ह्यारी भण्डारी : राजनीतिभन्दा माथि मानवीय संवेदना



प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार

ह्यारी भण्डारी : राजनीतिभन्दा माथि मानवीय संवेदना

अमेरिकाको मेरिल्यान्ड राज्यका सांसदका रूपमा डा. ह्यारी भण्डारीको एउटा बलियो राजनीतिक पहिचान र उचाइ छ । सन् २०१८ मा पहिलो पटक निर्वाचित भएर इतिहास रचेका र २०२२ मा पुनः भारी मतले विजयी भएका भण्डारीले राज्यको नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । विगत सात वर्षमा एक निर्वाचित प्रतिनिधिका रूपमा मेरिल्यान्ड राज्यमा अलग्गै पहिचान बनाएका भण्डारीले यस अवधिमा संयुक्त सदनको ‘एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर्स’को सभापतिका रूपमा र अहिले ‘ल्यान्ड युज तथा जोनिङ सब–कमिटी’को अध्यक्षका रूपमा सेवा गर्दै आएका छन् । उनले मेरिल्यान्डमा आवासलाई अझ सुलभ र किफायती बनाउने विषयमा सक्रिय रूपमा काम गरिरहेका छन् ।

उनको यो सहभागिता र संलग्नताले उनलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउन सफल भएको छ । अमेरिकाको भूमिमा यो तहको उपलब्धि हासिल गर्ने उनी पहिलो नेपाली हुन् । राजनीतिक जीवनसँगै भण्डारीको शैक्षिक र पेसागत पृष्ठभूमि पनि उल्लेखनीय छ । उनले अमेरिकाको प्रतिष्ठित जोन्स हप्किन्स विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । युनिभर्सिटी अफ मेरिल्यान्ड बाल्टिमोरबाट पीएचडी पूरा गरेका छन् । उनी शिक्षण कार्यमा पनि संलग्न छन् ।

यो चम्किलो राजनीतिक छविसँगै सदैव नागरिकको सेवामा खट्ने भण्डारीको खुबी, क्षमता र समन्वयकारी भूमिकाको अर्को पाटो पनि छ । अमेरिकामा रहेका नेपालीलाई आइपर्ने समस्याको सहजीकरण र समाधानका लागि उनको फोनमा निरन्तर घण्टी बजिरहेको हुन्छ । ‘कहिलेकाहीं त रातको २ बजेसम्म पनि फोनमा संवाद गरिरहेको हुन्छु । व्यक्तिहरूका समस्या समाधानमा क्रियाशील भइरहेको हुन्छु’, उनले सम्झिए ।

भण्डारीले गर्ने मानव सेवाका अनेक पाटामध्ये एउटा यस्तो कठोर र पीडाको समय छ जहाँ उनी पीडितको साथमा अहोरात्र खटेका हुन्छन् । जसले उनलाई अन्य नेताभन्दा फरक बनाएको छ । परदेशमा ज्यान गुमाएका नेपालीको शव व्यवस्थापनमा उनले आफ्नो महत्त्वपूर्ण समय खर्चेका छन् । निश्चय नै मृत्यु सदैव कठोर बनेर आउँछ । त्यसपछि शव व्यवस्थापनमा परिवारका सदस्यले भोग्नुपरेका अनेक समस्या र पीडादायक पल सम्झँदा उनी भावुक हुन्छन् । शोकाकुल परिवारलाई कठिन घडीमा प्रदान गर्न सकिएको भरोसा र समन्वयलाई उनी आफ्नो कर्तव्यबोधका रूपमा लिन्छन् ।

उनले भने, ‘म विमानस्थलमा मान्छेहरूको स्वागत गर्नभन्दा बढी मृतकका शवहरू बुझ्न र पठाउनका लागि पुगेको छु ।’
भण्डारीले अहिलेसम्म ४३६ वटा जटिल केस सुल्झाउँदै ४५० भन्दा बढी नेपालीको शव व्यवस्थापनमा महत्त्वपूर्ण र समन्वयकारी भूमिका निर्वाह गरेका छन् । यसमध्ये झन्डै एक सयवटा शव उनले कानुनी र प्रशासनिक प्रक्रिया पु¥याएर नेपाल पठाएका छन् । ‘प्रत्येक व्यक्तिको मृत्यु सकसपूर्ण हुन्छ र ती हरेक शवको पछाडि एउटा छुट्टै पीडादायी कथा लुकेको हुन्छ’, उनी भन्छन् ।

ह्यारी भण्डारी : राजनीतिभन्दा माथि मानवीय संवेदना

कोरोनाकालमा त ट्रकमा लोड गरेर ल्याइएका बेवारिसे शवबाट ‘यो नेपाली हो’ भनेर पहिचान गर्नुपर्ने चुनौतीपूर्ण अवस्था उनले झेलेका थिए । त्यति बेलाको क्षण स्मरण गर्दै उनी भन्छन्, ‘मान्छेको खुट्टामा ट्याग लगाएर ट्रकमा लोड गरी शवहरू आए । त्यसमा नेपाली कति छन् भनेर पहिचान गर्न र विवरण खोज्न निकै चुनौती झेलेको थिएँ ।’

कसैको निधन भएपछि नेपाली परम्पराअनुसार छिटोभन्दा छिटो अन्तिम संस्कार गर्नुपर्ने धार्मिक र सांस्कृतिक मान्यता छ । ‘तर, अमेरिकाको कानुनी प्रक्रिया पूरा गरेर अन्तिम संस्कार गर्न केही समय लाग्छ’, उनले भने, ‘हामी हतारमा हुन्छौं तर यहाँका फ्युनरल होम (शवदाह गृह) र प्रहरीले आफ्नै प्रक्रिया (पेपरवर्क) पूरा गर्छन् । यसका लागि केही धैर्य गर्नुपर्छ । हाम्रा लागि यो अत्यन्तै संवेदनशील र भावनात्मक विषय हो ।’

मृत्यु प्रमाणपत्र बनाउनेदेखि नजिकको नातेदार प्रमाणित गर्नेसम्मका काममा धैर्यपूर्वक कुर्नुपर्ने र यहाँको कानुनअनुसारको अभ्यास गर्नुपर्ने हुन्छ । नेपाल र अमेरिकामा दिवंगत व्यक्तिका आफन्त को–को छन् भनेर पहिचान गर्न पनि कहिलेकाहीं समस्या हुन्छ । यदि समयमै शवलाई नजिकको आफन्तले दाबी गर्न नसकेको खण्डमा शवलाई ‘एनाटोमी बोर्ड’मा पठाइन्छ । यस्तो बेलाको स्थिति झन् कहालीलाग्दो हुने उनको अनुभव छ । यस्तो परिस्थितिमा पनि उनले फ्युनरल डाइरेक्टर र कर्मचारीसँग समन्वय गरी ती प्रक्रियालाई सहज बनाउँदै आएका छन् ।

अमेरिकामा अन्त्येष्टि प्रक्रिया निकै महँगो छ । भण्डारीले आफ्नो राजनीतिक पहुँच, प्रतिष्ठा र समन्वयमार्फत ४३६ वटा केसमध्ये झन्डै आधा केसमा लागत घटाउन सफल भएका थिए । यसलाई उनी मानवीय संवेदनाको महत्त्वपूर्ण पाटोका रूपमा चित्रण गर्दछन् । यसबाट उनले शव व्यवस्थापनमा पीडित पक्षको आर्थिक भार कम गराउनसमेत सफलता पाएका छन् । कतिपय अवस्थामा त विभिन्न गैरनाफामूलक संस्थाहरूको सहभागितामा बिमाबापत प्राप्त रकम उपलब्ध गराउन प्रेरकको भूमिका निर्वाह गरी नेपालमा रहेका परिवारलाई पठाउनसमेत उनी सफल भएका छन् ।

पर्वतको सामाजिक तथा राजनीतिक पृष्ठभूमिबाट एक आप्रवासीका रूपमा आएका भण्डारीले मेरिल्यान्डको राज्यसभामै नेपाली र अल्पसंख्यक समुदायका लागि महत्त्वपूर्ण बिलहरू प्रस्तुत गरेका छन् । उनले उपभोक्ता संरक्षण, स्वास्थ्य सेवामा पहुँच र सामुदायिक हितका लागि विभिन्न २४ वटा बिल पारित गराएर कार्यान्वयनमा समेत लगिसकेका छन् ।

ह्यारी भण्डारीको एउटै चाहना छ— कुनै पनि नेपालीको शव परदेशमा बेवारिसे नहोस् । उनी नेपाली संघसंस्थालाई यस विषयमा ठोस नीति बनाउनसमेत विशेष आग्रह गर्छन् । ‘एउटा नेपालीले अर्को नेपालीलाई माया गर्नुपर्छ र दुःखको बेला सारथि बन्नुपर्छ’, उनी भन्छन् ।

प्रवासमा नेपाली परिवारको असाध्यै पीडाको पलमा सहयोगी भावले उनीहरूको घाउमा मलम लगाउन पाउँदा मिल्ने आत्मसन्तुष्टिले नै आफूलाई सदैव काम गर्न प्रेरित गरेको भण्डारी बताउँछन् । उनी थप्छन्, ‘मानवीय सेवामा मिल्ने आत्मसन्तुष्टि नै जीवनकै सर्वोत्तम सन्तुष्टि हो ।’

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment