News Summary
Generated by OK AI. Editorially reviewed.
- पछिल्लो समय सार्वजनिक स्थलमा आत्मदाहका घटना बढ्नुलाई केवल मानसिक स्वास्थ्यसँग जोडेर हेर्नु गम्भीर त्रुटि हो ।
- समाजशास्त्री इमाइल दुर्खाइमको सिद्धान्तअनुसार यस्ता घटना राज्यप्रतिको निराशा, असमानता र सामाजिक संरचनात्मक सङ्कटको प्रतीकात्मक अभिव्यक्ति हुन्।
- यस्ता घटनाहरूको समाधान व्यक्तिमा केन्द्रित भएर खोजेर मात्र हुँदैन। यसका लागि त प्रत्येक नागरिकलाई आशावादी बनाउने तथा उत्तरदायी सरकारी संयन्त्रहरूको निर्माण गर्नुपर्दछ।
काठमाडौँको त्रिपुरेश्वरमा यही असार २५ गते आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भयो। गणेश मात्र होइनन्, असार २६ गते सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरे र उनको पनि उपचारको क्रममा ज्यान गयो ।
यति मात्र होइन, यही असार २७ गते काठमाडौँ बुद्धनगरमा शनिबार बिहान ६ बजेतिर भान्सा कोठामा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको पनि उपचारका क्रममा मृत्यु भयो।
पछिल्ला तीन दिनमा घटेका आत्मदाहका यस्ता घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा केन्द्रीय सदस्य गणेश कार्कीले ‘मानसिक स्वास्थ्य’ लाई कारण देखाएका थिए। मानसिक स्वास्थ्यलाई कारण देखाएर आत्मदाहका घटनालाई सामान्यीकरण गर्न यतिबेला सत्तारूढ दलका नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा लागिरहेका छन्।
तर कुनै पनि व्यक्तिको आत्महत्याको कारण भनिने मनस्थिति तथा निराशा यही समाजको उपज हो। त्यसैले आत्महत्या सामाजिक हो। यो लेखले आत्मदाहको समाजशास्त्रलाई उधिन्ने प्रयत्न गरेको छ।
नेपालमा पछिल्ला वर्षहरूमा आत्महत्याका घटनाहरू बढ्दै गइरहेका छन्। यीमध्ये कतिपय आत्मदाहका घटनाहरू रहेका छन्। यस्ता घटनाले समाजलाई बारम्बार झस्काइरहेका छन्। कुनै नागरिकले सार्वजनिक रूपमा आफ्नै शरीरमा आगो लगाउनु व्यक्तिगत मनस्थिति तथा पीडाको विस्फोट मात्र होइन। यो त राज्य र शासनप्रति समाजमा झाँगिँदै गएको गहिरो निराशाको प्रतीकात्मक अभिव्यक्ति हो।
यस्ता घटनापछिका सार्वजनिक छलफल र बहसमा प्रायः व्यक्तिको मानसिक अवस्था, पारिवारिक समस्या वा क्षणिक आवेगलाई कारणका रूपमा व्याख्या गर्ने प्रवृत्ति झाँगिएको छ। निश्चय नै मानसिक स्वास्थ्य आत्महत्याको एउटा महत्त्वपूर्ण सवाल हो।
तर समाजशास्त्री इमाइल दुर्खाइमले एक शताब्दीअघि नै आत्महत्या केवल व्यक्तिगत मनोविज्ञानको विषय नभएको तथ्य सार्वजनिक गरेका थिए। बरु यी त सामाजिक संरचना, सामाजिक सम्बन्ध, सामूहिक मूल्य र संस्थागत अवस्थासँग गहिरो रूपमा जोडिएको सामाजिक तथ्य भएको उजागर गरेका थिए।
दुर्खाइमको प्रसिद्ध कृति ‘सुसाइड’ ले आत्महत्यालाई व्यक्तिगत निर्णयभन्दा बाहिर निकालेर विश्लेषण गरेको थियो। उक्त पुस्तकले समाजमा ‘सोसियल इन्टिग्रिएसन’ अर्थात् सामाजिक एकीकरण र ‘सोसियल रेगुलेसन’ अर्थात् सामाजिक नियमनको स्तरले आत्महत्याको प्रवृत्तिलाई प्रभाव पार्ने निष्कर्ष प्रस्तुत गरेको थियो।
तथ्य र तथ्याङ्कको जगमा उनले कुनै पनि समाजमा आत्महत्याको दर केवल व्यक्तिको मानसिक अवस्थाले नभई उक्त समाजको सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक र संस्थागत अवस्थाले पनि निर्धारण गर्ने र आकार प्रदान गर्ने निष्कर्ष प्रस्तुत गरेका थिए।
सामाजिक परिवर्तन स्वयं समस्या होइन। तर जब परिवर्तनसँगै नयाँ नियम, नयाँ विश्वास र प्रभावकारी संस्थागत व्यवस्थाहरू स्थापित हुन सक्दैनन्, तब समस्या उत्पन्न हुन्छ। नागरिक तहमा निराशा झाँगिन्छ। अनि त्यस्तै मनोविज्ञान निर्माण हुन्छ।
पछिल्लो एक हप्तामा भएका तीनवटा आत्मदाहका घटनालाई हामीले दुर्खाइमको दृष्टिकोणबाट अध्ययन गर्नु आवश्यक देखिन्छ। विगतका प्रेमप्रसाद आचार्य हुन् वा अहिलेका गणेश नेपाली हुन्, हामी किन यस्ता घटनाहरूको साक्षी बनिरहेका छौँ ?
किन केही नागरिकहरू आफ्ना पीडालाई सार्वजनिक आत्मदाहमार्फत अभिव्यक्त गर्न बाध्य भइरहेका छन् ? यो प्रश्नको जवाफ खोज्न आज सांसद कार्कीले भनेजस्तो मानसिक स्वास्थ्यको साँघुरो घेराबाट बाहिर निस्किएर विहङ्गम सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक अवस्था, संरचना र यथार्थतालाई अध्ययन गर्नु आवश्यक छ।
दुर्खाइमले आफ्नो अध्ययनका क्रममा आत्महत्यालाई चार किसिमको हुने गरी वर्गीकरण गरेका थिए। पहिलो ‘इगोइस्टिक’, दोस्रो ‘अल्ट्रुइस्टिक’, तेस्रो ‘एनोमिक’ र चौथो ‘फेटालिस्टिक’ रहेका छन्। नेपालमा बढ्दै गइरहेको आत्मदाहका घटनालाई एनोमिक आत्महत्याको अवधारणाभित्र राखेर हेर्नु उपयुक्त हुन्छ।
अर्थात् समाजमा विद्यमान नीति, नियम, मूल्य, मान्यता, अपेक्षा, आशा, विश्वास कमजोर बन्नु, अस्थिरता निम्तिनु, नागरिकले आफ्नो भविष्यप्रतिको विश्वास गुमाउनुको परिणाम नै आत्मदाह हो। सामाजिक संस्थाहरू (राज्य संरचना, सम्पूर्ण तहका सरकार, सरकारी निकायहरूसमेत) ले नागरिकलाई उपयुक्त मार्गदर्शन प्रदान गर्ने, आशा र विश्वास जगाउन नसक्दा समाजमा एनोमीको अवस्था सिर्जना हुन पुग्दछ र समाजमा आत्मदाहका घटनाहरू बढ्न जान्छन्।
नेपालले पछिल्ला साढे तीन दशकमा व्यापक राजनीतिक उथलपुथल र परिवर्तनको अनुभूति गर्यो। यसैबीचमा राजतन्त्रको अन्त्य भयो। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। नयाँ संविधान जारी भयो। सङ्घीय संरचना लागु भयो।
नागरिकहरूले यी र यस्ता राजनीतिक परिवर्तनसँगै समान अवसर, न्याय, सामाजिक न्याय, उत्तरदायी शासन र समावेशी विकासको अपेक्षा गरेका थिए। त्यसैले त एकपछि अर्को राजनीतिक आन्दोलनमा नागरिक सडकमा उत्रिएका थिए।
पछिल्लोपटक भदौ २३ मा ‘जेनजी’ ले पनि यसै अपेक्षामा ज्यानको आहुति दिएर आन्दोलनमा उत्रिएका थिए। तर नागरिकको अपेक्षा र अनुभवबीचको दूरी व्यापक रूपमा बढ्न पुग्यो। यही दूरीले आमनागरिकको बीचमा निराशा बढ्न गयो।
दुर्खाइमका अनुसार सामाजिक परिवर्तन स्वयं समस्या होइन। तर जब परिवर्तनसँगै नयाँ नियम, नयाँ विश्वास र प्रभावकारी संस्थागत व्यवस्थाहरू स्थापित हुन सक्दैनन्, तब समस्या उत्पन्न हुन्छ। नागरिक तहमा निराशा झाँगिन्छ। अनि त्यस्तै मनोविज्ञान निर्माण हुन्छ।
नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक असमानता व्यापक छ। बेरोजगारी समस्या उच्च छ। महँगी, सार्वजनिक सेवाको कमजोर अवस्था, भ्रष्टाचारप्रतिको असन्तुष्टि, सेवा प्राप्तिमा विभेदको अनुभूति, न्याय प्राप्तिमा ढिलाइ, भूमिहीन तथा सुकुम्बासी समुदायका दीर्घकालीन समस्या, युवाहरूको व्यापक विदेश पलायन, किसानको सङ्कट तथा नागरिक र राज्यबीच बढ्दो अविश्वास छ।
प्रत्येक आत्मदाहका घटना एउटा गम्भीर सार्वजनिक स्वास्थ्य, सामाजिक र नैतिक प्रश्न हुन्। त्यसैले यसलाई जिम्मेवारी पन्छाउने, वा सनसनीपूर्ण समाचार बनाउने वा एकअर्कालाई दोषारोपण गर्ने कुरा होइन।
यसले समाजमा एनोमीको वातावरणलाई बलियो बनाउँदै लगेको छ। यस्ता परिस्थितिले सबै मानिसलाई आत्महत्यातर्फ धकेल्छ भन्ने होइन। तर दुर्खाइमका अनुसार यस्ता संरचनात्मक अवस्थाले आत्महत्याको सामाजिक जोखिम बढाएर लैजान्छ।
दुर्खाइमको दृष्टिकोणलाई आधार मान्ने हो भने सार्वजनिक आत्मदाहका घटनालाई केवल व्यक्तिगत आवेगका रूपमा बुझ्नु गम्भीर गल्ती हुन्छ। सार्वजनिक स्थानमा आत्मदाह गर्नु एउटा प्रतीकात्मक राजनीतिक र सामाजिक सन्देश हो।
व्यक्तिले यस किसिमका घटनामार्फत आफ्नो व्यक्तिगत पीडालाई सामूहिक अन्यायसँग जोड्ने प्रयास गर्छ। यस्तो अवस्थामा व्यक्तिको जीवन समाप्त गर्ने निर्णयलाई केवल व्यक्तिगत मनोवैज्ञानिक कमजोरीका रूपमा व्याख्या गर्दा त्यस घटनाको सामाजिक सन्दर्भ ओझेलमा पर्न सक्छ। अनि समाजको भित्रभित्रै फैलिरहेको ज्वालामुखीले धेरै कुरालाई एकसाथ खरानी बनाइदिन सक्छ।
दुर्खाइमले समाजलाई व्यक्तिभन्दा ठूलो नैतिक शक्ति मानेका छन्। मानिसको आकाङ्क्षा, सोच तथा व्यवहार समाजभित्रै निर्माण हुन्छ। यस अर्थमा व्यक्तिको मनोविज्ञान पनि सामाजिक अनुभवबाट निर्मित तथा प्रभावित हुन्छ। बेरोजगारी, गरिबी, अपमान, अन्याय, बहिष्करण, असुरक्षा र संस्थाप्रतिको अविश्वासले व्यक्तिको मानसिक अवस्थालाई प्रत्यक्ष रूपमा प्रभावित पार्छ। अहिलेको आत्मदाह यसैसँग जोडिएको छ।
सांसद गणेश कार्कीले भनेजस्तै नेपालमा आत्महत्याको बहस अझै पनि व्यक्तिगत तहमा मात्रै सीमित छ। आत्महत्याका कारणका रूपमा व्यक्तिको मानसिक स्वास्थ्यलाई दोष दिने गरिन्छ। तर राज्य, सरकार, राजनीति, प्रशासन र सार्वजनिक नीतिको भूमिकामाथि पर्याप्त मात्रामा छलफल तथा विमर्श हुने गरेको छैन।
समाजका संस्थाहरू कमजोर हुँदै जाँदा व्यक्तिले आफूलाई झन्-झन् असुरक्षित महसुस गर्दछ, अनि आत्मदाहको प्रयास गर्दछ। यस्तो अवस्थामा आत्महत्याको रोकथाम केवल अस्पताल, मनोपरामर्श वा औषधिबाट मात्र सम्भव हुँदैन। यसका लागि त उत्तरदायी शासन, न्यायपूर्ण समाज, प्रभावकारी सार्वजनिक सेवा, बलियो सामाजिक सुरक्षा प्रणाली, रोजगारीका प्रशस्त अवसरको सिर्जना र विश्वासयोग्य संस्थाहरूको निर्माण अत्यन्तै आवश्यक हुन्छ।
नेपालमा गरिब, भूमिहीन, सुकुम्बासी, सीमान्तकृत समुदाय र अवसरबाट वञ्चित नागरिकहरूले राज्यसँग गरेको लामो सङ्घर्षलाई पनि यही दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ। वर्षौंवर्षसम्म समस्याको समाधान नहुनु, राज्य नै लागेर नागरिकलाई घरबारविहीन बनाउनु, प्रशासनिक जटिलता, नीतिगत अस्थिरता र राजनीतिक प्रतिबद्धताको कमजोर कार्यान्वयनले आमनागरिकमा राज्य तथा सरकारप्रतिको विश्वास, आशा तथा भरोसा कमजोर बनाउँदै लगेको छ।
नागरिकले आफ्नो आवाज सुनिने कुनै प्रभावकारी माध्यम देख्न छाडेका छन्। सरकार संवादभन्दा बढी शक्तिको दुरुपयोगमा रमाइरहेको छ। यस्तो अवस्थामा कतिपय नागरिकले अत्यन्त चरम र दुःखद माध्यम रोज्ने जोखिम बढ्दै गएको छ।
दुर्खाइमको सुसाइड सिद्धान्तको अर्को महत्त्वपूर्ण सवाल भनेको ‘सामाजिक एकीकरण’ हो। कुनै पनि व्यक्ति परिवार, समुदाय, पेसा, सङ्गठन र राज्यसँग जोडिएको, आफूलाई मर्यादित अवस्थामा रहेको अनुभूति गर्दा जीवनप्रतिको उसको आशा बलियो हुन्छ।
तर सामाजिक सम्बन्ध कमजोर बन्दा वा समुदाय विखण्डित हुँदा र संस्थामाथिको विश्वास घट्दा व्यक्तिमा नैराश्य तथा एक्लोपन बढ्दछ। उसले आफ्नो जीवन निरर्थक छ वा हुनेछ भन्ने अनुभूति गर्न पुग्दछ। अहिले धेरै गरिब, विपन्न, गरी खाने नागरिकहरूले आमरूपमा यस्तै अनुभूति गरिरहेका छन्।
पछिल्लो समयमा सामाजिक सञ्जालले पनि सार्वजनिक पीडालाई नयाँ स्वरूप प्रदान गरेको छ। नागरिकहरूले आफ्ना असन्तुष्टि तत्काल सार्वजनिक गर्न सक्ने माध्यम पाएका छन्। तर वास्तविक राज्य तथा समाजका संस्थाहरू कमजोर रहे भने डिजिटल अभिव्यक्तिले निराशालाई घटाउन सक्दैन, बरु बढाउन मद्दत गर्दछ।
पछिल्लो समयमा सरकारले नागरिकका कुरा सुन्ने, नागरिकलाई शासन प्रक्रियामा सहभागी गराउँदै उनीहरूको हितमा काम गर्ने प्रणाली तथा पद्धति कमजोर हुँदै गएको छ। स्थानीय तहदेखि सङ्घीय तहसम्मका सरकारका नेतृत्वमा आफूलाई शासक र नागरिकलाई रैती देख्ने प्रवृत्ति झाँगिएर गएको छ।
नागरिकको आर्थिक क्षमताको आयाम बढाउन नसक्ने तर कर, शुल्क, जरिवानाजस्ता सवालमा अचाक्ली वृद्धि गर्ने प्रवृत्ति हरेक तहका सरकारमा झाँगिएको छ।
नागरिकलाई कुनै पनि कुरामा सहजीकरण नगर्ने, बरु सकेसम्म असजिलो बनाउने, अपराधी करार गर्ने प्रवृत्ति मौलाउँदै गएको छ। इतिहासदेखि झाँगिएको यो प्रवृत्ति पछिल्लो निर्वाचनपछि करिब दुईतिहाइ बहुमत प्राप्त सरकारसम्म आइपुग्दा झन्-झन् मौलाउँदै गएको नागरिकले अनुभूति गरिरहेका छन्।
त्यस सन्दर्भमा आत्मदाहलाई कुनै व्यक्तिको मनोस्वास्थ्यको उपजका रूपमा व्याख्या गर्ने कुरा अत्यन्तै खतरनाक दृष्टिकोण हो। यस किसिमका घटनालाई राजनीतिक रोमाञ्च वा प्रतिरोधको आदर्शका रूपमा प्रस्तुत गर्नु पनि उपयुक्त हुँदैन।
यस्ता घटनालाई समाजले आफ्नो सामूहिक असफलताको सङ्केतका रूपमा लिनु उपयुक्त हुन्छ। प्रत्येक आत्मदाहका घटना एउटा गम्भीर सार्वजनिक स्वास्थ्य, सामाजिक र नैतिक प्रश्न हुन्। त्यसैले यसलाई जिम्मेवारी पन्छाउने, वा सनसनीपूर्ण समाचार बनाउने वा एकअर्कालाई दोषारोपण गर्ने कुरा होइन।
हामी सबैले बुझ्नैपर्ने एउटा यथार्थ के हो भने, व्यक्तिको मनोविज्ञान स्वतः निर्माण हुँदैन, यो त उसले बाँचेको समाज, राज्य प्रणाली, शासकीय स्वरूपसँग गहिरो रूपमा जेलिएको हुन्छ।
यो त राज्य प्रणाली तथा देशको विद्यमान सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, प्रशासनिक सवालको संरचनागत सुधारका लागि खबरदारीका रूपमा लिन आवश्यक छ।
यस्तो अवस्थामा राज्यको दायित्व आत्मदाहका दुःखद घटना भएपछि उपचार गर्ने, औपचारिकताका लागि छानबिन गर्ने, वा परिवारका लागि भनेर राहत घोषणा गर्नु मात्र हुनै सक्दैन। यस्तो परिस्थितिमा राज्यको पहिलो र महत्त्वपूर्ण दायित्व भनेको प्रत्येक नागरिकलाई त्यस्तो अवस्थासम्म पुग्न नदिनु हो। प्रभावकारी तथा सबल सामाजिक सुरक्षा, प्रत्येक व्यक्तिलाई सम्मानजनक रोजगारी, मानसिक स्वास्थ्य सेवाको पहुँच, सहज न्याय प्रणाली, उत्तरदायी प्रशासन, पारदर्शी सार्वजनिक सेवा, र समुदायमा आधारित सहयोग प्रणाली निर्माण गर्नु दीर्घकालीन समाधानका केही उपायहरू हुन सक्छन्।
जुन राज्यको आधारभूत दायित्व र जिम्मेवारीभित्र पर्दछन्। यसैगरी स्थानीय सरकार, नागरिक समाज, परिवार, सञ्चारमाध्यम र शैक्षिक संस्थाहरूले पनि सामाजिक सम्बन्धलाई पुनः सुदृढ बनाउने गरी कार्यहरू गर्नु आवश्यक छ।
दुर्खाइमका अनुसार समाज बलियो हुँदा व्यक्ति पनि बलियो हुन्छ। समाज सकारात्मक बाटोमा अगाडि बढ्यो भने व्यक्ति पनि त्यस्तै बाटोमा अघि बढ्छ। समाज सकारात्मक भयो भने व्यक्तिमा आशा र नागरिकप्रतिको विश्वास बढ्छ। त्यसैले सामाजिक विश्वास, सामुदायिक सहकार्य र साझा उत्तरदायित्वको पुनर्निर्माण आजको प्रमुख आवश्यकता हो।
यसर्थ, नेपालमा देखिएका आत्मदाहका घटनाहरूलाई केवल व्यक्तिगत मनोवैज्ञानिक समस्याको परिणामका रूपमा मात्र बुझ्नु हुँदैन। यसो गर्दा समस्याको ठूलो हिस्सालाई देख्न सकिँदैन, बुझ्न सकिँदैन।
दुर्खाइमका अनुसार व्यक्तिको मनोविज्ञान समाजभित्रै निर्माण हुन्छ। समाजमा आशा, न्याय, समान अवसर, उत्तरदायी शासन र विश्वास कमजोर बन्दै जाँदा त्यसको प्रभाव व्यक्तिको मानसिक संसारमा पनि पर्छ।
राज्यप्रतिको नागरिक विश्वास दिनदिनै कमजोर हुँदै जाने, देशमा विद्यमान सामाजिक तथा आर्थिक असमानता तथा विभेद गहिरिँदै जाने, राजनीतिक प्रतिबद्धता गर्ने तर व्यावहारिक कार्यान्वयनमा सरकार उदास रहने, प्रशासनिक संरचना कमजोर, सुस्त, उत्तरदायित्वविहीन शोषणमुखी हुने, र सीमान्तकृत समुदायका समस्या वर्षौंसम्म समाधान हुन नसक्ने अवस्था अझै निरन्तर रहिरहने हो भने समाजमा थप निराशा र असन्तुष्टिका जोखिमहरू बढ्न जान्छन्।
‘जेनजी’ ले गत भदौको आन्दोलनमा उठाएका परिवर्तनका आकाङ्क्षापछि पनि शासन प्रणालीले अपेक्षित सुधार दिन नसकेको अनुभूति युवा पुस्तामा अझ बढेर गएको छ। भूमिहीन, सुकुम्बासी, गरिब तथा सेवासुविधाबाट वञ्चित नागरिकका अनुभवहरूले राज्यप्रतिको भरोसालाई चुनौती दिएका छन्।
यसर्थ, आत्मदाहका घटनाहरूलाई कुनै व्यक्तिको मानसिक स्वास्थ्यको कमजोरीका रूपमा मात्र लिनु हुँदैन। आत्मदाहका घटनालाई राज्य, सरकार तथा समग्र समाजले आफैँलाई हेर्नुपर्ने ऐनाका रूपमा लिनुपर्दछ।
यस्ता घटनाहरूले न्यायपूर्ण, उत्तरदायी र समावेशी राज्य निर्माण केवल राजनीतिक नाराको विषय मात्र नभई नागरिकको जीवन, आशा र अस्तित्वसँग जोडिएको हुन्छ भन्ने बुझाउँदछ। जबसम्म राज्य, सरकार, राजनीति, प्रशासन, अर्थतन्त्र र समाजले नागरिकलाई सम्मान, सुरक्षा, न्याय, अवसर र सुन्ने वातावरण प्रदान गर्न असक्षम हुन्छ, तबसम्म निराशाका सङ्केतहरू आत्मदाहबाट दोहोरिइरहन्छन्।
त्यसैले यस्ता घटनाहरूको समाधान व्यक्तिमा केन्द्रित भएर खोजेर मात्र हुँदैन। यसका लागि त प्रत्येक नागरिकलाई आशावादी बनाउने तथा उत्तरदायी सरकारी संयन्त्रहरूको निर्माण गर्नुपर्दछ। हामी सबैले बुझ्नैपर्ने एउटा यथार्थ के हो भने, व्यक्तिको मनोविज्ञान स्वतः निर्माण हुँदैन, यो त उसले बाँचेको समाज, राज्य प्रणाली, शासकीय स्वरूपसँग गहिरो रूपमा जेलिएको हुन्छ।
