प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार

नेपालबाट विभिन्न प्रलोभनमा पारेर भारततर्फ मानिस तस्करी गर्ने गिरोहमाथि अनुसन्धान सुरु भएको छ। भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट पक्राउ परेका व्यक्तिहरूमध्ये पाँच जनामाथि थप अनुसन्धान सुरु गर्दै प्रहरीले ठगीसम्बन्धी मुद्दा दर्ता गरेको छ।
भारतको कुशीनगरबाट उद्धार गरिएका ४ सय ५३ जना नेपाली नागरिकमध्ये केही व्यक्तिहरूको संलग्नता मानव बेचबिखन तथा ठगीको सञ्जालमा देखिएपछि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। उद्धार गरिएका व्यक्तिहरूमध्येबाटै पाँच जनाको भूमिका शंकास्पद देखिएको भन्दै अनुसन्धानलाई तीव्र बनाइएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिनेश कुँवरका अनुसार प्रारम्भिक सोधपुछ, प्राप्त उजुरी तथा संकलित प्रमाणका आधारमा उनीहरूको संलग्नता देखिएकाले ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अनुसन्धान केन्द्रित गरेका व्यक्तिहरूमा डोटीको शिखर नगरपालिका निवासी २३ वर्षीय सिताराम बोहरा, ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका ३० वर्षीय अनिल बुढाथोकी, रोल्पाको मुड्केचुला गाउँपालिकाका २३ वर्षीय अमनलाल बुढा, डोल्पाको ठुलीभेरी नगरपालिका निवासी २१ वर्षीय दिनेश बुढा तथा नवलपुरको कावासोती नगरपालिका निवासी ४५ वर्षीय कमल गिरी रहेका छन्। उनीहरूमाथि ठगी तथा संगठित रूपमा मानिसलाई प्रलोभनमा पारेर भारत लैजाने कार्यमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ।
कुशीनगरबाट उद्धार गरिएका नेपाली नागरिकहरूले आफूहरूलाई आकर्षक रोजगारी, राम्रो आम्दानी तथा छोटो समयमा आर्थिक उन्नति हुने आश्वासन दिई भारतका विभिन्न स्थानमा पुर्याइएको बताएका छन्। उनीहरूले सम्झौताअनुसारको काम, तलब तथा सुविधा नपाएको मात्र नभई कतिपय अवस्थामा मानसिक तथा आर्थिक शोषणसमेत भोग्नुपरेको गुनासो गरेका छन्।
पीडितहरूको भनाइ अनुसार सामाजिक सञ्जाल, चिनजानका व्यक्ति तथा विभिन्न समूहमार्फत सम्पर्क गरेर उनीहरूलाई भारत जान प्रेरित गरिएको थियो। सुरुमा उच्च आम्दानीको आश्वासन दिइए पनि गन्तव्यमा पुगेपछि भने फरक अवस्था सामना गर्नुपरेको उनीहरूको भनाइ छ। कतिपयलाई नेटवर्किङ व्यवसायमा जबरजस्ती संलग्न गराइएको थियो भने कतिपयलाई नयाँ सदस्य भर्ना गर्न दबाब दिइएको आरोप छ।
भारतको कुशीनगरमा सञ्चालन भइरहेको एक नेटवर्किङ कारोबारको आवरणमा नेपाली नागरिकलाई आर्थिक रूपमा शोषण गरिएको सूचनापछि भारतीय सुरक्षा निकाय र नेपाली पक्षको समन्वयमा उद्धार अभियान सञ्चालन गरिएको थियो। सो क्रममा १ सय १५ जना महिला र ३ सय ३८ जना पुरुष गरी कुल ४ सय ५३ जना नेपाली नागरिकलाई उद्धार गरेर भैरहवा ल्याइएको थियो।
उद्धार गरिएकामध्ये अधिकांशलाई आवश्यक सोधपुछ र कागजी प्रक्रिया पूरा गरेपछि घर फर्काइएको छ। प्रहरीका अनुसार १ सय ९ जना महिला र ३ सय २५ जना पुरुषलाई प्रक्रिया पूरा गरी छाडिएको छ। तर घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको हो।
रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक शाहीका अनुसार पछिल्लो समय नेपाली नागरिकलाई विभिन्न बहानामा भारत लगेर नेटवर्किङ कारोबारमा संलग्न गराउने, आर्थिक रूपमा शोषण गर्ने, फिरौती असुल्ने तथा नमानेका व्यक्तिलाई बन्धक बनाउने गतिविधि बढ्दै गएका छन्। यस्ता घटनामा संगठित समूहहरूको संलग्नता हुन सक्ने भएकाले अनुसन्धानलाई फराकिलो बनाइएको उनले बताए।
उनका अनुसार प्रारम्भिक अनुसन्धानले यो घटना केवल ठगीमा सीमित नभई मानव बेचबिखन तथा संगठित अपराधसँग समेत जोडिएको हुन सक्ने संकेत गरेको छ। त्यसैले आर्थिक कारोबार, सम्पर्क सञ्जाल, यात्रा विवरण तथा डिजिटल माध्यमबाट भएका गतिविधिहरूको समेत अध्ययन भइरहेको छ।
मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका अनुसार नेपालमा मानव बेचबिखन तथा ओसारपसारका घटनाहरू अझै चुनौतीपूर्ण अवस्थामा रहेका छन्। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म देशभरबाट ५ सय ४२ जनाको उद्धार गरिएको तथ्यांकले देखाएको छ। उद्धार गरिएकामध्ये ३ सय ७९ जना महिला र १ सय १९ जना बालिका रहेका छन्। अघिल्लो आर्थिक वर्षमा भने कुल ९ सय ३४ जनाको उद्धार गरिएको थियो।
ब्युरोका सूचना अधिकारी राजन लिम्बुका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म महिला, बालिका, बालक तथा पुरुष गरी २ हजार ५ सय ३२ जनाको उद्धार गरिएको छ। सोही अवधिमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा १ हजार ३ सय ६१ जनालाई पक्राउ गरिएको तथ्यांक छ।
पछिल्लो पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी १ हजार ३३ वटा मुद्दा दर्ता गरिएको ब्युरोले जनाएको छ। ती घटनामा पीडित महिलाको संख्या ८ सय २० र बालिकाको संख्या ४ सय ५५ पुगेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मात्रै १ सय १७ जना महिला र ६८ जना बालिकासहित कुल २ सय ४७ जना व्यक्ति मानव बेचबिखन तथा ओसारपसारका कारण पीडित बनेका छन्।
विशेषज्ञहरूका अनुसार बेरोजगारी, गरिबी, वैदेशिक रोजगारीप्रतिको आकर्षण, पर्याप्त जानकारीको अभाव तथा सामाजिक सञ्जालमार्फत फैलाइने भ्रमपूर्ण प्रचारका कारण यस्ता घटनाहरू बढिरहेका छन्। पछिल्लो समय मानव बेचबिखनका स्वरूपहरू पनि परिवर्तन हुँदै गएका छन्।
पहिले प्रत्यक्ष रूपमा श्रम शोषण वा यौन शोषणका घटना बढी देखिने गरे पनि अहिले नेटवर्किङ व्यवसाय, अनलाइन रोजगारी, लगानी योजना तथा आकर्षक व्यापारिक अवसरको नाममा समेत मानिसहरूलाई फसाउने प्रवृत्ति बढेको छ।
सुरक्षा निकायले कुनै पनि रोजगारी, लगानी वा व्यवसायिक अवसरको प्रस्ताव प्राप्त भएमा त्यसको सत्यता सम्बन्धित सरकारी निकायबाट बुझ्न आग्रह गरेको छ। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति, आधिकारिक म्यानपावर कम्पनी तथा कानुनी प्रक्रिया पूरा नगरी विदेश वा सीमापारका क्षेत्रमा जान नहुने चेतावनी पनि दिइएको छ।
प्रहरीले मानव बेचबिखन तथा ठगीमा संलग्न गिरोहविरुद्ध कारबाहीलाई थप प्रभावकारी बनाउने जनाएको छ। कुशीनगर घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा पहिचानको काम जारी रहेको र अनुसन्धानबाट थप तथ्यहरू खुल्ने अपेक्षा गरिएको छ।
यो घटनाले रोजगारी र आर्थिक समृद्धिको सपना देखाएर सर्वसाधारणलाई जालमा पार्ने संगठित गिरोहहरू अझै सक्रिय रहेको तथ्य उजागर गरेको छ। खुला सीमाको दुरुपयोग गर्दै सञ्चालन हुने यस्ता गतिविधि नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा निकायबीच थप समन्वय आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
मानव बेचबिखन तथा ठगीविरुद्धको अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय, स्थानीय तह, नागरिक समाज र सर्वसाधारण सबैको साझा सतर्कता आवश्यक रहेको विज्ञहरूले बताएका छन्।
