प्रकाशित मिति : ९ असार २०८३, मंगलबार

काठमाडौँ उपत्यकाबाट दशकौँ अघि चोरी भई अमेरिका पुर्याइएका १३औँ शताब्दीको कास्य पद्मपाणि र १६औँ शताब्दीको काठको नृत्यदेवीको मूर्ति न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित विशेष समारोहमा नेपाल सरकारलाई हस्तान्तरण गरियो। यी मूर्तिहरू जुन २५ मा नेपाल पठाइनेछ। तस्बिर: राजन काफ्ले / नेपयोर्क
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले मंगलबार एक विशेष समारोहका बीच नेपालबाट चोरिएका दुईवटा बहुमूल्य पुरातात्विक मूर्तिहरू औपचारिक रूपमा प्राप्त गरेको छ। हस्तान्तरण गरिएका कलाकृतिहरूमा १३औँ शताब्दीको सुनमढित कास्य पद्मपाणि र १६औँ शताब्दीको नृत्यदेवीको काठको मूर्ति रहेका छन्।
न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयको ‘एन्टिक्विटिज ट्राफिकिङ युनिट’ का प्रमुख कर्नल म्याथ्यु बोग्डानोसले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै यी मूर्तिहरूमाथि नेपाल सरकारको स्वामित्व औपचारिक रूपमा फिर्ता भएको छ।
म्यानहटन डिस्ट्रिक्ट एटोर्नीको कार्यालयले चलाएको आपराधिक अनुसन्धानपछि यी कलाकृतिहरू फिर्ता गरिएका हुन्। उक्त कार्यालयले अमेरिकाका प्रतिष्ठित सांस्कृतिक संस्थाहरू र लिलामी केन्द्रहरूबाट यी मूर्तिहरू बरामद गरेको थियो।

डिस्ट्रिक्ट एटोर्नी आल्भिन ब्राग जुनियरको तर्फबाट बोल्दै कर्नल म्याथ्यु बोग्डानोसले यी कलाकृतिहरू केवल हराएका मात्र नभई चोरी गरिएका स्पष्ट पारे। बोग्डानोसले चोरी भएका सांस्कृतिक सम्पत्तिहरू बरामद गरी उनीहरूको वास्तविक घरमा फर्काउनु आफ्नो कार्यालयको कर्तव्य भएको बताउँदै यो अनुसन्धानलाई पूर्णता दिन सहयोग गर्ने अनुसन्धानकर्ता तथा सांस्कृतिक सम्पत्ति विशेषज्ञ हिलारी चासे र आरोन थम्पसनको योगदानको कदर गरे।
ऐतिहासिक पृष्ठभूमि अनुसार, १६औँ शताब्दीको काठबाट बनेकी नृत्यदेवीको मूर्ति ललितपुरको इबहा बहीबाट हराएको थियो। यस मूर्तिलाई सन् १९६९ को अगस्टमा अन्तिम पटक आफ्नो मन्दिरमा फोटो खिचिएको थियो र सन् १९६९ देखि १९८३ को अवधिमा अवैध रूपमा अमेरिका तस्करी गरिएको यो मूर्ति पछि न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्ट बाट बरामद गरिएको थियो।

त्यस्तै, १३औँ शताब्दीको कास्यबाट बनेको पद्मपाणिको उत्कृष्ट मूर्ति काठमाडौँको ठमेलस्थित थमहिल (विक्रमशील महाविहार, भगवान बहाल) बाट हराएको थियो। सन् १९७१ मा अन्तिम पटक मन्दिरमा फोटो खिचिएको यो मूर्ति सन् १९७१ देखि १९७७ को बीचमा अमेरिका तस्करी भई सन् २०१२ मा क्रिष्टीज न्युयोर्कमा लिलामी भएको थियो, जसलाई पछि क्यालिफोर्नियाको बर्कले आर्ट म्युजियममा प्रदर्शनीका लागि राखिएको अवस्थामा बरामद गरिएको थियो।
नेपाली अधिकारी तथा सामुदायिक नेताहरूले यी मूर्तिहरूको कलात्मक मूल्यभन्दा बढी गहिरो आध्यात्मिक महत्व रहेको कुरामा जोड दिए । महावाणिज्यदूत दधिराम भण्डारीले यी कलाकृतिहरूको फिर्तीले नेपालको सम्पदा, पहिचान र ‘सफ्ट पावर’ को पुनर्स्थापनालाई झल्काउने बताउँदै यी मूर्तिहरू काठमाडौँ उपत्यकाको जीवन्त संस्कृति, मन्दिर, बहाल र चोकहरूका अभिन्न अंग भएको उल्लेख गरे।

भण्डारीले यो सफल प्रत्यावर्तनका लागि नेपालका मन्त्रालयहरू, पुरातत्व विभागका अधिकारीहरू, डायस्पोरा समूहहरू र अनुसन्धानकर्ताहरूलाई धन्यवाद दिँदै नेपाल-अमेरिका साझेदारीले सरकार, कानुन कार्यान्वयन गर्ने निकाय, विद्वान र सामुदायिक संस्थाहरू सँगै मिलेर काम गर्दा कति ठूलो उपलब्धि हासिल हुन सक्छ भन्ने कुराको उदाहरणीय नमुना प्रस्तुत गरेको बताए।

नेवा गुठी न्युयोर्कका अध्यक्ष राजेन्द्र महर्जनले यी मूर्तिहरू नेपाली आध्यात्मिक जीवनका केन्द्रमा रहेका देवीदेवताका पवित्र स्वरूप भएको बताए। महर्जनले अमेरिकामा रहेका नेवार समुदायले चाडपर्व, संस्कार र सांस्कृतिक शिक्षाका माध्यमबाट नेपालको संस्कृति जोगाउन लामो समयदेखि काम गरिरहेको उल्लेख गर्दै यसअघि सन् २०२४ र २०२५ मा पनि अन्य पवित्र कलाकृतिहरू फिर्ता ल्याउन सहयोग गरेको स्मरण गरे।

विश्व नेवा संगठनका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी समीर महर्जनले यो ऐतिहासिक समारोह देख्न पाउँदा आफू भावुक र गौरवान्वित भएको बताए। उनले यी मूर्तिहरू काठमाडौँ उपत्यकाको जीवन्त धार्मिक परम्परासँग जोडिएकाले यसको व्यक्तिगत र सामुदायिक रूपमा विशेष अर्थ रहने उल्लेख गर्दै यस्ता वस्तुको फिर्ती केवल एउटा मूर्तिको पुनर्प्राप्ति मात्र नभई इतिहास, पहिचान र आध्यात्मिक सम्बन्धको पुनरागमन भएको टिप्पणी गरे।
कार्यक्रमको सुरुमा वाणिज्यदूत प्रेमबहादुर बुढाथापाले पाहुनाहरूलाई स्वागत गर्दै हस्तान्तरण प्रक्रियाको रूपरेखा प्रस्तुत गरेका थिए। कार्यक्रममा कर्नल बोग्डानोस र अनुसन्धानमा सहयोग गर्ने अन्य व्यक्तित्वहरूलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो।

हस्तान्तरण गरिएका यी दुवै पुरातात्विक मूर्तिहरूलाई सुरक्षित रूपमा प्याक गरी आगामी २५ जुन २०२६ मा नेपाल पठाइनेछ। ढुवानी र व्यवस्थापकीय तयारी महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा भइरहेको छ । गुठीका प्रतिनिधिहरू यो ढुवानीसँगै स्वयं नेपाल जानेछन्।
काठमाडौँ पुगेपछि यी कलाकृतिहरूलाई नेपाल सरकारको पुरातत्व विभाग लगायतका सम्बन्धित निकायमा बुझाइनेछ, जहाँ यिनीहरूको उचित संरक्षण, व्यवस्थापन र अन्ततः आफ्नै पुरानो स्थानमा पुनर्स्थापना गरिनेछ। महावाणिज्यदूतावासले आगामी दिनमा पनि अन्य चोरिएका नेपाली कलाकृतिहरू पहिचान गरी स्वदेश फर्काउन नेपाल र अमेरिकाका साझेदारहरूसँग निरन्तर काम गरिरहने जनाएको छ।
