ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियान, ५०० भन्दा बढी शिशु हिरासतमा



प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार

ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियान, ५०० भन्दा बढी शिशु हिरासतमा

तस्वीर : आइस

एक प्रतिवेदनका अनुसार, ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियानका क्रममा कम्तीमा ५०० जना शिशु तथा ससाना बालबालिकाहरूलाई हिरासतमा लिइएको छ। प्रतिवेदनले जनवरी २०२५ देखि मार्च २०२६ को अवधिमा दैनिक औसतमा ३ वर्ष वा सोभन्दा कम उमेरका २५ जनासम्म बालबालिकालाई हिरासतमा राखिएको देखाएको छ।

‘द मार्शल प्रोजेक्ट’ र ‘एमएस नाउ’ ले ‘डेपोर्टेसन डाटा प्रोजेक्ट’ बाट प्राप्त तथ्याङ्कका आधारमा गरेको अनुसन्धान अनुसार, यो सङ्ख्या पूर्व राष्ट्रपति जो बाइडेनको अन्तिम १२ महिनाको कार्यकालको तुलनामा १० गुणा बढी हो। बाइडेनको पालामा अमेरिकाभरका हिरासत केन्द्रहरूमा दैनिक औसतमा ३ जनाभन्दा कम शिशु मात्र थिए।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि मार्च २०२६ को बीचमा आइसले कम्तीमा १७५ जना शिशुहरूलाई अदालतले तोकेको २० दिनको सीमाभन्दा बढी समय हिरासतमा राखेको पाइएको छ। जब कि बाइडेन प्रशासनको अन्तिम वर्षमा, ३ वर्षमुनिका कुनै पनि बालबालिकालाई २० दिनभन्दा बढी राखिएको थिएन।

सन् २०१५ मा एक सङ्घीय न्यायाधीशले ‘फ्लोरेस विरुद्ध रेनो’ सम्झौताको व्याख्या गर्दै बालबालिकालाई हिरासतमा राख्ने अधिकतम अवधि २० दिन तोकेका थिए।अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सकी बालरोग प्राध्यापक मार्शा ग्रिफिनले भनिन्,शिशु र बालबालिकाका लागि यो उमेर जीवनकै सबैभन्दा संवेदनशील समय हो र यस बेला हिरासतमा राख्नु उनीहरूका लागि अत्यन्तै हानिकारक हुन्छ। हाम्रो आप्रवासन प्रणालीले बालबालिकाहरूलाई भित्रैदेखि तोडिरहेको छ।

गत मार्च महिनामा क्यालिफोर्नियामा आप्रवासन अधिकारीहरूसँगको नियमित भेटघाटका क्रममा २ वर्षीय बालक कालेथ र उनका आमाबुबालाई हिरासतमा लिइयो। यस परिवारले सन् २०२४ मा शरणका लागि आवेदन दिएका थिए र उनीहरूले कुनै पनि तारिख गुमाएका थिएनन्। हिरासतपछि कालेथ र उनकी आमा जोआनीलाई टेक्सासको दिली प्रशोधन केन्द्रमा पठाइयो भने बुबालाई हतकडी लगाएर क्यालिफोर्नियाकै अर्को वयस्क हिरासत केन्द्रमा राखियो।

ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियान, ५०० भन्दा बढी शिशु हिरासतमा

बुबाबाट छुट्टिएपछि कालेथ गहिरो तनावमा परे र १२ दिनसम्म खाना खाएनन्। डाक्टरहरूले यसलाई डिप्रेसनको लक्षण बताए। आमाले जबर्जस्ती खुवाउन खोज्दा उनले बान्ता गरे र उनको पाचन प्रणाली नै बन्द भयो।

क्यालिफोर्नियाको गैर-नाफामूलक संस्था ‘लिप’ की सीईओ लोरी गुडम्यान भन्छिन्, बालक यति धेरै मानसिक तनावमा थिए कि त्यसको असर उनको शरीरमा देखियो। बच्चा जति लामो समय यस्तो वातावरणमा बस्छ, उसको मानसिक र शारीरिक स्वास्थ्यमा त्यति नै दीर्घकालीन क्षति पुग्छ।

कोलम्बिया ल स्कूलकी प्राध्यापक एलोरा मुखर्जीले दिली केन्द्रमा थुनिएका ८० भन्दा बढी बालबालिकाहरूको प्रतिनिधित्व गरिसकेकी छिन्। उनका अनुसार हालैका महिनाहरूमा धेरैजसो बालबालिकाले कमजोर स्वास्थ्य सेवाका कारण ज्वरो, बान्ता, पखाला र खोकी जस्ता समस्या भोगेका छन्।

कालेथ र उनकी आमालाई अप्रिलमा रिहा गरिएपछि अहिले उनीहरू बुबासँग पुनर्मिलन भएका छन् र बालकको स्वास्थ्यमा सुधार भइरहेको छ।यस विषयमा आइसका प्रवक्ताले एजेन्सीले विदेशी नागरिकहरूलाई द्रुत गतिमा उनीहरूको देश फिर्ता पठाउन ओभरटाइम काम गरिरहेको दाबी गरे।

अदालतमा पेस गरिएको प्रतिवेदन अनुसार १२ महिनामुनिका शिशुहरूलाई प्याकेजको दूध बनाउन बोत्तलको पानी, खेलौना, बहुभाषिक पुस्तक र उमेर अनुकूल खानेकुरा उपलब्ध गराइएको छ।

निजी हिरासत केन्द्र सञ्चालक ‘कोरसिभिक’ का प्रवक्ता ब्रायन टोडले पनि दिली केन्द्रमा शिशुहरूका लागि आवश्यक सबै सामग्री उपलब्ध रहेको बताए। ‘आइस’ ले आफूहरूले बालबालिकालाई लक्षित नगरेको र परिवारलाई अलग नगरेको दाबी गर्दै विगतका प्रशासनहरूमा जस्तै अभिभावकलाई आफ्ना बालबालिकासँगै स्वदेश फर्कने वा कुनै सुरक्षित व्यक्तिको जिम्मा लगाउने विकल्प दिइएको स्पष्ट पारेको छ।





Source link

Leave a Comment