हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट कर नउठाउन इरानलाई अमेरिकाको चेतावनी



प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार

हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट कर नउठाउन इरानलाई अमेरिकाको चेतावनी

फोटो : एएफपी/रासस

अमेरिकाले हर्मुज जलमार्ग हुँदै जाने तेलवाहक जहाजहरूबाट शुल्क नउठाउन इरानलाई चेतावनी दिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नेताहरूलाई उक्त जलमार्ग प्रयोग गर्ने जहाजहरूबाट शुल्क नलिन कडा चेतावनी दिएका हुन्।

इरानले हर्मुज जलमार्ग भएर जाने तेल ट्याङ्करहरूबाट शुल्क उठाउने तयारी गरिरहेको खबर बाहिर आएपछि अमेरिकाले यस्तो धारणा सार्वजनिक गरेको हो।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन्, “इरानले हर्मुज जलमार्ग हुँदै जाने ट्याङ्करहरूबाट शुल्क उठाइरहेको भन्ने खबर आएको छ यदि त्यसो भइरहेको हो भने तुरुन्त बन्द गर्नुपर्छ!”

मङ्गलबार राति भएको युद्धविराममा हर्मुज जलमार्ग पूर्ण रूपमा र तुरुन्त खुला गरिने भनिएको थियो। तर, अहिले पनि त्यहाँबाट तेल ट्याङ्करहरूको आवतजावत लगभग ठप्प जस्तै छ। यसको मुख्य कारण इरानबाट स्पष्ट निर्देशन नआउनु हो।

ट्रम्पले इरानको पछिल्लो कार्यप्रति असन्तुष्टि जनाउँदै भने, “इरानले हर्मुज जलमार्गबाट तेल जान दिने सन्दर्भमा निकै खराब काम गरिरहेको छ। यो हामीबीच भएको सहमति होइन!”

इरानका एक अधिकारीले युद्ध अन्त्यका लागि इरानले अघि सारेको मागको सूचीमा जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकारलाई पनि समावेश गरेका छन्। यसले विश्वव्यापी ऊर्जा संकटको जोखिम अझ बढ्ने चिन्ता उत्पन्न गराएको छ।

इरानी संसद्को सुरक्षा आयोगले जलमार्ग हुँदै जाने जहाजहरूबाट कर (टोल) उठाउने योजना स्वीकृत गरेको बताइएको छ। यस योजनाले “इरानको सार्वभौमिक भूमिका” लागू गर्ने उद्देश्य राखेको छ।

युद्धविराम भए तापनि ढुवानी व्यवसायी र विश्लेषकहरूका अनुसार अझै अनिश्चितता कायम रहेकाले जहाजहरूका लागि यो मार्ग प्रयोग गर्नु जोखिमपूर्ण छ। इरानबाट स्पष्ट अनुमति, सुरक्षा सुनिश्चितता र दीर्घकालीन योजनाको अभावका कारण जहाजहरूको आवतजावत सुचारु हुन नसकेको हो।

यस अवस्थाले दैनिक जनजीवनमा पनि असर पारेको छ। अमेरिकामा युद्ध सुरु भएदेखि पेट्रोलको मूल्य करिब ४० प्रतिशत (प्रति ग्यालन १ डलर १८ सेन्ट) ले बढेको छ। तेल आपूर्ति सामान्य भए पनि मूल्य पहिलेको जस्तै प्रति ग्यालन ३ डलरमा फर्किन अझै समय लाग्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।





Source link

Leave a Comment