प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार

तस्वीर : आइस
८०५ अन्डोक्युफन्डको र्यापिड रेस्पोन्स नेटवर्क द्वारा सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदनअनुसार सेन्ट्रल कोस्ट क्षेत्रमा संघीय अध्यागमन अधिकारीहरूको सक्रियता निरन्तर जारी रहेको पाइएको छ। सरकारले हालैका महिनाहरूमा आफ्ना कारबाहीहरूलाई थप गोप्य र विवेकशील बनाए तापनि धरपकडमा भने कुनै कमी आएको छैन।
प्रवासी अधिकारवादी संस्थाहरू, हटलाइन सेवा र सामुदायिक गस्तीहरूबाट संकलन गरिएको तथ्यांकअनुसार सन् २०२५ जनवरीमा दोस्रो ट्रम्प प्रशासन सुरु भएयता सान्ता बार्बरा, भेन्चुरा र सान लुइस ओबिस्पो काउन्टीहरूमा कम्तीमा २,०५० जनालाई संघीय अध्यागमन निकायले हिरासतमा लिएको छ।
विशेष गरी पछिल्ला छ महिनामा मात्र ५८० भन्दा बढी मानिस पक्राउ परेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा झन्डै छ गुणा बढी हो।
सान्ता बार्बरा काउन्टीमा मात्रै गत वर्षको जनवरीदेखि यता करिब ८५० जना पक्राउ परेका छन्। ८०५ अन्डोक्युफन्डका अनुसार सबैभन्दा बढी धरपकड सान्ता मारिया सहरमा भएको छ, जहाँ ५३१ जना पक्राउ परेका छन्।
त्यसैगरी लोम्पोकमा कम्तीमा १६८, सान्ता बार्बरामा १०३ भन्दा बढी, कार्पिन्टेरियामा २५ र गोलेटामा १० जना पक्राउ परेको विवरण छ। यी तथ्यांकहरूलाई प्रत्यक्षदर्शी र पक्राउ परेका व्यक्तिहरूका परिवारले पुष्टि गरेका छन्।
अधिकारवादीहरूका अनुसार सन् २०२५ को सुरुवाती महिनाहरूमा आइस र डीएचएसले कार्यस्थलहरूमा गर्ने ठूला र सार्वजनिक छापा मार्ने शैली परिवर्तन गरेका छन्। उनीहरूले अहिले काउन्टी जेल वा अध्यागमनको नियमित ‘चेक-इन’ भेटघाटका क्रममा सर्वसाधारणको नजरभन्दा टाढा रहेर धेरै गिरफ्तारी गरिरहेका छन्।
८०५ अन्डोक्युफन्डकी कार्यकारी निर्देशक प्रिमिटिभा हर्नान्डेजले हालैका महिनाहरूमा र्यापिड रेस्पोन्स हटलाइनमार्फत देखिएको यो गिरफ्तारीको संख्यालाई “लुकेको हिंसा” को संज्ञा दिएकी छन्। मिडिया र जनआक्रोशको ध्यान सडकमा देखिने मास्कधारी एजेन्टहरूबाट हटेर हिरासत केन्द्र बाहिर भइरहेका प्रदर्शनहरूमा केन्द्रित भएका बेला, यो तथ्यांकले समुदायलाई आफ्ना प्रवासी छिमेकीहरूको रक्षा गर्न सम्झाउने उनको अपेक्षा छ।
हर्नान्डेजले भनेकी छन, हाम्रो क्षेत्रबाट समातिएका प्रत्येक व्यक्ति तिनै अमानवीय हिरासत केन्द्रहरूमा पुग्छन्। सडकमा भइरहेको यो हिंसाले पर्दाभित्र भइरहेको दुर्व्यवहार र मृत्युको संकटलाई सीधा मलजल गरिरहेको छ।
यसैबीच, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका नयाँ सेक्रेटी मार्कवेन मुलिनले गत मे महिनामा एक स्थानीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा संघीय सरकारले आफ्नो प्रवर्तन शैली परिवर्तन गरेको कुरा स्वीकार गरेका थिए। गत मार्चको अन्त्यमा पूर्व सचिव क्रिस्टी नोएमलाई बर्खास्त गरिएपछि कार्यभार सम्हालेका मुलिनले भने, मेरो लक्ष्य भनेको आइस र डीएचएस अब समाचारको हेडलाइनमा नआउन् भन्ने हो।
अर्कोतर्फ, मे २९ मा ट्रम्प प्रशासनले ह्वाइट हाउसको आधिकारिक वेबसाइटमा एक नयाँ वेबपेज सुरु गरेको छ। सुरुमा अन्तरिक्ष वा परग्रहको थिमजस्तो देखिने यस पेजको स्क्रोलिङ टेक्स्टमा कागजातविहीन आप्रवासीहरूलाई विदेशी मिचाहाको रूपमा चित्रण गरिएको छ।
उक्त साइटमा आप्रवासीहरू अन्धकारको आडमा आएर समाजमा मिसिएको उल्लेख छ। सुरुमा यस वेबसाइटमा “यदि तपाईंले एलियन अपहरण देख्नुभयो भने नडराउनुहोस्, हामी यसलाई सुरक्षित रूपमा यसको उत्पत्तिस्थानमा फिर्ता गर्नेछौं” भन्ने जस्ता अपमानजनक शब्दहरू राखिएका थिए, जसलाई पछि हटाइयो।
यस वेबसाइटमा एउटा नक्सा समेत समावेश गरिएको छ, जसमा रातो थोप्लाहरूले विभिन्न सहरहरूमा भएका अध्यागमनसम्बन्धी गिरफ्तारीको संख्या देखाउँछन्। तर, यो नक्साको तथ्यांक सुरुदेखि नै संशयपूर्ण र अस्थिर पाइएको छ।
वेबसाइट सार्वजनिक भएको दिन सान्ता बार्बरामा सन् २०२५ जनवरीदेखि अप्रिल २०२६ सम्मको गिरफ्तारी संख्या १३२ देखाइएकोमा, तीन दिनपछि जुन १ मा त्यसलाई घटाएर ८२ बनाइएको छ, जबकि ८०५ अन्डोक्युफन्डले सोही अवधिमा सान्ता बार्बरामा १०३ गिरफ्तारी दर्ता गरेको थियो।
८०५ अन्डोक्युफन्डले एक विज्ञप्ति जारी गर्दै समुदायलाई यो सरकारी हिंसाप्रति उदासीन वा संवेदनहीन नहुन आग्रह गरेको छ। प्रभावित परिवारहरूलाई सहयोग गर्न संस्थाले आफ्नो पूर्ण क्षमतामा काम गरिरहेको छ र यस वर्षको सुरुदेखि मात्रै आपतकालीन सहायता कोषबाट ४ लाख १४ हजार डलरभन्दा बढी वितरण गरिसकेको छ।
सहयोग र सचेतनाका लागि आगामी आइतबार, जुन ७ मा टोपा टोपा ब्रुइङ कम्पनीमा मध्याह्न १२ देखि साँझ ५ बजेसम्म न्यायका लागि कला नामक परोपकारी कार्यक्रम आयोजना गरिने भएको छ।
८०५ अन्डोक्युफन्ड, एसबीरेसिस्टे र युनिभर्सिटी अफ क्यालिफोर्निया सान्ता बार्बराका विभिन्न समूहहरूद्वारा आयोजित यस कार्यक्रममा प्रसिद्ध कलाकारहरू डीजे जाभियर, ड्यानियल लिन्ज र वालेस पियाटका कलाकृतिहरूको मौन लिलामी गरिनेछ। यसबाट संकलित शतप्रतिशत रकम प्रभावित परिवारहरूको कानुनी र आर्थिक राहतका लागि सिधै प्रयोग गरिने आयोजकले जनाएका छन्।