अमेरिकामा बसेर नेपाली राजनीतिक दलमा आवद्ध हुँदा  लाग्न सक्छ ‘फारा’ कानुन: जेल सजाय र जरिवाना



प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार


अमेरिकामा रहेर नेपालका राजनीतिक दलहरुमा काम गर्ने नेपालीहरुको संख्या उल्लेख्य छ । प्रवासमा रहेर आफ्नो मातृभूमिको राजनीतिमा सक्रिय हुन पाउनु लोकतान्त्रिक अधिकार जस्तो लागे पनि अमेरिकी भूमिमा बसेर विदेशी राजनीतिक दलका लागि काम गर्दा अमेरिकाको कानुनी दायरा र संवेदनशीलतालाई बुझ्नु अनिवार्य हुन्छ।

यदि कुनै अमेरिकी नागरिक वा अमेरिकामा रहेका व्यक्तिले कोष संकलन वा राजनीतिक सहयोगमा संलग्न हुने लगायत कुनै विदेशी राजनीतिक दलको “एजेन्ट” को रूपमा काम गरेमा उनीहरूले अमेरिकी कानून मन्त्रालयमा दर्ता गर्नु आवश्यक हुन्छ। यदि उनीहरूले दर्ता नगरेमा गम्भीर कानुनी परिणामको सामना गर्नुपर्ने हुन सक्छ।

यो व्यवस्था विदेशी एजेन्ट दर्ता ऐन (फारा) अन्तर्गत स्थापित गरिएको हो, जसले विदेशी प्रभावबारे पारदर्शिता सुनिश्चित गर्न विदेशी राजनीतिक दल वा संस्थाको तर्फबाट काम गर्ने एजेन्टहरूलाई अनिवार्य रूपमा दर्ता गर्न माग गर्छ। कानुनअनुसार यस्तो गतिविधिमा संलग्न भएको १० दिनभित्र एजेन्टले दर्ता गर्नुपर्छ र आफ्नो आर्थिक कारोबार तथा गतिविधिको विवरण नियमित रूपमा बुझाउनुपर्छ।

कानून व्यवसायी केशवराज सेडाई भन्नुहुन्छ, “यदि तपाईंले नेपालको कुनै राजनीतिक दल वा उम्मेदवारको ‘निर्देशन, अनुरोध वा नियन्त्रणमा’ रहेर काम गर्नुहुन्छ भने तपाईंले आफूलाई ‘विदेशी एजेन्ट’ को रूपमा कानून मन्त्रालयमा दर्ता गर्नुपर्छ। तपाईंले सित्तैमा स्वयंसेवक भएर काम गरे पनि यदि त्यो काम विदेशी राजनीतिक शक्तिसँगको समन्वयमा छ भने तपाईं फाराको दायरामा पर्नुहुन्छ।”

दर्ता नगरी यस्तो काम गरेमा यो संघीय अपराध मानिन्छ। ऐनको धारा ६१८ (ए) अनुसार जानाजानी उल्लंघन गर्नेहरूलाई ५ वर्षसम्म संघीय जेल सजाय, २ लाख ५० हजार डलरसम्म जरिवाना, वा दुवै सजाय हुन सक्ने प्रावधान छ भने साना प्रशासनिक उल्लंघनका लागि ६ महिनासम्म कैद वा ५ हजार डलरसम्म जरिवाना तोकिएको छ। नियमको पालना नगरी निरन्तर काम गर्ने अवस्थालाई निरन्तर अपराध मानिने भएकाले यसको हदम्याद दर्ता नभएसम्म समाप्त हुँदैन।

त्यसका साथै कानून मन्त्रीले देवानी कारबाहीमार्फत दर्ता गर्न बाध्य पार्न वा गैरकानुनी गतिविधि रोक्न अदालतबाट निषेधाज्ञा लिन सक्छन्। उल्लंघनबाट आर्जित सम्पत्ति जफत हुन सक्ने, गैर–अमेरिकी एजेन्टको हकमा देशनिकाला हुन सक्ने र झूटो बयान वा मुद्रा निर्मलीकरणजस्ता थप आरोप पनि लाग्न सक्ने प्रावधान छ।

ट्रम्प प्रशासनले विदेशी एजेन्ट दर्ता ऐनको अनुगमन प्रक्रियामा कडाइ ल्याएको छ। जस अन्तरगत केही व्यक्तिहरु पक्राउ समेत परिसकेका छन्। जारी गरिएका नयाँ दिशानिर्देशअनुसार विदेशी जासुसीजस्ता गम्भीर मुद्दामा फौजदारी अभियोगलाई प्राथमिकता दिइने भए पनि सामान्य मामिलामा स्वैच्छिक सुधार र देवानी प्रवर्तनलाई प्राथमिकता दिने नीति लिइएको छ।

यदि कुनै अमेरिकी नागरिक वा बासिन्दाले विदेशी राजनीतिक दल वा संस्था को निमित्त वित्तीय गतिविधि गर्छन् भने उनीहरूले अमेरिकी कर कानुनको समेत पालना गर्नुपर्छ। यदि विदेशी खातामा १० हजार डलरभन्दा बढी रकम पुगेको छ भने फिनसेन फर्म ११४ बुझाउनुपर्ने प्रावधान छ। त्यसो नगरेमा उल्लंघनको प्रकृतिअनुसार १६ हजार डलरदेखि १ लाख ६५ हजार डलरसम्म जरिवाना र ५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

विदेशी राजनीतिक दललाई सहयोग गर्दा अमेरिकी प्रतिबन्ध वा आतंकवादविरोधी कानुन उल्लंघन भए फौजदारी मुद्दा लाग्न सक्छ। अपराध वा गैर–पालनका कारण व्यावसायिक प्रतिष्ठामा असर पर्न सक्ने, लाइसेन्स खारेज हुन सक्ने, वा अन्य देवानी मुद्दा आउन सक्ने जोखिम रहन्छ। यदि सो दल वा देश अमेरिकाको प्रतिबन्ध सूचीमा परेमा त्यससँग वित्तीय वा राजनीतिक सम्पर्क राख्नु अपराध मानिन सक्छ।

नेपालका राजनीतिक व्यक्तिहरूलाई ठूलो रकम पठाउँदा अमेरिकी बैंकहरूले ‘शंकास्पद गतिविधि’ का रूपमा रिपोर्ट गर्ने, तथा विदेशी राजनीतिक कार्यका लागि उठाइएको पैसामा कर छुट नहुने भएकाले व्यक्तिगत खातामा पैसा जम्मा गरेमा आईआरएसले त्यसलाई व्यक्तिगत आम्दानी मानेर ठूलो कर लगाउन सक्छ। सामाजिक सेवा भनेर पैसा उठाएर राजनीतिक काममा प्रयोग गरेमा अमेरिकामा ‘वायर फ्रड’ को मुद्दा चल्न सक्छ।

अमेरिकी कानुनी प्रणालीहरू अत्यन्तै जटिल भएकाले यदि कुनै व्यक्तिलाई आफू “एजेन्ट” को दायरामा परिरहेको शंका भएमा तुरुन्तै योग्य वकिल वा विशेषज्ञ कर सल्लाहकारसँग परामर्श गर्नु आवश्यक हुन्छ। आधिकारिक जानकारीका लागि अमेरिकी सरकारको कानून मन्त्रालयको वेबसाइटआईआरएसको वेबसाइट हेर्न सकिन्छ।





Source link

Leave a Comment

Translate »