प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार

क्यानडाको एक विद्यालयमा भएको सामूहिक गोलीकाण्डमा गम्भीर घाइते भएकी बालिकाको परिवारले च्याटजीपीटी निर्माता ओपनएआईविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ। परिवारले आक्रमणको योजना बनाइरहेको संदिग्धबारे कम्पनीलाई जानकारी हुँदाहुँदै पनि प्रहरीलाई खबर नगरेको आरोप लगाएको छ।
गत १० फेब्रुअरीमा टम्बलर रिजमा भएको आक्रमणमा १२ वर्षीया माया गेबालालाई घाँटी र टाउकोमा गोली लागेको थियो। उनी अहिले पनि अस्पतालमा उपचाररत रहेको बताइएको छ।
उक्त घटनामा पाँच जना साना बालबालिका र संदिग्धकी आमासहित आठ जनाको मृत्यु भएको थियो, जसलाई क्यानडाको इतिहासकै घातक गोलीकाण्डमध्ये एक मानिएको छ।
माया गेबालाकी आमा सिया एडमण्ड्सले दायर गरेको नागरिक मुद्दामा १८ वर्षीया संदिग्ध जेसी भान रूटसेलारले १८ वर्ष नपुग्दै च्याटजीपीटीमा खाता खोलेको आरोप लगाइएको छ। अभिभावकको सहमतिमा यस्तो गर्न सकिने भए पनि वेबसाइटमा उमेर प्रमाणीकरण गरिएको थिएन भन्ने दाबी गरिएको छ।
मुद्दामा भनिएको छ, संदिग्धले च्याटबोटलाई “विश्वासिलो साथी” जस्तो मानेर सन् २०२५ को वसन्तको अन्त्यतिर बन्दुक हिंसासम्बन्धी विभिन्न सम्भावित घटनाका बारेमा विस्तृत रूपमा वर्णन गरेकी थिइन्।
मुद्दाका अनुसार ओपन एआईका १२ कर्मचारीले ती सन्देशहरूलाई “अरूलाई गम्भीर हानि पुर्याउने सम्भावित जोखिम” भन्दै चिन्हित गरेका थिए र क्यानडाली प्रहरीलाई जानकारी दिन सिफारिस गरेका थिए। तर, प्रहरीलाई खबर नगरिएको र केवल संदिग्धको खाता बन्द गरिएको दाबी गरिएको छ।
यसअघि ओपनएआईले भने उक्त खाता अरूलाई तत्काल गम्भीर शारीरिक हानि पुर्याउने स्पष्ट योजना भएको मापदण्डमा नपुगेको भन्दै प्रहरीलाई सूचना नदिएको जनाएको थियो।
मुद्दामा खाता बन्द भएपछि पनि संदिग्धले अर्को नयाँ च्याटजीपीटी खाता खोलेर बन्दुक हिंसासम्बन्धी योजनाबारे कुराकानी जारी राखेको आरोप लगाइएको छ।
परिवारका अनुसार पुस्तकालयको ढोका बन्द गरेर आक्रमणकारीलाई रोक्न खोज्दा माया गेबालामाथि तीन पटक गोली प्रहार गरिएको थियो, जसका कारण उनलाई गम्भीर मस्तिष्क चोट लागेको छ।
यस विषयमा प्रतिक्रिया दिँदै ओपनएआईले घटनालाई “अकल्पनीय त्रासदी” भन्दै पीडित, उनीहरूको परिवार र समुदायप्रति सहानुभूति व्यक्त गरेको छ। कम्पनीले भविष्यमा यस्ता घटना रोक्न सरकार र कानुन कार्यान्वयन निकायसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।