सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल


२५ चैत, काठमाडौं । सरकारले सुरक्षा निकायको असहमतिका बाबजुद विवादित पृष्ठभूमिका दुर्गा प्रसाईं नेतृत्वको समूहलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको भेटिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालले प्रसाईंलाई प्रदर्शन गर्न तीनकुनेमा अनुमति दिन नहुने भनेर केन्द्रीय सुरक्षा समिति बैठकमा प्रस्ताव गरेको खुलेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार, दुवै पक्षले तोकेको प्रदर्शनको सुरक्षा तयारीबारे छलफल गर्न १० चैतको बिहान ९ बजे केन्द्रीय सुरक्षा समिति बैठक बसेको थियो । त्यसक्रममा थापा र अर्यालले विमानस्थल समेत नजिकै भएको भन्दै सुरक्षा संवेदनशीलताको व्याख्या गरेर प्रदर्शनस्थल परिवर्तन गराउनुपर्ने प्रस्ताव गरेका थिए ।

‘प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंको उग्र किसिमका अभिव्यक्तिहरु पहिल्यैदेखि आइरहेका थिए, त्यस्तोमा तीनकुने क्षेत्रमा कार्यक्रम गर्न अनुमति दिनु प्रति उत्पादक हुनसक्छ भन्ने उहाँहरुको भनाइ थियो’, मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘विमानस्थल नजिकै भएकाले परिस्थिति विग्रिए गोली चलाउँदा समेत समस्या हुनसक्ने उहाँहरुको भनाइ थियो ।’

सुरक्षा सम्बद्ध अधिकृतहरुका अनुसार, तीनकुने क्षेत्रमा सञ्चारका लागि समेत केही कठिनाइ थिए । विमानस्थल नजिक भएकाले त्यो उड्डयनको दृष्टिकोणबाट पनि निषेधित क्षेत्रमा पर्थ्यो ।

‘कतिसम्म भने मञ्च राखिएको ठाउँमा ड्रोन समेत उड्दैनथ्यो, त्यहाँ पुग्नुअघि नै रेड सिग्नल आउँथ्यो’, मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसको अर्थ तीनकुने क्षेत्र कति संवेदनशील छ भन्ने हो, त्यसैले प्रदर्शनलाई अन्यत्र सार्न लगाउनु पर्छ उहाँहरूको मत थियो ।’

के थियो सेनाको राय ? 

स्रोतका अनुसार, नेपाली सेनाले त दुवै पक्षलाई एकैदिन प्रदर्शन गर्न अनुमति नै दिन नहुने राय दिएको थियो । राजतन्त्रवादी र गणतन्त्रवादीको प्रदर्शन एकैदिन जुध्दा सुरक्षा व्यवस्थापनमा थप चुनौतिहरु हुने सेनाले भनेको थियो ।

‘राजावादी समूह आफैंमा उग्र हुँदा त्यसै पनि चुनौतिपूर्ण हुने भइहाल्यो’, एक उच्च सैनिक अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, गणतन्त्रवादी पक्षधरको समूहमा चाहिँ घुसपैठ भयो भने परिस्थिति झन् सम्हाल्न नसक्ने स्थितिमा हुने थियो ।’

ती अधिकारीका अनुसार, दुई ठूला प्रदर्शनमा सुरक्षाकर्मी बाँडिनु पर्दा परिचालनमा कठिनाइ अपेक्षित नै थियो भने सुरक्षाकर्मी समेत बाँडिएका बेला परिस्थिति भड्काउन खोज्ने पक्षलाई चलखेल गर्ने ठाउँ मिल्ने सम्भावना रहन्थ्यो ।

नेकपा माओवादी केन्द्र, नेकपा एस, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाले सरकारले आग्रह गरे प्रदर्शनका कार्यक्रम सार्न समेत तयार हुने सैनिक अधिकारीहरुको विश्लेषण थियो ।

सेनाले मुख्य शहरको बीचमा प्रदर्शन गर्न दिँदा त्यहाँ घुसपैठ भएर तनाव भएको स्थितिमा आक्रोशित भिड सिंहदरबार वा अन्य महत्वपूर्ण संरचनातिर जान सक्ने भन्दै सचेत गराएको रक्षा मन्त्रालय स्रोतले पनि अनलाइनखबरसँग पुष्टि गरेको छ ।

‘कतिपयले राजवादी प्रदर्शनमा घुसपैठ भयो भन्छन्, तर त्यहाँ घुसपैठको जरुरी नै थिएन । उनीहरुको मानसिकता पहिल्यै स्पष्ट थियो’, स्रोतले सैनिक अधिकारीहरुको विश्लेषण उदृत गर्दै सुनायो, ‘सम्झनुस्, गणतन्त्रवादीको प्रदर्शनमा तराईबाट आउनु भएको दाजुभाइहरु एकदम धेरै हुनुहुन्थ्यो, त्यहाँ घुसपैठ भएर एकजना कसैलाई केही भएको भए परिस्थिति कस्तो हुन्थ्यो ?’

उनीहरु राजवादी समूहको प्रदर्शनमा समेत पुग्नसक्ने डर हुने भन्दै अधिकारीहरुले सचेत गराएका थिए । नेपाल प्रहरीका एक उच्च अधिकृतले समेत एकैदिन दुवै प्रदर्शनमा सुरक्षा व्यवस्थापन गर्नुपर्दा स्वतः चुनौति भएको बताए ।

‘प्रहरीको जनशक्ति समेत बाँडिनुपर्ने अवस्था भयो, त्यस कारण ठूलो एरियामा भएका महत्वपूर्ण संरचनामा ध्यान दिन समेत सम्भव भएन’, ती अधिकृतले भने, ‘प्रसाईं समूहलाई तोकिएको स्थान आसपास यति धेरै महत्वपूर्ण संरचना थिए कि ढुंगा हानाहानका बीच प्रहरीले संसद् भवनतिर आउन रोकोस् कि विमानस्थलतिर जान रोकोस् कि कोटेश्वर भाटभटेनीतिर पस्न रोकोस् ?’

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल
रमेश लेखक, गृहमन्त्री

स्रोतका अनुसार, सुरक्षा निकायका प्रमुखहरुले प्रस्ताव राखेपछि गृहमन्त्री रमेश लेखकले भने त्यसबेला जिल्ला सुरक्षा समितिले तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइसकेको जानकारी गराएका थिए । त्यतिञ्जेल जिल्ला प्रशासन कार्यालय, काठमाडौंले  प्रसाईंसँग समेत छलफल गरेर प्रदर्शन शान्तिपूर्ण हुने भन्दै तीनकुनेलाई अनुमति दिइसकिएको सन्देश सुरक्षा अधिकृतहरुले पाएका थिए ।

‘जिल्लामा कुनै पनि स्थानमा सभा, जुलुस, प्रदर्शन गर्नलाई अनुमति दिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुन्छ, त्यसअनुसार अनुमति दिइसकेको अवस्थामा मन्त्रालयबाट धेरै केही गर्न सक्ने स्थिति थिएन’, मन्त्रालयका एक अधिकारी भन्छन्, ‘त्यसमाथि सीडीओलाई काठमाडौं प्रहरीकै केही अधिकृतहरुले बल्खु क्षेत्रमा प्रदर्शन गर्नु थप चुनौतिपूर्ण हुने ब्रिफिङ गरेका रहेछन् ।’

अधिकारीहरुका अनुसार, प्रसाईंले सुरुमा बल्खु क्षेत्रमै प्रदर्शन गर्न चाहेका थिए । पहिले पनि त्यहाँ प्रदर्शन गरिसकेकाले उनले बल्खुमा प्रदर्शन गर्न अनुमति दिन माग गरेका थिए ।

‘तर, बल्खु प्रसाईंले मुख्य निशाना बनाएको माडवाडी समुदायको बाक्लो बसोबास रहेको ठाउँ थियो, त्यहाँ प्रदर्शन गर्न दिँदा थप तनाव होला भन्ने तर्क काठमाडौंका केही प्रहरी अधिकृतहरुले गरेका थिए’, मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसअनुसार पहिले महेश बस्नेत नेतृत्वको प्रदर्शनका लागि दिएको स्थान नै उहाँहरु प्रशासनले दिएको थियो ।’

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल

नेपाल प्रहरीका प्रमुख दिपक थापाले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा शान्तिपूर्वक प्रदर्शन गर्ने भनेर प्रसाईंको समूहले स्थान समेत प्राप्त गरिसकेपछि नेपाल प्रहरी र अन्य सुरक्षा निकायको जिम्मेवारी त्यसको सुरक्षा गर्ने भएको बताएका छन् ।

‘अनुमति प्राप्त गरिसकेपछि प्रहरीले रुटको सुरक्षा गर्ने हो, त्यहाँ अरु कुनै झडप नहोस् हिसाबले’, शुक्रबार समितिको बैठकमा थापाले भने, ‘त्यहाँ ३९ बढी समूह छन्, तिनले विभिन्न ठाउँबाट सानो–सानो जुलुस निकालेको अवस्था छ, त्यसपछि रणनीति अनुसार बल प्रयोग गर्‍यौं ।’

शान्तिपूर्ण प्रदर्शन गर्छु भनेको समूहले पछि एकैपटक अराजक गतिविधि, हिंसा, लुटपाट र तोडफोड गरेको भन्दै उनले भने, ‘नेपाल प्रहरीले सीमित स्रोत साधनभित्र रहेर अधिकतम रुपमा लचक भएर कमभन्दा कम क्षति हुने गरी काम गरेको थियो ।’

यद्यपि, प्रहरीको गोली लागेर प्रदर्शनसँग सरोकार नै नभएका रेबिका खत्री र दिनेश खत्री कोटेश्वरस्थित डेरा छेऊ प्रहरीको गोली लागेर घाइते भएका थिए । थप १८ जनालाई प्रहरीको गोली लाग्यो । कीर्तिपुरका सबिन महर्जन गोली प्रहारबाट मारिए । टेलिभिजन पत्रकार सुरेश रजकको तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको घरमा मृत्यु भयो ।

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल
राप्रपाको प्रदर्शनलाई लक्षित गरेर सोमबार आयोजित समन्वयात्मक बैठकमा प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा । तस्वीरः नेपाल प्रहरी

बैठकमा आईजीपी थापाले प्रहरीतर्फ ५५ र सशस्त्र प्रहरीमा २५ जना घाइते भएको तथ्यांक प्रस्तुत गरे । उपत्यका प्रहरी कार्यालयका अनुसार, त्यसदिन प्रदर्शनकारीतर्फ ५२ जना घाइते छन् । प्रहरीका अनुसार, प्रदर्शनमा ७४६ राउण्ड अश्रुग्यास प्रहार भएको थियो भने २३९ छर्रा, १९२ राउण्ड ब्ल्याङ्क राउण्ड र २ राउण्ड पेस्तोलबाट गोली चलेको थियो ।

गृहमन्त्री रमेश लेखकले चाहिँ राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजावादी प्रदर्शनका आयोजकहरुले पहिल्यै ‘२५ गतेको ट्रेलर मात्र हो, सिनेमा बाँकी छ’, ‘नेताहरु लुक्ने ठाउँ खोज, हामी आउँदै छौं’ जस्ता अभिव्यक्ति दिएको उल्लेख गरे ।

‘त्यस्ता पृष्ठभूमि केलाएर हेर्दा संविधान उल्ट्याउने, यो व्यवस्था समाप्त गर्ने उद्देश्य काहीँ लुकेको छैन, छिपेको छैन’, उनले भनेका छन्, ‘आफ्ना असहमति शान्तिपूर्ण रुपमा राख्ने अधिकार सबैलाई संविधान दिएको छ, तर लुटपाट, आगजनी, सुरक्षाकर्मीलाई किच्याउने गरी गाडी कुदाउने गतिविधि कदापि क्षम्य हुनसक्दैन ।’

गृहमन्त्री लेखकले अहिले प्रदर्शकारीले अराजक गतिविधि गर्छन् भन्ने पृष्ठभूमिले नै देखाउने तथ्य बताउँदा १५ चैतको प्रदर्शन अघि चाहिँ उनले त्यसलाई निस्तेज पार्ने गरी किन सुरक्षा तयारी गराएनन् भन्ने प्रश्न उठ्छ ।

‘अहिलेका गृहमन्त्रीज्यूको प्राथमिकता नै कानुन निर्माण थियो, त्यसमा उहाँ अब्बल पनि हुनुहुन्थ्यो । तर, सुरक्षा निकाय चलाउने मामलामा समस्या भएको देखिन्छ’, नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘यस्तोमा गृह प्रशासन र त्यसअन्तरगतको जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेत प्रदर्शन प्रहरीको नियन्त्रणबाहिर पुग्नुको जिम्मेवार हुन् ।’

अधिकारीहरुको दाबीमा, प्रसाईंले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर प्रतिबद्धता जनाएको भन्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी ढुक्क देखिन्थे ।

सुरक्षा प्रमुखको असहमतिबीच दुर्गा प्रसाईंलाई दिइएको थियो तीनकुने स्थल
ऋषिराम तिवारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी

तर, २ जनाको मृत्यु, २० जना प्रहरीको गोली लागी घाइते र निजी/सरकारी भौतिक संरचनामा ठूलो क्षति पुगेपछि अहिले अधिकारीहरुले प्रसाईंको नियत नै आपराधिक रहेको बताइरहेका छन् ।

‘यो घटनाबाट गृह प्रशासन र प्रहरीका लागि एकहिसाबले ठूलो सिकाइ पनि भयो, त्यहीबाट सिकेर राप्रपाको मंगलबार हुने प्रदर्शनलाई बल्खुतिर सारिएको छ’, एक उच्च प्रहरी अधिकृतले भने, ‘प्रदर्शन अघि सुरक्षा समन्वयमा चुक नहोस् भनेर प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वयात्मक बैठक समेत राखिएको छ ।’

थप 

राजावादी विध्वंशको स्थलगत : अनि, रणमैदान बन्यो तीनकुने

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?

स्पष्टीकरण दिएर कमजोरी छोप्ने प्रहरीको प्रयास

प्रसाईंसँगै भागेका दुई जनाको बयान : दाइलाई बीएण्डसीमा छाडेर आएका थियौं





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School