कहिलेकाहीं म यस्तो एउटा ग्रहको कल्पना गर्छु, जहाँ मान्छेहरूले आफूलाई आफैंले मात्र देख्न सक्छन् तर अरूले सक्दैनन्। यस्तो ग्रह साँच्चिकै हुन्थ्यो भने हामी कति खुशी हुन्थ्यौं होला। कसैले कसैलाई तिमी त कस्तो मोटाएको या तिमी किन दुब्लाएको भनेर टिप्पणी गर्दैनथ्यो।
कसले कस्तो लुगा लगाएको छ, कसले कुन ब्राण्डको झोला बोकेको छ, कुन ब्राण्डको जुत्ता लगाएको छ, कसको कपाल फुलेको छ, कसको तालु खुइलिएको छ, कसको अनुहार चाउरी परेको छ कसैलाई थाहै नहुने।
कस्तो रमाइलो, आफूलाई जुन कपडा सजिलो लाग्छ त्यो नफाट्दासम्म वर्षौं दले पनि हुने। कसैको बिहेमा जानुछ भने शृंगारै नगरिकन गए पनि हुने। लुगा र मेकअपको पैसा पनि बचत, तयार हुने समयको पनि बचत। ‘सो-अफ’ भन्ने शब्द नै निर्माण हुँदैनथ्यो होला।
तर विडम्बना हामी यस्तो ग्रहमा छौं, जहाँ सबैले सबैलाई देख्छौं र त सबैको लागि राम्रो देखिनुपर्छ अनि सबैलाई राम्रो बन्नुपर्छ। आफूले आफैंलाई राम्रो देखेर पुग्दैन अरूले राम्रो देख्नुपर्छ। कुनै लुगा हामीलाई सजिलो लागेर हुँदैन, हेर्नेहरूलाई सजिलो लाग्नुपर्छ।
लुगा र शृंगारको कुरा छोडौं यहाँ जन्मजात लिएर आएको बनावटको समेत टिप्पणी हुन्छ। यो अन्य विकसित देशहरूमा भन्दा नेपालमा बढी हुने कुरा हो। विकसित देशहरूमा यसलाई बडी सेमिङ भनिन्छ। तर हामीकहाँ यो ‘सन्चै छौ?’ भनेर सोधेको जत्तिकै सामान्य हो।
परम्परागत रूपमा ‘हामीले यस्तो भन्नुहुँदैन, यस्तो गर्नुहुँदैन’ भन्ने कुरालाई पाप–धर्मसँग सम्बद्ध गरिन्थ्यो। हामीले सुनेकै हौंला- सानो बच्चालाई उचालेर ‘कस्तो गह्रुङ्गो’ या ‘कस्तो हल्का’ भन्नुहुँदैन भनिन्थ्यो। आफ्नो सन्तानको तौलको बारेमा कसैले टिप्पणी गर्दा आमालाई नराम्रो लाग्छ भन्ने कुरालाई लिएर त्यो जमानाका मान्छे बरु सचेत रहेछन्।
कस्तो मोटाएको या यो त दुब्लाएछ भन्नुहुँदैन। यसको सट्टामा पहिले देख्दा भन्दा ‘अलि फेरिएछ’ या ‘अलि फरक भएछ’ भन्नुपर्छ भनेर पाका पुस्ताले भनेको सुनेकै हो। कस्तो राम्रो/राम्री भन्यो भने बच्चालाई नजर लाग्छ भनेर अझै पनि बुज्रुगहरूले मान्छन्। तर यो नजर लाग्ने, शुभ-अशुभ हुने जस्ता जति पनि मान्यताहरू छन् नि, ती सबै अन्धविश्वास नभएर तर्कसंगत छन् जस्तो लाग्छ।
कुनै पनि बच्चा बुझ्ने भइसकेपछि उसको रंग, रूप, शारीरिक बनावट बारेमा उसको अगाडि नराम्रो भनिदिंदा कालान्तरसम्म नकारात्मक प्रभाव पर्न सक्छ। उसको मनोबल कमजोर हुन्छ।
राम्रो नराम्रो मापन गर्ने यन्त्र के हो त? यसको आधार के हो? प्रायः कवि, लेखकहरूले कविता, कथामा उल्लेख गरे जस्तै रेशमी कपाल, मिलेका दाँत, ठूल्ठूला आँखा, सर्लक्क मिलेको जीउडाल, गहुँगोरो वर्ण यही हो सुन्दरताको परिभाषा?
मान्छे अनुसार सुन्दरताको परिभाषा फरक हुन सक्छ। सबैले सबैलाई हेर्ने दृष्टिकोण भिन्न भिन्न हुन्छ। कसैलाई होचो कद, मोटो तौल भएको मान्छे मन पर्न सक्छ, कसैलाई अग्लो मन पर्छ।
कसैलाई दाह्री भएको पुरुष मनपर्छ भने कसैलाई सर्लक्क सफा अनुहार। कसैलाई कसैको अनुहारले आकर्षित गर्छ भने कसैलाई कसैको बोली, व्यवहारले प्रभाव पार्छ।
प्रायः महिलाले पुरुषमा खोज्ने सुन्दरता र पुरुषले महिलामा खोज्ने सुन्दरतामा अलि भिन्नता पनि देखिन्छ। प्रायः पुरुषलाई महिलाको बाहिर देखिने सुन्दरताले झट्ट आकर्षण गर्छ भने महिलालाई पुरुषको व्यवहार, उसको काम, पेशा, आनीबानी, बोल्ने तरिका जस्ता कुराले आकर्षित गर्छ।
कोही मान्छे हेर्ने बित्तिकै मन नपरे पनि बोल्दै जाँदा संगत गर्दै जाँदा मन पर्छ। कोही झट्ट हेर्दा आकर्षक लागे पनि उसको हाउभाउ, बानी–व्यहोराको कारणले मनै नपर्ने पनि हुन्छ। मलाई राम्रो लागेको अनुहार अरूलाई नराम्रो लाग्न सक्छ। अरूलाई राम्रो लागेको अनुहार मलाई मनै नपर्ने पनि हुन सक्छ।
कसैलाई जिम–सिम गरेको, बाहुबली, सलमान खान जस्तो मन पर्छ। कसैलाई जुँगा पालेको अनिल कपुर, भुवन केसी जस्तो मन पर्छ। कसैलाई ट्याटु हानेको, कपाल पालेको, दाह्री पालेको मनपर्छ। कसैलाई अनमोल केसी जस्तै चकलेटी मनपर्छ। त्यसैले यो सुन्दरताको परिभाषा हेर्ने नजर अनुसार फरक-फरक हुन सक्छ।
सुन्दर हुनु कि सक्षम हुनु ? सुन्दर देखिनु कि स्वस्थ रहनु? यो हाम्रै रोजाइको कुरा हो। यदि हामी सक्षम छौं, आत्मनिर्भर छौं, सबैको माझमा आफ्नो कुरा निर्धक्कसँग राख्न सक्छौं, निडर छौं अनि शारीरिक र मानसिक रूपबाट स्वस्थ छौं भने हामीलाई कसैले सुन्दर देख्नुपर्ने आवश्यकता हुँदैन
हामीलाई अरूले सुन्दर मानोस् या नमानोस् हामी आफूलाई आफैंले सुन्दर मान्नु जरूरी छ जस्तो लाग्छ। हामी हरेक दिन ऐना अगाडि उभिंदा आफूलाई देखेर एउटा ऊर्जा थपियोस्। आफूलाई देखेर मन खिन्न हुने होइन कि आत्मविश्वास बढोस्।
यसो भन्दैमा म यत्तिकै राम्रो छु भनेर कपालै नकोरी जिङ्ग्रिङ्ग परेर हिंड्ने, मैलो, खजमजिएको लुगा लगाउने, च्यात्तिएको जुत्ता लगाउने भन्ने होइन। सफासुग्घर हुने, चिटिक्क परेर हिंड्ने गर्दा आफ्नो आत्मविश्वास बढ्छ। आफू जस्तो छौं त्यस्तैलाई प्राकृतिक रूपमै मेन्टेन गर्न पनि सकिन्छ।
भनिन्छ नि हामीले लुगाको इज्जत गर्न जान्यौं भने मात्र लुगाले पनि हाम्रो इज्जत राख्छ। प्रयोग गरिसकेपछि लुगाहरू फालिन्छ, गुटमुट्याएर राखिन्छ भने त्यो जतिसुकै ब्राण्डेड लुगा भए पनि त्यसले आफ्नो ब्राण्डको इज्जत राख्न सक्दैन। आफ्ना सामानहरूलाई पुन: प्रयोग गर्दा पनि नयाँ जस्तै देखिने गरी कसरी जतन गरिन्छ त्यसले पनि हाम्रो व्यक्तित्व झल्काउँछ। कहिलेकाहीं आफूलाई आफैंले म सुन्दर छैन भन्ने कारणले गर्दा पनि हाम्रो मनोबल घटिरहेको हुन्छ।
हामी प्रायः अरूको नजरबाट आफूलाई हेर्ने गल्ती गरिरहेका हुन्छौं। कहिलेकाहीं अरूको नजरमा सुन्दर देखिनको लागि आफ्नै शरीरलाई हानि पुर्याइरहेका हुन्छौं। स्लिम हुने चक्करमा शरीरै कमजोर हुने गरी डाइटिङ गर्नु, छालालाई कृत्रिम रूपबाट बदल्न अनेकौं प्रकारका सुइहरू लगाउनु, सर्जरी गराउनु। यो हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुँदैन तर सुन्दर हुन पाएपछि स्वास्थ्य जतासुकै जाओस्! यस्तो प्रवृत्ति पनि छ।
यहाँनिर मैले आफ्नै एउटा अनुभव बताउन चाहन्छु। मेरो दाँत खप्टिएको, बाङ्गोटिङ्गो छ। मलाई मान्छेहरूको सामुन्ने दाँत देखाएर हाँस्ने हिम्मत आउँदैन। मलाई प्रायः मुख छोपेर हाँस्ने बानी परिसकेको छ।
एकदिन अचानक मेरो दाँत दुख्न थाल्यो। विस्तारै सुरु भएको दुखाइले अर्को दिनसम्म सिमाना पार गरिसकेको थियो। कुनै पनि दुखाइको पीडा कस्तो हुन्छ भन्ने कुरा त्यो दुखाइको अनुभव गरिसकेको व्यक्तिलाई नै थाहा हुन्छ, त्यही माथि बंगाराको दुखाइ!
पीडाको वर्णन नै गर्न नसकिने गरी दुख्न थाल्यो। दुखाइ कम गर्ने औषधिले पनि छोएन। दाँत दुख्दादुख्दै दाँत दुखेको साइडतिरको सबै भाग दुख्न थाल्यो। रातभरि दुखेर सुत्न सकिनँ।
त्यसपछि अर्को दिन डेन्टल क्लिनिकमा गइहालें। क्याबिटी भएको रहेछ। चलनचल्तीको भाषामा भन्नुपर्दा कीराले खाएको। त्यसपछि मेरो दाँतको जरैदेखि उपचार सुरु गरियो। अलिअलि खाल्डो पर्दा नै चिकित्सककोमा गएको भए यति दुखाइ सहनुपर्ने रहेनछ।
यो थाहा भएपछि मैले सबै दाँतको स्वास्थ्य जाँच गराएँ। ६ वटा दाँतको उपचार गर्नुपर्ने भएको रहेछ। पछि दुखाइ सहनु भन्दा अहिले नै उपचार गर्छु भन्ने सोचें। तारिखमा धाएको अपराधी झैं १५ दिन जति धाएपछि ६ वटा दाँतमा जरैदेखि उपचारसँगै क्राउन पनि हालें।
घण्टौं मुख आँ गरेर मुखमा अनेकथरी पदार्थ हाल्नुपर्ने, गिजामा लठ्याउने सुई लगाउँदा अनुहारै सुन्निने।
त्यो क्रममा भोगेको पीडा त छँदैछ। दाँतको उपचारको महँगीको त कुरै नगरौं। त्यो सकिएपछि ठूलै भारी बिसाए जस्तो भयो मलाई। अन्त्यमा डेन्टिस्टले भन्नुभयो- ‘तपाइँको अगाडिको दुईवटा दाँत पनि खप्टिएको रहेछ, यसको पनि आरसीटी गरेर क्याप लगाएर सिधा पार्न सकिन्छ नि!’
त्यसपछि मैले नमस्कार गर्दै भनें- ‘ओहो, खप्टियोस्, उछिट्टिएर मुख बाहिरै निस्कियोस्, मलाई केही समस्या छैन, बस् मेरो दाँत नदुखोस्, दाँत स्वस्थ रहोस्!’
त्यतिबेला मलाई महसुस भयो कि सुन्दरता भन्दा महत्वपूर्ण त स्वास्थ्य पो रहेछ भनेर।
दाँत जस्तै गरी हाम्रो आँखा, नाक, कान पनि स्वस्थ छ भने हामी गर्व गर्नुपर्दो रहेछ भन्ने चेत भयो। ती अंगहरूको जुन काम हो त्यो काम गरिरहेका छन् त्यसैमा सन्तोष मान्नुपर्दो रहेछ भन्ने आभास भयो।
आँखालाई सुन्दर देखाउने गाजल, आइस्याडोज र मस्कारा या आँखालाई स्वस्थ राख्ने सागपात, पोषण, चश्मा आदिमा जोड दिने? छालालाई सुन्दर देखाउने केमिकलयुक्त क्रिमहरूमा या छालालाई स्वस्थ राख्ने खानपान, जीवनशैलीमा ध्यान दिने?
बाहिरी आवरणलाई स्मार्ट देखाउने महँगा लुगाहरूमा अथवा आफ्नो आत्मविश्वास बढाउने सीप, क्षमता वृद्धि लगायत सिकाइमा खर्च गर्ने ?
सुन्दर हुनु कि सक्षम हुनु ? सुन्दर देखिनु कि स्वस्थ रहनु? यो हाम्रै रोजाइको कुरा हो। यदि हामी सक्षम छौं, आत्मनिर्भर छौं, सबैको माझमा आफ्नो कुरा निर्धक्कसँग राख्न सक्छौं, निडर छौं अनि शारीरिक र मानसिक रूपबाट स्वस्थ छौं भने हामीलाई कसैले सुन्दर देख्नुपर्ने आवश्यकता हुँदैन। हामी आफूलाई आफैंले सुन्दर देखिरहनेछौं ।