान वा सामाजिक सुरक्षामा नकारात्मक प्रभाव पार्दा त्यसको आलोचना हुनु स्वाभाविक हुन्छ।

३. इमानुएल कान्टको सौन्दर्य सिद्धान्त

कान्टले सौन्दर्यलाई “निष्काम आनन्द” (Disinterested Pleasure) सँग जोड्छन्। जब कला केवल शारीरिक इच्छा जगाउने माध्यम बन्छ, त्यो उच्च सौन्दर्य अनुभवबाट टाढा जान्छ।

यी र यस्ता थुप्रै उदाहरण छन् कि गीतले सामाजिक बहिस्करणमा पर्नु परेका, राज्यले नै प्रतिबन्धित गर्नुपरेका अनेक दृष्टान्त छन्। स्वीस गीतकार रिज्जडी सेरंज्जकाे ब्लुनी सण्डे गीत रचना पछि लेखकले आत्महत्या गरेका थिए, गायकले पनि गीत रेकर्डपछि आत्महत्या गरेका थिए र त्यसपछि थुप्रै स्राेताले मृत्युकाे सहारा लिएकाे कारण आजसम्म धेरै पश्चिमा देशहरूमा त्याे उदास आइताबार नामकाे गीत प्रतिबन्धित नै छ।

त्यसैले ज्यादा नकारात्मक चर्चामा आउनुपूर्व नै माष्टरनी नामकाे तथाकथित गीत प्रतिबन्ध लगाउनु नै श्रेयस्कर छ।

माष्टरनी’ शीर्ष गीतको विस्तृत आलोचना

१. शिक्षकीय पेशाको यौनिकरण

“माष्टरनी” शब्द नेपाली समाजमा शिक्षिका, विद्यालय र अनुशासनसँग जोडिएको पहिचान हो। जब त्यही शब्दलाई दोहोरो अर्थ भएका प्रस्तुतीकरणसँग जोडिन्छ, शिक्षकीय पेशाको गरिमामाथि असर पर्छ।

२. महिलाको बौद्धिक भूमिकाको अवमूल्यन

गीतमा शिक्षिकाको ज्ञान, शिक्षण वा सामाजिक योगदानभन्दा बाह्य आकर्षणलाई बढी जोड दिइएको अनुभूति हुन्छ। यसले महिलालाई “हेर्ने वस्तु” बनाउने दृष्टिकोणलाई बल दिन सक्छ।

३. किशोर मनोविज्ञानमाथि प्रभाव

सामाजिक सञ्जालमा छोटो भिडियोका रूपमा फैलिने यस्ता गीतहरू विद्यालय उमेरका विद्यार्थीले सहजै अनुकरण गर्छन्। शिक्षिका–विद्यार्थी सम्बन्धलाई हल्का ढंगले प्रस्तुत गर्दा शिक्षण वातावरणमाथि नकारात्मक प्रभाव पर्न सक्छ।

४. भाषिक स्तर

लोकप्रिय गीतमा पनि भाषाको स्तर कायम गर्न सकिन्छ। नेपाली संगीत परम्परामा , , आदिले रोमान्टिक भावलाई अत्यन्त मर्यादित र काव्यमय ढंगले व्यक्त गरेका छन्। त्यसको तुलनामा उत्तेजनामुखी शब्दावली कलात्मक दृष्टिले कमजोर ठहरिन्छ।

५. संगीत र दृश्यको असन्तुलन

धुन, ताल र प्राविधिक निर्माण आकर्षक हुन सक्छन्। तर जब दृश्य प्रस्तुति र शब्दले अत्यधिक उत्तेजनालाई प्राथमिकता दिन्छन्, संगीतको कलात्मक मूल्य ओझेलमा पर्न सक्छ।

के पूर्ण प्रतिबन्ध समाधान हो?

पूर्ण प्रतिबन्ध सधैं प्रभावकारी हुँदैन। बरु निम्न उपाय उपयोगी हुन सक्छन्:

• सार्वजनिक प्रदर्शनमा पूर्ण प्रतिबन्ध

• सार्वजनिक प्रसारण मापदण्ड निर्माण

• मिडिया साक्षरता शिक्षा

• कलाकारका लागि आचारसंहिता

• सांस्कृतिक समीक्षा र आलोचनाको प्रवर्द्धन

‘माष्टरनी’ शीर्ष गीतको आलोचनात्मक समीक्षा

शीर्षक र पेशागत गरिमाको प्रश्न

नेपालमा पाैरस्त्य दर्शनकै आधारमा शिक्षकहरुलाई गुरुकाे उच्च आदर्शले सम्पूज्य दर्जा दिइएकाे छ । हाम्राे समाजमा यसरी गुरुलाई उच्च दर्जा दिइएकाे छ

ध्यानमूलम् गुरुर्मूर्ति पूजा मूलम् गुराे: पदम्।।

मन्त्रमूलम् गुराेर्वाक्यम् माेक्षमूलम् गुराे कृपा:

अर्थात हाम्राे ध्यानकाे आधारभूमि गुरुकाे आकृति हाे,पूजाकाे आधार पनि गुरुकाे चरण नै हाे,हाम्रा मन्त्रहरु गुरुवाक्य नै हाे र माेक्ष भनेकाे पनि गुरुकाे कृपा नै हाे भन्ने सनातन विश्वास छ। यस्ताे समाजमा गुरु आमालाई हेय र तुच्छ शब्दले ‘माष्टरनी’ सम्बाेधन गरिएकाे छ।

मास्टर्नी भनेर अहिले विवादमा रहेकाे चलचित्रकाे शीर्ष गीत भनेर आएकाे तथाकथित गीतकाे पहिलाे वाक्यांश नै “म्याथ सिक्न” काे ध्वनिलाई यसरी विकृत बनाईएकाे छ कि त्यसकाे धवनि परिवर्तन गरेर बदनियत र बेइमानी पूर्वक गायिकालाई  अश्लील  च……….स्वर  उच्चारण गराइएकाे छ। याे  समाज बिराेधी,संस्कृति बिराेधी र अनैतिकताकाे पराकाष्टा हाे (सुन्नुस गीत)

शिक्षिका शब्दले , विद्यालय र शिक्षण पेशासँग सम्बन्धित ज्ञानकाे स्राेत ,सरस्वतीकाे अवतारकाे सांस्कृतिक छवि निर्माण गर्छ। नेपाली समाजमा शिक्षकलाई ज्ञान, अनुशासन र नैतिक मार्गदर्शनको प्रतीक मानिन्छ। विद्यार्थीले हाम्रा विद्यालयहरूमा शिक्षिकालाई गुरुआमा भन्ने गरेका छन् र आमाकाे स्तरभन्दा एक तह माथि ईश्वरीय दर्जा पनि दिएका हुन्छन्। त्याे सम्मानलाई धुलिसात बनाएर  उक्त गीतले बदनाम गरेकाे छ।

यस गीतले निम्न प्रश्नहरू जन्माएकाे छ:

* “म्याथ सिक्न बेलुका आईज” भन्दै  नाङ्गा तिघ्रा देखाएर नाच्ने र गाउनेहरूले के आफ्नै शिक्षिकासँग वा शिक्षकसँग सार्वजनिक रूपमा बदनाम हुने किसिमले नग्नता प्रदर्शन गर्न सक्छन्? 

* एक शिक्षिकाले आफ्नाे छाेरा सरहका शिष्यलाई नसाकाे सुरमा मातेर अश्लील हर्कत गर्छन् ? बेडमा बाेलाउँछन् ?

*शिष्यले सार्वजनिक स्थलमा नग्न हर्कतमा शिक्षिकासँग नाच्न सक्छन् ?

त्यही पहिचानलाई दोहोरो अर्थ भएका संकेतसँग जोडिन्छ, तब पेशागत गरिमामाथि प्रश्न उठ्छ।

गीतले शिक्षिकाको बौद्धिक भूमिका भन्दा बाह्य आकर्षणलाई बढी जोड दिएको अनुभूति धेरै दर्शकले गरेका छन्। यही कारणले शिक्षण पेशासँग सम्बन्धित व्यक्तिहरूले असन्तुष्टि व्यक्त गरेका देखिन्छन्।

महिलाको वस्तुकरण र महिला शिक्षिकालाई अनैतिकताकाे बिम्ब

गीतको प्रस्तुति, नृत्य संरचना र क्यामेरा कोणले महिलाको व्यक्तित्वभन्दा शरीरलाई केन्द्रमा राखेको आरोप लागेको छ। यदि कुनै महिला पात्रलाई केवल दृश्य आकर्षणका लागि प्रयोग गरिन्छ भने त्यो कलात्मक प्रतिनिधित्व होइन, वस्तुकरण हाे । यहाँ त गीतले महिला शिक्षिकाहरु  याैन प्यासा हुन्छन् र आफ्नै छात्रहरुसँग अश्लील हर्कतमा रमाउँछन् भन्ने दु:सङ्केत गरेकाे छ । यस्ता छाडा र विकृत प्रस्तुति पूर्णत: त्यज्य छ ।

यस गीतले पेशागत गरिमामा मात्रै चाेट दिएकाे छैन कि सिङ्गाे समाजले आजसम्म निर्माण गरेकाे मर्यादा ,सद्भाव र संस्कारलाई पनि खरानी बनाउने दुस्साहस गरेकाे छ।

किशोर दर्शकमाथिको प्रभाव

यस्ता गीतहरू सामाजिक सञ्जालमा छोटो भिडियोका रूपमा तीव्र गतिमा फैलिन्छन्। विद्यालय र कलेजका विद्यार्थीले सन्दर्भ नबुझी अनुकरण गर्ने सम्भावना हुन्छ। दोहोरो अर्थ भएका शब्द र हाउभाउ सामान्य मनोरञ्जन जस्तो देखिए पनि किशोर मनोविज्ञानमा त्यसको प्रभाव गहिरो र दुष्कृत प्रभाव हुन्छ। किशाेर दर्शकहरुले याे भिडियाे र अझ फिल्म नै हेरिसके भने उनीहरुले आमा सरह मानेका शिक्षिकाहरुप्रति  बनाउने मानक र त्यही गलत मानक लिएर कक्षाकाेठामा कसरी पढ्न सक्छन्? आम शिक्षिकाहरुले एकपटक साेच्न जरुरी छ। यस गलत र कलाकाे नाममा भएकाे भद्दा मजाक बिरुध्द उभिनु जरुरी  छ।

संगीतात्मक पक्ष

गीतको धुन आकर्षक हुन सक्छ, ताल ऊर्जावान हुन सक्छ, र प्राविधिक निर्माण पनि सक्षम हुन सक्छ। तर उत्कृष्ट संगीत केवल ताल र दृश्यबाट परिभाषित हुँदैन। शब्द, भाव र सांस्कृतिक प्रभाव पनि त्यसका आधारभूत पक्ष हुन्। यदि शब्द कमजोर र उत्तेजनामुखी छन् भने प्राविधिक चमकले मात्र गीतलाई महान् बनाउन सक्दैन। बरु त्यसले समाजमा हानी,सांस्कृतिक गरिमामा क्षय र सभ्यताका कलङ्क मात्रै लगाउँछ । अहिले माष्टर्नी गीतले सिर्जना गरेकाे गलत हर्कत त्यही हाे ।

लोकप्रियता बदनाम मूल्य

‘माष्टरनी’ शीर्ष गीतले ठूलो चर्चा पाएको हुन सक्छ तर चर्चा हुनु र सांस्कृतिक रूपमा मूल्यवान् हुनु एउटै कुरा होइन। धेरै विवादास्पद सामग्रीहरू पनि अत्यधिक हेरिन्छन्, तर त्यसले तिनको सामाजिक गुणस्तर प्रमाणित गर्दैन। चर्चा क्षयाेन्मुख छ भने त्यसले बदनामी मात्रै कमाउँछ।

कलाकारको जिम्मेवारी

कलाकार समाजको संवेदनशील दर्पण हो। उसले समाजबाट भाषा, प्रतीक र कथा लिन्छ। त्यसैले समाजप्रति उत्तरदायित्व पनि हुन्छ। विशेषतः शिक्षक, महिला, बालबालिका वा सामाजिक संस्थासँग सम्बन्धित प्रतीक प्रयोग गर्दा अझ बढी सावधानी आवश्यक हुन्छ।

के यस्तो गीत पूर्णतः निषेध गर्नुपर्छ?

आलोचनाको अर्थ अनिवार्य प्रतिबन्धको माग होइन। लोकतान्त्रिक समाजमा कला सिर्जनाको स्वतन्त्रता रहनुपर्छ। तर स्वतन्त्रतासँगै जिम्मेवारी पनि आउँछ। समाधान पूर्ण निषेधभन्दा पनि निम्न उपायमा हुन सक्छ:

• सार्वजनिक प्रसारणमा मापदण्ड, र प्रतिबन्ध

• सांस्कृतिक समीक्षा र आलोचनाको प्रवर्द्धन,

• विद्यालय तहमा मिडिया साक्षरता शिक्षा,

• कलाकार र निर्माताबीच नैतिक आचारसंहिताको विकास।

निष्कर्ष

गीत केवल मनोरञ्जन होइन; त्यो समाजको भाषा, कल्पना र मूल्य निर्माण गर्ने शक्तिशाली माध्यम हो। विश्वका धेरै अश्लील गीतहरूले महिलाको वस्तुकरण, यौन भ्रम, हिंसात्मक संकेत र असभ्य भाषाको सामान्यीकरण गरेको भन्दै आलोचना भोगेका छन्। कतिपयमाथि प्रसारण प्रतिबन्ध, उमेर सीमा र सामाजिक बहिष्कारसमेत भएका छन्।

‘माष्टरनी’ शीर्ष गीतको विवादले नेपाली समाजमा अझै पनि सांस्कृतिक मर्यादा, शिक्षकीय गरिमा र महिलाको सम्मानबारे गम्भीर बहस जीवित रहेको देखाएको छ। गीतको संगीतात्मक आकर्षण स्वीकारे पनि त्यसको भाषिक र दृश्य प्रस्तुतीकरणमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन। कला तब दीर्घजीवी हुन्छ जब त्यसले केवल इन्द्रिय उत्तेजना होइन, मानवीय संवेदना, सौन्दर्यबोध र सामाजिक चेतनालाई पनि समृद्ध बनाउँछ।

अन्ततः, सभ्य समाजको लक्ष्य कला दबाउनु होइन; कलालाई अझ जिम्मेवार, संवेदनशील र मानवीय बनाउनु हो। लोकप्रियताको क्षणिक चमकभन्दा संस्कृतिको दीर्घकालीन गरिमा धेरै ठूलो मूल्यवान हुन्छ।

अश्लील गीतमाथिको आलोचना कुनै एक गीत वा कलाकारविरुद्धको व्यक्तिगत आक्रमण होइन; यो समाजले आफ्ना सांस्कृतिक मूल्य, महिलाको सम्मान र सार्वजनिक मर्यादाबारे गर्ने आत्मपरीक्षण हो। विश्वका अनेक उदाहरणहरूले देखाएका छन् कि अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि सामाजिक उत्तरदायित्व त्यत्तिकै आवश्यक हुन्छ।

“माष्टरनी” शीर्ष गीतको विवादले नेपाली समाजमा शिक्षकीय गरिमा, महिलाको अस्मिता र सांस्कृतिक मर्यादाबारे गम्भीर बहस जन्माएको छ। कलाको वास्तविक शक्ति क्षणिक उत्तेजनामा होइन, दीर्घकालीन संवेदनशीलता, सौन्दर्यबोध र मानवीय सम्मानको संरक्षणमा निहित हुन्छ। यदि गीतले समाजलाई विचारशील, सम्मानजनक र संस्कारित बनाउने दिशामा योगदान पुर्‍याउँछ भने मात्र त्यो समयको परीक्षामा टिक्न सक्छ। अन्यथा भाइरलताको चमक क्षणिक हुन्छ, तर सांस्कृतिक प्रभाव दीर्घकालीन । 

प्रकाशित: २ श्रावण २०८३ १२:५१ शनिबार





Source link

Leave a Comment