६ असार, काठमाडौं । वैज्ञानिकहरुले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा घट्दै गएकाले करोडौं जनसंख्या पानीको संकटमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिकहरुले यसो हुनुमा मुख्यरुपमा जलवायु परिवर्तनको कारणलाई लिएका छन् ।
नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ परेको र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घटेको छ ।
यसबाट हिउँमा निर्भर र हिमालय क्षेत्रबाट निस्कने नदीहरुको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई संकटमा पार्न सक्ने चेतावनी दिइएको छ ।
त्यसैले नेपालसहित चीन, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, म्यानमार जस्ता देशहरुलाई चेतावनी दिँदै इसिमोडले भनेको छ, ‘पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको संकेत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायहरुका लागि खतराको घण्टी हो ।’
त्यसैले इसिमोडका वैज्ञानिकहरुले पानी अभाव, बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्याँस उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् ।
इसिमोडमा कार्यरत पाकिस्तानी वैज्ञानिक शेर मोहम्मदले हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको तहबारे अध्ययन गर्ने टोलीको नेतृत्व गरेका थिए । उनी भन्छन्, ‘हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर तल–माथि भएकाले विशेष गरी यसै वर्ष पानीको गम्भीर संकट हुनसक्छ ।’
उनका अनुसार यस वर्ष (सन् २०२४) मा हिउँको मात्रा १८.५ प्रतिशतले कमी आएको छ । यो ६ वर्ष अघिको तुलनामा शून्य दशमलव ५ प्रतिशतले कम हो । त्यसो त हिमालय क्षेत्रमा हरेक वर्ष हिउँको मात्रा तलमाथि भरहन्छ । इसिमोडमा कार्यरत वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठ भन्छन्, ‘कुनै वर्ष धेरै नै हिउँ परेको र कुनै वर्ष कम परेको देखिएको छ । तर हरेक वर्ष घटिरहेको छ भन्न चाहिँ अझै सकिँदैन ।’
उनका अनुसार सन् २०१८ मा हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रा १९ प्रतिशत कम थियो । सन् २०१९ र २०२० का वर्षहरुमा हिउँको मात्रा सरदरभन्दा ३० प्रतिशत बढी देखिएको थियो । सन् २०२२ मा १२ र सन् २०२३ मा १० प्रतिशतसम्म थियो ।
हिन्दुकुश हिमालय क्षेत्रको महत्व
हिन्दुकुश क्षेत्र पूर्वमा म्यान्मारदेखि पश्चिमको अफगानिस्तानसम्म ३५ सय किलोमिटर क्षेत्रमा फैलिएको छ । एसियाका १२ प्रमुख नदी प्रणालीहरुमध्ये एक चौथाइ नदी प्रणालीको पानीको मुख्य स्रोत हिन्दुकुश हिमालय क्षेत्र हो । यसमा गङ्गा, सिन्धु, एलो, मेकाङ्ग, इरावती लगायत छन् ।
नदी प्रणालीमा प्रवाह हुने पानीमा हिउँको योगदान भने एकनास छैन । मध्य एसियामा बग्ने अमुदार्या नदीमा प्रवाह हुने पानीमा ७४ प्रतिशत योगदान हिन्दुकुश हिमालय क्षेत्रको हिउँको छ । यसैगरी अफगानिस्तान हुँदै बग्ने हेलमन्ड नदीमा ७७ प्रतिशत र सिन्धु नदीमा ४० प्रतिशत पानीमा हिन्दुकुश हिमालय क्षेत्रको योगदान छ ।
हिमालय क्षेत्रको हिउँ यस क्षेत्रका करिब २४ करोड मानिसका लागि पानीको मुख्य स्रोत हो । त्यसका अलावा तटीय क्षेत्रमा रहने थप १.६५ अर्ब मानिस पनि यही स्रोतमा निर्भर छन् । यी प्रत्यक्ष र अप्रत्यक्षरुपमा अर्बौंका लागि भोजन, ऊर्जा, स्वच्छ हावा र आम्दानीका माध्यम बनेका छन् ।
तर विशेष गरी पश्चिमी हिन्दुकुश हिमालय क्षेत्रमा हिउँको मात्रामा तीव्र गिरावट आएको छ, जहाँ पानीको आपूर्तिमा हिउँको योगदान सबैभन्दा बढी छ ।
रिपोर्टअनुसार हिन्दुकुश र हिमालय क्षेत्रमा ‘स्नो पर्सिस्टेन्स’ अर्थात् जमिनमा हिउँ रहीरहने समय मापन गरिएको थियो । यल्लो रिभर अर्थात् ह्वाङ हो नदीमा भने हिउँको स्तर करिब २० प्रतिशत वृद्धि देखिए पनि अन्यमा ह्रास आएको छ ।
भारतको नदी प्रणालीमा सबैभन्दा कम स्नो पर्सिस्टेन्स पाइएको छ, जुन औसतमा १७ प्रतिशत कम छ । सन् २०१८ मा यो आँकडा १५ प्रतिशत थियो । अर्थात् अहिलेको स्थिति विगतको भन्दा पनि खराब छ ।
अफगानिस्तानको हेलमण्ड, तरिम र अमुदर्या नदीमा ३०, सिन्धुघाटीमा २३.३, इन्दुस र गङ्गामा २० तथा तिबेतियन प्लेटु, याङ्गत्जी र ब्रह्मपुत्र नदी प्रणालीमा १५ प्रतिशत ह्रास आएको छ ।
किन घट्यो हिउँ ?
जल तथा मौसम विज्ञान विभागको हिम सर्भे तथा हिमताल शाखाका अनुसार यस वर्षको हिउँदयाम सुक्खा हुँदा पनि हिमालयमा हिउँको मात्रा घटेको हो ।
हिउँदयाम अर्थात् जाडो महिनाहरुमा भूमध्य सागरबाट आउने जलवाष्पयुक्त हावाले नेपालमा पानी पार्छ । उच्च हिमाली क्षेत्रमा भने हिउँ पर्छ । तर यस वर्ष पानी र हिउँ दुवै कम परेको छ । त्यसैले विगतमा सेताम्मे देखिने हिमालहरुमा यस वर्ष काला पत्थर देखिएका थिए ।
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पनि यस वर्ष कम हिउँ परेको र हिमरेखा केही मिटर माथि सरेको अनुसन्धानकर्ताहरु बताउँछन् । हिम सर्भे तथा हिमताल शाखाका सिनिअर डिभिजनल हाइड्रोलोजिस्ट दिनकर कायस्थका अनुसार हिमरेखा भन्ने ठाउँहरू ५५ सयदेखि ५६ सय मिटरसम्म हुन्छ तर यसपालि खुम्बु क्षेत्रमा ६ हजार मिटरमा छ । उनका अनुसार पहिला हिमरेखा भन्ने गरिएको ठाउँमा अहिले हिउँ कम र चट्टान धेरै देखिन्छ ।
अमेरिकाको म्यासाचुसेट्सस्थित निकोलस कलेजका वातावरण विज्ञानसम्बन्धी प्राध्यापक मउरी पेल्टोले सगरमाथा क्षेत्रमा सन् २०२०–२०२१ मा गरेको एक अध्ययन रिपोर्टमा पनि सगरमाथाको हिमरेखा माथि सरेको उल्लेख गरेका छन् ।
हरितगृह ग्याँस उत्सर्जनका कारण विश्वव्यापी तापमान वृद्धि भइरहेको छ । सन् २०२३ ले हालसम्मकै सबैभन्दा बढी गर्मी वर्षको रेकर्ड राखेको छ । तापमान वृद्धिको असर हिमालमा पनि परिरहेको छ ।
सन् २०१७ मा जल तथा मौसम विज्ञान विभागले निकालेको रिपोर्टमा नेपालमा प्रतिवर्ष औसतमा ०.०५६ डिग्री सेल्सियसले अधिकतम तापक्रम बढिरहेको देखिएको छ र तापक्रम वृद्धिको अवस्था तराईको तुलनामा हिमालय क्षेत्रमा बढी देखिएको छ । त्यसले पनि हिउँ पगाल्न भूमिका खेलेको छ ।
हिउँ कम हुँदा के हुन्छ ?
आरोहीहरुका अनुसार हिमालमा हिउँ कम पर्दा पर्वतारोहण कठिन हुन्छ । किनकि आरोहणको क्रममा लगाइने विशेष प्रकारको जुत्ता हिउँ कम भएको ठाउँमा चिप्लिने डर हुन्छ । क्र्याम्पन्स भनिने त्यस्ता जुत्ताहरु बाक्लो र कडा बरफमा टेक्न मिल्ने गरी डिजाइन गरिएका हुन्छन् । यदि बरफ पग्लिएर कमलो भएमा त्यो जुत्ताले काम गर्दैन र दुर्घटनाको जोखिम रहन्छ ।
अर्कोतर्फ हिमालय क्षेत्रबाट पग्लिने हिउँ नदी प्रणालीको मुख्य स्रोत हो । तर हिमालमा कम हिउँ पर्नु र त्यसको स्तर तल–माथि हुनुले पानीको उपलब्धतामा कमीसँगै अन्य प्राकृतिक विपत्ती पनि सिर्जना हुनसक्ने वैज्ञानिकहरुको चिन्ता छ ।
वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरुणभक्त श्रेष्ठका अनुसार हिउँको कमीले मुख्य गरी पानीको स्रोत घट्छ र कृषि क्षेत्रमा पनि असर गर्छ । ‘हिमालय क्षेत्रमा हिउँ कम पर्नु भनेको मुख्य गरी पानीको उपलब्धतामा कमी हुनु हो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अर्को कुरा हिउँ पर्ने क्षेत्रमा पनि पानी पर्ने गरेको र वर्षा अनियमित भइरहेकाले कृषि क्षेत्र र तल्लो तटीय क्षेत्रमा बाढीजन्य प्रकोपको जोखिम पनि निम्त्याउन सक्छ ।’
निर्बल हिन्दुकुश हिमालय क्षेत्र
इसिमोडले हिन्दुकुश हिमालय क्षेत्रलाई दुई दशकभन्दा बढी समयदेखि निगरानी गर्दै आएको छ । प्राकृतिक स्रोतसाधनले धनी हिन्दुकुश हिमालय क्षेत्र विश्वकै अमूल्य सम्पदा मानिन्छ । तर जलवायु परिवर्तनका असर, वातावरण मैत्री नभएका विकास निर्माण लगायतका कारण यो क्षेत्र खतरामा परेको छ । विश्वकै स्वास्थ्य जाँच्न मिल्ने हिन्दुकुश हिमालय क्षेत्र निर्बल भएको इसिमोडका वैज्ञानिकहरुको निष्कर्ष छ ।
जलवायु परिवर्तनको असर हिमालय क्षेत्रमा पनि परिरहेकाले वर्षा अनियमित भइरहेको छ र हिउँ पर्ने ठाउँमा पनि पानी परिरहेको छ । त्यसैले नेपालका मुस्ताङ लगायतका जिल्लाहरुमा माटाका छाना हटाएर स्थानीयले जस्ताले घर छाउन थालेका छन् ।
‘हिउँ पानीजस्तो नचुहिने भएकाले मुस्ताङतिरका घरहरुमा माटो, ढुंगाका छाना हुन्थे । तर अहिले पानी बढी पर्ने र चुहिने गरेकाले स्थानीयले जस्ताले घर छाउन थालेका छन्,’ इसिमोडका वैज्ञानिक अरुणभक्त श्रेष्ठ भन्छन्, ‘हिउँको मात्रा हरेक वर्ष तलमाथि हुने गर्दछ । हिउँ कम पर्नु र हिउँ पग्लिने दर पनि बढ्नु चाहिँ चिन्ताको विषय हो ।’