जनकविकेशरीको सङ्गीत साधना


धुरुधुरु न रोऊ आमा,

तिम्रो आँसु पुछेर छाडौंला।

पच्चिसको दशकमा तत्कालीन नेपालको आर्र्थिक, सामाजिक र भौगोलिक अवस्थाको चित्रण गर्दै जनकविकेशरी धर्मराज थापाले गाएको नेपाल आमाबारेको गीत जति सान्दर्भिक थियो, अहिले पनि करिब उस्तै देखिन्छ। भौगोलिक रूपमा विकास नभएको भन्न सकिन्न। राजनीतिक र सामाजिक स्वरूप पनि धेरै नै बदलिएको पाइन्छ तर मानिसको नैसर्गिक विकासमा आमूल परिवर्तन न आउँदा अहिले पनि जनकविले नेपाल आमाबारे चर्चा गरेझैं आँसु पुछ्न अझै बाँकी देखिन्छ।

जनकविकेशरी धर्मराज थापाको १०३ औं जन्मजयन्ती हिजो मनाइएको छ। नेपाली लोकगीत र लोकसंगीतका धुरी जनकवि बाँचिदिएको खण्डमा यसपटक उनी १०३ वर्षका थिए। १९८१ साउन संक्रान्तिका दिन पिता हर्कबहादुर थापा र आमा मनमाया थापाका कोखबाट बाटुलेचौर, पोखरामा उनको जन्म भयो। यसैगरी २०७१ असोज २८ गते ९० वर्षको उमेरमा जनकविकेशरीको काठमाडौंस्थित आफ्नै निवासमा निधन भयो। नेपाली परम्पराअनुसार श्रावण महिना धानकोदो रोप्ने र असोजमा पाकेको धान भिœयाउने गरिन्छ। यसैगरी दसैंजस्ता राष्ट्रिय पर्वको स्वागत गर्ने महिना मानिन्छ। जनकवि सिर्जनाका साह्रै उज्याला व्यक्तित्व थिए। उनको हेराइ, बुझाइ, समाज र व्यक्तिप्रतिको दृष्टिकोण सदैव सकारात्मक देखिन्थ्यो। मायाका खानी जनकविकेशरी नेपाल आमाका सच्चा सिर्जना थिए।

गीत र संगीतप्रति धर्मराज थापाको मोह

‘लहरा पहरा छाँगा र छहराको सुन्दर मुलुक हो नेपाल। नेपालमा जन्मन पाउनु आफैंमा भाग्यमानी हुनु हो’ जनकविकेशरीको भनाइ हो यो। ‘बडामहाराजधिराज पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त आचार्य, प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा, महिला आरोही पासाङ ल्हामु शेर्पा, भृकुटीजस्ता वीर वीरांगनाको मुलुक हो नेपाल’ भन्ने गर्थे उनी। एक समारोहमा उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको पनि मुक्तकण्ठले प्रशंसा गरेको पंक्तिकारले सुनेको छु। यिनै छाँगाछहरा, हिमालको मुलुक वीरहरूको जन्मभूमि नेपालको दर्शन गर्न उनी मेचीदेखि महाकाली पुगे २०१२÷१३ देखि २०२२÷२३ सालसम्म। सुदूरपश्चिमका गाउँबस्ती र गराहरूमा काम गर्दै गरेका किसानहरूसँग नेपाली नाता र गीतसंगीतसँग मितेरी लगाउन पुगे, गीतका बान्की र गेडीहरू लोकसंगीतमा बुने। उनको गीतको मोह नेपाली माटोसँग थियो, जसमा लोकसंगीत हिमालबाट बग्दै आएका कोसी, कर्णाली, महाकाली गण्डकीजस्ता हिमनदीसँग मिश्रित थियो। कोइली, न्याउली र जुरेली चरीको आवाजको मिठो धुनसँग पनि मिसिएकाले उनले गाएका गीत जति कर्णप्रिय थिए, गीतमा पाइने लोकगीतिपन अझ मिठासपूर्ण थियो र यो मिठास चिरकालसम्म रहिरहनेछ।

जनकविकेशरी धर्मराज थापाका गीतमा। २०१४/१५ साल ताका लोकगीत संकलन गर्ने उद्देश्यले उनी बझाङ पुगेछन्। हालको सदरमुकाम चैनपुरस्थित तत्कालीन बझाङी राजा देवीजंगबहादुर सिंहको ऐतिहासिक हात्तीसार दरबारको अवलोकन गरेछन्। त्यो दरबारलाई काठमाडौंस्थित सिंहदरबारसँग तुलना गर्दै बझाङको सिंहदरबार नामकरण गरेछन्। त्यताबाट उनी बझाङको रमणीय र अन्नको भण्डार मानिएको छान्ना क्षेत्र पुगेछन्। छान्नाको माझीगाउँमा बास बसेछन्। हलो जोत्दैै गरेका किसानलाई देखेर गीतको सिर्जना गरे– ‘हो हो माले हो हो, हरियो डाँडामाथि हलो जोत्ने साथी…।’

यो बझाङबाट सिर्जित गीत हो भन्छन् छान्ना माझी गाउँका वयोवृद्ध करनबहादुर रोकाया। उनी अछाम, बैतडी, डडेलधुरा पुगे। बैतडी र भारतको पिथौरागढ जोड्ने ऐतिहासिक झुलाघाटको पुल तरेर छिमेकी मित्रराष्ट्र भारतको देहरादुन पुगे। जहाँ असंख्य नेपालीको माया पाए। उत्तरी व्यापारिक केन्द्र टनकपुर भएर रेलगाडीमा लखनउ–रक्सौल हुँदै नेपाल प्रवेश गरे। त्यसबेलाको कठिन यात्रा उनले सहज रूपमा संस्कृति र लोकगीत संरक्षण गर्नका लागि मात्र गरे।

यसै गरी जनकविकेशरी थापा ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाममा पुगे। भारतको पूर्वी सिमाना जहाँ नेपालीहरूको बाक्लो बसोबास छ, त्यहाँ पुगे। दार्जिलिङ, कालिंपोङ, मिरिक, भाक्सु, बर्माको सिमानासँग जोडिएका विभिन्न बस्तीमा पुगी नेपाली भाषाभाषीको ठुलो समुदायसँग बसी नेपाली गीतसंगीतबारे जानकारी लिने दिने काम गरे। मेची महाकाली र प्रवासी नेपालीहरूसँगको मिलन उनको शुद्ध रूपमा नेपाली भाषाको विस्तार र लोकसंगीतको सम्वर्धनका लागि मात्र रहेको पाइन्छ। जुन भ्रमण उनको निजी थियो। अहिलेको जस्तो सरकारमुखी थिएन।

जनकविले गाएका विविध गीतहरूमा पाइने विविधता

जनकविकेशरी धर्मराज थापा समय, ठाउँ र विषयवस्तुलाई केन्द्रमा राखी शब्द बुन्नमा खप्पिस लोककलाकार थिए। उनका गीतको शब्द भण्डारण र गीतका लयमा पाइने विविधता अन्य लोकगीतका गायकगायिकामा त्यति पाइँदैन। उनी आफैं लोकपारखी, भाषाप्रेमी र सांस्कृतिक पहिचानको सिंगो फूलबारी भएका कारण उनका गीतमा विविधता मिसिएको पाइन्छ।

लोकसाहित्य र लोकसंगीत सँगसँगै दौडाउन सक्ने उनीमा अद्भुत शक्ति भएका कारण जनकवि बन्न सफल भएका हुन्। विभिन्न कालखण्डमा गरी उनले ३० देखि ४० वटा कालजयी गीत रेकर्ड गरे। केही गीत सिडीमा सुरक्षित छन्। ‘केही गीत रेडियो नेपालमा सुरक्षित छन्। केही गीत सुरक्षित गर्न सकिनँ,’ पंक्तिकारसँगको भेटमा उनले सुनाएका थिए।

जब असार पन्ध्र सुरु हुन्छ, त्यसबेला कृषिसम्बन्धी गीत गाउने ‘हरियो डाडामाथि हलो जोत्ने साथी’का गायक भनेर उनै धर्मराज थापालाई सम्झिने गर्छन् सबैले। त्यतिले मात्र पुग्दैन, सगरमाथा आरोहण गर्ने बेला वैशाख जेठमा ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो…’को याद गर्छन् शेर्पा दाइ र बहिनीहरूले। वैशाखको बुद्ध पूर्णिमाको बेला आउँदा उनले गाएको गीत ‘जन्मेछ बुद्ध नेपालमा…’को सान्दर्भिकता बुद्धमार्गी मात्र नभएर सबै नेपालीजनले मनमनबाट उनको सम्झना गर्छन्। नवजोडीका मनहरू जब आपसमा मिसिन्छन्, कहिलेकाहीं टाढिन्छन्, त्यसबेला उनले गाएको गीत ‘तिमीले भने बिर्सेकी हौली’ले मायालुको मन नै पग्लिन्छ। जब देशमा परिवर्तनको खाँचो हुुन्छ, त्यसबेला हरेक नागरिक आवाज बुलन्द पार्दै गायकगायिकाहरू हातमा मादल बोक्दै परिवर्तनका गीत गाउन अघि सर्छन्, २०३५÷३६, २०४२, २०४६, २०६२÷६३ सालको जनआन्दोलनको बेलामा झैं। त्यसबेला जनकवि ‘आज मादल बजेको किन, गाउँघर दुनिया ब्युँझाउन’ गीतको सम्झना गर्छन्। यसबाहेक जनकविका केही कालजयी गीतहरू– धुरु धुरु नरोऊ आमा, आज मलाई सन्चो छैन, आइपुग्यौ रेलैमा, नेपालीले माया मा¥यो बरिलै, कालिपारी दाइ कति राम्रो, साइली रिमै, तानसेन शीतल, सिरिमा सिरी नि कान्छी बतासै चल्यो, बाग्लुङको बजार आदि रहेका छन्।

तत्कालीन पञ्चायत सरकारले २०४० साललाई सञ्चार वर्ष मनाएको थियो। केही विशिष्ट कलाकारलाई रेडियो नेपालले गीत रेकर्ड गर्न अनुमति दिएको थियो। जनकविकेशरी थापाले गीत रेकर्ड गर्दै हुनुहुन्छ भन्ने सूचनाका आधारमा म पनि त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरको एक दिनको पढाइ छोडी जनकविको गीत रेकर्ड गरेको सुन्न र हेर्नका लागि रेडियो नेपालको नयाँ भवन पुगेँ। जुन अत्याधुनिक भवन जापान सरकारको सहयोगमा निर्माण गरिएको थियो। दौरा, सुरुवाल, कोट र ढाका टोपी लगाएका उनले कुर्सीमा बसेर हँसिलो पाराले दुइटा गीत गाएर लोकसंगीतको भण्डारमा थप भण्डारण गरे। स्व. सुन्दर श्रेष्ठ, स्व. युक्त गुरुङ र गायक सूर्य थुलुङले संगीत संयोजन गरेका ती मिठा गीत थिए– ‘कर्म रुखो छेउ लागेपछि त, सँगको साथी कहाँ बोल्छ मसित’ र ‘बुक्यानीमा बुकी फुल्यो’ माथिका दुइटा लोकगीत नै जनकविका अन्तिम आवाजका नमुना हुन्।

मदन पुरस्कारप्राप्त व्यक्तित्व

साहित्य र लोकगीतसंगीत जनकविका एउटै रथका दुई पांग्रा हुन्। उनका साहित्य सिर्जनामा नितान्त मौलिकपन भेटिन्छ। कविताका बान्कीहरूमा नेपाली भाषा, नेपाली शैली र जनजीवनको चित्रण गरिएको पाइन्छ। जनकविका गीतिसङ्ग्रह, कविता, नियात्रा, काव्य खण्डकाव्य आदि गरी २८ वटा अमर कृतिहरू प्रकाशनमा आएका देखिन्छन्। जसमध्ये नल दमयन्ती, नीलकण्ठ दर्शन, पञ्चायती प्रजातन्त्र, मुक्तिनाथ दर्शन, वसन्ती वसन्त, हाम्रो लोकगीत संग्रह, हिमालको आँसु, मंगली कुसुम, फूलबारी आदि हुन्। जनकविले मंगली कुसुम कृतिका लागि २०२७ सालमा पद्य विद्यातर्फ ‘मदन पुरस्कार’ प्राप्त गरेका थिए।

यसैगरी जीवनभर नेपाली भाषा, साहित्य र लोकगीतका लागि सेवा गरेबापत उनलाई २०५७ सालमा ‘जगदम्बा श्री’ पुरस्कार प्रदान गरिएको थियो। नेपाली भाषा साहित्य र लोकगीत संगीतको पनि रथ हाक्न सक्ने अद्भुत खुबी भएका व्यक्तिले माथि उल्लिखित मर्यादित पुरस्कार प्राप्त गर्न सक्नु सिर्जना शक्तिको ऐतिहासिक उदाहरण मान्न सकिन्छ।

गन्धर्व जातिका कलाकारका अभिभावक

गण्डकी प्रदेशका कास्की, तनहुँ, बाग्लुङ र लमजुङका केही भागमा गन्धर्व जातिका कलाकारहरूको जन्म भएको मानिन्छ। घटनाक्रम र सवाईसम्बन्धी गीत गाउन र नेपाली मौलिक बाजा सारंगीको मिठो धुन निकाल्न गन्धर्व जातिका कलाकारलाई अरुले भ्याउँदैनन्। पोखराका स्व. झलकमान गन्धर्व, तनहुँका तीर्थ गन्धर्व, सल्यानका स्व. जंगबहादुर गन्धर्व यसका उदाहरण हुन्।

यसैगरी कृष्ण गन्धर्व, खड्ग गन्धर्व, धनकुटाका सुरेश गन्धर्वको खारिएको सारंगी धुनको खुबीलाई पनि कम आँकलन गर्न सकिँदैन। जनकविकेशरी रेडियो नेपालमा लोकगीत फाँटको संयोजक भएर काम गर्दा पोखरा बाटुलेचौरबाट स्व. झलकमान गन्धर्वलाई बोलाएर गीत गाउन लगाए। पछि अरूहरूलाई पनि उनले बोलाए। ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन् ?’ भन्ने घटनाप्रधान र कहानी मूलक लोकगीत, ‘तानसेन घमाइलो’ आदि गीत, स्व. झलकमान गन्धर्वले गाएर लोकगीत संगीतको इतिहास रचे। उनी भन्ने गर्थे– धर्मराज थापाले नबोलाएको भए सायद मेरा गीतहरू गर्भमै तुहिन्थ।

कारागारको यात्रा

लोकगीत लोकसंगीत र साहित्यमा उनी जति नरम देखिन्छन्, सायद राजनीतिक परिघटनाले होला, समाज परिवर्तनका लागि उनी केही गरम पनि देखिन्छन्। २००७ सालमा नेपाली कांग्रेस, राणाशासक र भारत सरकारबिचको त्रिपक्षीय सहमतिअनुसार देशमा १०४ वर्षीय राणा शासनको अन्त्य भयो। डा. केआई सिंहले सो कदमको विरोध गर्दै दिल्ली सम्झौता धोका हो भनी प्रचा छरे र २००८ सालमा विद्रोह गरे। जनकवि धर्मराजले डा. केआई सिंहको पक्षको अनुशरण गरे। उनका बारे गीत गाए। त्यो घटना थियो २००९ सालको। परिणामस्वरूप एक महिना हालको नक्खु कारागारमा थुनिए। उनका ससाना बालबालिका अलपत्र परे। पछि कवि केदारमान व्यथितको सहायताले कारागारबाट छुटे।

‘जनकविकेशरी धर्मराज थापा सावित्री थापा’ गुठीको स्थापना

नेपाली गीत संगीत र साहित्यमा लागी परेका स्रष्टाहरूलाई सम्झेर उनीहरूको योगदानको कदरस्वरूप थापा परिवारको निजी स्रोतमा गुठीको स्थापना भयो। २०५२ वैशाख २३ गते सो गुठीको स्थापना भएको थियो। यस संस्थाले आफ्नो स्थापनाकालदेखि नै देशका मूर्धन्य साहित्यकार एवं विशिष्ट कलासाधकलाई सार्वजनिक रूपमा पुरस्कृत गर्दै आइरहेको छ।

यसरी सो संस्थाबाट पुरस्कार प्राप्त गर्नुहुने स्रष्टाहरूमा भैरवबहादुर थापा, कुमार बस्नेत, ज्ञानु राणा, नन्दकृष्ण जोशी, बिमाकुमारी दुरा, बमबहादुर कार्की, शिला आलेलगायत हुनुहुन्छ। पचास–पचास हजार नगद र ताम्रपत्रसहित प्रत्येक वर्ष श्रावण १ गते दुई विद्यामा प्रदान गरिँदै आएको छ। जनकविका तीन छोराहरू क्रमशः मदनराज थापा, कुञ्जराज थापा, डा. बुलन्दराज थापा र प्रसिद्ध गायिका ज्ञानु राणाले आफ्ना मातापिताको नाममा स्थापना गरेका सो गुठीका विविध काम जनसमक्ष ल्याउँदै आइराखेका छन्। हाल सो गुठीको अध्यक्ष कवि मदनराज थापा हुनुहुन्छ।

स्वदेशलाई माया गर्ने अमर स्रष्टा

२०६९ असोजको कुरा हो। जनकवि बिरामीका कारण अशक्त भएर वीर अस्पतालमा उपचारार्थ भर्ना भएका थिए। उहाँलाई भेट गर्न भनी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, रामनाथ अधिकारी, नेकपा एमालेका नेता सोमनाथ पाण्डे, प्रदीप ज्ञवाली, पत्रकार ऋषि धमलालगायतका व्यक्तित्वको उपस्थिति थियो। हालका राष्ट्रपति रामचन्द्र पौडेल र रामनाथ अधिकारीले दिल्लीको अस्पतालमा थप उपचारका लागि लैजाने प्रस्ताव राखे तर जनकविले सो प्रस्ताव स्विकार्नुभएन।

उहाँले भन्नुभयो, ‘अब मेरो धेरै आयु छैन, ३÷४ वर्षभित्र म यो लोकमा रहनेछैन। ’ जनकविको उक्त कुरा सुनेर सबैले मुखामुख गरे। आफ्नो मृत्यु नजिक आउँदै छ भन्ने बोध जनकविलाई कसरी भयो होला ? हुनपनि दुई वर्षपछि असोजमा उहाँको निधन भयो।



Source link

Leave a Comment