विश्वास, एल्गोरिदम र साझा यथार्थको अर्थशास्त्र


News Summary

Generated by OK AI. Editorially reviewed.

  • डिजिटल युगमा सूचनाको उपलब्धता बढे पनि विश्वास सबैभन्दा दुर्लभ स्रोतको रूपमा देखिएको छ।
  • कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमको विकासले समाजको साझा यथार्थ निर्माण गर्ने क्षमता केही संस्थाहरूमा केन्द्रित गरेको छ।
  • नागरिकले आफूले देखेको यथार्थ र आफूलाई देखाइएको यथार्थबीचको भिन्नता छुट्याउन सक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको छ।

एक साँझ काठमाडौंको एउटा चियापसलमा बसिरहेको थिएँ। छेउको टेबलमा केही युवा देशको अवस्था बारे गफ गरिरहेका थिए। एउटाले भन्यो, ‘देशमा पहिलेका नेताले केही गरेनन्।’ अर्कोले तुरुन्तै प्रतिवाद गर्‍यो, ‘कसरी केही भएन? सडक बने। विद्युत् पुग्यो। इन्टरनेट गाउँसम्म पुग्यो।’

बहस लामो चल्यो। दुवैले आफ्ना-आफ्ना दाबीलाई प्रमाणित गर्न सामाजिक सञ्जालका रिल्स देखाए। त्यसपछि समाचारका क्लिप्स आए। अन्त्यमा तथ्याङ्कका इन्फोग्राफ पनि। दुवैका हातमा प्रमाण थिए।

अचम्म के थियो भने, दुवै पूर्ण रूपमा गलत पनि थिएनन्। वस्तुगत रूपमा उनीहरू एउटै संसारमा बाँचिरहेका थिए। तर आत्मपरक रूपमा उनीहरूले दुई फरक वास्तविकता अनुभव गरिरहेका थिए। त्यसैले दुवैका लागि अर्कोको दृष्टिकोण स्वीकार गर्नु लगभग असम्भव थियो।

चियाका दुई कप सकिंदासम्म उनीहरूको बहसभन्दा बढी एउटा प्रश्नले मलाई सताउन थालिसकेको  थियो, एउटै यथार्थमा बाँच्ने मानिसहरू यति फरक वास्तविकतामा कसरी पुग्छन्?

मानव इतिहासको हरेक मोडमा एउटा पुस्ता उभिएको हुन्छ, जसलाई लाग्छ, हामी सत्यको सबैभन्दा नजिक छौं र हामीभन्दा अघिकाहरूले त्यो सत्य या त देख्न सकेनन्, या बुझ्न सकेनन्। तर इतिहासले एउटा कुरा बारम्बार सिकाएको छ: कुनै पनि युगले आफ्नो सत्यलाई अन्तिम सत्य ठानेको हुन्छ, तर समयसँगै त्यसका सीमाहरू उजागर हुँदै जान्छन्।

उन्नाइसौं शताब्दीमा हुर्केका मेरा बाजेका लागि शक्ति भनेको जमीन थियो। त्यसैले उहाँहरूलाई लाग्थ्यो, आफूले जोडेको जग्गाले सात पुस्तासम्म परिवारलाई धान्छ। तर औद्योगिक क्रान्तिसँगै शहरहरूमा चिम्नीहरू उठ्न थाले, कारखाना खुले र शक्तिको केन्द्र पनि विस्तारै जमीनबाट उद्योग, मेसिन र पूँजीतिर सर्न थाल्यो।

इन्टरनेटको उदयपछि फेरि अर्को विश्वास जन्मियो, सूचना नै शक्ति हो। त्यसपछि विश्वले सूचना उत्पादन, वितरण र पहुँचलाई केन्द्रमा राखेर आफ्ना आर्थिक, सामाजिक र राजनीतिक संरचनाहरू पुनर्गठन गर्न थाल्यो।

सूचना बढी भयो भने समाज स्वतः सत्यको नजिक पुग्छ भन्ने विश्वासले डिजिटल युगको प्रारम्भिक तीन दशकलाई निर्देशित गर्‍यो। त्यसैले संसार एउटै धुनमा हिंड्यो; सूचनालाई सकेसम्म सस्तो बनाउने, इन्टरनेटलाई घर-घर पुर्‍याउने र ज्ञानमाथिको पहुँचलाई लोकतान्त्रिक बनाउने। यसमा हामी पूर्णत: सफल पनि भयौं र वास्तवमै, मानव इतिहासमा सूचना आज जति सहज, सस्तो र सर्वसुलभ कहिल्यै थिएन।

तर यही सफलताले एउटा गहिरो भ्रम पनि उजागर गरिदियो। हामीले सूचना दुर्लभ छ भनेर ठानेका थियौं। वास्तवमा दुर्लभ स्रोत सूचना थिएन। दुर्लभ थियो र छ ‘विश्वास’।

यदि विश्वास नै आजको सबैभन्दा दुर्लभ स्रोत हो भने एउटा अर्को प्रश्न स्वाभाविक रूपमा उठ्छ। कुनै पनि दुर्लभ स्रोत आकस्मिक रूपमा जन्मिंदैन। त्यसको उत्पादन गर्ने एउटा प्रणाली हुन्छ, त्यसका लागि पूर्वाधार हुन्छन् र ती पूर्वाधारमाथिको नियन्त्रणले नै शक्ति निर्धारण गर्छ। त्यसैले आजको प्रश्न केवल विश्वास किन दुर्लभ भयो भन्ने होइन। प्रश्न यो पनि हो, विश्वास कसरी उत्पादन हुन्छ?

आज तथ्य प्रकाशित गर्न जो-कोही सक्षम छन्। तर कुनै तथ्य प्रकाशित हुँदैमा सार्वजनिक यथार्थको हिस्सा बन्दैन। समाजले त्यसलाई पत्याउनु, सम्झनु र आफ्ना निर्णयहरूको आधार बनाउनुपर्छ।

त्यसैले आजको निर्णायक राजनीतिक प्रश्न ‘सूचनामा कसको नियन्त्रण छ’ भन्ने होइन, बरु ‘सूचनालाई साझा यथार्थमा रूपान्तरण गर्ने हैसियत (आर्थिक, सांगठनिक र पर्यावरणीय) को सँग छ’ भन्ने हो।

इन्टरनेट र अहिले कृत्रिम बुद्धिमत्ताले सूचना उत्पादन र प्रकाशनको लागतलाई निकै न्यून बनाइदिएका छन्। तर कुनै सामग्री उत्पादन गर्नु र त्यसलाई लाखौं मानिसको विश्वासमा रूपान्तरण गर्नु बीच अझै पनि आकाश-जमिनको अन्तर छ।

इतिहासले एउटा निरन्तर दोहोरिने ढाँचा देखाउँछ। उत्पादन गर्ने तरिका बदलिन्छ, त्यसपछि शक्तिको संरचना बदलिन्छ, र अन्ततः राजनीतिले पनि आफ्नो भाषा बदल्छ। औद्योगिक क्रान्तिले केवल नयाँ मेसिनहरू आविष्कार गरेको थिएन; त्यसले त त्यस बखतको उत्पादन गर्ने सम्पूर्ण तरिका नै परिवर्तन गरिदियो। त्यसपछि राजनीतिले पनि आफ्नो भाषा परिवर्तन गर्‍यो। जमिनका प्रश्नहरू विस्तारै उद्योग, श्रम र पूँजीका प्रश्नमा रूपान्तरित भए, किनभने अर्थतन्त्र राजनीतिभन्दा धेरै अघि बदलिसकेको थियो।

शायद आज हामी पनि यस्तै अर्को ऐतिहासिक मोडमा उभिएका छौं। एक्काइसौं शताब्दीका उद्योगहरू अब केवल सिमेन्ट र कपडा उत्पादन गर्दैनन्। तिनीहरूले कथा उत्पादन गर्छन्। अर्थ निर्माण गर्छन्। विश्वास निर्माण गर्छन्।

डाटा सेन्टर, कृत्रिम बुद्धिमत्ता, रिकमेन्डेसन एल्गोरिदम, विज्ञापन सञ्जाल र क्लाउड इन्फ्रास्ट्रक्चर अब प्राविधिक प्रणालीहरू मात्र होइनन्। तिनीहरू त्यस्ता उत्पादनका पूर्वाधार हुन्, जसको माध्यमबाट सार्वजनिक ध्यानलाई सङ्गठित र विश्वासलाई औद्योगिक परिमाणमा निर्माण गरिन्छ।

यस अर्थमा डिजिटल अर्थतन्त्रको कच्चा पदार्थ कुनै खनिज होइन; ध्यान हो। यसको सबैभन्दा मूल्यवान् उत्पादन कुनै भौतिक वस्तु होइन; विश्वास हो। र त्यस उत्पादनको अन्तिम परिणाम समाजले साझा रूपमा अनुभव गर्ने यथार्थ हो।

सूचना अझै पनि असंख्य स्रोतबाट जन्मिन्छ। तर त्यसलाई करोडौं मानिसले एउटै यथार्थका रूपमा अनुभव गर्ने बनाउन सक्ने क्षमता भने दिन प्रतिदिन थोरै संस्थाहरूमा केन्द्रित हुँदै गएको छ। यही डिजिटल युगको सबैभन्दा ठूलो विरोधाभास हो। प्रकाशन लोकतान्त्रिक भयो। तर त्यसको वितरण कहिल्यै लोकतान्त्रिक भएन।

त्यसैले आज नागरिकहरूले कुनै नीतिको मूल्याङ्कन गर्नुभन्दा पहिले एउटा आधारभूत निर्णय गर्नुपर्छ, कुन वास्तविकतालाई विश्वास गर्ने? किनभने राजनीतिक प्रतिस्पर्धा अब नीतिहरूको मात्र प्रतिस्पर्धा रहेन; यो साझा यथार्थ निर्माणको प्रतिस्पर्धा पनि बनिसकेको छ। आज नीतिभन्दा पहिले व्याख्या आउँछ। तथ्यभन्दा पहिले कथा आउँछ। र वास्तविकताभन्दा पहिले विश्वास आउँछ। राजनीति क्रमशः ‘ध्यानको अर्थशास्त्र’ द्वारा निर्देशित हुँदै गएको छ।

यसको अर्थ सत्य शक्तिहीन भइसकेको छ भन्ने होइन। नागरिकहरू निष्क्रिय भएका छन् भन्ने पनि होइन। लोकतन्त्र समाप्त भएको त झन् होइन। सामाजिक आन्दोलनहरू अझै पनि अप्रत्याशित रूपमा उदाउँछन्, उदाइरहेकै छन्। लोकतन्त्रहरूले अझै पनि पैसाले मात्र परिणाम निर्धारण गर्छ भन्ने मान्यतालाई चुनौती दिइरहेकै छन्।

तर सत्यसँग आफ्नो वितरणको कुनै प्राकृतिक संयन्त्र हुँदैन। बजारले ध्यान तान्ने सामग्रीलाई पुरस्कार दिन्छ। एल्गोरिदमले संलग्नता बढाउने सामग्रीलाई प्राथमिकता दिन्छ। कृत्रिम बुद्धिमत्ताले व्यक्तिगत रूपमा प्रभावकारी कथाहरूलाई अझ तीव्र गतिमा फैलाउन सक्छ।

औद्योगिक पूँजीवादले वस्तुको उत्पादनलाई केन्द्रित गर्‍यो। डिजिटल पूँजीवादले सार्वजनिक ध्यानलाई सङ्गठित गर्ने क्षमतालाई केन्द्रित गर्‍यो। र अब उदाउँदै गरेको कृत्रिम बुद्धिमत्ताको युगले त्योभन्दा पनि आधारभूत कुरालाई केन्द्रित गर्दैछ; समाजले साझा रूपमा अनुभव गर्ने यथार्थको उत्पादनलाई।

जुन प्रणालीले तपाईंलाई कुनै रेसिपी, पुस्तक वा किनमेलको सिफारिस गर्न सक्छ, त्यही प्रणालीले राजनीतिक प्रचार, षड्यन्त्रका सिद्धान्त वा उग्र राष्ट्रवादी भाष्यलाई पनि तीव्र गतिमा फैलाउन सक्छ।

खोज प्रणालीले केवल सूचना खोजिदिंदैन; कुन सूचना महत्त्वपूर्ण देखिनेछ भन्ने पनि निर्धारण गर्छ। एल्गोरिदमले केवल रुचि अनुमान गर्दैन; रुचिको निर्माणमा पनि सहभागी हुन्छ। सामाजिक सञ्जालले केवल मानिसहरूलाई जोड्दैन; कुन समुदाय जन्मिनेछ, कुन असन्तुष्टि फैलिनेछ र कुन पहिचान बलियो बन्नेछ भन्ने प्रक्रियालाई पनि आकार दिन्छ।

कृत्रिम बुद्धिमत्ताले केवल उत्तर दिंदैन। उसले विस्तारै हामीले प्रश्न सोध्ने तरिका समेत परिवर्तन गर्न थाल्छ। यही कारणले कम्प्युटेसनको पूर्वाधार क्रमशः व्याख्याको पूर्वाधारमा रूपान्तरित हुँदै गएको छ।

हरेक खोज परिणाम, हरेक सिफारिस, हरेक व्यक्तिगत फिड र हरेक एल्गोरिदमिक छनोटले समाजले के देख्छ, के विश्वास गर्छ, के सम्झन्छ र के बिर्सन्छ भन्ने प्रक्रियामा सानो तर निरन्तर योगदान गरिरहेको हुन्छ।

कुनै एउटा एल्गोरिदमले समाजको यथार्थ तय गर्दैन। तर अर्बौं एल्गोरिदमिक निर्णयहरूको संयुक्त प्रभावले क्रमशः समाजको साझा यथार्थ निर्माण गर्छ।

त्यसैले एक्काइसौं शताब्दीको सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार अब बन्दरगाह, राजमार्ग वा विद्युत् गृहमा मात्र सीमित छैन। आज त्यसको केन्द्रमा सेमिकन्डक्टर कारखाना, हाइपरस्केल डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, समुद्रमुनिका फाइबर अप्टिक केबल, उपग्रह सञ्जाल, डिजिटल पहिचान प्रणाली, विशाल भाषा मोडल र तिनलाई सम्भव बनाउने डाटा छन्।

यदि उत्पादनका साधनको अवधारणाले औद्योगिक युगलाई बुझ्न मद्दत गरेको थियो भने, डिजिटल युगलाई बुझ्न पनि त्यस्तै एउटा नयाँ अवधारणाको आवश्यकता पर्छ। यिनै हुन्; यथार्थ उत्पादनका साधन।

औद्योगिक समाजमा उत्पादनका साधनले वस्तु उत्पादन गर्थे। आज यी कम्प्युटेसनल पूर्वाधारहरूले वस्तुभन्दा पनि आधारभूत कुरा उत्पादन गर्न थालेका छन्, समाजले साझा रूपमा अनुभव गर्ने यथार्थ। त्यसैले तिनलाई ‘यथार्थ उत्पादनका साधन’ भन्नु केवल रूपक होइन; बदलिएको उत्पादन प्रणालीलाई बुझ्ने प्रयास पनि हो।

हामी नयाँ प्रविधिको उदय मात्रै हेरिरहेका छैनौं। हामी नयाँ उत्पादन प्रणालीको जन्म हेरिरहेका छौं। र इतिहासले देखाएको छ, जहाँ नयाँ उत्पादन प्रणाली जन्मिन्छ, त्यहाँ नयाँ शक्ति संरचना र अन्ततः नयाँ वर्ग पनि जन्मिन्छ।

यस परिवर्तनलाई सही ढङ्गले बुझ्न एउटा महत्त्वपूर्ण भिन्नता छुट्याउनुपर्छ, व्यावसायिक प्रोत्साहन र राजनीतिक उद्देश्य एउटै कुरा होइनन्। सामाजिक सञ्जालका इन्गेजमेन्ट एल्गोरिदमहरूको उद्देश्य समाजलाई विभाजित गर्नु होइन; मानिसको ध्यान लामो समयसम्म आफ्नो प्लेटफर्ममा टिकाइराख्नु हो। किनकि ध्यान जति बढी आकर्षित हुन्छ, विज्ञापनबाट हुने आम्दानी पनि त्यति नै बढ्छ।

त्यसैले ध्रुवीकरण, आक्रोश वा सामाजिक विभाजन धेरै अवस्थामा तिनको प्राथमिक उद्देश्य होइन; त्यो त उनीहरूको आर्थिक मोडेलको सह-उत्पादन हो।

सरकार, राजनीतिक दल र सङ्गठित प्रभाव-अभियान सञ्चालन गर्ने समूहहरूको उद्देश्य ध्यान बेच्नु होइन; सार्वजनिक धारणा परिवर्तन गर्नु हो। उनीहरूले व्यापारिक कम्पनीहरूले निर्माण गरेको यही डिजिटल पूर्वाधारलाई आफ्नो राजनीतिक लक्ष्यका लागि प्रयोग गर्छन्।

जुन प्रणालीले तपाईंलाई कुनै रेसिपी, पुस्तक वा किनमेलको सिफारिस गर्न सक्छ, त्यही प्रणालीले राजनीतिक प्रचार, षड्यन्त्रका सिद्धान्त वा उग्र राष्ट्रवादी भाष्यलाई पनि तीव्र गतिमा फैलाउन सक्छ।

यति भन्दैमा साझा यथार्थ पूर्ण रूपमा केही कम्पनी वा एल्गोरिदमको नियन्त्रणमा पुगिसकेको छ भन्ने निष्कर्ष निकाल्नु गलत हुनेछ। इतिहासले मानिसहरूलाई सधैं आश्चर्यचकित बनाएको छ। सामाजिक आन्दोलनहरू जन्मिन्छन्। नयाँ विचारहरू फैलिन्छन्। स्थापित कथाहरू भत्किन्छन्। एल्गोरिदमहरूले सम्भावनाको वातावरण निर्माण गर्छन्; इतिहासको अन्तिम निर्णय भने मानिसहरूले नै गर्छन्। तर आज त्यो निर्णय हुने वातावरण पहिलेभन्दा धेरै संरचित र आर्थिक रूपमा व्यवस्थित भएको छ।

‘यथार्थ उत्पादनका साधनहरू’ माथिको स्वामित्वले आज एउटा नयाँ प्रकारको असमानता जन्माइरहेको छ। यो केवल सम्पत्ति वा आम्दानीको असमानता होइन। यो समाजले आफूलाई कुन रूपमा हेर्ने, बुझ्ने र व्याख्या गर्ने भन्ने क्षमताको असमानता हो।

एक्काइसौं शताब्दीको राजनीतिक अर्थशास्त्र बुझ्न अब एउटा नयाँ प्रश्न सोध्नुपर्छ, साझा यथार्थ उत्पादन गर्ने साधन कसको नियन्त्रणमा छन्?

औद्योगिक युगले उत्पादनका साधनमाथिको स्वामित्वका आधारमा वर्गीय असमानता निर्माण गरेको थियो। डिजिटल युगले त्यससँगै अर्को असमानता थप्दैछ, सार्वजनिक यथार्थ निर्माण गर्ने पूर्वाधारमाथिको नियन्त्रणको असमानता। यही असमानताले एउटा नयाँ संरचनात्मक वर्गको उदय गरिरहेको छ। यसलाई हामी ‘ज्ञान-शासक वर्ग’ भन्न सक्छौं।

यो कुनै निश्चित पेशा, आम्दानीको स्तर वा सामाजिक पहिचानलाई जनाउने शब्द होइन। यो आधुनिक अर्थतन्त्रभित्र शक्तिको एउटा नयाँ संरचनात्मक स्थान हो। जसरी औद्योगिक युगमा उत्पादनका साधनमाथिको नियन्त्रणले आर्थिक शक्ति निर्धारण गर्थ्यो, त्यसरी नै आज साझा यथार्थ उत्पादन गर्ने पूर्वाधारमाथिको नियन्त्रणले ज्ञान सम्बन्धी शक्ति निर्धारण गर्न थालेको छ।

यस वर्गको शक्ति नयाँ विचार उत्पादन गर्नुमा मात्र छैन। यसको वास्तविक शक्ति कुन विचार देखिने, कुन कुरा विश्वसनीय ठहरिने, कुन विषय सार्वजनिक बहसको केन्द्रमा पुग्ने र कुन कुरा सामूहिक स्मृतिबाट हराउने भन्ने सूचना-पर्यावरणलाई आकार दिन सक्ने क्षमतामा छ। यही क्षमताको असमानता नै हाम्रो समयको सबैभन्दा निर्णायक असमानता बन्दै गइरहेको छ।

यस्ता नयाँ असमानतालाई सहजै बुझ्न गाह्रो पर्छ, किनकि डिजिटल प्रविधिले सबैलाई समान सहभागिताको अनुभूति दिन्छ। तर समान सहभागिता र समान प्रभाव एउटै कुरा होइनन्। विचार जोकसैले जन्माउन सक्छ, तर विचार हिंड्ने बाटो जसको नियन्त्रणमा छ, अन्ततः सार्वजनिक यथार्थ निर्माण गर्ने शक्ति पनि त्यसैसँग हुन्छ।

जब राजनीति यही कृत्रिम सूचना-पर्यावरणभित्र सञ्चालन हुन थाल्छ, त्यसको चरित्र पनि बदलिन्छ। यो परिवर्तन कुनै एक नेता वा दलको नैतिक असफलता मात्र होइन। हरेक राजनीतिक प्रणाली अन्ततः आफू उभिएको आर्थिक संरचनाबाट प्रभावित हुन्छ।

औद्योगिक युगले हामीलाई एउटा प्रश्न सोध्न सिकायो, उत्पादनका साधन कसको नियन्त्रणमा छन्? डिजिटल युगले त्यो प्रश्नलाई विस्थापित गरेको छैन; उसले त्यसलाई अझ गहिरो बनाएको छ। किनभने आज उत्पादन हुने वस्तु मात्र होइन, समाजले साझा रूपमा अनुभव गर्ने यथार्थ पनि हो।

त्यसैले एक्काइसौं शताब्दीको राजनीतिक अर्थशास्त्र बुझ्न अब एउटा नयाँ प्रश्न सोध्नुपर्छ, साझा यथार्थ उत्पादन गर्ने साधन कसको नियन्त्रणमा छन्?

चियापसलमा बसेका ती युवाहरूलाई म अहिले एउटा कुरा मात्र भन्न चाहन्छु। हामीले जुन यथार्थलाई सत्य ठानेर बाँचिरहेका छौं, त्यो सधैं हाम्रै अनुभव, अवलोकन र विवेकबाट बनेको नहुन सक्छ। धेरैजसो त्यो हाम्रो अनुभवभन्दा पहिले नै छनोट, व्यवस्थित र वितरण गरिएको यथार्थ हुन सक्छन्। त्यसैले आज हरेक नागरिकको पहिलो जिम्मेवारी के विश्वास गर्ने भन्ने होइन; आफूले देखेको यथार्थ र आफूलाई देखाइएको यथार्थ बीचको भिन्नता छुट्याउन सक्नु हो।

जुन दिन हामीले यो प्रश्न सोध्न छोड्छौं, त्यो दिन हामी यथार्थमा बाँचिरहेका हुँदैनौं; कसैले उत्पादन गरिदिएको यथार्थमा मात्र बाँचिरहेका हुन्छौं।





Source link

Leave a Comment