प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार

क्यानडाको टोरन्टोस्थित अमेरिकी वाणिज्य दूतावास नजिकै गोली चलेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ। टोरन्टो प्रहरीका अनुसार घटनास्थलमा बन्दुक चलाइएको प्रमाण फेला परेको छ।
टोरन्टो प्रहरी अपरेसन शाखाले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै स्थानीय समय अनुसार बिहान ५ः३० बजेभन्दा केहीअघि गोली चलेको सूचना प्राप्त भएको जनाएको छ। घटनामा हालसम्म कोही पनि घाइते भएको खबर आएको छैन भने कुनै संदिग्ध व्यक्तिको पहिचान पनि हुन सकेको छैन।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले अमेरिकी वाणिज्य दूतावास वरपरका सडकहरू बन्द गरी सुरक्षा कडा बनाएको छ।
यसैबीच, नर्वेको राजधानी ओस्लोस्थित अमेरिकी दूतावास बाहिर आइतबार भएको विस्फोटको पनि नर्वे प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले उक्त विस्फोट सम्भावित आतंकवादी गतिविधि हुनसक्ने आशंका गर्दै संदिग्ध व्यक्तिको खोजी गरिरहेका छन्।
ओन्टारियोका प्रिमियर डग फोर्डले टोरन्टोमा भएको गोलीकाण्डलाई “अमेरिकी मित्र तथा छिमेकीहरूलाई लक्षित पूर्ण रूपमा अस्वीकार्य हिंसात्मक र डर देखाउने कार्य” भन्दै निन्दा गरेका छन्। उनले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले सबै स्रोत प्रयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
फेब्रुअरी २८ देखि अमेरिका–इजरायलको इरानविरुद्धको कारबाही सुरु भएपछि टोरन्टोका केही भवनहरूमा गोली प्रहार भएका घटनाहरू पनि सार्वजनिक भएका छन्। पछिल्लो एक सातामा शहरका तीन वटा यहूदी धार्मिक स्थल (सिनागोग) मा समेत गोली प्रहार भएको रिपोर्ट आएको छ।
यद्यपि यी घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्नेबारे प्रहरीले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन।