News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले २४० निर्वाचन क्षेत्रबाट केवल ७ सिट मात्र जितेको छ र पार्टी आकार २०४८ सालको स्तरमा झरेको छ।
- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र अन्य नेताहरुले पनि पराजय बेहोरेका छन्, काठमाडौं लगायतका क्षेत्रहरुमा नेकपाका उम्मेदवारहरु कमजोर प्रदर्शन गरेका छन्।
- नेकपाको मत प्रतिशत ७.३९ प्रतिशतमा सीमित रहँदा, पार्टीले १३९ क्षेत्रहरुमा दोस्रो स्थान पनि प्राप्त गर्न सकेको छैन।
२६ फागुन, काठमाडौ । १८ वर्षअघि ६०१ सदस्यीय संविधानसभामा छिर्दा पुष्पकमल दाहाल प्रचण्डसँग आफूसहित २४० सभासद थिए ।
०६४ को चुनावमा कांग्रेस, एमाले निकै ठूलो अन्तरसहित क्रमश: दोस्रो, तेस्रो बनेका थिए । तिनलाई हेर्दै प्रचण्ड शानका साथ गर्जन्थे, ‘हरुवाहरु ।’
जेनजी विद्रोहपछिको चुनावमा थुप्रै पार्टी अध्यक्षहरु हार्दैगर्दा प्रचण्डका गलामा मालैमाला छन् । उनले विजयको बधाई थाप्दैगर्दा पार्टी भने करिब ०४८ कै चुनावको जत्रो साइजमा खस्किएको छ ।
माओवादीसहित दुई दर्जन पार्टी मिलाएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक बनेका प्रचण्डलाई युद्धकालदेखि साथ दिँदै आएका, तर पछिल्ला दिनमा बेमेल भोगिरहेका सारथिहरु भन्छन्– यो चुनाव परिणामपछि उनी बधाईका लायक छैनन् ।
सुदन किराती भन्छन्, ‘हामी २४० सभासदलाई नेतृत्व गरेर संविधान सभामा छिर्नु भएको कमाण्डर अहिले सात जनाको नेता भएर संसद भवन जाँदै हुनुहुन्छ । यो उहाँको भयंकर हार हो ।’
किरातीले भनेझैं जेनजी आन्दोलनपछि दुई दर्जन पार्टीहरुसँग एकता गरेर बनेको नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ केवल ७ सिट जित्यो । धनुषा–१ को विवादित निर्णय स्वीकार्ने हो भने थप एक सिट बढी हुन आउँछ ।
सर्वत्र रक्षात्मक हुँदै जाँदा प्रचण्डले पार्टीको प्रभाव क्षेत्र खोज्दै रुकुम पूर्व पुगे । हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्दै हिडेका प्रचण्डले रोल्पा, काठमाडौं–१०, सिरहा–५, चितवन–३ र गोरखा–२ बाट जितेका थिए ।
यसपटक निर्वाचन जित्न उनी रुकुम पूर्व पुगे ।
मत माग्दा देखिएका दृश्यहरुले उनलाई त्यहाँ पनि निर्वाचन जित्न कुन तहको सास्ती खेप्नु पर्यो भन्ने सहज अनुमान लगाउन सकिन्थ्यो । यद्यपि रास्वपाको तुलनात्मक कम प्रभाव देखिएको यो क्षेत्रबाट प्रचण्डले जितेका छन् ।
१० हजार २४० मत ल्याएर प्रचण्डले जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कमलमणि गौतम भए । गौतमले ३ हजार ४६२ मत पाए । कांग्रेसका कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएर तेस्रो बन्दा रास्वपाका लखनकुमार थापाले जम्मा ८१९ मत मात्र पाएर चौथो भए ।
यो पार्टीका सहसंयोजक रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले असाध्यै नराम्रो पराजय बेहोरे । रौटहट–१ बाट उम्मेदवार बनेका नेपाल चौथो भए । रास्वपाका राजेशकुमार चौधरीले २८ हजार ९४६ मत ल्याएर जित्दा माधव नेपालले ७ हजार ६६९ मत मात्र पाए । उनी भन्दा धेरै मत ल्याउनेमा एमालेका अजयकुमार गुप्ता (१०,६९३) र कांग्रेसका अनिलकुमार झा (८,५७४) छन् ।
यो क्षेत्रबाट माधव नेपालले दोस्रोपटक पराजय बेहोरेका हुन् । माओवादीको लहर चलेको २०६४ सालमा यही क्षेत्र (रौतहट–१) बाट पराजित हुँदा उनले एमालेको महासचिव पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
प्रचण्डलाई विगतमा साथ दिएका सुदन किराती भन्छन् : ‘हामी २४० सभासदलाई नेतृत्व गरेर संविधान सभामा छिर्नु भएको कमाण्डर अहिले सात सांसदको नेता हुनुभएको छ । यो उहाँको भयंकर हार हो ।’
०७० सालको निर्वाचनमा भने माधव नेपालले रौटहट–१ र काठमाडौं–२ बाट जिते । तर यसपटक रौटहट–१ को भन्दा पनि दयालाग्दो नतिजा काठमाडौं–२ मा आयो । काठमाडौ–२ मा रास्वपाका सुनिल केसीले ३४ हजार २३८ मत ल्याएर जित्दा पाँचौ स्थानमा रहेका नेकपा उम्मेदवार नितेश पौडेलले १ हजार ९१२ मत मात्र पाए । जबकि यो क्षेत्रबाट माधव नेपालले पटकपटक जित्दै आएका थिए ।
काठमाडौंका अरु निर्वाचन क्षेत्रमा पनि नेकपाका उम्मेदवारहरुले लज्जास्पद नतिजा पाएका छन् । काठमाडौं १ मा मेनुका भण्डारीले ३४५ (सातौ), ३ मा निरज लामाले ५१८ (छैठौ), ४ मा इन्द्र कुमार भुसालले ६५७ (सातौंं) र ५ मा कल्पना शर्माले ५७४ (सातौं) मत पाएका छन् । अर्थात् नेकपाका यी उम्मेदवारहरुले आफ्नो क्षेत्रमा हजार मत पनि पुर्याउन सकेका छैनन् ।
पछिल्लो दिनमा पार्टी प्रवेश गरेर ल्याइएका सुमन सायमीले ३ हजार २१७ मत ल्याएर ८ नम्बर क्षेत्रमा दोस्रो हुनु नै काठमाडौंमा नेकपाका लागि खुशीको समाचार बन्न पुग्यो । यसबाहेक काठमाडौं–६ मा हिमाल शर्माले १,२६० (पाँचौ), ७ मा वसन्त मानन्धरले ३,६६७ (तेस्रो), ९ मा राधा कृष्ण महर्जनले १,३२८ (छैटौं) र १० मा रुपा महर्जनले २,६४८ (चौथो) मत ल्याएर पराजय बेहोरे ।
राजधानी काठमाडौंको नतिजा नेकपाका उम्मेदवारहरूले बेहोरेको पराजय देखाउने उदाहरण मात्र हो । १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपाले १७ क्षेत्रमा मात्रै दोस्रो हुन सक्यो । यी मध्ये १० क्षेत्रमा रास्वपा, ६ क्षेत्रमा कांग्रेस र एक क्षेत्रमा राप्रपासँग नेकपाका उम्मेदवार दोस्रो भए ।

रास्वपाले जितेको चितवन–३ मा रेणु दाहाल, सर्लाही–३ मा नारायणकाजी श्रेष्ठ, सिन्धुली–२ मा लेखनाथ दाहाल, सर्लाही–२ मा महिन्द्र राय यादव, कैलाली–३ मा वीरमान चौधरी, कञ्चनपुर–१ मा बीना मगर, सिरहा–४ मा अजयशंकर नायक, महोत्तरी–१ मा गिरिराजमणि पोखरेल, सिन्धुपाल्चोक–१ मा माधव सापकोटा र काठमाडौ–८ मा सुमन सायमी दोस्रो भए ।
कांग्रेसले जितेको रौतहट–२ मा किरणकुमार साह, जाजरकोटमा शक्ति बस्नेत, सोलुखम्बुमा असिम राई, अछाम–१ मा भीम रावल, हुम्लामा दीपेन्द्र रोकाया र मनाङमा यशोदा गुरुङ दोस्रो भएका छन् । राप्रपाका ज्ञानेन्द्र शाहीले दोहोरिएर जितेको जुम्लामा नेकपाका नरेश भण्डारी दोस्रो भए ।
अर्थात नेकपाका १३९ उम्मेदवार दोस्रो पनि हुन सकेनन् । धेरैजसो उम्मेदवार चौथो/पाँचौ भन्दा तल छन् । नेकपाले जितेको क्षेत्र विश्लेषण गर्दा अधिकांश हिमाली र उच्च पहाडी हो । जहाँ रास्वपाको प्रभाव थिएन ।
प्रदेशगत हिसाबले हेर्दा कोशी, गण्डकी, सुदूरपश्चिम र मधेश (धनुषा–१ बाट मातृका यादवले मान्यता पाएनन् भने) मा नेकपा क्लिन स्वीप भयो ।
नेकपाले सवैभन्दा बढ्ता सांसद कर्णालीबाट ल्यायो । रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेश मल्ल, कालीकोटबाट महेन्द्रबहादुर शाही र डोल्पाबाट धनबहादुर बुढाले जितेका छन् । लुम्बिनीका रोल्पाबाट वर्षमान पुन र रुकुम पूर्वबाट प्रचण्डले जिते । बागमतीमा निर्वाचन जित्ने युवराज दुलाल एक्लो नेकपा उम्मेदवार भए । उनले सिन्धुपाल्चोक–२ बाट जितेका छन् ।
प्रत्यक्षतर्फ जितेको संख्या तुलना गर्दा प्रचण्ड नेतृत्वको पार्टी २०४८ साल नजिक पुगेको छ । ‘इतिहासको एउटा चक्र पुरा गरेर कमरेड प्रचण्ड पराजित हुनुभयो,’ पूर्वमन्त्री सुदन किराती भन्छन्, ‘आफूले निर्वाचन क्षेत्रमा जितेको भए पनि नेताका रुपमा उहाँले जित्नुभएन । उहाँ भयंकर पराजय भोगिरहनुभएको छ ।’
२०४८ सालको निर्वाचनमा संयुक्त जनमोर्चाले २०५ सिटमध्येबाट ९ सिट जितेको थियो । ११४ सिट सहित कांग्रेसले बहुमत ल्याएको त्यो निर्वाचनमा ६८ सिट सहित एमाले दोस्रो र संयुक्त जनमोर्चा तेस्रो थियो । त्यही संयुक्त जनमोर्चा आज नेकपाका रूपमा अस्तित्वमा छ, र यो निर्वाचनबाट इतिहासमै पहिलोपटक चौथो राजनीतिक शक्तिमा धकेलिएको छ ।
थामिएन ओरालो यात्रा
प्रत्यक्ष तर्फको सिट संख्याका आधारमा मात्र नभएर प्रचण्ड नेतृत्वको पार्टी जनमत (मत प्रतिशत) का आधारमा पनि २०४८ सालकै अवस्था नजिक पुगेको छ । समानुपातिक तर्फ (पार्टी मत) को मत गणना अन्तिम चरणमा पुग्दा नेकपाले ७ लाख ७८ हजार … (७.३९ प्रतिशत) मत पाएको छ ।
२०४८ सालमा संयुक्त जनमोर्चाका उम्मेदवारहरुले पाएको मत ३ लाख ५१ हजार ९०४ (४.८३ प्रतिशत) थियो । २०५१ र २०५६ को निर्वाचनमा भने यो पार्टीले भाग लिएको थिएन । पार्टी नाम माओवादी राखेर २०५२ फागुन १ गतेदेखि दश वर्ष सशस्त्र विद्रोह गरेको थियो ।
०६२/०६३ सालको जनआन्दोनबाट राजतन्त्रकै अन्त्य भएपछि शान्ति सम्झौतामा आएको माओवादी मुलुकको सवभन्दा ठूलो शक्ति बनेको थियो । २४० निर्वाचन क्षेत्र मध्ये आधा (१२० सिट) जितेको माओवादीले समानुपातिकतर्फ ३१ लाख ४४ हजार २०४ (२९.२८ प्रतिशत) मत ल्याउदा थप १०० सिट पाएको थियो ।

तर त्यसपछि माओवादीको जनमत निरन्तर ओरालो छ । २०७० सालमा सम्पन्न दोस्रो संविधान सभामा माओवादी तेस्रो शक्ति बन्यो । प्रत्यक्ष तर्फ २६ सिट जितेको माओवादीले समानुपातिक मत १४ लाख ३९ हजार ७२६ (१५.२१ प्रतिशत) ल्यायो । दुवैतर्फ गरी माओवादीको आकार ८३ सिटको बन्यो ।
२०७४ र ०७९ को निर्वाचनमा पनि माओवादी तेस्रो भयो । वाम गठबन्धन भएको ०७४ को निर्वाचनमा प्रत्यक्ष तर्फ ३६ सिट जितेपनि समानुपातिक मत अघिल्लो निर्वाचन भन्दा घट्यो । समानुपातिक तर्फ १३ लाख ३ हजार ७२१ (१३.६६ प्रतिशत) ल्याएको माओवादीले १७ सिट पायो । पार्टीको आकार ५३ सिटको थियो ।
०७९ मा माओवादीले कांग्रेस नेतृत्वको गठबन्धनबाट निर्वाचन लड्यो । पार्टीको आकार झनै खुम्चियो । यो निर्वाचनबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सिटको पार्टी बन्यो । रास्वपासँग हाराहारी मत ल्याएको माओवादीले यो निर्वाचनमा समानुपातिक तर्फ ११ लाख ७५ हजार ६८४ (११.८८ प्रतिशत) मत ल्याएको थियो ।
२३–२४ भदौको जेनजी आन्दोलनपछि भने माओवादी विघटन गरी प्रचण्डले एकीकृत समाजवादी सहित दुई दर्जन पार्टीहरु मिलाएर नेपाली कम्युनिष्ट पार्टी बनाएका थिए । उक्त पार्टीको आकार भर्खरै खुलेको हर्क साम्पाङको श्रम संस्कृति भन्दा केही ठूलो मात्र हुने पक्का भएको छ ।
