हालैको एक शीतकालीन अपराह्नका बेला स्पेनको सेगोभियामा पर्यटकको ओइरो छ। रोमन जलाशयको रमिता हेर्न ओइरिएका पर्यटक सेल्फी खिचिरहेका छन्। धेरै आगन्तुक स्पेनी भए पनि त्यहाँ अन्य युरोपेली, एसियाली र ल्याटिन अमेरिकीहरू पनि छन्। ती पर्यटक सेगोभियाको ऐतिहासिक आकर्षणका केन्द्रहरू, खाद्य संस्कृति र म्याड्रिड शहरको उत्तरमा रहेका पहाडहरूभन्दा ठिक बाहिरको नाटकीय स्थलका कारण आकर्षित भएका हुन्।
‘कोभिड १९ महामारीको समयमा स्थानीय व्यवसायीहरू अब पर्यटन कहिल्यै पहिलेको अवस्थामा फर्किंदैन भन्ने ठान्थे। अहिले पर्यटन लयमा फर्किन थालेको छ र २०२३ मा भन्दा २०२४ मा राम्रो हुँदै २०२५ मा अझ सुध्रिँदै गएको विश्वास स्थानीय व्यवसायीहरूले राखेका छन्। स्पेनले २०२४ मा नौ करोड ४० लाख पर्यटक भेला पार्न सफल भयो। स्पेन अहिले फ्रान्ससँग कसले बढी पर्यटक आकर्षित गर्ने भन्ने प्रतिस्पर्धा गर्दैछ।
फ्रान्सले १० करोड पर्यटक भित्र्याएर ऊ संसारकै बढी पर्यटक आकर्षण गर्ने देश बन्न पुगेको थियो। युरोपेली संघमध्ये स्पेनले जर्मनी, फ्रान्स, इटाली र बेलायतजस्ता देशलाई पछि पार्दैछ। गएको वर्ष ३.२ प्रतिशत जिडिपीका साथ यो अघि बढेको थियो। जबकि अन्य देशको जिडिपी क्रमशः ओरालो लागिरहेको छ।
खासगरी जर्मनीको अर्थतन्त्र २०२४ मा ०.२ प्रतिशतमा खुम्चिएको थियो। जबकि फ्रान्सको १.१ प्रतिशत, इटालीको ०.५ प्रतिशत र बेलायतको अपेक्षित ०.९ प्रतिशतमा सीमित थियो। यस दृष्टिले युरो क्षेत्रको समग्र अर्थतन्त्रका तुलनामा स्पेनको अर्थतन्त्र धेरै राम्रो रहेको ‘दि इकोनमिस्ट’ पत्रिकाले उल्लेख गरेको थियो।
समाजवादी नेतृत्वको गठबन्धन सरकारका व्यापार मन्त्री कार्लोस क्युर्पो भन्छन्, ‘स्पेनी आर्थिक मोडेल सफल छ भन्ने मलाई लाग्छ किनभने यो सन्तुलित मोडेल हो र यसले वृद्धिको स्थिरता सुनिश्चित गर्छ।’
स्पेनले गत वर्ष युरोजोनको ४० प्रतिशत वृद्धिमा योगदान दिएकोमा व्यापार मन्त्री क्युर्पो खुसी व्यक्त गर्छन्। उनले यो वृद्धिका लागि पर्यटनको महत्त्वलाई उति भाउ नदिए पनि देशका वित्तीय सेवा, प्रविधि र लगानीका कारण कोभिड महामारीको भासबाट निकाल्न सफल भएको बताए। त्यो बेला एक वर्षमै ११ प्रतिशतले अर्थतन्त्र संकुचित भएको थियो।
त्यो आधुनिकीकरण प्रक्रिया युरोपको नेक्स्ट जेनरेसन कार्यक्रमबाट कोभिड महामारीपश्चात् पुनःउद्धार कोषले सहयोग गरिरहेको छ। स्पेनले २०२६ सम्ममा एक सय ६३ बिलियन युरो पाउने छ। यही कार्यक्रमका लागि इटालीले सबैभन्दा धेरै सहयोग पाएको छ। स्पेन यस मामिलामा दोस्रो बन्न पुगेको छ। उसले यो रकम राष्ट्रिय रेल प्रणाली, शहर र गाउँमा कम उत्सर्जनका क्षेत्रहरू साथै विद्युतीय सवारी उत्पादन र साना व्यवसायहरूको प्रवद्र्धनका लागि अनुदानस्वरूप लगानी गरिरहेको छ।
‘सरकारका कारण सार्वजनिक खर्च उच्च भएको छ र यो महामारीपछि लगभग आधा वृद्धिका लागि जिम्मेवार छ,’ स्पेनको आइइएसई बिजनेस स्कुलमा अर्थशास्त्रका व्याख्याता मारिया जेसोफ वाल्देमोरोसको भनाइ छ। अन्य युरोपेली अर्थतन्त्रहरू उद्योगमा बढी निर्भर छन्। उद्योग चलाउन उच्च ऊर्जा लागत चाहिन्छ। त्यसमाथि चिनियाँ र अन्य एसियाली मुलुकहरूका उत्पादनले कडा प्रतिस्पर्धा दिइरहेका छन्। यसले उनीहरूलाई बजारमा टिक्न गाह्रो भइरहेको छ।
कोभिड महामारी पश्चात् युक्रेनमा रुसले आक्रमण गरेकाले आपूर्ति शृंखलामा बाधा पुगेर महँगी बढ्न पुग्यो। यो महँगी ११ प्रतिशतले बढेको थियो। त्यस्तो महँगी सरकारले चालेका केही कदमका कारण २०२४ नसकिँदै २.८ प्रतिशतमा घट्न पुग्यो।
सरकारले इन्धन खपतको लागत घटाउन र सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहन गर्न अनुदान दियो। यो अनुदानले ऊर्जा मूल्य वृद्धिको प्रभाव कम गर्न प्रमुख भूमिका निर्वाह गरेको विश्वास छ। युरोपेली ऊर्जा संकटको उच्चतम समयमा, स्पेन र पोर्चुगलले ब्रसेल्ससँग ‘आइबेरियन अपवाद’ सम्झौतामा काम गरे। यसले बिजुलीको बिल घटाउन सहयोग गर्यो। क्युर्बोले यस प्रकारका उपाय अवलम्बन गरेकाले स्पेनको आर्थिक उथलपुथललाई नियन्त्रण गर्न सहयोग गरेको तर्क गरे। ‘लगातार विभिन्न झट्काहरू झेलिरहेको स्पेनले आफूलाई बढी लचिलो साबित गरिरहेको छ। पहिला युक्रेनमा भएको युद्धले महँगी चुलिएको थियो।’
विद्युत् सुनिश्चित गर्न हरित ऊर्जा उत्पादनलाई महत्त्व दिन थालिएको छ। स्पेनमा युरोपकै सबैभन्दा दोस्रो ठूलो नवीकरणीय ऊर्जा पूर्वाधार छ। यो युरोपको दोस्रो ठूलो कार उत्पादक भएको देशका लागि एउटा लाभ पनि हो।
कार उत्पादक संस्था ‘सिट एन्ड कुप्रा’का बेलायती प्रमुख कार्यकारी वेन ग्रिफिथ भन्छन्, ‘युरोपका अन्य मुलुकभन्दा स्पेन विद्युतीय कार निर्माणमा ढिला छ तर यस्ता कार उत्पादन गर्न भरपुर सम्भावना भएकाले यो क्षेत्रमा ऊ अगाडि जाने सम्भावना छ।’
स्पेनमा प्रतिस्पर्धात्मक अवस्था, तालिमप्राप्त युवा र त्यसलाई सघाउने ऊर्जा नीति भएकाले शून्य उत्सर्जन कार किन बनाइरहनु ? उनको प्रश्न छ। यस्ता सकारात्मक पक्षहरूका बाबजुद पनि स्पेनको अर्थतन्त्र दीर्घकालीन कमजोरीका कारण पिछडिएको छ। यहाँ युरोपकै सबैभन्दा उच्च बेरोजगारी छ।
२०२४ को अन्तिम चौमासिकमा थोरै सुधार भएर १०.६ प्रतिशतमा झरेको थियो। सन् २००८ पछि यो सबैभन्दा कम स्तर हो। यसै बीच स्पेनमा रोजगार व्यक्तिहरूको संख्या अहिले दुई करोड २० लाख पुगेको छ, यो निकै उच्च कीर्तिमान हो। श्रम सुधारले यहाँको रोजगार स्थिरतालाई प्रोत्साहन गरेका कारण बेरोजगारी दर घटेको विश्वास गरिन्छ। यो सुधारले कम्पनीहरूले अस्थायी सम्झौताहरू प्रयोगमा प्रतिबन्धहरू बढाएको छ। स्थायी सम्झौताहरूको प्रयोगमा बढी लचिलोपनलाई प्राथमिकता दिइँदैछ । यसले अस्थायी रोजगारीमा रहेका श्रमिकहरूको संख्या घटाएको छ।
यहाँको बेरोजगारी दर घट्नेबित्तिकै आप्रवासीको आगमन पनि उत्तिकै बढेको छ र यसले चर्को राजनीतिक बहस सिर्जना गरेको छ। आप्रवासीहरू तीव्र वृद्धि हुनु श्रम बजारमा तिनको खपत हुनुको कारण मानिन्छ।
समाजवादी प्रधानमन्त्री पेड्रो साञ्चेजले आप्रवासीहरूको आवश्यकता र तिनीहरूको योगदानलाई ‘आवश्यक’ रहेको कुरा खुलेर बताउने गरेका छन् । युरोपेली आयोगले यो वर्ष स्पेनले ब्लकका ठूला अर्थतन्त्रहरू बीच वृद्धि जारी राख्ने र युरोपेली संघको औसतभन्दा अघि रहने भविष्यवाणी गरेको छ। यद्यपि केही चुनौतीहरू पनि देखा परिरहेका छन्।
पर्यटनमा ठूलो निर्भरतालाई केहीले राम्रो मानिरहेका छैनन्। त्यस्तै धेरै पर्यटकहरू आए भनेर स्थानीय जनताले पर्यटन उद्योगविरुद्ध विरोध कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। यसले देशको विकासमा गम्भीर असर पु¥याउने विश्लेषकहरूको भनाइ छ।
अर्कोतर्फ स्पेनले लिइरहेको विशाल सार्वजनिक ऋण पनि हो। यो स्पेनको वार्षिक आर्थिक उत्पादनभन्दा उच्च छ र यसले पछि घात गर्ने विश्लेषण केही आर्थिक विश्लेषकहरूले गरिरहेका छन्।
मारिया सचेत गराउँदै भन्छिन्, ‘बढी ऋण एउटा ठूलो असन्तुलन हो। यसलाई सुधार गर्न आवश्यक छ। नत्र यसले वित्तीय अस्थिरता निम्त्याउन सक्छ।’ स्पेनको अर्को समस्या देशभर फैलिएको आवास संकट पनि हो। यसले लाखौं स्पेनीहरूले सस्तो आवास खोज्न संघर्ष गर्नु परिरहेको छ। त्यसमाथि स्पेनमा अनिश्चित र गहिरो ध्रुवीकृत राजनीति पनि उत्तिकै छ। अहिलेको स्पेनको अल्पमतको सान्चेज सरकारले यी समस्या एक्लैले समाधान गर्न सक्तैन। यद्यपि उसले यी गुत्थीहरू समाधान गर्ने प्रयास भने गरिरहेकै छ।
प्रकाशित: ३० माघ २०८१ ०९:१२ बुधबार