३० असोज, जनकपुरधाम । सोमबार दिउँसो सुन्दरपुरको मुसहर बस्तीमा च्यातिएको त्रिपालको झुप्रोअगाडि फुसफुसाउँदै थिए, ३७ वर्षीय चन्दे सदा ।
सिरहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरका चन्देको जस्तो ओत लाग्ने झुत्रो टहरो छ, त्यस्तै उनले लगाएको मैलो फोहोर लुगा । बर्बराइरहेका चन्दे रक्सीमा लठ्ठिएका थिए । छिमेकको दैलोमा गुच्चा खेल्दै बालबालिकासँग रमाउँदै थिए उनका दुई छोरा, १४ वर्षीय प्रकाश र ११ वर्षीय अर्जुन ।
नयाँ मान्छेले केही दिने उद्देश्यले नाम टिप्न आएका हुन् कि लागेर होला चन्देकी श्रीमती रेमणी सदा उत्साहित हुँदै हामी भएतिर आइन् । ‘कथि के नाम लिखै छियै सर ? किछो भेटतै हमरासभके ?’ रमणी सदाले जिज्ञासासहित आफ्नो थोत्रो टहरो देखाउँदै भनिन्, ‘देखियौ हमरासभके रहला घरे नै है । निन्द नै अबै है त्रिपालमे । बड दिक्कत है ।’
चन्दे र रेमणीका छोरी १५ वर्षीया छोरी सोमनी पनि छन् । तीनै छोराछोरी पढ्न पाएका छैनन् । जबकी सुन्दर वस्तीको छेउ बन्दीपुरमै फुलकुमारी महतो माध्यमिक विद्यालय छ । तीनैजना छोराछोरीको दिनचर्या खेलेर बित्छ । छोराछोरीको जन्मदर्ता नहुँदा विद्यालयले भर्ना नलिएपछि पढ्न नपाएको आमा रेमणीको गुनासो छ ।
‘नजदिकमे स्कुल भक कि हेतै ? बेटाबेटीके जन्मदर्ता नै है । स्कुल भर्ना नै लेलकै । गोलीगोली खेलक धियापुताके दिन बितै है’, आमा रेमणी सुनाइन् । छोराछोरीको जन्मदर्ता नहुनुको कारण चन्दे र रमेणीको आफ्नै नागरिकता छैन ।
उनको टहरोमा दुईजना पनि खुट्टा तन्काएर सुत्ने अवस्था छैन । त्यसमै जेनतेन खाना पाक्छ । आमा छोरी गुटमुटिएर सुत्छन् । चन्दे बाहिर बनाएको माचनामा सुत्छन । दुई छोरा अन्यको घरमै सुत्नु परेको रेमणी बताउँछिन् । ‘दुनु बेटा दोसरके घरमे सुतै है । अपना त घरे नै है’, उनले दुखेसो गरिन् ।
माइत भएकाले रेमणी सपरिवार यहाँ बस्न थालेको दशक भयो । चन्देको साविक घर धनुषाको धनुषाधाम नगरपालिका–५ हो । त्यहाँ उनको सुकुम्बासी बस्तीमै एकधुर ऐलानी घडेरी छ, घर छैन । चन्देका बुबा सोनेलाल बितिसकेका छन् ।
आमा राजो सदा छँदै छन् । आमाबुबा दुबैको नागरिकता छ । तर, चन्देको नागरिकता छैन । नागरिकता बनाउन जाँदा पैसा लाग्ने, सरकारी निकायमा झमेला हुने लागेर चन्दे त्यतातिर ध्यान दिएका छैनन् ।
‘खानै पुग्दैन नागरिकता जन्मदर्ता बनाउन पैसा कहाँबाट ल्याउने ? तपाईंहरुले नै सहयोग गरिदिनुपर्यो । घर बनाइदिनुपर्यो’, नशामै रहेका चन्देले भने । चन्देको परिवारको साँझ बिहानको छाक बाटो तथा फोहरको डंगुरमा फालिएका प्लास्टिकका टुक्रा बटुलेर, बेचेर गुजारा गर्छन् ।
वर्षाको बेला त परिवारको बिजोग हुन्छ । कहाँ खाने, बस्नेसम्मको ठेगान हुन्न । गरिबीको चरम चपेटामा रहेका यहाँका मुसहर समुदायका घर पनि आफू बस्नै सोच्नुपर्छ ।
रेमणीका अनुसार केही वर्षअघिसम्म अर्को झुपडी थियो । त्यो वर्षातमा खसेपछि यसरी जसोतसो प्लास्टिक तथा कपडाले ओत लगाएर बस्न थालेको रेमणीको भनाइ छ ।
***
पूर्वपश्चिम राजमार्गको उत्तर छेउमा टाँसिएरै रहेको यो बस्तीका चन्दे सदाजस्तै दयनीय अवस्था छ, ७० वर्षीया बुधनी सदाको । उनको ओत लागेको झुपडी पारदर्शी छ ।
बाहिरबाटै घरभित्र छरपष्ट देखिन्छन्, असरल्ल सामानहरु । छानो खर, प्लास्टिक, कपडाले जेनतेन टालेको छ । त्यही झुपडीमा उनको उत्तरार्ध जीवन बितिरहेको छ ।
पति गंगाराम सदा परलोक भएको वर्षौं भयो । दुई छोरी जेठी सुनिता र कान्छी रञ्जिता बिहे गरी आ–आफ्नो घर गइसकेका छन् । प्रायः एकलै झुपडीमा टोल्लाइरहन्छिन्, बुधनी । ७० वर्ष पुग्दा पनि उनी वृद्ध भत्ता राज्यबाट पाउन सकेकी छैनन् ।
उनको नागरिकता कमलाको बाढीले बगाइसकेको छ । कुनै कागजात नहुँदा फेरि प्रतिलिपि लिन सक्ने उनलाई आशा छैन । केही वर्षअघि घरभन्दा करिब पाँचसय मिटर पश्चिम भएर बग्ने कमला नदीको बाढी बाँध भत्काएर बस्ती छिर्दा उनको सबैथोक लग्यो । त्यसमै नागरिकता पनि लगेको बुधनी बताउँछिन् ।
न त फेरि बन्ने आश उनले देखिन्, न त कसैले पहलकदमी लियो ।
‘कुछ साल पहिले कमला नदीके बाढी बस्ती पैसलै । घरसहित कागजपतर सब दहाक लगेलै । ओहीमे हमर नागरिकता रहै’, उनले सम्झिँदै भनिन्, ‘कोनो कागज नै है, आब केना बनतै । वृद्ध भत्ता भेटतै त किछ राहत होइतै ।’
बेलाबेला घरमा जेठी छोरी सुनिता आउने गर्छिन् । र बुधनीलाई जीवनयापनमा केही सहज हुन्छ । वर्षाको बेला घरमा बस्ने अवस्था हुन्न । तर त्यसमै वर्षा छल्नु परेको, अति साह्रो हुँदा छिमेकको घरमा शरण लिनु परेको बुधनी सुनाउँछिन् ।
‘वर्षा सीतलहरमे बड दिक्कत होइ है । अहीमे केहुना गुञ्जायस करपरै है । सरकार एकटा घर नै बनादे तै त बढ्का उपकार होतै’, उनले अपेक्षा गर्दै भनिन् ।
बस्तीकै धमलाल सदाका तीन छोरा, तीन बुहारी र आठ नातिनातिना छन् । छोराहरु गंगा, रामबाबु र श्यामबाबु । दुई छोरी बिहे गरेर घर गइन् । गंगाका एक छोरा, रामबाबुका तीन छोरा र एक छोरी र श्यामबाबुका दुई छोरी र एक छोरा छन् । धमलालका आठै नातिनातिना पढ्न पाएका छैनन् ।
पढ्ने उमेरकाहरु खेलेर दिन काट्छन् । पढ्न नपाउनुको कारण हो–उनीहरुको जन्मदर्ता नहुनु । किनभने धमलालका तीन छोरा र तीन बुहारी नै नागरिकता छैन । छोराहरुको जन्मदर्ता छ । तर आमा ५५ वर्षीया रेवती सदाको नागरिकता बनेकै छैन । आफ्नो नागरिकता नभएको कारण छोराहरुको नागरिकता नबनेको आमा रेवती बताउँछिन् ।
‘मेरो श्रीमानको नागरिकता छ । तर मेरो छैन । मेरो नागरिकता नभएकोले छोराहरुको नागरिकता बन्न सकेन । छोराहरुको नागरिकता नहुँदा बुहारीको बनेन । त्यस कारण नातिनातिनाहरुको जन्मदर्ता बन्न सकेको छैन’, रेवती भन्छिन्, ‘नागरिकता बनाउन कसैले चासो देखाउँदैनन् । अहिले छोराहरु नागरिकता अभावमा दुःख गरिरहेका छन् । बालबच्चाको भविष्य खराब हुँदैछ ।’
नागरिकता भएको भए छोराहरु विदेश गएर परिवारको स्थिति सबल बनाउन सक्थे, नातिनातिना पढे उनीहरुको भविष्य राम्रो हुन्थ्यो भन्ने रेवतीलाई लागेको छ ।
स्थानीय जितनी कुमारी मुखियाका अनुसार बस्तीमा १५/१६ घरपरिवार मुसहरको बसोबास छ । प्रायः घरपरिवारको अवस्था उस्तै दयनीय छ । प्रायःको खरले छाएको फुसको घर छ । र, लडखडाएको छ । दैनिक ज्यालामजदुरीबाट उनीहरुको साँझबिहानको चुलो बल्छ । दृश्य हेर्दा उनीहरु ‘नारकीय’ जीवन व्यथित गरिरहेको प्रतीत हुन्छ ।
अशिक्षा र विपन्नताले पिल्सिएका चन्दे छोराछोरी र धमलाल सदाका नातिनातिना जस्तै सबै घरपरिवारका बालबालिका दिन खेलेरै बिताउँछन् । जन्मदर्ता, नागरिकता यो बस्तीका मुसहरको साझा समस्या हो ।
जन्मदर्ता अभावमा बालबालिकाहरु शिक्षासँगै राज्यबाट पाउने बालपोषण भत्तापनि बञ्चित छन् । ‘मुसहरको बच्चा स्कुल जाँदैनन् । दिनभर खेलेर बिताउँछन् । छेउमै विद्यालय भएपनि जन्मदर्ता छैन । भर्ना लिँदैन । बालपोष्ण भत्ता पाउँदैनन् । जनप्रतिनिधले मतलब गर्दैनन्’, उनी भन्छन् ।
सुन्दरपुर सुकुम्बासी बस्ती हो । यस बस्तीमा तत्मा, दुसाध, मलाह, चमार लगायत पहाडी समुदायको केही घरपरिवार गरी करिब ५० घरधुरी छ । त्यसमा सबभन्दा पिँधमा मुसहर घरपरिवारहरु नै छन् ।
यो बस्तीमा चुनावको बेला मात्र नेता तथा जनप्रतिनिधि छिर्ने गरेको स्थानीयको गुनासो छ । त्यस कारण यो बस्तीमा अहिलेसम्म स्थानीय सरकारबाट केही काम नभएको राधे महतोको गुनासो छ । जबकी सुन्दरपुर बस्तीको पूर्वी छेउमै कर्जन्हा नगरपालिकाको वडा नम्बर ३ को कार्यालय छ ।
‘यहाँ नेताजनप्रतिनिधि चुनावकै बेला आउँछन् । बीचमा बस्तीमा के समस्या छ, के गर्नुपर्छ मतलबै गर्दैनन् । अहिलेसम्म यहाँ स्थानीय सरकारले केही पनि काम गरेको छैन’, महतो आक्रोश पोख्छन् ।
तर वडाध्यक्ष प्रकाश कोइराला आफू बेलाबेला बस्ती छिरेर त्यहाँको समस्याको बारेमा बुझ्दै समाधानको प्रयास गरिरहेको दाबी गर्छन् । ‘मुसहरहरुको समस्या मलाई थाहा छ । उनीहरुका बालबालिका पढ्नै चाहँदैनन् । पढ्नेलाई जन्मदर्ता नबनाइदिने कुरै होइन’, वडाध्यक्ष कोइराला भन्छन्, ‘कतिसंघसंस्थाले पनि त्यो वस्तीमा पुगेर उनीहरुलाई पढाउन क्याम्पेन पनि चलाएको थियो । तर केही पाउने बेला मात्र आउने र त्यसपछि फेरि पहिलाकै पारामा जाने गरेका छन् ।’
उनका अनुसार आमाबुबाको नागरिकता नभएका १०–१२ जना बालबच्चाको जन्मदर्ता बनाइएको छ । तर, बस्तीमा त्यो अवस्था देखिँदैन । दुई वर्षअघिसम्म यो बस्ती कमलाको बाढीले डुवान हुने गरेपनि आफूले सम्बन्धित पक्षलाई भनेर पहल गरेर निदान गरेको उनको वडाध्यक्ष कोइरालाको भनाइ छ ।