प्रकाशित मिति : १५ असार २०८३, सोमबार

फोटो : टिन्गी इन्जुरी ल फर्म
अमेरिकामा कानुनी रूपमा बस्ने अनुमति खोजिरहेका दशौँ हजार आप्रवासीहरूलाई “चमत्कार” गरिदिने आश्वासन दिने वासिङ्टनकी वकिल अलेक्जान्ड्रा लोजानो गम्भीर कानुनी संकटमा परेकी छन्। हालै दायर गरिएका थुप्रै मुद्दा र अनुसन्धानका अनुसार उनले आप्रवासीहरूको बाध्यताको फाइदा उठाउँदै ठूलो रकम ठगी गरेकी छन्।
लोजानोले आफ्ना ग्राहकहरूलाई थाहै नदिई मानवीय भिसाका लागि आवेदन दिन घरेलु हिंसा र मानव बेचबिखनका झूटा कथाहरू तयार पारेको आरोप छ। यसले गर्दा एकातिर आप्रवासीहरूको लाखौँ रुपैयाँ डुबेको छ भने अर्कोतिर उनीहरू उल्टै देश निकालाको जोखिममा परेका छन्।
उनले आवेदनहरू हतारहतार प्रक्रियामा लैजान ‘कारखाना जस्तो’ प्रणाली बनाएकी थिइन्। त्यति मात्र नभई, आवश्यक कानुनी योग्यता नभएका विदेशी कर्मचारीहरूलाई काममा राखेर ग्राहकहरूले कहिल्यै नदेखेका कागजातहरूमा उनीहरूकै हस्ताक्षरसमेत किर्ते गरेको आरोप उनीमाथि छ।
तीव्र आलोचना र गम्भीर आरोपहरूका बीच लोजानोको कानूनी फर्म यसै महिना बन्द भयो। बार एसोसिएसनको कडा कारबाही भोग्नुभन्दा उनले आफ्नो वकालत गर्ने इजाजतपत्र नै स्थायी रूपमा फिर्ता गरिन्। यद्यपि, उनले आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएकी छन्।
बार एसोसिएसनका अनुसार, हाल विचाराधीन रहेका ५३,००० भन्दा बढी मुद्दाहरूमा उनको हस्ताक्षर छ। यस घोटालाको परिमाण यति ठूलो छ कि यसले अमेरिकी आप्रवासन प्रणालीमा “सुनामी” जस्तै धक्का दिएको अधिकारवादीहरू बताउँछन्।
यो घोटाला बाहिरिएसँगै ट्रम्प प्रशासनले मानवीय भिसा कार्यक्रमहरूमा कडा प्रतिबन्धहरू लगाएको छ। सन् २०२० देखि यस्ता आवेदनहरूमा आएको बाढी व्यापक ठगीको सङ्केत भएको सरकारको दाबी छ। तर, अधिकारवादी संस्थाहरूले भने यस कडा नीतिले गर्दा वास्तविक पीडितहरू मारमा पर्ने चिन्ता व्यक्त गरेका छन्।
लोजानोका पूर्व ग्राहकहरू अहिले बन्द भइसकेको फर्मबाट आफ्नो मुद्दाको फाइल फिर्ता लिन र कानुनी उपचार खोज्न दौडधूप गरिरहेका छन्। धेरै मानिसहरूले कानुनी रूपमा अमेरिकामा बस्ने वैध बाटो सधैँका लागि गुमाएको र उनीहरूको भविष्य अन्धकारमा परेको भन्दै वकिलहरूले चिन्ता व्यक्त गरेका छन्।
