सेयर बजार सरकारसँग सशंकित


अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको सेयर बजार सरकारसँग सशंकित देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि सेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निरास छन्। नेप्सेमा हरियो झन्डा देखिनुको साटो निरन्तर रातो सिग्नल देखिएको छ। लगानीकर्ता सरकारप्रति विश्वस्त हुन नसक्दा बजार उँभो लाग्न सकेको छैन। करिब दुई तिहाइको बलियो सरकार बनेपछि सेयर लगानीकर्ताले करिब साढे पाँच खर्ब रुपैयाँ गुमाएका छन्।

बजार निरन्तर ओरालो लागेको र लगानीकर्ता आन्दोलित भएपछि सत्तारूढ दलका सांसद पनि सेयर बजारप्रति चिन्तित देखिएका छन्। रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर भुसालले बुधबार प्रतिनिधिसभाको बैठकमा पछिल्ला सय दिनमा सेयर बजारमा करिब पाँच खर्ब रुपैयाँ खरानी भएको बताए। ‘नीतिगत अस्थिरताको चक्रव्यूहका कारण ठुला लगानीकर्ता त्रसित छन्,’ भुसालले भने, ‘बजारमा नीतिगत स्थिरता कायम गरेर लगानीकर्ताको विश्वास फर्काउनुपर्छ।’

सेयर बजारको विषयमा सत्ताधारी सांसदबाटै सरकारको आलोचना सुरु भएको छ। सांसद भुसालले भने, ‘दैनिक ११/१२ अर्ब रुपैयाँसम्म कारोबार हुने सेयर बजार अहिले तीन/चार अर्ब रुपैयाँमा सीमित छ।’ भुसालले भनेजस्तै बालेन्द्र शाह नेतृत्वमा सरकार बनेयता सेयर बजार निरन्तर ओरालो लागेको छ।

सरकारसँग लगानीकर्ता अर्थात् सेयर बजार सशंकित देखिएको छ। रास्वपा नेतृत्वको बलियो सरकार बनेदेखि बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताले करिब साढे पाँच खर्ब गुमाएका छन्। स्थायी र बलियो सरकार बनेपछि सेयर बजार उकालो लाग्ने अपेक्षा गरेका लगानीकर्ता सशंकित भएर आन्दोलित छन्।

बालेन्द्र सरकार गठनअघि गत चैत १२ गते नेप्से २९५० बिन्दुमा पुगेको थियो। सेयर बजार पुँजीकरण ५० खर्ब नौ अर्ब रुपैयाँ थियो। बुधबार १४ अंकले बढेर नेप्से २५९०.२९ अंकमा पुगे पनि लगानीकर्ता निरास छन्।

बुधबार बजार पुँजीकरण ४४ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि गत चैत १५ गते २ हजार ८७९ बिन्दुमा र सेयर बजार पुँजीकरण पनि करिब ४८ खर्ब ९४ अर्ब रुपैयाँ थियो।

सत्ताधारी दल रास्वपाका सांसद भुसालले भनेजस्तै लगानीकर्ता सरकारप्रति सशंकित भएकै कारण बजार निरन्तर ओरालो लागेको हो। सेयर बजारमा खर्बौं रुपैयाँ गुमाएपछि लगानीकर्ता पनि आन्दोलित छन्। आक्रोशित लगानीकर्ताहरूले मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) घेराउ गरे। आन्दोलनको नेतृत्व गरेका सेयर लगानीकर्ता तिलक कोइराला प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको स्वेच्छाचारी प्रवृत्तिले बजार घटेको बताउँछन्। ‘सरकारको रवैया सेयर बजारविरोधी देखियो,’ कोइरालाले भने, ‘पुँजी बजारमा क्रोनिक समस्या समाधान नहुँदा लगानीकर्ताको मनोबल खस्कियो।’

सरकारप्रति विश्वस्त हुन नसक्दा लगानीकर्ताको आत्मविश्वास बढ्न सकेको छैन।

सरकारले ठुला व्यवसायीमाथि अनुसन्धान अघि बढाउनु, सरकारी पदमा बसेका कर्मचारीदेखि उच्च सरकारी अधिकारीको सम्पत्ति विवरण संकलन तथा सम्भावित छानबिनको डरका कारण पनि सेयरबजारमा असर देखिएको छ। सरकारको सय बुँदे कार्यक्रममा सेयर बजार सुधारको योजना नआउनु र सेयर बजारको लगानीलाई सम्पत्ति शुद्धीकरणसँग जोडेर अनुसन्धान गर्ने सरकारी तयारीले पनि लगानीकर्ता डराएका छन्। मौद्रिक नीति र नियामक निकायका कतिपय नीतिगत व्यवस्थामा पनि समस्या रहेको लगानीकर्ताको गुनासो छ।

सरकार गठनसँगै राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र निजी क्षेत्रमैत्री आर्थिक सुधारको अपेक्षा गरेका लगानीकर्ता निरास देखिएका छन्। सेयर बजारमा लगानी गरिरहेका निजामती सेवाका कर्मचारी, प्रहरी, सैनिकलगायतले डराएर सेयर बेचेका कारण पनि त्यसको असर परेको छ। पुँजी बजार सुधार, संस्थागत लगानीकर्ता विस्तार, कर नीतिमा पुनरवलोकन, नयाँ वित्तीय उपकरण विकासजस्ता विषयमा ठोस कार्यक्रम नभएको कारण पनि लगानीकर्ता हतोत्साहित हुँदा बजार बढ्न नसकेको हो।

सेयर बजार निरन्तर ओरालो लागेपछि प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले पनि पुँजी बजार सुधारको खाका १० दिनभित्र पेस गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई निर्नेशन दिएको छ। पुँजी बजारको दीर्घकालीन विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि र बजार सुधारका लागि स्पष्ट कार्ययोजना माग गरेको हो। समितिको बैठकमा सांसदहरूले सर्ट सेलिङ, नयाँ वित्तीय उपकरण कार्यान्वयन, कर्पोरेट गभर्नेन्स, विदेशी संस्थागत लगानी आकर्षण, बजार पूर्वाधार सुदृढीकरण तथा नीतिगत स्थायित्वमा जोड दिएका दिए।

रास्वपाकी सांसद विदुषी राणाले ७९ लाख डिम्याट खाता र ७० लाखभन्दा बढी ‘मेरो सेयर’ प्रयोगकर्ता हुँदाहुँदै पनि बजारको गहिराइ र तरलता कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन्। राणाले कर्पोरेट बन्ड, एसएमई एक्सचेन्ज, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट (आरइआइटी), इटिएफ र भेन्चर क्यापिटल सञ्चालनको समयसीमा सार्वजनिक गर्न आग्रह गरिन्। उनले एआईमा आधारित बजार निगरानी, रियल–टाइम मोनिटरिङ तथा साइबर सुरक्षा प्रणाली कार्यान्वयनबारे पनि स्पष्ट योजना मागिन्।

आइपिओ र राइट सेयर स्वीकृतिमा ढिलाइ भएको भन्दै पाइपलाइनमा रहेका कम्पनीको प्रक्रिया छिटो टुंग्याउन एमाले सांसद डा. पुष्पराज कँडेलले माग गरे। ‘कमजोर कर्पोरेट गभर्नेन्सका कारण उत्पादनशील क्षेत्रमा पुँजी प्रवाह हुन सकेन,’ कँडेलले भने। सरकारप्रति निजी क्षेत्र र लगानीकर्ताको विश्वास कमजोर बनेको तथा सेयर बजारको निरन्तर गिरावटले निराशा बढाएको नेपाली कांग्रेसका सांसद नरेन्द्र केरुङले बताए। ‘लगानीकर्ताको मनोबल बढाउने ठोस योजना आवश्यक छ,’ उनले भने। यता नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘नेपाल पुँजीबजार विकास मार्गचित्र २०८३’ सार्वजनिक गर्दै आगामी १० वर्षका लागि पुँजीबजार विकासको दीर्घकालीन रणनीति अघि सारेको छ। मार्गचित्रअनुसार सन् २०३६ सम्म बजार पुँजीकरणलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को १५० प्रतिशतभन्दा माथि पुर्‍याउने लक्ष्य राखिएको छ। हाल यो अनुपात ७०–८० प्रतिशत रहने अनुमान गरिएको छ।

बोर्डले आगामी दशकभित्र सूचीकृत कम्पनीको संख्या ५०० भन्दा बढी, दैनिक औसत कारोबार ३० अर्ब रुपैयाँ तथा हितग्राही (डिम्याट) खाता एक करोड २० लाखभन्दा बढी पुर्‍याउने लक्ष्य निर्धारण गरेको छ। संस्थागत लगानीकर्ताको सहभागिता कुल कारोबारको ४० प्रतिशतभन्दा बढी तथा संस्थागत ऋणपत्र बजारको हिस्सा कुल पुँजीबजारको २० प्रतिशत पुर्‍याइने उल्लेख गरिएको छ। साथै सामूहिक लगानी कोषका योजना एक सय ५० भन्दा बढी र एसएमई सूचीकरणमा दुई सयभन्दा बढी संस्थालाई आबद्ध गराउने लक्ष्य पनि राखिएको छ।

मार्गचित्रलाई तीन चरणमा कार्यान्वयन गरिने छ। पहिलो चरण (२०२६–२०२७) मा कानुनी, नियामकीय र संस्थागत सुधार, दोस्रो चरण (२०२८–२०३०) मा नयाँ वित्तीय उपकरण विस्तार तथा पूर्ण डिजिटल कारोबार प्रणाली र तेस्रो चरण (२०३१–२०३६) मा नेपाली पुँजीबजारलाई अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री तथा क्षेत्रीय रूपमा प्रतिस्पर्धी वित्तीय प्रणालीमा रूपान्तरण गरिने योजना छ।

सेबोनले मार्गचित्र सफलतापूर्वक कार्यान्वयन भए पुँजीबजार राष्ट्रिय आर्थिक विकास, उत्पादनमूलक लगानी, पूर्वाधार निर्माण, रोजगारी सिर्जना र विदेशी लगानी आकर्षित गर्ने प्रमुख वित्तीय आधार बन्ने जनाएको छ। बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था गर्न सर्ट सेलिङ कार्यान्वयनको तयारी भइरहेको नेपाल  धितोपत्र बोर्ड (सेबोन) का बोर्डका अध्यक्ष  डा. गोपालप्रसाद भट्टले बताए। ‘नेपालको सेयर बजारमा बजार सधैं बढिरहनुपर्छ भन्ने मनोविज्ञान छ,’ भट्टले भने, ‘विश्वका कुनै पनि पुँजीबजार निरन्तर उकालो मात्र लाग्दैन।’

अध्यक्ष भट्टका अनुसार सर्ट सेलिङ लागु भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न सक्ने छन्। मूल्य घटेपछि पुनः खरिद गरेर मूल्य अन्तरबाट प्रतिफल लिन सक्ने उनले बताए। भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याइने तथा सम्पत्ति छानबिनलगायत विषयमा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गरिने जानकारी दिए।‘

प्रकाशित: ३२ असार २०८३ ०८:४२ बिहीबार





Source link

Leave a Comment