प्रकाशित मिति : चैत्र १०, २०८१ आईतबार
तनावपूर्ण सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले आइतबार चार वर्षभित्र सरकार सञ्चालन खर्चहरू १५ प्रतिशतले कटौती गर्ने योजना बनाएको बताएकी छिन् ।
उनको यो टिप्पणी बुधबारको महत्त्वपूर्ण वसन्त वक्तव्य अगाडि आएको हो । उनले विभिन्न सरकारी मन्त्रालयमा अर्बौं पाउन्डको खर्च कटौतीको विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
“हामी यस संसद्को अन्त्यसम्ममा सरकार सञ्चालन खर्चहरू १५ प्रतिशतले कटौती गर्ने प्रतिबद्धता गर्दैछौँ”, उनले भनिन् ।
प्रसारकले उक्त लक्ष्य बेलायतको निजामती सेवामा वार्षिक दुई अर्ब २० करोड पाउन्ड (दुई अर्ब ८० करोड डलर)को बचतमा परिणत हुने रिपोर्ट गरेको छ । निजामती सेवामा ५० हजारभन्दा बढी व्यक्ति कार्यरत छन् ।
रिभ्सले कति जना निजामती कर्मचारीले आफ्नो जागिर गुमाउनेछन् भन्ने निर्णय व्यक्तिगत विभागहरूमा निर्भर हुने तर कर्मचारीहरू १० हजारले कटौती गर्न सकिने बताइन् ।
“म प्रशासनिक कार्यालयका कामहरू राख्नुको सट्टा हाम्रा विद्यालय र अस्पताल, प्रहरीमा अग्रभागमा काम गर्ने व्यक्तिहरू चाहन्छु”, उनले स्काई न्युजलाई भनिन् ।
रिभ्सले बुधबार आफ्नो वित्तीय अपडेट प्रस्तुत गर्दा आफ्नै वित्तीय नियमहरूमा अडिग रहनेमा पनि जोड दिएकी थिइन् ।
ती नियमहरू दैनिक खर्चका लागि ऋण नलिने र २०२९–२०३० सम्ममा ऋणलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को अनुपातमा घटाउने हुन् ।
मन्त्री रिभ्सले करहरू नबढाउने प्रतिबद्धता पनि जनाएकाले नियमहरूमा अडिग रहँदा केही विभागमा खर्च कटौतीको सम्भावना देखिन्छ ।
गत जुलाईमा सत्तामा आएपछि लेबर सरकारले बेलायतको अर्थतन्त्रलाई गति दिन सकेको छैन । यो कार्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइले जटिल भएको छ ।
“संसार परिवर्तन भएको छ”, रिभ्सले स्काईलाई भनिन्, “हामी सबैले आफ्नै आँखा अगाडि देख्न सक्छौँ र सरकारहरू त्यसमा निष्क्रिय छैनन् – हामी परिवर्तनको प्रतिक्रिया दिनेछौँ र हाम्रो वित्तीय नियमहरू पूरा गर्न जारी राख्नेछौँ ।”
शुक्रबार जारी गरिएको आधिकारिक तथ्याङ्कले सार्वजनिक क्षेत्रको शुद्ध ऋण – खर्च र कर रसिदहरू बीचको भिन्नता – गत महिना बढेको देखाएको छ । यसले रिभ्सलाई आफ्ना नियमहरू पूरा गर्न थोरै थोरै ठाउँ छोडेको छ ।
यी प्रतिबन्धहरू सरकारको खर्च योजनाले वित्तीय बजारहरूमा विश्वसनीयता कायम राखोस् भन्ने सुनिश्चित गर्न डिजाइन गरिएका हुन् ।
दशकको अन्त्यसम्ममा वार्षिक पाँच अर्ब पाउन्डन्दा बढी बचत गर्ने आशा राखेर सरकारले मङ्गलबार अपाङ्गता कल्याण भुक्तानीहरूमा विवादास्पद कटौतीहरू घोषणा गरेको थियो ।
सन् २०२९ मा समाप्त हुने यस संसद्को प्रत्येक वर्षमा कुल सार्वजनिक खर्चमा अझै पनि ‘वास्तविक–सर्तहरू’ वृद्धि हुने रिभ्सले आइतबार जोड दिइन् ।