विफल विद्रोह अर्थात् राज्यविरुद्ध ‘कू’ गरेको आरोपमा कुनैबेला जेलसजाय भोगेका एक पूर्वसैनिक अधिकृत ह्युगो चाभेज सन् १९९८ मा भेनेजुएलाको राष्ट्रपति पदमा निर्वाचित भए । स्वघोषित लोकतान्त्रिक समाजवादी चाभेजले भ्रष्टाचार, आर्थिक दूरावस्था र विश्वस्तरीय पुँजीवादको ‘कटु सत्य’विरुद्ध अभियान चलाएर राष्ट्रपतिको निर्वाचन जितेका थिए । सन् १९९९ फेबु्रअरीमा सत्ता सम्हाल्दा उनका अनुसार समकालीन इतिहासमा भेनेजुएलाको सबभन्दा खराब आर्थिक अवस्था विरासतमा पाएका थिए । वास्तवमा उनको भनाइ सत्यभन्दा धेरै टाढा थिएन । मुलुकको निर्यातको ७० प्रतिशत हिस्सा ओगटेको पेट्रोलियम पदार्थको मूल्यमा आएको भारी गिरावटले गर्दा भेनेजुएला भयानक बजेट घाटाको परिस्थितिबाट गुज्रिरहेको थियो र समग्र अर्थ व्यवस्था विषम मन्दीतर्फ धकेलिएको थियो ।
सत्ता सम्हालेलगत्तै चाभेज राज्य संयन्त्रहरूमा आफ्नो पकड बलियो बनाउनेतर्फ लागे । चाभेजका अनुयायीहरूको बाहुल्यता भएको संविधानसभाले नयाँ संविधान मस्यौदा ग¥यो । नयाँ संविधानले राष्ट्रपतिको अधिकारलाई बढायो र पुनः निर्वाचित भएको खण्डमा चाभेज सन् २०१२ सम्म पदमा रहिरहने प्रावधान बनायो । त्यसलगत्तै चाभेज समर्थकले भरिएको संसद्ले सरकारलाई सर्वोच्च अदालतमा न्यायाधीशहरू नियुक्त गर्ने र पदमुक्त गर्ने अधिकार दियो । स्पष्ट रूपमा चाभेजले न्यायालयमाथि पनि नियन्त्रण जमाए । चाभेजले सञ्चार क्षेत्रमाथिको नियन्त्रण पनि सुदृढ बनाए । सन् २००७ सम्म आइपुग्दा नपुग्दा विश्वभर राजनीतिक एवं मानवअधिकारका विषय अनुगमन गर्ने संस्था फ्रिडम हाउसले भेनेजुएलालाई ‘आंशिक रूपमा स्वतन्त्रता भएको राष्ट्र’ घोषणा ग¥यो र स्वतन्त्रतामा लगातार कटौती हुँदै गरेको बतायो ।
आर्थिक क्षेत्र पनि तहसनहस रह्यो । सन् २००२ मा अर्थतन्त्र ९ प्रतिशतले संकुचित भयो भने अर्को वर्ष अर्थात् सन् २००३ मा थप ८ प्रतिशतको संकुचन देखियो । बेरोजगारी दर लगातार १५ देखि १७ प्रतिशतको उच्च तहमा रह्यो र गरिबी दर जनसंख्याको ५० प्रतिशतभन्दा माथि पुग्यो । सन् २००३ मा विश्व बैंकको एक अध्ययनका अनुसार भेनेजुएलाको अर्थतन्त्र विश्वकै अत्यधिक नियन्त्रित अर्थ प्रणालीमध्ये एक थियो र व्यापार व्यवसायमा सरकारको नियन्त्रणका कारण व्यापार विस्तार गर्न वा थालनी गर्न लिनुपर्ने स्वीकृतिलाई सरकारी अधिकारीहरूले नाजायज धन आर्जनको माध्यम बनाए । चाभेजको भ्रष्टाचारविरोधी नाराका वाबजुद विश्वका मुलुकहरूलाई भ्रष्टाचारको मात्राका आधारमा मापन गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार चाभेजको भेनेजुएलामा सन् २००७ मा भ्रष्टाचार अत्यधिक बढेको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका १ सय ७९ मुलुकमध्ये भेनेजुएलालाई १६२औं स्थान दियो । सन् २००४ को ११४औंभन्दा यो निकै बढी थियो । आफ्नो समाजवादी नारा मुताविक नै चाभेजले कैयन् व्यवसायलाई राज्यको अधीनमा ल्याए । सरकारबाट ऋण लिने अन्य व्यवसायहरूलाई ‘मजदुर सहकारी’मा परिणत गर्न बाध्य बनाए । सरकारले यथेष्ट उत्पादन नभएको भन्दै ग्रामीण भेगका ठूला कृषि फार्महरूलाई राज्य नियन्त्रित सहकारी बनाएर सरकारको अधीनमा ल्याए ।
सन् २००४ मा विश्व इन्धन बजारले भेनेजुएलालाई आर्थिक राहत दिएको थियो । पेट्रोलियम पदार्थको मूल्य बढ्न थाल्यो र विश्वको पाँचौं ठूलो तेल उत्पादक राष्ट्र भेनेजुएलाले अत्यधिक लाभ पायो । सन् २००४, २००५, २००६ र २००७ मा भेनेजुएलाको आर्थिक वृद्धिदर क्रमशः १८, ९, १० दशमलव ५ र ८ दशमलव ५ प्रतिशत रह्यो । तेलको मूल्य वृद्धिका कारण भएको आम्दानीलाई चाभेजले सामाजिक कार्यक्रममा लगाएर सरकारी खर्च बढाउन प्रयोग गरे । धेरैजसो कार्यक्रमहरू क्युवाबाट नक्कल गरिएका थिए । परिणामस्वरूप कुल गार्हस्थ्य उत्पादनमा सरकारको भागिदारी ९० को दशकको २० प्रतिशतको तुलनामा सन् २००७ मा ३८ प्रतिशत पुग्यो ।
चाभेजले भेनेजुएलामा रहेका बहुराष्ट्रिय कम्पनीहरूमाथि पनि नियन्त्रण गर्न सुरु गरे । उनका अनुसार ती कम्पनीले गरिब जनतालाई चुसेर ठूलो नाफा गरिरहेका थिए । सन् २००५ मा चाभेजले तेल बिक्रीमा सरकारी रोयल्टी १ प्रतिशतबाट बढाएर ३० प्रतिशत पु¥याए र बिक्री कर पनि ३४ प्रतिशतबाट बढाएर ५० प्रतिशत बनाए । सन् २००६ मा उनले ओरिनिको क्षेत्रमा रहेको विदेशी तेल कम्पनीहरूमा उनीहरूको सेयर मात्रा घटाएर सरकारी स्वामित्वमा रहेको पेट्रोलेस दे भेनेजुएलालाई अधिकांश सेयर दिने निर्णय गरे । विश्वभर तेलको माग बढिरहेको अवस्थामा समेत सन् २००६ को मध्यदेखि सन् २००७ को अन्त्यसम्मको ६ त्रैमासिकमा भेनेजुएलाको तेल उत्पादन निरन्तर ओरालो लागि नै रह्यो ।
चाभेजले भेनेजुएलामा रहेका बहुराष्ट्रिय कम्पनीहरूमाथि पनि नियन्त्रण गर्न सुरु गरे । उनका अनुसार ती कम्पनीले गरिब जनतालाई चुसेर ठूलो नाफा गरिरहेका थिए
मुलुकभित्रको लोकप्रियताको आडमा सन् २००६ मा चाभेजले पुनः निर्वाचन जिते । त्यसपछि त उनको ‘क्रान्तिकारी कदम’ झनै अगाडि बढ्न थाल्यो । संसद्बाट उनले १८ महिनाका लागि हुकुमी आदेशबाट ऐन बनाउन पाउने अधिकार प्राप्त गरे । उनका समर्थकहरूको एक जत्थाले मुलुकलाई स्पष्ट रूपमा समाजवादी घोषणा गर्न संविधान संशोधनको तयारी थाल्नुका साथै राष्ट्रपतिले जतिपटक पनि निर्वाचन लड्न पाउने व्यवस्था गर्न खोजे । तर, २ डिसेम्बर २००७ मा भएको जनमतसंग्रहमा चाभेजलाई असीमित अधिकार दिने संविधान संशोधन झिनो मतले अस्वीकृत भयो । सायद चाभेजलाई जनताका तर्फबाट अस्वीकार गरिएको यो पहिलो संकेत थियो । तर, पछि चाभेजले तेस्रो कार्यकाल पनि निर्वाचन लड्ने प्रावधान पारित गराइछाडे । सन् २०१२ मा निर्वाचन भयो र पुनः उनले जिते । तर, अचानक क्यान्सरका कारण उनको मृत्यु भयो र तेस्रो कार्यकालका लागि शपथ लिन पनि पाएनन् । उनको मृत्युपश्चात् उनका उत्तराधिकारी निकोलस मदुरोले निरन्तर शासन गरेर आएका छन् ।
चाभेजको क्रान्तिकारी शासनबाट सुरु भएको संकट झाँगिँदै आज भेनेजुएला चरम संकटको स्थितिमा पुगेको छ । एक आमभेनेजुएलावासीको जीवन हरतरहले प्रभावित भएको छ । सन् २०१७ सम्म आइपुग्दा भोकमरीले विकराल रूप लिएको छ । ७५ प्रतिशत जनताले औसत ८ केजी तौल गुमाएका बताइन्छ । हाल ६० प्रतिशत जनतासँग आधारभूत आहारको व्यवस्था गर्ने क्षमता पनि नभएको बताइन्छ । झन्डै ४० प्रतिशत नागरिकले मुलुक परित्याग गरेको अनुमान छ । अपराध दर अत्यन्तै उच्च छ । प्रत्येक १ लाख जनसंख्यामा सय व्यक्ति मारिने गरेको तथ्यांक बाहिरिएको छ । गरिबीमा बाँच्ने जनसंख्या दर अत्यन्तै उच्च छ । अन्तर्राष्ट्रिय नाकाबन्दी र दबाबपछि मदुरोको सरकारले थोरै आर्थिक उदारीकरणको बाटो लियो । फलस्वरूप झन्डै ८ वर्षपछि सन् २०२२ मा केही आर्थिक परिसूचक सुध्रिएको पनि देखियो । खाद्य संकट र अति उच्च मूल्य वृद्धि घटेको देखियो । तर, मूल्य वृद्धिले जनतालाई आक्रान्त बनाइरहेकै छ ।
राजनीतिक संघर्ष त पछिल्लो दिनमा चरम अवस्थामा पुगेको छ । हालै मात्र निर्वाचन भयो र पुनः मदुरो नै निर्वाचित भएको घोषणा गरियो । तर, विपक्षी र अमेरिकालगायत अधिकांश अन्तर्राष्ट्रिय जगत्ले यस परिणामलाई मानेका छैनन् । सबैजसो सर्वेक्षणले विपक्षी गोन्जालेजले ठूलो अन्तरले जित्ने प्रक्षेपण गरेको थियो । खास परिणामको कुरा गर्दा पनि विपक्षीले प्रत्येक बुथबाट प्राप्त गरेको मत जोड्दा गोन्जालेजले निर्वाचन जितेको बताइन्छ । तर, सरकारी निर्वाचन आयोगले मदुरोले एकमुष्ट निर्वाचन जितेको घोषणा गरिदिएको छ र सरकार विपक्षीलाई ‘कू’को प्रयासमा रहेको बताउँदै छ । राजनीतिक संघर्षले कस्तो रूप लेला भन्न सकिन्न ।
भेनेजुएलाको यस्तो दुर्गति र अस्तव्यस्तताको कारण के हो ? धेरैजसोले अलोकतान्त्रिक शासन प्रणाली, भ्रष्टाचार र अव्यवस्थित अर्थ प्रणाली सञ्चालनलाई यसको कारण मान्छन् । अन्यचाहिँ यस संकटको कारण ‘समाजवादी’, ‘लोकलुभावन’ वा ‘अति लोकलुभावन’ प्रकृतिको नीति र ती नीतिमार्फत शक्ति सञ्चय गर्ने रणनीति हो भनेर मान्छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विश्लेषक एवं अर्थशास्त्रीहरू के भन्छन् भने यो संकट द्वन्द्वको परिणाम होइन र प्राकृतिक विपद् वा नाकाबन्दीका कारण पनि होइन । उनीहरू भन्छन्, यसको कारण चाभेजको समयमा सुरु भएको र मदुरोको समयमा जारी रहेको लोकलुभावन नीति र भ्रष्टाचार हो ।
कुनै पनि राजनीतिज्ञले राजनीतिमा होम्मिनुको उद्देश्य के हो ? झटपट जवाफ आउला– जोगी बन्न होइन ! ठीक हो, जोगी बन्न होइन । तर, आफू मात्र होइन, कसैलाई पनि जोगी नबनाउन पनि हुनुपर्ने हो । राजनीति गर्छु र सत्तामा पुग्छु भन्ने ठीक हो । तर, सत्तामा पुग्नु र सत्ता टिकाइराख्नु नै अन्तिम उद्देश्य त नहोला । सामान्य भाषामा भन्नुपर्दा सम्पूर्ण देशवासीलाई आधारभूत आवश्यकता पु¥याएर हजारपतिलाई लाखपति, लाखपतिलाई करोडपति र करोडपतिमा उठाउँछु भन्न सक्नुपर्छ । त्यसका लागि बाटा, उपाय आआफ्नै होलान् । बहुलवाद भनेकै त्यही हो । लोकतन्त्र यही हो ।
तर, बहुदलसम्म ठीक छ, बहुलवाद मान्दिनँ भन्नु एकोहोरो जिद्दी हो र तानाशाही चरित्र हो । चामलबाट कनिका छुट्याउँदै दिनहुँ कनिका छरेर ‘अध्यक्ष कामरेड जिन्दावाद’ भन्ने जमात तयार गर्न सकिन्छ । कनिका टिप्नेहरू सधैं कनिका टिपिरहन्छन् र जयजयकार गरिरहन्छन् र तिनै मूर्ख चाटुकारको स्वस्तीवाचनका बीच मालिकचाहिँ सग्लो दाना चामलको खीर खाँदै हुन्छन् । बेला मौकामा त्यो कनिका स्वदेशी हो भन्दै राष्ट्रवादको अचार पनि दिइन्छ । कामरेडको खीर खाने अधिकारमा प्रश्न गरिनुहुन्न । उत्पादनका सम्पूर्ण स्रोतलाई केन्द्रीकृत गरेर शक्ति सञ्चय गर्ने प्रणालीलाई के भनिन्छ ? सोच्नोस् त ! चाभेज र मदुरोले गर्ने वा गरेको यस्तै होइन ? यी आत्माहरूका नेपाली संस्करणहरूबाट पनि सावधान हुन जरुरी छ ।
(Visited 9 times, 1 visits today)