प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार
फोटो: एपी/रासस
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिको विजयी भएको छ। दक्षिण अफ्रिकालाई पराजित गर्दै फिफा विश्वकप २०२६ मा घरेलु टोली मेक्सिकोले सुखद सुरुआत गरेको हो।
मेक्सिको सिटीस्थित एस्टेका रंगशालामा भएको खेलमा मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे।
उत्कट प्रतिस्पर्धात्मक रहेको खेलको ४९औँ मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा खुम्चियो। यस्तै, इन्जुरी समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड खाँदै मैदान छाडेका थिए।
उद्घाटन खेलमै कुल तीन जना खेलाडीले रातो कार्ड पाएको यो खेलमा जित निकाल्दै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण ३ अङ्क बटुलेको छ।
यस जितसँगै मेक्सिकोले विश्वकपको आफ्नो पछिल्ला ८ वटा उद्घाटन खेलहरूमा अपराजित रहने कीर्तिमान कायम राखेको छ। जसमा ६ जित र २ बराबरी समावेश छन्।
