१३ जेठ, पोखरा । घुम्न आएका पर्यटकले पोखराका धेरै स्थानमा केही न केही निर्माणको काम भइरहेका देख्छन्, तर भद्रगोल शैलीमा ।
लेकसाइडमा तार भूमिगत गर्न विद्युत् प्राधिकरणले सडक खन्दै छ । तर ढिलाइ हुँदा पर्यटकीय लेकसाइडमै धुलोको सास्ती छ । कतै महानगरपालिका नालाहरु निर्माण गरिरहेको छ त कतै खानेपानीको पाइप बिछ्याउने काम हुँदैछ । यस्ता निर्माणसम्बद्ध विभिन्न कामहरु समयमै नसकिंदा सडकमा धुलो र हिलोको सास्ती छ ।
पोखराको पृथ्वीचोक नजिकै सेती नदीमाथि सिग्नेचर पुल बनिरहेको छ । तर, त्यहाँ पनि काम अलपत्र छ ।
पृथ्वी राजमार्गबाट पोखरा प्रवेश गर्ने कोत्रे क्षेत्रदेखि नै पोखरा निर्माणको चरणमा रहेको अनुभव हुन्छ । कोत्रे क्षेत्रबाट पोखरातर्फको भागमा अहिले ट्रिपरहरुले माटो थुपारिरहेका छन् ।
सडकमा नयाँ लेनहरु थप्न माटो भर्ने काम भइरहँदा गाडी गुड्ने सडकमा ठूला खाल्डाहरु छन् । सडक बगरजस्तो छ भने निर्माणाधीन नयाँ लेनहरु अलपत्र अवस्थामा छन् । केही ठाउँमा सीमित संख्यामा श्रमिकहरु काम गरिरहेका देखिन्छन् ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको करिब साढे २ किलोमिटर खण्डको हालत उस्तै छ । पोखरा प्रवेश गर्ने खण्ड नै बेहाल छ । मुख्य सडक मार्गको अवस्था दयनीय हुँदा यात्री र स्थानीय हैरान छन् ।
पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र भइसकेपनि बीचको खण्डको भने अवस्था दयनीय छ । मुआब्जा विवादमा अल्झिएको यो क्षेत्रको सडकको दुरवस्थाले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट आउने गाडीहरु मारमा छन् ।
यसरी पोखरा अहिले सुस्त र भद्रगोल शैलीको निर्माण परियोजनाहरुको मारमा छ । पानी नपरेका बेला पनि रेनकोट ओढेर मोटरसाइकल र स्कुटर चलाएको दृश्य पोखरेलीका लागि सामान्य भइसक्यो । कार्यालय हिँडेका कर्मचारी धुलो र हिलोबाट बच्न चर्को घाममा पनि रेनकोट ओढ्छन् । मास्क नलगाई हिड्नु मुस्किल छ ।
पृथ्वीराजमार्ग हुँदै पोखरा भित्रने, भूपी शेरचन राजमार्गको सिमपानी, हरिचोक हुँदै पोखरा भित्रने र बुटवल, पाल्पाबाट स्याङ्जा छोरेपाटनबाट सिद्धार्थ राजमार्ग भएर भित्रने अधिकांश यात्रुको उस्तै खाले अनुभव छन्, ‘धुलो, हिलो, खाल्डाखुल्डी सडकमा सकसपूर्ण यात्रा ।’
लाइफलाइनको हरिबिजोक
पोखरा जोड्ने यी मुख्य ३ राजमार्गमध्ये सबैभन्दा लामो समयदेखि सकसपूर्ण यात्रा पृथ्वीराजमार्गको बनेको छ । साथीहरुसँग पोखरा आउन सडकमार्ग रोजेका काठमाडौंका सतिश बोहरा र उनको समूह पृथ्वी चोकसम्म आइपुग्दा पछुताइसकेका थियो । ‘हामीले किन पोखराको फ्लाइट समातेनौं !’ सडकको धुलो, खाल्डो, जाम र जोखिमपूर्ण मोटरसाइकलको यात्राले उनीहरु बीचबाटोमै दिकदार भए ।
मुग्लिन आएर खाना खाँदा नै उनीहरुले सडक भएर पोखरा आउन गरेको निर्णय गलत भएको निष्कर्ष निकालिसकेका थिए । झन् मुग्लिन–पोखरा सडक खण्ड भएर सुन्दर नगरीमा छिर्दासम्म उनीहरुको मुड खराब भइसकेको थियो ।
‘हामी त नेपाली हौं, बानी छ सहौंला, तर विदेशीहरुले यो देख्दा के सन्देश लिएर जालान् ?’ लेकसाइडमा भेटिएका बोहराले भने,‘सबै बाटो एकसाथ भत्काइदिने अनि भद्रगोल बनाएर छाड्ने शैलीले सबैलाई दुःख भयो ।’
बोहराका साथी रमण कोजु पानी परेको दिनमा मोटरसाइकल चलाउनु झन् जोखिम हुने बताउँछन् । ‘पोखरा आएपछि फ्रेस हुन त सकिन्छ,’ कोजु भन्छन्,‘तर फर्किएर त्यही बाटो जानु छ, काठमाडौं पुग्दासम्म फेरि ह्याङ भइहालिन्छ ।’
निजी सवारीमा स्थलमार्ग भएर पोखरा आइपुगेका विन्तोष परियार पोखरा आउँदा रारा गएजस्तो भएको टिप्पणी गर्छन् । ‘काठमाडौंबाट हिँडेदेखि यहाँसम्म आइपुग्दा कतै–कतै भेटिएको चिल्लो पिच बिर्सिने हो भने पोखराको यात्रा मुगुको रारा गएजस्तै हो,’ उनले भने, ‘सडकको खाल्डामा गाडी बचाउनै मुस्किल छ, ज्यान थिलो–थिलो हुन्छ ।’
यस्तो अनुभव गर्ने सर्वसधारण र स्वदेशी आन्तरिक पर्यटक मात्रै हैनन् । स्थलमार्ग भएर आउने भारतीय पर्यटकदेखि पर्यटक बस चढेर आउने तेस्रो मुलुकका विदेशी पर्यटकसम्मको देखाइ र भोगाइ साझा छ ।
बाहिरबाट बाइक लिएर पोखरा आइपुगेका सन्देश यादव बाटोको यात्रा कष्टकर भएको बताउँछन् । ‘अलि एड्भेन्चरस खालको यात्रा छ, राइडिङ अनुभव राम्रो नभएकाहरुलाई धेरै जोखिम छ’, उनी भन्छन्, ‘तर, हामीलाई पहाडको यस्तो बाटोमा यात्रा गर्नु पनि नौलो अनुभव हो ।’
कष्टकर यात्रा
अहिले पोखराको लाइफलाइन मानिने पृथ्वीराजमार्गको लगभग सबै खण्ड विस्तारको क्रममा छन् । २०७८ सालको सुरुमा मुग्लिन–पोखरा सडकको आबुखैरेनी–पोखरा खण्ड ४ लेनमा विस्तार गर्न ठेक्का लगाएपछि सडक विभागले काठमाडौंको नागढुंगादेखि चितवनको मुग्लिनसम्म पनि ठेक्का लगाएर विस्तारको काम अघि बढाएको थियो ।
त्यसअघि २०७५ सालमै ठेक्का लगाइएको बुटवल–नारायणगढ सडकखण्ड अलपत्र नै थियो । तर, नारायणगढ–बुटवल सडक विस्तारका लागि अघि बढेको काममा चरम ढिलाइ हुँदा सुनौली नाका भएर भित्रिने भारतीय पर्यटकहरु मर्कामा परिरहेकै थिए ।
त्यसमाथि सरकारले एकसाथ काठमाडौंबाट मुग्लिनसम्म आउने र मुग्लिनबाट पोखरासम्म आउने लाइफलाइन सडक पनि भद्रगोल शैलीले भत्काएर छाडेपछि यसको मार स्थानीयहरुदेखि पर्यटकहरुले भोगिरहेका छन् ।
यो सडकमा बालबच्चा, बिरामी र वृद्धवृद्धाका लागि यात्रा झन् कष्टकर छ । गण्डकी प्रदेशका स्याङ्जा, पर्वत, म्याग्दी मुस्ताङ, मनाङ लगायतका जिल्लाका यात्रु र यस क्षेत्रमा पुग्ने पर्यटकका लागि यो सडकखण्डको प्रयोगको सजिलो विकल्प छैन ।
ठाउँ–ठाउँमा गरिएको कालोपत्रेबाहेक अन्य क्षेत्रमा सडकभरि खाल्डा छन् । त्यसलाई पुर्नु त परै जाओस्, सडक किनारमा जथाभावी थुपारिएका निर्माण सामग्रीलाई सम्याउन समेत ठेकेदारले जाँगर देखाएको छैन ।
विस्तारका लागि तयार भएका नयाँ सडक लेनहरु अलपत्र छन् भने साविकको सडक भत्किँदा पनि मर्मत गर्न ध्यान दिइएको छैन । ‘ग्राउन्ड क्लियरेन्स’ ठीकै भएका गाडी समेत भुइँ छुँदै खाल्डा र ढुंगामा ठोक्किन्छन् । सवारी चालकहरुका लागि त यो खण्ड सुरक्षितसँग पार गर्नु निकै कठिन छ ।
सडकमा काम भइरहेको स्पष्ट जनाउने संकेतहरु राखिएका छैनन् । निर्माणका क्रममा सुरक्षा मापदण्ड पालना गर्न गराउन ठेकेदार कम्पनी र सडक विभागले चासो दिएका नदिंदा सडकमा दुर्घटनाको जोखिम उच्च छ ।
सार्वजनिक र पर्यटक बसमा यात्रा गर्नेहरु खाल्डायुक्त सडकले उफारेर हैरान मात्रै हुँदैनन्, शारिरिक रुपमा थकित पनि हुन्छन् । पर्यटक बसमा पोखरामा आ पर्यटक बसमा पुगेकी कौशिला अमात्य १५ मिनेट पनि बसभित्र निदाउन नसकेको बताउँछिन् ।
‘बसले उफारेर हैरान भइयो, बसभित्र एकछिन सुस्ताउन सकिएन’, पोखरा घुम्न परिवारसँग आएकी अमात्य भन्छिन्, ‘हामी बुढाबुढी मान्छेका लागि त यो बाटो हिँड्न लायक रहेनछ ।’
विस्तार भइरहेका सडकमा कहिले सडक फराकिलो बनाउन माटो काट्ने र पुर्ने कामका लागि गाडी रोकिन्छ । पोखराको यात्रामा निस्किएकाहरु काम भइरहेका विभिन्न ठाउँमा जाममा फसेर हैरान हुन्छन् । यो सडक खण्डमा दैनिकजसो ठाउँ–ठाउँमा गाडी बिग्रन्छन्, कतै गाडी दुर्घटनामा पर्ने पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीको अनुभव छ ।
धुलो–हिलोले सकस
राजमार्ग आसपास होटल र पसल चलाउनेहरु व्यापार घटेर हैरान छन् । राजमार्गका यात्रु र चालकलाई लक्षित गरी खुलेका व्यवसाय संकटमा छन् ।
पोखरा आइपुग्ने मालबाहक ट्रक र जिप कारजस्ता चारपांग्रे साना गाडीलाई खाल्डा छल्न सबैैभन्दा बढी सकस छ । पोखरा पुग्ने सर्वसाधारण र पर्यटकदेखि राजमार्ग आसपासका स्थानीयहरु धुलोको मारमा छन् । डोजरले खनेर थुपारेको माटो महिनौंसम्म व्यवस्थापन नहुँदा धुलो र हिलोको साम्राज्य छ । सडक विस्तार अलपत्र छाड्दा मास्क नलगाई हिंड्न सकस छ ।
पोखरा महानगरभित्रै पर्ने पृथ्वी राजमार्गको विस्तार हुँदै गरेको सडक खण्डहरुको अवस्था कन्तबिजोक छ । सडकको दुरवस्थाका कारण फेवाको लेकसाइड आएका पर्यटकलाई बेगनास पुग्न सकस छ ।
स्थानीय क्षेत्रमा धुलो उड्ने समस्याले पोखराभरि नै वायु प्रदूषणको समस्या बढाएको छ । स्थानीयहरुदेखि पर्यटकहरुमा श्वासप्रश्वास सम्बद्ध रुखाखोकी, नाक र घाँटीको एलर्जी जस्ता समस्या हुने डर देखिन्छ । आँखा पोल्ने, आँसु आइरहने, घाँटी खसखसाउने, छाला चिलाउने समस्या स्थानीय क्षेत्रमा सामान्य बनेको छ ।
राजमार्गबाट पोखरा विमानस्थल जाने चोकमा घर भएकी मैया चालिसे सकड खनेर अलपत्र छाड्दा पर्यटकीय पोखराको प्रतिष्ठामा नै धक्का लागेको बताउँछिन् ।
‘धुलोले हामीलाई पनि रोगी बनाइसक्यो, रुघा खोकीले छाड्दैन,’ उनी भन्छिन्,‘कम्तीमा सडकको यस्तो हालत देखेर पोखरा आएका पर्यटकले के सोच्लान् भन्ने चिन्ता सरकारलाई हुनुपर्ने हो ।’
कति भयो मुग्लिन–पोखरा सडकको काम ?
हिलाम्य राजमार्गबाट सवारीले टायरमा हिलो÷धुलो लिएर पोखराका भित्रि शहरसम्म जाने समस्या पनि छ । यसले सडक फोहोर हुँदा पोखराको सरसफाइमाथि प्रश्न उठ्ने अवस्था छ । सडक विभाग अन्तरगतको एडीबी निर्देशनालयका निर्देशक चुँडाराज ढकाल डुम्रे र दमौलीसहित पोखरातर्फको सडक खण्डको अवस्था बढी खराब रहेको स्वीकार्छन् । कतिपय ठाउँमा काम गर्न अनेकन अवरोध रहेको भन्दै उनले विस्तारको काममा ढिलाइ हुन नदिने अधिकतम् प्रयत्न भइरहेको बताए ।
एसियाली विकास बैंक (एडीबी) को करिब १५ अर्ब ऋण सहयोगमा २०७८ को सुरुबाट विस्तार थालिएको यो सडक निर्माण कहिले सकिन्छ भन्ने निश्चित छैन । कुल ८०.३३ किलोमिटरको मुग्लिन–पोखरा सडकको आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर पूर्वीखण्ड विस्तारको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले गरिरहेको छ ।
जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर पश्चिम खण्डमा अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले काम गरिरहेको छ ।
एडीबी निर्देशनालयका अनुसार हालसम्म समग्रमा आबुखैरनीदेखि पोखरासम्मको सडक विस्तारको काम ४३ प्रतिशत मात्रै सकिएको छ । पूर्वी खण्डमा ६० र पूश्चिम खण्डमा २५ प्रतिशत मात्रै काम सकिएको छ ।
ढकालका अनुसार पूर्वी खण्डको ४१ किलोमिटरमध्ये २४ किलोमिटर दुईतर्फी र ८ किलोमिटर खण्ड एकतर्फी कालोपत्रे भएको छ । पश्चिमखण्डका १३ किलोमिटर एकतर्फी कालोपत्रे भएको छ । यसरी ८० किलोमिटरमध्ये ४५ किलोमिटर खण्डमा कालोपत्रे सकडमा यात्रा गर्न सकिने अवस्था रहेको दाबी निर्देशनालयको छ । करिब ३५ किलोमिटर खण्ड भने कच्ची बाटो भएर हिँड्नुपर्ने अवस्था छ ।
निर्देशक ढकालका अनुसार आगामी भदौसम्म म्याद भएपनि पूर्वी खण्डको काम आगामी पुसम्म सक्ने लक्ष्य छ । पश्चिम खण्डमा भने आगामी असोजसम्म म्याद भएपनि २०२५ को डिसेम्बरसम्म काम सक्ने लक्ष्य छ । यसरी पूर्वी खण्डको थप ४ महिना र पश्चिम खण्डका लागि डेढ वर्ष म्याद थप्ने तयारी छ ।
पोखराभित्रै उकुसमुकुस
भूगोलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाका सबै ठाउँका नागरिकले महानगरको अनुभूति गर्न त टाढाको कुरा कोर सिटीकै नागरिक यतिबेला उकुसमुकुस छन् । पृथ्वीराजमार्गका लेखनाथ, पोखरा क्षेत्रका नागरिक धुलोधुँवाले पुरिन थालेको वर्षौं भइसक्यो भने अहिले तालचोक–बेगनास ताल सडकका कारण पनि पोखरेली र आउ–जाउ गर्ने पर्यटकले हैरानी खेपिरहेका छन् ।
तालचोक–बेगनास ताल सडक निर्माणका लागि ठाउँ ठाउँमा भत्काएर छोडिएको छ भने कहिले ठेकेदार नै भागेर हैरान पारिरहेको मेयर धनराज आचार्यकै दुखेसो छ । स्थानीयलाई मिलाएर निर्माण कार्यमा ठेकेदारलाई वातावरण बनाइदिन जनप्रतिनिधि नै असफल देखिएका छन् ।
पर्यटक अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कनेबित्तिकै झ्याप्पै आउने धुलो, पानी पर्दाखेरिको हिलोले पोखराको सुरुआत नै खराब बन्छ । विजयपुर पुल कट्नेबित्तिकै वीपी मार्ग हुँदै मियापाटन, रानीपौवा हुँदै महेन्द्रपुल निस्कने सडक अहिले वैकल्पिक मार्ग त बनेको छ तर ठूला गाडी र धेरै चाप यो सडक पनि धान्न सक्ने अवस्था छैन ।
वीपी मार्ग हुँदै महेन्द्रपुल निस्किएर बागलुङ बसपार्क हुँदै पर्वत, बागलुङ, म्याग्दीतर्फ जानेलाई सहज हुन सक्ने भए पनि त्यही हिसाबले व्यवस्थापन हुन सकेको छैन । त्यही सडक पनि अहिले नाला बनाउने कामले ठाउँ ठाउँमा खनिएको छ भने महानगरले खाल्डाखुल्टीसमेत पुर्न नसक्दा उस्तै सकसपूर्ण छ ।
स्याङ्जातर्फ जाने व्यवस्थित वैकल्पिक मार्ग महानगरले बनाउन सकेको भए पनि चाइनिज पुल हुँदै पृथ्वीचोक छिर्ने सवारी साधनको चाप कम हुने थियो । मेयर धनराज आचार्यले दक्षिणतर्फ वैकल्पिक मार्गको काम सुरु भइसकेको बताउन थालेको डेढ वर्ष भइसकेको तर नागरिकले त्यसको कुनै छनक देखेका छैनन् ।
सरकारी निकायको समन्वय नहुँदा कसरी सहरै कुरुप बन्छ र नागरिकले सास्सी खेप्छन् भन्ने उदाहरण पर्यटकीय राजधानी पोखरा नै बन्न पुगेको छ । पोखरा महानगरले मुख्य सडकहरु अस्फाल्ट पिच गरेको थियो । तर, अहिले खानेपानी र बिजुलीको कामले धेरैजसो सडक खनिएका छन् भने कतिपय ठाउँ अस्तब्यस्त बन्न पुगेका छन् ।
पोखराको खानेपानी आयोजनाको काम जाइकाले अहिले अन्तिम चरणमा पुगेको बताइरहेको छ । तर, प्रमुख सहर र सडकहरुमै अहिले खानेपानीको पाइप जडानको काम भइरहेको छ भने विद्युत प्राधिकरणले लेकसाइड क्षेत्रमा बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । बिजुलीको तार भूमिगत गर्न लेकसाइडका प्रमुख र सबैजसो गल्लीका बाटो खनिएका छन् ।
सडकका कारण त्रासदीपूर्ण यात्रा पार गर्दै आइपुगेका पर्यटकले पोखराभित्र पनि सुख पाउँदैनन् भने सरकारी समन्वय नभएर सधैं भइरहेको अस्तव्यस्ताले स्थानीयलाईसमेत उकुसमुकुस बनाइरहेको छ ।
‘विकास निर्माण हुँदा केही अस्तव्यस्त हुन्छ, सबै बुझेकै छ तर व्यवस्थिति ढंगले काम गर्न सरकारी निकायमै समन्वय छैन । भर्खरै पिच गरेको सडक भोलिपल्टै खानेपानीका लागि फोडिन्छ, अर्को दिन अर्को कामका लागि,’ पर्यटन व्यवसायी कमला गिरी भन्छिन्, ‘पोखराभित्रै अहिले मान्छेले उकुसमुकुसको महसुस गरिरहेका छन् । राजमार्ग छिटो सक्न राज्यले कसरत गरेन, अन्य ठाउँमा कम्तीमा समन्वय गरेर व्यवस्थित विकास त गर्न सक्छ ।’
तर आशावादी छ पोखरा
पोखरा जोड्ने सडकको बेहाल भएपनि स्थानीय व्यवसायीहरु भविष्यका लागि आशावादी छन् । यस्ता सडक निर्माण र विस्तारको काम छिटो सकिए भविष्यमा पोखरासम्मको यात्रा सजिलो र छोटो हुने हुँदा भविष्यमा पर्यटक पनि बढ्ने उनीहरुको उनीहरुको अपेक्षा छ ।
होटल संघ पोखरा अध्यक्ष लक्ष्मण सुवेदी सडकको अवस्था राम्रो नभएपनि फराकिलो बनिरहेकाले भविष्यमा यसले पोखराको पयटनमा टेवा दिने बताउँछन् ।
‘पोखरामा अहिले बाटोको अवस्था खराब हुँदा पनि पर्यटकहरु आइरहनु भएको छ, बाटो राम्रो भए यो संख्या अझै राम्रो हुनसक्थ्यो,’ उनी भन्छन्,‘निर्माणको काम समयमै सक्न हामी सबैले आवश्यक सहयोग र दबाब दिनुपर्छ ।’
पोखराका पर्यटन व्यवसायी समेत रहेका नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठी ७० वर्षअघि बनेको सडकले आवधिक मर्मतसमेत नपाएको अवस्थामा विस्तारको योजनामा काम हुनुलाई सकारातमक रुपमा लिनुपर्ने बताउँछन् ।
विस्तार भइरहेको सडकले ‘कनेक्टिभिटी’ सम्बद्ध पूर्वाधारमा पोखरा थप मजबुत बन्ने उनको भनाइ छ ।
विस्तारित सडकले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने वातावारण बनाउने समेत भूमिका खेल्ने त्रिपाठी बताउँछन् ।
‘अहिले सडकको अवस्था खराब छ, तर बाटो बन्दै गरेको देखेर विदेशी पर्यटक पनि पोखराको पर्यटनको भविययमा राम्रो भएको बताउने गरेका छन्’, उनले भने, ‘पर्यटकलाई अहिले सास्ती छ, तर बाटो बिग्रिएको बन्नकै लागि हो ।’
तस्वीर : सरोज अधिकारी/अनलाइनखबर
पोखराको पदचाप-१
पोखराको पदचाप-२
पोखराको पदचाप-३