हिउँद सुक्खा हुँदा अर्थ व्यवस्थामा दबाब, स्वास्थ्य जोखिममा


लगातार २ वर्षको हिउँद सुक्खा भएजस्तै यो वर्षको हिउँद पनि पानी नपरी सुक्खा नै हुने अनुमान गरिएको छ । नेपालको मौसमी पात्रोमा मंसिर १५ देखि फागुन १५ सम्मको अवधिलाई हिउँदयाम भन्ने चलन छ । गएका २ वर्षको हिउँद उल्लेख्य वर्षा नभई सकिएका थिए । यो वर्षको हिउँदको मध्यतिर आइपुग्दा पनि वर्षाको कुनै सम्भावना छैन ।

नेपालको उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा छिटफुट हिमपात भए पनि महाभारत, चुरे र तराईमा वर्षा हुन सकेको छैन । नेपालमा हुने वर्षाको ८ देखि १०  प्रतिशत वर्षा हिउँद याममा हुने बताइन्छ । यस्तै अंग्रेजी महिनाको जनवरीमा ६० मिलिमिटर वर्षा हुनुपर्छ भन्ने मत मौसमविद्हरुको छ । विगत वर्षको अनुभव र यो वर्षको अनुमानले जनवरीमा वर्षा हुने सम्भावना कम छ, भयो भने पनि ६० मिलिमिटर भन्दा कम हुने अनुमान छ ।

जलवायुविद् डा. धर्मराज उप्रेतीले यो हिउँदमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत अनुमान गरिएको बताए । नेपालको हिउँदयामको वर्षा अरब सागरमा बन्ने जलचक्रीय प्रणाली र पश्चिमी वायुमा बढी निर्भर छ । यी दुवै प्रणालीमा पानीको मात्रा (जलजवाष्प)को कमीले वर्षा हुन नसकेको हो ।

हिउँदे वर्षाको महत्व

नेपालमा हिउँदे वर्षाको निकै महत्व छ । हिमालय क्षेत्रमा उद्गम भएर बग्ने नदीको पानीको मुख्य श्रोत नै हिउँदे वर्षासँगै हुने हिमपात हो । नेपालमा हिउँदको वर्षाले हिमाल र जमिनमा पानीको पुनर्भरणको काम गर्छ । हिमालमा हिउँको रुपमा र हिउँ नपर्ने स्थानमा पानी जमीन भित्र गई जम्मा हुन्छ । यो नै पछि गएर मूलको रुपमा बाहिर आउँछ । हिउँदमा पानी नपरे वर्षायाममा घटेको जलसतहमा पुनर्भरण हुन पाउँदैन जसको असर वर्षायाममा मूल फुट्न समय लाग्ने साथै कतिपय स्थानमा मूल फुट्न नै नसक्ने हुन्छ ।

अर्कोतर्फ हिउँदे वर्षा नहुँदा वन डढेलो र आगलागीको घटना बढ्छ । आगलागीले जनधनको क्षतिसँगै वायु प्रदूषण बढाउँछ । प्रदूषणको घनत्व जति बढी हुन्छ त्यति सुक्खा र पानी कम पर्ने सम्भावना बढेर जान्छ ।

डा. उप्रेती भन्छन्, ‘हिउँदे वर्षा कम हुँदा सुक्खा र खडेरीको अवस्था आउँछ । आगलागीका घटनाहरु बढी हुन्छन् । आगलागीका घटनाहरु बढी भयो भने वन, जंगलमा हुने पारिस्थितिकीय प्रणाली बिग्रन्छ । प्रदूषणमा वृद्धि हुन्छ । काठमाडौं जस्तो चारैतिरबाट ठूला पहाडले घेरिएको ठाउँमा धुवाँ धुलोको मात्रा बढ्छ । तर त्यसलाई बाहिर पठाउनका लागि कि त वर्षा हुनुपर्छ कि त ठूलो हावा चल्नुपर्छ । त्यस्तो भएन भने लामो समयसम्म काठमाडौं प्रदूषित शहर भएर बस्छ ।’

जलवायुविद् डा. धर्मराज उप्रेती

आज नै काठमाडौंमा वायुगुणस्तर सूचक १५० देखि १८० एक्यूआई हाराहारी छ । यो निकै हानिकारक हावाको अवस्था हो । नेपाली आकाशमा रहेको प्रदूषित हावालाई पश्चिमी वायुले विस्थापित नगरेसम्म पानी पर्ने सम्भावना रहँदैन । पछिल्ला केही वर्षयता पृथ्वीको तापक्रममा वृद्धि हुनु र हिउँदे वर्षा गराउने श्रोतमा आएको सुक्खापनले पश्चिमी वायुको प्रभाव कमजोर बनिरहेको छ । त्यसमाथि वायु प्रदूषणले पश्चिमी वायुलाई तल्लो सतहसम्म आउन दिएको छैन ।

हिउँदे वर्षा र कृषिको सम्बन्ध

हिउँदमा पानी नपरे नेपालको कृषि प्रणाली, जलवायु चक्र र अर्थ प्रणालीमा प्रत्यक्ष र गहिरो असर गर्ने देखिएको छ । गहुँ, जौ, तोरी, केराउ जस्ता बाली हिउँदे वर्षामै निर्भर हुन्छन् । वर्षा नहुँदा चिस्यानको कमीले खेतबारीमा छरेको अन्न नै उम्रन सक्दैन । ढिलो गरी उम्रे पनि यसले अपेक्षाअनुसारको उत्पादन दिन सक्दैन । जसले खाद्य संकट निम्त्याउँछ । नेपालमा धान, मकै पछिको प्रमुख बाली गहुँ हो जुन पूर्णरुपमा हिउँदे वर्षामा निर्भर रहन्छ । सतही सिंचाइ भन्दा पनि आकाशे पानीको प्रभाव धेरै राम्रो र उत्पादक मानिन्छ ।

जलवायुविद् डा. उप्रेतीले सरकारका प्रमुख दुई निकाय जल तथा मौसम विज्ञान विभागले कम पानी पर्ने प्रक्षेपण गरेको अवस्था र कृषि मन्त्रालयले हिउँदे बाली कम उत्पादन हुन्छ भनेको अवस्थामा पनि सरकारको पूर्वतयारी नहुनु बिडम्बना भएको टिप्पणी गर्छन् । पूर्वानुमानअनुसारको पूर्वतयारी नगर्दा आइपर्ने संकट व्यवस्थापन गर्न नसकिने खालको हुने उनको भनाइ छ ।

हिउँद सुक्खा हुँदा अर्थ व्यवस्थामा दबाब, स्वास्थ्य जोखिममा

हिउँदमा लगातार सुक्खा र खडेरी परिरहँदा यसको असर समग्र खाद्य चक्र र मूल्यवृद्धिले अर्थ व्यवस्थामा दबाब परिरहेको छ । कृषिमा आश्रित हुने जनसमुदाय अझ आफूले खानको लागि मात्र उत्पादन गर्ने किसान हिउँदे जलवायुमा आएको परिवर्तनले सबैभन्दा मारमा पर्नेछन् । यसले भोकमरी, गरिबी र अनियन्त्रित बसाईं सराइलाई बढाइरहेको छ ।

केही वर्ष यता जलवायु परिवर्तनले मौसमी पात्रोमा फेरबदल आएको छ । हिउँदे वर्षा हराउँदै गएको छ भने पहिला जुन रुपमा जुन ठाउँसम्म हिउँ पथ्र्यो अहिले त्यहाँ पानी पर्न थालेको छ । अर्थात् हिउँ पर्ने रेखा माथि सरेको छ ।

हिउँदे वर्षा र मानव स्वास्थ्यको सम्बन्ध

हिउँदे वर्षा नहुँदा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्छ । मानिसले दैनिक प्रयोग गर्ने पानीको उपलब्धतामा कमी आउँछ भने उपलब्ध भएको पानी पनि गुणस्तरीय हुँदैन । जसले प्रदूषित पानी र प्रदूषित पर्यावरणले जनस्वास्थ्यमा सीधा नकारात्मक असर गर्दछ ।

हिउँद सुक्खा हुँदा अर्थ व्यवस्थामा दबाब, स्वास्थ्य जोखिममा

जलवायुविद् डा. उप्रेतीले पानी पर्ने तौरतरिकामा परिवर्तन हुने बित्तिकै त्यसको सिधा असर पानीको गुणस्तर र परिणाममा समेत पर्ने भएकाले पानीका स्रोत संरक्षणका लागि सरकारले तदारुकताको साथ काम गर्नुपर्ने बताउँछन् । ‘पानीको उपलब्धताको कमी हुनु, गुणस्तरीय नहुनु, वातावरण प्रदूषित नै रही रहनु, जमिनभन्दा नजिकै रहने धुलोको कण मिश्रित वायुले लामो समय चिसो र सुक्खा बढाउने भएकाले जनस्वास्थ्य जोखिमपूर्ण बन्ने सम्भावना छ,’ डा. उप्रेती भन्छन्, ‘अस्पताल र स्वास्थ्य संस्थामा जोखिम मूल्यांकन गरेर तयारी गर्नुपर्ने आवश्यक छ । यस समयमा फैलनसक्ने संक्रामक रोगविरुद्ध लड्न सरकारले पूर्णकालिन योजना नै बनाएर लागू गर्नुपर्दछ ।’

सबै प्रकारका विपद्को अलग—अलग अनुकूलन कार्यक्रम आवश्यक

नेपालको जलवायु र मौसममा आइरहेको अस्वाभाविक परिवर्तन अनुकूलको कार्ययोजना बनाउन आवश्यक छ । नेपालमा केही वर्षयता मौसमजन्य विपदका घटना बढिरहेको सन्दर्भमा सबै मौसमका लागि अनुकूलननको योजना आवश्यक छ । सबै प्रकारका मौसमजन्य विपदका घटना बाहिर आइसकेको अवस्थामा एउटा मात्र (मनसुन र गर्मी) मौसमका लागि अनुकूलनको कार्यक्रम सञ्चालन गरेर हुँदैन ।

जलवायुविद् डा. उप्रेती चिसोमा हुने अनुकूलन कार्यक्रम र बढी गर्मी/तातो भएमा लागू गर्ने अनुकूलन कार्यक्रम फरक हुने बताउँछन् । ‘बाढीको अनुकूलनको अवस्था एउटा हुन्छ भने पहिरोको अनुकुलनको अवस्था अर्को हुन्छ । प्रत्येक प्रकोप र विपद्ले निम्त्याउने हानि नोक्सानी फरक–फरक हुने भएकाले फरक तरिकाले नै त्यसलाई अवलम्वन गर्नुपर्छ,’ उनी भन्छन्, ‘हामीले बनाएको राष्ट्रिय अनुकूलनन कार्यक्रम र योजनामा सबै प्रकारका जलवायुजन्य विपद्का अलग–अलग अनुकूलन कार्यक्रम राख्न ढिलो गर्नुहुन्न ।’

पूर्वसूचनाको व्यापकता आजको आवश्यकता

नेपाल धेरै प्रकारको विपद्को जोखिममा छ । विपद्लाई रोक्न सकिन्न तर सम्भावित जोखिम र अनपेक्षित हानिनोक्सानि कम गराउन सकिन्छ । त्यसका लागि सम्भावित मौसमी अवस्थाको भरपर्दो पूर्वानुमान र त्यसको पूर्वसूचना सबैसमक्ष पुर्‍याउने प्रणाली आवश्यक छ ।

हिउँद सुक्खा हुँदा अर्थ व्यवस्थामा दबाब, स्वास्थ्य जोखिममा

अहिले वर्षा हुन नसक्दा सुक्खापन बढ्दै गएको छ । सँगै वायु प्रदूषणको मात्रा बढेको छ । यस्तो अवस्थामा दैनिक जीवन र प्राथमिकता फरक गर्न सक्नुपर्छ । व्यक्तिगत रुपमा सकेसम्म घर बाहिर ननिस्कने, निस्के पनि शरीरको धेरै भाग ढाकिने कपडा लगाएर निस्कने, मास्क लगाएर निस्कने गरेर व्यवहारमा परिवर्तन गर्न सकिन्छ । यो सबै पूर्वसूचनामा आधारित भएर सम्पादन गर्न सकिन्छ ।

पूर्वसूचनामा वायु प्रदूषण बढेको छ भन्ने पाइयो भने, सार्वजनिक गाडी प्रयोग गर्ने, पेट्रोल खपत हुने सवारी साधनको सञ्चालनमा नियन्त्रण गर्ने, स्कुल र कलेजको अध्यापन सञ्चालन अवधि छोट्याउने जस्ता कार्य गर्न सकिन्छ । यसले जोखिम र हानि, नोक्सानी कम गर्न सकिन्छ ।

दैनिक मौसम जानकारी सुविधाको कुरा मात्र होइन तर सार्वजनिक जीवन, स्वास्थ्य, सुरक्षा, र आर्थिक स्थिरताको रक्षा गर्न एक महत्वपूर्ण कारक पनि हो । समयमै र सही पूर्वानुमान प्रदान गरेर, मौसम जानकारीले व्यक्तिहरू, समुदायहरू र सरकारहरूलाई सुचित गरी निर्णयहरू लिन सक्षम बनाउँछ ।

हामी अहिले हिउँद याममा छौँ । हिउँदे जलवायु पनि नेपालका लागि महत्वपूर्ण मानिन्छ । तर पछिल्लो केही वर्षयता प्रक्षेपण गरिएअनुसार हिउँदयाम कष्टकर, कम उत्पादकत्व, खडेरी र जनजीवन प्रभावित पार्ने खालको रहँदै आएको छ ।

—न्युज एजेन्सी नेपालबाट





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School