५० अमेरिकी डलरको नोट देखाएर ४८ लाखभन्दा बढी ठगी, गिरोहका एक सदस्य पक्राउ



प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार


अमेरिकी डलर देखाएर सर्वसाधारणलाई प्रलोभनमा पारी लाखौँ रुपैयाँ ठगी गर्ने गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का २६ वर्षीय सुनिल डुम्जन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ परेका डुम्जनसहितको समूहले अमेरिकी डलर देखाउँदै साटिदिने वा सस्तोमा दिने प्रलोभनमा पारी नेपाली नागरिकलाई ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार उक्त गिरोहले एकै किसिमको शैली अपनाएर काभ्रेका विभिन्न स्थानमा ठगी गरेको पाइएको छ । २०८२ चैत २४ गते बनेपा नगरपालिका–३ स्थित नगरकोटको जङ्गलमा ५० डलरको नोट देखाउँदै कुल ५ हजार अमेरिकी डलर दिने प्रलोभन पारेर एक व्यक्तिबाट ५ लाख रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । 

त्यस्तै, उनीहरूको समूहले गत असार ५ मा बनेपा–३ कै शिखरपानी जङ्गलमा ५५ हजार अमेरिकी डलर दिने भन्दै अर्का व्यक्तिलाई झुक्याएर २३ लाख रुपैयाँ ठगी गरेको र गत असार ६ मा बनेपा–१ स्थित रानीकोटको जङ्गलमा २० हजार डलर दिने प्रलोभनमा पारी २० लाख रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । 

अनुसन्धानका क्रममा उक्त गिरोहले विभिन्न ९८५२०२३७५२, ९७४३८२८५२३, ९७४७३०७०४४ र ९७४७४५४०२९९ लगायतका नम्बरहरू प्रयोग गरी पीडितहरूलाई सम्पर्क गर्ने र आर्थिक लोभ देखाउने गरेको खुलेको छ।

घटनामा संलग्न हालसम्म चार जनाको पहिचान भइसकेको र तीमध्ये पक्राउ परेका डुम्जनविरुद्ध  ‘ठगी तथा सङ्गठित अपराध’ मुद्दामा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले अभियुक्तबाट ठगीमा प्रयोग भएका विभिन्न सामग्री बरामद गरेको छ । जसमा बा.प्र. ०२–०६३ प. ५९९० नम्बरको टिभिएस स्कुटर, २ थान किप्याड र १ थान टच मोबाइल तथा ३ थान सिमकार्ड रहेका छन् । 

यस्तै, नगद २३ हजार ६० रुपैयाँ, प्रतिवादीले प्रयोग गरेको कपडा तथा चप्पल, कापी काट्ने ब्लेड २ थान र काटिएको अवस्थाको कापी १ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 





Source link

Leave a Comment