कुरोको शुरुआत सत्ता राजनीतिबाटै गरौं र एकपटक फेरि मध्यपूर्वतिरै लागौं। यतिखेर मध्यपूर्वमा अर्को संकट थपिएको छ। सिरिया विद्रोहीहरूको कब्जामा गएको छ। भर्खरै सिरियाली राष्ट्रपति बसर अल असद देश छाडेर पलायन भएका छन्। भन्ने गरिन्छ, राजा मरेर काज अड्किन्न। यानि कि, सार्वभौम देशको गतिविधि आफ्नै लयमा अगाडि बढ्छ।
तर सिरियाको अवस्था हेर्दा त्यस्तो देखिन्न। मानौं कि, असदको पतनसँगै सिरिया मरेको छ। निर्जीव सिरियाको सिनोमाथि यतिखेर चिल–गिद्धका झुण्डहरू झुत्तिरहेका छन्।
यो लेख्दै गर्दा सिरियाका सामरिक महत्वका क्षेत्रहरूमा अहिले वैदेशिक हमला जारी छ। लडाकू विमानहरू, बम बारूद, तोप गोला, क्षेप्यास्त्रहरू बर्सिरहेका छन्।
असदको पलायन भइसकेको, आफूले उचालेका विद्रोहीहरूको हातमा सत्ता आइसकेको अवस्थामा तिनीहरूले सिरियाली हवाई अड्डा, सैन्य सामग्री भण्डारमा किन तारो हानिरहेका छन्, दुनियाँ आश्चर्यमा छ।
राज्यसत्ता चलाउन आएका विद्रोहीहरूलाई भोलिका दिनमा सग्लो सिरिया, सकल अनि सबल सिरिया, सिरियाली सैन्य बल नचाहिने त पक्कै हैन होला! र पनि इजरायल, टर्की लगायतद्वारा जारी हमलामाथि विद्रोहीहरू किन मौन छन्, ताज्जुबको विषय छ।
नागरिक दमन गर्ने राज्यसत्ता दुश्मन हुन सक्छ। दुश्मन सत्तासँग रहेको संरचनाले खतरा उत्पन्न गराउने सम्भावना रहुन्जेल हमला हुन सक्छ। त्यसमाथि हतियार उठ्न सक्छ। तर कुनै पनि विद्रोही समूहले राज्यसत्ता जितिसकेपछि राज्यको संरचनामाथि कदाचित हमला गर्दैन। तर सिरियामा अपवाद देखिंदैछ।
वास्तवमा सिरिया अहिले विद्रोहीको भन्दा पनि वैदेशिक हमलाकारीको हातमा पुगेको छ, जसले सिरियाली विद्रोहीहरूलाई मोहोरा बनाउँदै विद्रोहीको स्वरूपबाट सोझै देशद्रोहीको कित्तामा हुत्याएको छ।
जबसम्म असद सिरियामा रहे, कसैले यसरी प्रत्यक्ष हमला गर्ने हिम्मत गरेको देखिएन। त्यसैले पनि मान्नै पर्ने हुन्छ, सिरियालाई आजसम्म दुश्मनी हमलाबाट जोगाउने मान्छे त असद नै रहेछन्। यति कुरा ठोकुवा साथ भन्न जोखाना हेरिरहनु परेन।
हिजो अफगानिस्तान, इराक, लिविया लगायत देशहरूमा लाखौंलाख जनताको रगतमाथि होली खेल्ने शक्तिले नै सिरियामा सत्तापलट गरायो भन्ने कुरामा दुईमत नहोला। कब्जामा परिसकेका वर्तमान, निवर्तमान शासकहरूलाई मार्ने, सडकमा घिसार्ने, कठपुतलीहरूलाई मानवअधिकारवादी र लोकतान्त्रिक मसिहाको जामामा नचाउँदै हाइब्रिड सत्ताको अभ्यासलाई जबर्जस्त लाद्ने तिनको परम्परागत विधि-प्रक्रिया अनि ढाँचाको पछिल्लो कडीमा अब सिरिया पनि परेको छ।
हाइब्रिड सत्ता भनेको त्यस्तो सत्ता हो जसले स्थानीय जात–जाति, भाषाभाषी, तिनको मूल्यमान्यता, संस्कार अनि संस्कृतिलाई मूलतः निषेध गर्दछ। यसमा मान्छेहरूको लत बसाल्ने आकर्षक कलेवर, स्वाद र बनावटका मन्द विषको मिलावट गरिन्छ। जब लत बसालिन्छ, हाइब्रिड सत्ताले आफ्नो रूप देखाउन शुरु गर्दछ।
राजनीतिमा होस् या आर्थिकमा। संस्कारमा होस् या संस्कृतिमा। बालीबिरुवा पशुपक्षीमा होस् या कृषिमा। हाइब्रिड सत्ताको प्रभाव चौतर्फी छ। जस्तै उदाहरणका लागि कृषिमै प्रवेश गरौं। बढी उत्पादनको लोभमा हाइब्रिड प्रजातिका धान, मकैको खेती त गर्छौं, उत्पादन पनि बढाउँछौं, तर गुणस्तर ? ध्यान कमै छ। उत्पादन त बढाउँछौं, तर भूस र ढुटोको बढोत्तरीलाई नजरअन्दाज गरिदिन्छौं।
हाइब्रिडको आगमनसँगै बारी, कान्ला, गरा, खेत–खलियान, फाँट जताततै रोगको प्रकोप फौजी स्तरमा फैलँदो छ। विषादीको प्रयोग विना फसल भित्र्याउन हम्मे छ।
बल्ल–बल्ल भित्र्यायो, भण्डारणमा जोगाउन उस्तै कठिन। जबकि विगतमा स्थानीय जातको अनाज वर्षौं वर्ष राख्दा पनि किसान यो समस्यामा कमै थिए। तर अहिले के भा’को। कम्प्युटरका प्रोगाममा भाइरस पठाएर एन्टिभाइरसको व्यापार गरे झैं हाइब्रिड सत्ताले जैविक सेनाका रूपमा विभिन्न जातका, बेनामी कीरा–फट्याड्ग्राहरू बीउबिजन सँगसँगै पठाई विषादीको व्यापार चम्काउँदैछ।
अझ योभन्दा पनि दुःखको कुरा त हामी स्थानीय जातको खेतीमा रहँदा बीउबिजनमा आत्मनिर्भर थियौं। हामीले गरेको खेतीबाट जन्मसिद्ध गुणको रूपमा बीजको उत्पादन हुन्थ्यो। तर अहिले ? भकारीभरी धान छ, मकैको कुन्यूँ छ तर बीज छैन। एक पटकलाई मात्र काम दिने गरी सुमारेको बीउलाई बजारीकरण गरिएको छ।
परिणामत: वर्षैपिच्छे बीउबिजनको खोजीमा लाम लाग्नुपरेको छ। उनीहरूको ढोका–ढोकामा भौंतारिनुपरेको छ। भोलिका दिनमा हाइब्रिड सत्ताको मालिकले बिजनमा अङ्कुश लगायो भने? हो, राजनीतिलाई पनि अहिले यस्तै बनाइएको छ। बनाउने प्रयास जारी छ।
हामी २१औं शताब्दीका सचेतजन हौं। तर यति भनेकै भरमा हाम्रो दायित्व पूर्ण हुँदैन। हामीले आफ्नो पहिचानलाई कायम राख्नुपर्छ। अन्यथा हाइब्रिड सत्ताको मालिकले सुमरेको धान-मकैको बीज झैं हमिद कारजाई, नूर मलिकी, असरफ घानी जस्ता नपुङ्सक मालहरूको आपूर्तिलाई निरन्तरता दिनेछ। जसमा भूस र ढुटो, बारुद, विषादी, चिहान अनि कंकालको थुप्रो बाहेक केही मिल्ने छैन
मानवअधिकारको रक्षा भन्ने तर मान्छेकै बलि चढाउने, आम विनाशकारी हतियार निर्माणलाई रोक्ने भन्ने तर तिनै हतियारको बलमा विश्वमा नरसंहार मच्चाउने, आफूलाई लागेको हरेक कुरा बलात् लाद्ने सिद्धान्तको पर्याय बनेको छ हाइब्रिड सत्ताद्वारा निर्देशित तिनको सत्तातन्त्र।
भन्ने गरिन्छ, कुनै पनि देशको पतनमा बाह्य भन्दा आन्तरिक कारण प्रमुख हुन्छ। त्यसमा प्रमुख भूमिका कठपुतली बन्न तयार पात्रले निभाएको हुन्छ। हमिद कारजाई, नूर मलिकी, असरफ घानी, जेलेन्स्की लगायतकाहरू त्यसका जिउँदोजाग्दो उदाहरण हुन्। हाइब्रिड सत्ताद्वारा परिचालित सक्कली बीजहरू यिनै हुन्।
मान्छेहरूको कत्लेआम कसरी गर्नुपर्छ हाइब्रिड सत्तालाई भरपुर ज्ञान छ। सद्दामलाई मारेपछि नूर मलिकीको इराकमा के भयो, छर्लंगै छ। लिबियामा गद्दाफीको हत्यापछि कति नरसंहार मच्चाइयो, कुनै लेखाजोखा छैन।
हाइब्रिड सत्ताको गोठालो हमिद कारजाई र असरफ घानीको घानमा परेका लाखौं–करोडौं अर्गानिक बीजहरू अफगानिस्तानमा पुनर्जागृत भएर तिनलाई खेदिसकेको अवस्था हेर्दा थोरै आशाको किरण देखिए पनि सिरियाको नयाँ घाउले विश्व मानव जगतलाई पीडा दिएको छ।
सिरियाकै जस्ता हाइब्रिड सत्ताका भरियाहरू हामीकहाँ पनि बग्रेल्ती छन्। मध्यपूर्वका निरीह बालबालिकाहरूमाथि वज्रिने इजरायलीका हरेक तोपगोलालाई सलाम ठोक्ने गर्छन्। स्कुल, कलेज, अस्पताल, बालबालिका, महिला, वृद्धवृद्धा, बिरामीका शय्याहरू बारुदका धुवाँसँगै आकाशमा विलाउँछन्, यता इजरायली शक्तिको महिमा गाउन सुरु हुन्छ। यसको विरोध हुनुपर्छ भनियो भने १२०० जना इजरायली किन मारियो त भन्ने उत्तर सहजै प्राप्त हुन्छ।
मानौं, १२०० इजरायली मारिनु अघि हमास, हेजबुल्लाह, प्यालेस्टाइनीसँग उसको सम्बन्ध सुमधुर थियो। यो द्वन्द्वको जग के हो, बुझ्नु पनि नपर्ने। कति सतही जवाफ। आखिर हाइब्रिड सत्ताको स्कूलिङ न पर्यो!
हिटलरले खेदेका यहूदीहरू जब जर्मनबाट लुक्दै भाग्दै इजरायल पुगे, इजरायललाई फैलाउने चेष्टा सहित आदिवासी प्यालेस्टाइनीको भूमि हडप्न थाले। गाजा लगायत पश्चिम तटीय क्षेत्र अहिले पूर्णत: भग्नावशेषमा परिणत भएको छ। यसरी सन् १९४८ मा स्थापित इजरायल मध्यपूर्वको दादा बन्यो, बन्ने क्रम जारी छ। यो कसले बुझिदिने ?
हिटलरले खेदेका यहूदीहरू जर्मन फर्किएर किन विद्रोह गर्न सकेनन् भन्ने सवाल गरियो भने सम्भवत: सवाल अनुत्तरित नै रहला। हिटलरको ग्यास चेम्बरमा जलेर खरानी भएका आफ्ना पुर्खाको विरासत जर्मनतिर पनि त छ भन्ने राज तिनले किन भुले होला!
नेतान्याहूसँग साँच्चै नै दम छ भने जर्मनीसँग किन मुन्टो लुकाउँछन् र यताका निरीह प्यालेस्टाइनीसँग दादागिरी देखाउँदै छन् भन्ने सवाल कसैले उठाएको पनि देखिन्न। सायद तिनको शक्तिसँग सबै थुर्थुर छन्।
अरबीहरूलाई तिनकै माटोमा घरबारविहीन बनाएपछि, आफ्नै आँगनमा शरणार्थीको जीवन जिउन बाध्य पारेपछि तिनीहरू के सधैं बुद्ध बन्न सक्छन् ? अनि उनीहरू हमास नबनेर के बन्छन् ? हेजबुल्लाह नबनेर के बन्छन् ?
तर कठपुतलीहरूलाई इतिहास थाहा छैन। गुनगान गाउनु, यसो ओहोरदोहोर गर्ने भिसा लगाइपाउनु, यताको धन उता थुपार्नु, तस्करीको माल लुकाउनु, अमूक बहुराष्ट्रिय कम्पनीहरूमा लगानी बढाउनु, जनताले विद्रोह गरिहाले भने भागेर टाउको लुकाउनकै लागि पीआर, ग्रिनकार्ड हात लगाउँदै मालिकको सेवामा हाजिरी जनाउनु भन्दा खासै मकसद पनि त छैन।
हिजो पनि यिनको ड्युटी यही थियो। सद्दाम हुसेनको समृद्ध इराक तहसनहस पारिंदा होस् या कर्णेल मोहम्मद गद्दाफीको शरीर सडकमा घिसारिंदा, हाम्रा भरियाहरूले ताली नठटाएको पल कुनै थियो र ?
इराकमा इराकी मार्न, अफगानिस्तानमा अफगानी मार्न, कार्गिलमा पाकिस्तानी मार्न, फकल्याण्डमा अर्जेन्टिनी मार्न र पछिल्लो समय रसियामा रसियन मार्न युक्रेन, अमेरिकी-बेलायती-भारतीय सेनाको क्याम्पमा भर्ती हुँदा नदुखेको कपाल अहिले एकादुई नागरिक रसियन पक्षमा भर्ती हुँदा दुखेको छ। असंलग्न परराष्ट्र नीतिको यादले ज्वरो निकालेको छ। यही त हो गुलामहरूको धर्म। हाइब्रिड सत्ताका असली पहरेदारी।
हुँदाहुँदा आजभोलि त ऋण पनि हाइब्रिड खेमाको भए लिने नत्र नलिने रे! भनेपछि, दलालीको हद कहाँ पुगेछ, अनुमान लगाउन सकिन्छ। र आज देश यस्तै यस्तै झुण्डको कब्जामा छ। बोलवाला यिनैको छ। अनि यस्तोमा हामीले मध्यपूर्वका देशहरूमा विकसित घटनाक्रमलाई नियाल्नुपर्छ कि पर्दैन त ?
वास्तवमा यो भनेको मध्यपूर्वका देशहरू मरेको, मारिएको चिन्ता मात्र हैन, त्योभन्दा ज्यादा चिन्ता विश्व मानव जीवनमाथि काल पल्किएकोमा हो। एउटा स्वतन्त्र देशमाथि विध्वंस मच्चाउने हाइब्रिड सत्ता यानि कि पश्चिमा लोकतन्त्रको परिभाषासँग सती नजाने हो भने मान्छेले आफ्नो श्रेष्ठतालाई अझै पनि कायम राख्न सक्दछ।
जसरी आज अफगानिस्तानले त्यो कोसिस गरिरहेको छ। एक पटकलाई मात्र काम दिने हाइब्रिड सत्ताको कानो बीज असरफ घानीहरू स्थानीय जातबाट विस्थापित भइसकेका छन्। तर अफगानिस्तानले लिएको यही बाटो तय गर्न सिरियाले बलिदानीको कोटा कति चुक्ता गर्नुपर्ने हो, कुनै ठेगान छैन।
अन्त्यमा, हामी २१औं शताब्दीका सचेतजन हौं। तर यति भनेकै भरमा हाम्रो दायित्व पूर्ण हुँदैन। हामीले आफ्नो पहिचानलाई कायम राख्नुपर्छ। अन्यथा हाइब्रिड सत्ताको मालिकले सुमरेको धान-मकैको बीज झैं हमिद कारजाई, नूर मलिकी, असरफ घानी जस्ता नपुङ्सक मालहरूको आपूर्तिलाई निरन्तरता दिनेछ। जसमा भूस र ढुटो, बारुद, विषादी, चिहान अनि कंकालको थुप्रो बाहेक केही मिल्ने छैन ।