विदेशीसँग नेपालीको विवाह बढ्दो: ५० वर्षसम्मको अन्तर, कानुनी सहजता कि दुरुपयोग?



प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार

नेपालको पोखरामा एक दुलहीको हातमा परम्परागत मेहेन्दी । फोटो: सिप्पाकोर्न यामकासिकोर्न / अनस्प्ल्याश

“विवाह कहिले र कोसँग हुन्छ?” भन्ने प्रश्नको ठ्याक्कै उत्तर सधैं सहज हुँदैन। केही दिनअघि काठमाडौंको कालिकास्थित अध्यागमन विभागमा भिसा थप गर्न एक जोडी पुगे। ७२ वर्षीय अस्ट्रेलियन नागरिक आफ्नो बसाइ अवधि थप गर्न आएका थिए। उनीसँग करिब २४ वर्षकी नेपाली युवती थिइन्। काठमाडौं जिल्ला अदालतबाट जारी विवाह दर्ता प्रमाणपत्रसहित आएका उनीहरूको जोडी पहिलो नजरमै असामान्य देखिन्थ्यो।

अध्यागमन विभागमा दैनिकजसो यस्ता विदेशी–नेपाली जोडीहरू आउने गरेका छन्, जसमा ठूलो उमेर अन्तर देखिन्छ। विवाह व्यक्तिगत विषय भए पनि विभागका कर्मचारीहरूका अनुसार ३०–३५ वर्षसम्मको उमेर अन्तर सामान्यजस्तै हुन थालेको छ। कतिपय अवस्थामा ४५–५० वर्षसम्मको अन्तर पनि देखिने गरेको उनीहरू बताउँछन्।

नेपालको अध्यागमन विभागमा भिसा स्टीकर लगाउँदै एक अधिकारी । फोटो : दीपेन्द्र ढुंगाना

२०२५ मा १,६०६ नेपालीले विदेशी नागरिकसँग विवाह

अध्यागमन विभागका अनुसार सन् २०२५ मा १,६०६ नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेका छन्। तीमध्ये सबैभन्दा धेरै अमेरिकाका नागरिकसँग विवाह भएका छन्।

सो वर्ष अमेरिकाबाट १८५ जनाले ‘म्यारिज भिसा’ प्राप्त गरेका छन्। त्यसपछि जापान (९८), यूके (८७), चीन (५६), फिलिपिन्स (४८), अस्ट्रेलिया (३८), क्यानडा (३२), जर्मनी (२८), थाइल्याण्ड (२५), दक्षिण कोरिया (१८), रूस (१७), फ्रान्स (१६), इन्डोनेसिया (१२), म्यानमार (१२), ताइवान (१०), न्यूजिल्यान्ड (१०), पाकिस्तान (८), सिंगापुर (८), बंगलादेश (७) तथा स्पेन र पोल्यान्ड (७/७) रहेका छन्।

२०२६ मा पनि प्रवृत्ति जारी

यो समाचार तयार पार्दासम्म सन् २०२६ को सुरुवाती महिनामै ६११ जनाले म्यारिज भिसा प्राप्त गरिसकेका छन्।

यस अवधिमा अमेरिकाबाट १०८, यूके ६८, जापानबाट ४८, फिलिपिन्सबाट ४५, चीनबाट ३२, अस्ट्रेलियाबाट २५, जर्मनीबाट १८, थाइल्याण्डबाट १७, फ्रान्सबाट १६, रूसबाट १५, क्यानडाबाट १४, दक्षिण कोरियाबाट १२, बंगलादेशबाट १०, इटालीबाट ९, इन्डोनेसिया (९), पोर्चुगल (८), पाकिस्तान (८), स्पेन (६), नेदरल्यान्ड्स (६) तथा भुटान र मलेसिया (५/५) छन्।

नेपालको अध्यागमन विभागमा भिसा जारी र नविकरणका काम गर्दै अधिकारीहरु । फोटो: दीपेन्द्र ढुंगाना

कानुनी प्रक्रिया र चुनौती

हाल लागू मुलुकी देवानी संहिता, २०७४ अनुसार विवाहमा उमेर अन्तरको कुनै कानुनी सीमा छैन। विवाह दर्ताका लागि विदेशी नागरिकले आफ्नो देशको दूतावास वा कन्सुलेटबाट जारी ‘नो अब्जेक्सन’ पत्र, राहदानीको प्रमाणित प्रतिलिपि, नेपालमा कम्तीमा १५ दिन बसेको प्रमाण, आफ्नो देशको विवाहसम्बन्धी कानुनको नेपाली अनुवाद (नोटराइज्ड) तथा आवश्यक परे सम्बन्ध विच्छेद वा मृत्यु प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रस्तुत कागजातका आधारमा अदालतले विवाह दर्ता गर्ने गर्दछ। तर विदेशीसँग विवाह गर्ने नेपालीहरूको एकीकृत तथ्यांक राख्ने प्रणाली अझै प्रभावकारी बन्न नसकेको उनले बताए।

अदालतहरूबीच डाटा सेयरिङ अभाव र अभिलेख व्यवस्थापनको कमजोरीका कारण यस्ता विवाहको यकिन संख्या निकाल्न कठिन रहेको अधिकारीहरू बताउँछन्।

उमेर अन्तर र सामाजिक दृष्टिकोण

विभागका अनुसार धेरैजसो केसमा विदेशी पुरुषको उमेर ५५ देखि ७५ वर्षसम्म र नेपाली महिलाको उमेर २२ देखि ३५ वर्षबीच हुने गरेको छ।

कानुनमा उमेर अन्तरको बन्देज नहुँदा र आर्थिक तथा परनिर्भरताका कारण विदेशीसँग विवाह गर्ने क्रम बढे पनि यसले डिभोर्सको जोखिम निम्त्याउन सक्ने अधिवक्ता भगवती पाण्डेको विश्लेषण छ। उनी भन्छिन्— “२०७४ को देवानी संहितामा उमेर अन्तरबारे कानुनी बन्देज त छैन, तर सांस्कृतिक र पारिवारिक कुरा नमिल्दा भविष्यमा डिभोर्स हुने सम्भावना उत्तिकै रहन्छ।”

अधिवक्ता भगवती पाण्डे भन्छिन्, “२०७२ सालको संशोधनपछि उमेर अन्तरसम्बन्धी कानुनी सीमा हटाइएपछि यस्ता विवाहमा वृद्धि भएको हुन सक्छ।” आर्थिक अस्थिरता, अवसरको अभाव र विदेशमा छिट्टै बसोबास गर्ने चाहनाले पनि यस्तो निर्णयलाई प्रभावित गरेको उनको भनाइ छ। उनले यस्ता सम्बन्धमा सांस्कृतिक र पारिवारिक असमानताका कारण भविष्यमा सम्बन्ध विच्छेदको जोखिम पनि रहने औंल्याइन्।

समाजशास्त्री टिकाराम गौतमका अनुसार नेपाली समाजमा छिटो विवाह गर्ने चलन छ भने विदेशीहरू प्रायः ढिलो विवाह गर्ने भएकाले उमेर अन्तर बढी देखिएको हो। उनका अनुसार यस्ता सम्बन्धहरू व्यक्तिगत निर्णय भए पनि भाषा, संस्कृति र जीवनशैलीका भिन्नताले दीर्घकालीन स्थायित्वमा चुनौती आउन सक्छ।

प्रेम कि भिसा?

केही सम्बन्धमा वास्तविक प्रेम र समझदारी देखिए पनि धेरै अवस्थामा भिसा, बसाइ र विदेश जाने उद्देश्य प्रमुख कारण हुनसक्ने आशंका अधिकारीहरूको छ। विशेषतः अमेरिका, अस्ट्रेलिया, यूके, जापान र जर्मनीबाट आउने नागरिकसँग यस्ता विवाह बढी देखिन्छन्।

कानुनी रूपमा विवाह दर्ता भएपछि म्यारिज भिसा प्रदान गर्नुपर्ने व्यवस्था छ। यस्तो भिसा प्रारम्भमा ६ महिनाका लागि दिइन्छ र त्यसपछि निश्चित शुल्कमा नवीकरण गर्नुपर्छ। म्यारिज भिसामा बसेका विदेशी नागरिकलाई नेपालमा काम गर्न अनुमति छैन। नियम उल्लंघन गरेमा जरिवाना, भिसा रद्द तथा देश निकाला सम्मको कारबाही हुन सक्छ।

अध्यागमन विभागका अनुसार सीमित संख्यामा भए पनि म्यारिज भिसामा बसेर काम गर्ने वा व्यवसाय सञ्चालन गर्ने घटनाहरू भेटिएका छन्।

नेपालको अध्यागमन विभागमा सेवाग्राहीहरु । फोटो: दीपेन्द्र ढुंगाना

बढ्दो प्रवृत्तिमा चासो

अधिकारीहरूका अनुसार विदेशीसँग विवाह गर्ने क्रम हरेक वर्ष बढ्दो छ। उमेर अन्तर अत्यधिक भएको र त्यसको पछाडि बसोबास वा भिसा उद्देश्य देखिँदा यसले सामाजिक र प्रशासनिक तहमा प्रश्न उठाएको छ।

प्रेम व्यक्तिगत स्वतन्त्रताको विषय भए पनि कानुनी र सामाजिक यथार्थलाई नजरअन्दाज गर्न नमिल्ने सरोकारवालाहरू बताउँछन्। यस्ता विवाहप्रति सम्बन्धित निकायहरूले थप निगरानी र अध्ययन आवश्यक रहेको उनीहरूको धारणा छ।





Source link

Leave a Comment

Translate »