प्रकाशित मिति : २२ असार २०८३, सोमबार
फोटो :एपी/रासस
बेल्जियम फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सह-आयोजक अमेरिकालाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो। अब सेमिफाइनल प्रवेशका लागि बेल्जियमले स्पेनको सामना गर्नेछ।
सिएटल स्टेडियममा उपस्थित झन्डै ६७ हजार दर्शकका अगाडि अमेरिकाले बेल्जियमसँग पराजित हुँदै विश्वकपको आफ्नो यात्रा टुङ्ग्याएको हो। खेलमा बेल्जियमका लागि युवा स्टार चार्ल्स डे केटेलारेले उत्कृष्ट प्रदर्शन गरे।
खेलको नवौँ मिनेटमा निकोलस रास्किनको पासलाई सदुपयोग गर्दै डी केटलारेले गोल गरेर बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ३१ औँ मिनेटमा अमेरिकाले खेललाई बराबरीमा ल्यायो। मलिक टिलम्यानले प्रहार गरेको फ्रि-किक बेल्जियमका खेलाडी हान्स भानकेनलाई लाग्दै दिशा परिवर्तन भएर गोलमा परिणत भएको थियो।
अमेरिकाले बराबरी गरेको दुई मिनेट पनि बित्न नपाउँदै बेल्जियमले फेरि अग्रता लियो। लियान्द्रो ट्रोसार्डको क्रसमा डी केटलारेले हेडमार्फत उत्कृष्ट गोल गर्दै स्कोर २–१ बनाए।
दोस्रो हाफमा अमेरिकी गोलकिपर म्याट फ्रिजको गल्ती बेल्जियमका लागि उपहार साबित भयो। फ्रिजले बल क्लियर गर्न ढिलाइ गर्दा डी केटलारेले उनीबाट बल खोसे र सोही बलमा हान्स भानकेनले पेनाल्टी बक्सबाहिरबाट प्रहार गर्दै बेल्जियमका लागि तेस्रो गोल गरे।
खेलको इन्जुरी समय (९३औँ मिनेट) मा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका रोमेलु लुकाकुले प्रहार गर्दै चौथो गोल थपे र बेल्जियमको ४–१ को जित निश्चित गरे।
यसअघि मेक्सिको र क्यानडा पराजित भई बाहिरिसकेकाले प्रतियोगितामा बाँकी रहेको एक मात्र आयोजक राष्ट्र अमेरिका थियो। माउरिसियो पोचेटिनोको प्रशिक्षणमा रहेको अमेरिकी टोली सन् २००२ पछि पहिलो पटक क्वार्टरफाइनल पुग्ने लक्ष्यमा भए पनि घरेलु दर्शकमाझ सोचेजस्तो प्रदर्शन गर्न सकेन।
अब बेल्जियमले शुक्रबार लस एन्जलसमा हुने क्वार्टरफाइनलमा स्पेनको सामना गर्नेछ। स्पेनले यसअघि पोर्चुगललाई १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। योसँगै आयोजक तीनवटै देशको विश्वकप यात्रा टुङ्गिएको छ। प्रतियोगिताअन्तर्गत आज राति अर्जेन्टिना र इजिप्ट तथा कोलम्बिया र स्विट्जरल्याण्ड आमनेसामने हुनेछन्।