सेवा क्षेत्रको भरथेगमा बामे सर्दै अर्थतन्त्र

सेवा क्षेत्रको भरथेगमा बामे सर्दै अर्थतन्त्र


१८ वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा ६ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त गर्ने लक्ष्यसहित बजेट सार्वजनिक गरेको थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकअनुसार अर्थतन्त्रमा केवल ३.८७ प्रतिशतको मात्र वृद्धि हुनेछ ।

अर्थतन्त्रका केही क्षेत्रमा आएको संकुचन, पूँजीगत खर्चमा अपेक्षित प्रगति नहुनुले यस वर्ष अपेक्षाअनुसार आर्थिक वृद्धिदर प्राप्त हुन नसकेको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मी बताउँछन् ।

यद्दपि, यस वर्ष गत वर्षको तुलनामा भने अर्थतन्त्र दोब्बरले विस्तार भएको तथ्यांकले देखाएको छ । यो सकारात्मक सन्देश रहेको उनी बताउँछन् ।

तथ्यांकअनुसार २०७९/८० मा १.९५ प्रतिशतले आर्थिक वृद्धि भएको थियो । कार्यालय प्रमुख अर्जुनप्रसाद पोखरेल यो तथ्यांकले अर्थतन्त्रमा गतिमा गइरहेको सन्देश प्रवाह गर्ने बताउँछन् ।

कोभिड महामारीको सबैभन्दा बढी मार परेको २०७६/७७ मा आर्थिक वृद्धिदर नकारात्मक (माइनस २.४२ प्रतिशत) थियो । कोभिड महामारी कम भई अर्थतन्त्र चलायमान हुन थालेसँगै अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अपेक्षा थियो ।

विश्व अर्थतन्त्र सोही दिशामा अगाडि बढे पनि नेपाल भने पुनः सुस्ततामा फस्यो । यसको असर त्यसपछिका लगातार चार आर्थिक वर्षमा देखिन्छ ।

२०७८/७९ मा ५.२८ प्रतिशतसम्म पुगेको वृद्धिदर त्यसपछिको वर्षमा भने ओरालो लागेर २ प्रतिशतमा झर्‍यो । यस वर्ष भने सेवा क्षेत्रमा आएको उल्लेख्य वृद्धि, विद्युत् उत्पादन र यातायात क्षेत्रको विस्तारले अर्थतन्त्रमा गत वर्षको तुलनामा दोब्बर वृद्धि हुने देखिएको छ ।

कार्यालय प्रमुख पोखरेलका अनुसार चालु आव २०८०/८१ को ६ देखि ८ महिनासम्म सरकारका विभिन्न निकायले दिने तथ्यांकका आधारमा आर्थिक वृद्धिदरको अनुमान निकाल्ने गरिन्छ । यसो गर्दा चालु आवको बाँकी अवधिमा अर्थतन्त्रमा कुनै समस्या आउँदैन भन्ने अपेक्षा गरिएको हुन्छ ।

सेवा क्षेत्रको भरथेग

नेपालको अर्थतन्त्रमा सेवा क्षेत्रको हिस्सा ६२.९ प्रतिशत पुगेको छ । द्वितीय क्षेत्र (उद्योग–निर्माण) क्षेत्रको योगदान १२.५ प्रतिशत र अर्थतन्त्रको प्राथमिक क्षेत्र (कृषि) को हिस्सा २४.६ प्रतिशत छ । यस वर्ष कृषिको योगदान गत वर्षको तुलनामा केही बढेको छ ।

उद्योगको हिस्सा खुम्चिँदा सेवा क्षेत्रको हिस्सा भने वृद्धि भएको देखिएको छ । यस वर्ष प्राथमिक क्षेत्रमा ३.०३, द्वितीय क्षेत्रमा १.२ र सेवा क्षेत्रमा ४.५ प्रतिशतको विस्तार भएको छ । गत वर्ष यी क्षेत्रको वृद्धिदर क्रमशः २.७२, १.४० र २.३६ प्रतिशत थियो ।

यसका आधारमा हेर्दा सेवा क्षेत्रमा दोब्बरले वृद्धि भएको देखिन्छ । यसो हुनुमा पर्यटक आगमनमा रहेको उत्साहजनक वृद्धिको भूमिका देखिएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डिल्लीराज जोशी बताउँछन् । यस वर्ष कृषि क्षेत्र ३.०५ प्रतिशतले विस्तार हुँदा गैरकृषि क्षेत्र भने ३.७५ प्रतिशतले विस्तार हुने देखिएको छ ।

कृषिमा तीन वर्षयताकै उच्च वृद्धि

कार्यालयका अनुसार यस वर्ष कृषि, वन तथा मत्स्यमा ३.०५ प्रतिशतको विस्तार हुनेछ । धानलगायत वर्षे बाली उत्पादनमा भएको वृद्धि; दलहन, तरकारी तथा नगदे बालीमा भएको वृद्धि तथा पशुपन्छीजन्य उत्पादन (दूध, अन्डा, माछा तथा मासु) मा भएको वृद्धिले यस क्षेत्रको मूल्य अभिवृद्धिमा सुधार हुने प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ । गत आव २०७९/८० मा यस क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

खानी तथा उत्खननमा सुधार

खानी तथा उत्खननको रोयल्टी बढ्दा यस क्षेत्रको विस्तार भएको देखिएको छ । यस आवमा २.३१ प्रतिशतको वृद्धि हुनेछ । यस क्षेत्रको आव २०७८/७९ मा ८.८४ प्रतिशतको विस्तार थियो । तर, गत २०७९/८० मा घटेर ०.९८ मा खुम्चिएको थियो । यस वर्ष केही वृद्धि भएको छ ।

उद्योग क्षेत्र लगातार खुम्चियो

उत्पादन बढ्न नसक्दा उद्योग क्षेत्र लगातार दोस्रो वर्ष पनि खुम्चिएको छ । यस वर्ष उद्योग क्षेत्र १.६० प्रतिशतले संकुचित भएको छ । गत वर्ष १.९८ प्रतिशतको संकुचन थियो । २०७८/७९ मा भने उद्योगको वृद्धि ६.७० प्रतिशत थियो । पछिल्लो समय अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकूल कारण विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको कार्यालयको भनाइ छ ।

विद्युत र ग्यासमा लगातार उच्च वृद्धि

यस वर्षको कुल मूल्य वृद्धिदर लगातार उच्च दरले बढिरहेको पाइएको छ । यस आवमा १७.४४ प्रतिशतको विस्तार विद्युत्, ग्यास, वाष्प तथा वातानुकूलित आपूर्ति सेवामा भएको छ । २०७९/८० मा १९.८९ र २०७८/७९ मा ५२.५८ प्रतिशतको वृद्धि भएको थियो ।

पानी र फोहोरमा सामान्य वृद्धि

यस वर्ष पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादनका क्रियाकलापमा २.८० प्रतिशतको विस्तार हुने अनुमान छ । गत वर्ष ३.२५ प्रतिशत र २०७८/७९ मा ३.०८ प्रतिशतको विस्तार थियो ।

निर्माणमा दोस्रो वर्ष पनि संकुचन

निर्माण सामग्री आयातमा आएको कमी, निर्माण सामग्रीको स्वदेशी उत्पादनमा भएको कमीलगायत कारण निर्माण क्षेत्र लगातार दोस्रो वर्षसमेत खुम्चिएको छ । यस वर्ष २.०७ प्रतिशतले यो क्षेत्र ऋणात्मक रहने भएको छ । अघिल्लो वर्ष १.१० प्रतिशतले यो क्षेत्र खुम्चिएको थियो । २०७८/७९ मा भने ६.९३ प्रतिशतले विस्तार भएको थियो ।

थोक तथा खुद्रा व्यापारमा भएन अपेक्षित विस्तार

अर्थतन्त्रमा दोस्रो ठूलो योगदान रहेको थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकलमा यस वर्ष अपेक्षित सुधार हुन सकेन । गत वर्ष ३.०२ प्रतिशतले संकुचित भएको यो क्षेत्र यस वर्ष पनि ०.१६ प्रतिशतले मात्रै विस्तार हुने देखिएको छ ।

यातायात तथा भण्डारणमा सुधार

गाडी आयातमा भएको वृद्धि, पर्यटक आगमन वृद्धिजस्ता कारण यातायात तथा भण्डारण क्षेत्रमा सुधार आएको छ । यस क्षेत्रमा ११.८९ प्रतिशतको वृद्धि हुने भएको छ । गत वर्ष १.४५ प्रतिशत र त्यसअगाडि २०७८/७९ मा ४.६० प्रतिशतको वृद्धि भएको थियो ।

आवास तथा भोजनमा सबैभन्दा धेरै विस्तार

विदेशी पर्यटक आवागमनमा वृद्धि, आन्तरिक पर्यटनमा आएको वृद्धिजस्ता कारण यस वर्ष आवास तथा भोजन सेवामा सबैभन्दा धेरै विस्तार भएको छ । यो क्षेत्रको विस्तार २१.८४ प्रतिशत रहेको कार्यालयले जनाएको छ । पछिल्ला दुई वर्षमा क्रमशः १८.०३ र १२.५६ प्रतिशतको विस्तार थियो ।

सूचना तथा सञ्चारमा सुधार

चालु आव कम्प्युटर प्रोगामिङ तथा इन्फर्मेसन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोबार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । चालु आवमा ४.९१ प्रतिशतको वृद्धि हुने भएको छ । अघिल्ला दुई आवमा क्रमशः ४.१५ र ४.१९ प्रतिशतको वृद्धि भएको थियो ।

वित्तीय तथा बीमा क्षेत्रमा सुधार

बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तीय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको वृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको छ । यस क्षेत्रमा यो वर्ष ७.८० प्रतिशतको वृद्धि हुने भएको छ । गत दुई आवमा क्रमशः ७.२७ र ६.९१ प्रतिशतको विस्तार भएको थियो ।

घरजग्गा कारोबारमा निरन्तर सुस्तता

घरजग्गा कारोबारमा निरन्तर आएको सुस्तताले यो क्षेत्रमा ठूलो विस्तार हुन सकेको छैन । यस वर्ष २.९८ प्रतिशतको वृद्धि हुने भएको छ । घर जग्गा कारोबारमा कमी आए पनि निजी आवास र भाडाका क्रियाकलाप बढ्दा यो क्षेत्रमा विस्तार देखिएको हो । अघिल्लो दुई आवमा यो क्षेत्र क्रमशः २.१८ र १.७२ प्रतिशतले विस्तार भएको थियो ।

पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा सुधार

पछिल्लो समय विभिन्न प्राविधिक कार्यका लागि पेसागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । यस वर्ष ४.१५ प्रतिशतको वृद्धि हुने भएको छ । अघिल्ला दुई आवमा क्रमशः ३.९३ र ३.५० प्रतिशतको वृद्धि थियो ।

सेवा क्षेत्रको भरथेगमा बामे सर्दै अर्थतन्त्र
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन ।

प्रशासनिक तथा सहयोगी क्रियाकलापमा बढोत्तरी

पछिल्लो समय विभिन्न प्रशासनिक सेवाका लागि सम्बन्धित संस्थाहरूसँग सेवा लिने प्रवृत्तिमा भएको वृद्धि, रोजगारी सेवा तथा पर्यटन आगमनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । यो क्षेत्रमा ४.०४ प्रतिशतको वृद्धि हुने भएको छ । अघिल्लो दुई आवमा क्रमशः ५.०३ र १.५८ प्रतिशतको वृद्धि थियो ।

सार्वजनिक प्रशासन तथा रक्षा

तीनै तहका सरकारको सार्वजनिक प्रशासन तथा रक्षाअन्तर्गत गरेको मध्यवर्ती खर्चमा देखिएको कमीले यस क्षेत्रको विस्तारमा सहयोग पुग्ने अनुमान रहेको कार्यालयले जनाएको छ । चालु आवमा यस क्षेत्रको वृद्धिदर ४.४९ प्रतिशतले विस्तार हुने अनुमान गरिएको हो । पछिल्ला दुई आर्थिक वर्षमा क्रमशः ५.७५ र ४.०८ प्रतिशत कायम भएको थियो ।

शिक्षामा सुस्तता

चालु आवमा निजी शैक्षिक संस्थाका विद्यार्थी संख्यामा कमी आउँदा शिक्षा क्षेत्रको विस्तार सुस्ताएको छ । तर, सरकारी शैक्षिक संस्थाका विद्यार्थीको संख्यामा भएको बढोत्तरीसँगै शिक्षा क्षेत्रमा सरकारी क्षेत्रको खर्च बढेका कारण यस क्षेत्रको मूल्य वृद्धिदर भने सकारात्मक नै देखिएको छ । चालु आवमा शिक्षा क्षेत्र २.७१ प्रतिशत हुनेछ । पछिल्ला दुई आव शिक्षा क्षेत्र क्रमशः ३.९३ प्रतिशत र ४.६६ प्रतिशतले विस्तार भएको थियो ।

स्वास्थ्य तथा सामाजिक कार्यको घट्दो वृद्धिदर

चालु आव यस क्षेत्रको वृद्धिदर ५.५२ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । विगतका वर्षको तुलनामा चालु आव स्वास्थ्य सेवा लिनेहरूको संख्यामा भएको बढोत्तरीका कारण यस क्षेत्रमा सुधार हुने अनुमान गरिएको छ । तर, पछिल्लो दुई आव ६.५७ प्रतिशत र ६.९९ प्रतिशतको विस्तारको तुलनामा चालु आवको वृद्धिदर न्यून हो ।

अन्य सेवाका क्रियाकलाप

चालु आव यस क्षेत्रको विस्तार ४.१७ प्रतिशत हुने भएको छ । केन्द्रीय तथा स्थानीय सरकारले सामुदायिक, सामाजिक क्षेत्रमा गरेको खर्चमा भएको वृद्धि तथा निजी क्षेत्रबाट सञ्चालित मनोरञ्जनात्मक तथा अन्य सेवामा भएको वृद्धिले यस क्षेत्रको उत्पादनमा वृद्धि केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । पछिल्ला दुई आव यस क्षेत्रको विस्तार क्रमश : ५.११ प्रतिशत र ४.४८ प्रतिशत थियो ।

प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर

यस वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुगेको छ । गत आवमा यो आय १ हजार ४ सय ५ डलर थियो । त्यसअघिको आवमा भने आय १ हजार ४ सय १९ थियो । आर्थिक संकुचनका कारण गत वर्ष आयमा समेत संकुचन आएको कार्यालयको तथ्यांक छ ।

अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब

चालु आव २०८०/८१ मा नेपाली अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ । उपभोक्ता मूल्यमा गरिएको मापनले अर्थतन्त्रको आकार ५७ खर्बमाथि पुग्ने देखिएको हो । गत आव अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको कार्यालयले जनाएको छ । त्यसअघिको आवमा भने ४९ खर्ब ७६ अर्ब रुपैयाँ थियो ।

९२ प्रतिशत उपभोगमा खर्च

नेपालमा अन्तिम उपभोग खर्च ९० प्रतिशतभन्दा माथि छ । यस आवमा ९२.३८ प्रतिशत अन्तिम उपभोग खर्च हुने अनुमान कार्यालयको छ । यसले नेपालीको आम्दानीलाई उपभोगमा अधिक खर्च गर्ने प्रवृत्ति संकेत गर्छ । अघिल्ला आवको तुलनामा भने उपभोगभन्दा बचतको हिस्सा केही बढ्न थालेको देखिन्छ । २०७९/८० मा अन्तिम उपभोग खर्च ९२.५९ र २०७८/७९ मा ९३.४२ प्रतिशत थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School