कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. ३ स्थित एयरपोर्ट विगत २० वर्षदेखि बन्द छ। केही वर्षयता निर्माण कार्य पनि भइराखेको छ। एक किसिमले बेवारिसे अवस्थाको देखिने एयरपोर्टको आगनीमा गाईवस्तु चराइराखेको दृश्य पनि देखिन्छ।
२०५२ सालअघि सो एयरपोर्ट सुचारु थियो। द्वन्द्वकाल पछि पूर्णरूपमा बन्द रहेकाले सुदूरको पर्यटन व्यवसायमा निकै घाटा भएको बताउँछन् कांग्रेस केन्द्रीय सदस्य एवं भीमदत्त नगरपालिकाका पूर्वमेयर यज्ञराज जोशी। दिल्ली, हरिद्वार, लखनउलगायत भारतका ठुलासाना सहरबाट नेपाल भित्रिने पर्यटकहरूलाई महेन्द्रनगर एयरपोर्ट सहज छ। धार्मिक पर्यटकका लागि त अझ सर्वसुलभ देखिन्छ।
गत सोमबार नयाँ मन्त्रीमण्डल गठन भयो। केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय मन्त्रीमण्डलमा सुदूरपश्चिमबाट चार जना क्याबिनेटस्तरीय मन्त्री बनेको जानकारी नेपाल टेलिभिजनलगायत सञ्चार माध्यमले दिइरहेका रैवार (खबर) कञ्चनपुरको भूमिबाट अवगत भयो। नवनिर्वाचित प्रम केपी शर्मा ओलीले विश्वासको मत लिइसक्नुभयो । रमेश लेखक पार्टी सभापति शेरबहादुर देउवापछि कांग्रेसका तर्फबाट गृहमन्त्री बन्न सफल भए। यसअघि नेकपा एमालेका भीम रावल गृहमन्त्री बनेका थिए । सुदूरपश्चिमबाट परराष्ट्र मन्त्रीको पद सम्हाल्न पाउने पहिलो महिला बनिन् आरजु राणा देउवा। यसैगरी नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
नेकपा एमालेका नेता दामोदर भण्डारीले पुनः उद्योग मन्त्रालयको पदभार सम्हालेका छन्। सरसर्ती हेर्दा महाकाली अञ्चलले तीन वटा महŒवपूर्ण मन्त्रालय पाएको छ। सेती र कर्णाली अञ्चलबाट एक/एक जना मन्त्री बनेका छन्। मुगु जिल्लानिवासी ऐनबहादुर शाही वन मन्त्रालयको जिम्मेवारी पाउने भाग्यमानी कर्णाली अञ्चलका चेला बनेका छन्। उनी कुनै बेला पूर्व शिक्षामन्त्री एवं नेका कर्णालीका नेता हस्तबहादुर मल्लका स्वकीय सचिव पनि थिए।
नयाँ मन्त्रीमण्डल गठन गरिनुपूर्व सुदूरपश्चिम प्रदेशमा मुसलधारे पानी पर्यो। जसलाई आकस्मिक घटना मान्न सकिन्छ। स्थानीयको भनाइअनुसार इतिहासमा कहिल्यै पनि यति ठुलो पानी परेको थिएन। ६ सय १५ मिलीलिटर पानी पर्यो, कञ्चनपुरमा। महेन्द्रनगर बजार, भासी, वेलडाडी, शिवनगर, लालझाँडी, कृष्णपुर, गड्डाचौकी, पुनर्वास, दैजीलगायतका गाउँबस्ती र सहर पुरै जलमग्न भए। कतै रोपाइँ गरेको बिउ बगायो, कतै घरहरूमा पूर्णरूपमा क्षति पुग्यो। उता महाकाली नदीपारिका नेपाली बस्ती चाँदनी र दोधारामा अझै बढी क्षति भएछ। सयौं घरहरू बाढीमा डुबे, करोडौंको धनमाल नोक्सानी भयो।
सयौं चौपाया मरे। मानिसका लगाउने लत्ताकपडा, खाद्यान्न सामग्री बाढीले बगायो। टापुमा उभिएका मानिसजस्तै नाङ्गा देखिएका थिए, त्यहाँका नरनारीहरू भन्दै थिए स्थानीय व्यापारी जगदीश चटौत। दोधाराको क्षतिको वर्णन गरी साध्य छैन। पकाउने भाँडाकुँडा, ओछ्याउने–ओड्ने कपडा, पालेका गाईवस्तु सबै बगायो, बस्तीमा नदी पस्दा। पाँच घण्टासम्म परेको सो पानी अरू एक घण्टा मात्र थपिएको खण्डमा इतिहासमा नै अनौठो घटना सुदूरपश्चिमले बेहोर्नुपथ्र्यो भन्छन् पत्रकार चित्राङ्ग थापा।
महेन्द्रनगर सुदूरपश्चिम प्रदेशको व्यवस्थित सहर हो। तत्कालीन राजा महेन्द्रले कैलालीको टीकापुर र महेन्द्रनगरलाई देशको नमुना सहर बनाउने र बस्ती बसाल्न गुरुयोजना बनाएको इतिहास सम्झनलायक छ। यसैगरी कञ्चनपुर जिल्लाकै पुनर्वास पनि इतिहाससँग जोडिएको छ। धादिङ जिल्लाबाट बसाइँसराइका लागि गरिब र विपन्न परिवारलाई त्यस ठाउँमा निःशुल्क रूपमा जग्गा वितरण गरिएको थियो। अधिकांश तामाङ जातिका बासिन्दा रहेका छन्। पुनर्वासका जनताले पटकपटक कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलाई विजयी गराएर संघीय संसद्मा पुर्याए। यसअघि उनी परराष्ट्र मन्त्री बनेका थिए।
सीमा क्षेत्रमा भारतीय प्रहरीको ज्यादती दिन प्रतिदिन बढ्दो छ। एकातिर जंगे पिलरहरू उखेलेर नेपाली भूमि खुम्चाउने, अर्कातिर नेपाली बस्तीमा आएर लुटपाट गर्ने, नेपाली महिलामाथि अमानवीय व्यवहार गर्नेजस्ता दादागिरीजन्य कार्यहरू गरेको देखेर पुनर्वासवासी आजित भएका छन्। सीमा अतिक्रमण गर्ने भारतीय सुरक्षाकर्मीको कार्य गड्डा चौकी नाकामा पनि बढ्दो छ। नयाँ मुलुक भनेर चिनिने कैलाली कञ्चनपुरका भारतसँग सीमा जोडिएका नागरिकका समस्या र नेपाली भूमि मिचेर जंगे पिलर नेपालप्रति बढाएका घटना पुराना हुन्। साठीको दशकयता यो क्रम झन् बढ्दो छ। कैलाली कञ्चनपुरका आदिवासी चौधरीहरू र पहाडी मूलका बासिन्दाको आपसिक भाइचारा अत्यन्त राम्रो देखिन्छ। केही वर्ष पहिले टीकापुर घटना अप्रत्यासित र सोच्नै नसक्नेगरी घटेको घटना मात्र थियो। जातीयताको विभेद नयाँ मुलुकको नागरिकमा कतै देखिन्न, जुन हार्दिकता मधेस प्रदेशमा देखिन्न।
पहाडी मूलका नागरिकले मनाउने गौरा, विसुलगायतका पर्वमा चौधरीको उपस्थिति देखिनु र उनीहरूको नयाँ वर्ष माघीमा पहाडी मूलका जनसमुदायको बाक्लो उपस्थिति देखिनुलाई भाइचाराको अनुपम सम्बन्ध मान्न सकिन्छ। जसको पछिल्लो उदाहरण हो हालै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको भानुजयन्तीको अवसरमा गरेको साहित्यिक र सांस्कृतिक कार्यक्रममा असंख्यक चौधरी नरनारीको उपस्थिति र उनीहरूले देखाएको विविध सांस्कृतिक कार्यक्रम साथै थारु समुदायका एक विद्यार्थीले भानुभक्तीय रामायण पाठ गरेर सबैलाई खुसी पारेको दृश्य। जसमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी, उपकुलपति डा. टिएन जोशीलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।
कञ्चनपुरको दाँजोमा कैलालीमा बाढीको असर कम देखिन्छ। मोहना नदीको आसपासका बासिन्दालाई त प्रभाव पार्यो। रोपाइँ गर्न ठिक पारेका धानका बिउ बगायो, बस्तीमा बाढी आउँदा धेरैको धनमाल नष्ट गरिदियो। विशेषगरी न्यून आय भएका र ज्याला मजदुरी गरेर खाने परिवारलाई बढी नोक्सानी पु¥याएको बताउँछन् पत्रकार शिवराज भट्ट। सुदूरपश्चिम प्रदेश कांग्रेसका सभापति तथा पूर्व प्रम शेरबहादुर देउवाको राजनीतिक आधारभूमि हो। डडेलधुराबाट सातपटक लगातार भारी मतले विजयी देउवा पाँचपटक देशको प्रधानमन्त्री बने। कर्णाली पारीका २२ वटा पुलको शिल्यान्यास २०५२ मंसिरमा उनकै हातबाट भएको थियो। अहिले देउवा पत्नी आरजुको पनि निर्वाचन क्षेत्र कैलाली जिल्ला नै रहेकाले जनजनमा सेवामय कामहरू गर्नु जरुरी छ।
दार्चुला जिल्लास्थित लिपुलेक, लिम्पियाधुराको सीमा विवाद, नाभी, कुत्ती र गुन्जीबासीको नागरिकतासम्बन्धी समाधान, गड्डाचौकी, गौरीफन्टा, धार्चुला, रूपैडिया नाकाहरूमा भारतीय पक्षबाट नेपाली कामदारमाथि गरिने लुटपाट, अन्यायजस्ता समस्या पूर्णरूपमा बन्द गर्न भारतको उत्तराञ्चल प्रदेशसँग परराष्ट्रमन्त्रीले कूटनीतिक तवरले वार्ता गर्नु जरुरी छ। पर्यटनको प्रचुर सम्भावना बोकेको सुदूरपश्चिम प्रदेशका लागि पर्यटनमन्त्री पाण्डेले गुरुयोजना ल्याउनु जरुरी देखिन्छ।
विशेषगरी भारतीय पर्यटकलाई सुदूरपश्चिमका शक्तिपीठ र देवभूमिहरूमा पुर्याउन पाए बाह्यरूपमा मालिका, शुर्मादेवी, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी आदिको प्रचार हुनेछ। पवित्र धाम अछामको वैजनाथ, जुम्लाको चन्दननाथ, बझाङको वान्नीमस्टो, तपोवन, बैतडीको देहीमाडौं, दार्चुलाको मल्लिकार्जुन आदिको पनि प्रचार हुनेछ। योगगुरु रामदेव गत वर्ष खप्तड महोत्सवमा पुगेका थिए। त्यहाँ बसेर खप्तडबारे बुझ्दा खप्तडबाबाले भनेजस्तै यो भूमि त औषधीको जंगल पो रहेछ भनेका थिए। त्यसैले खप्तड राष्ट्रिय निकुञ्जलाई भारतसम्म मात्र होइन, विश्वमानचित्रमा परिचित गराउनु नवनियुक्त संस्कृतिमन्त्री पाण्डेको जिम्मेवारी हुन आउँछ। यसैगरी शुक्लाफाँटा, बर्दिया राष्ट्रिय निकुञ्जमा देखिने पाटे बाघ, हात्ती, गैंडालगायत जंगली जनावरको संरक्षण गर्नु जरुरी छ। कर्णाली नदीमा देखिने गोहीको अवलोकनका लागि प्रतिदिन स्वदेशी तथा विदेशी पर्यटकहरू आउने गर्छन्। यसबारे थप कार्ययोजना संघ सरकारबाट थालनी हुने कुरामा विश्वास गर्न सकिन्छ।
सुदूरको भूमिबाट काठमाडौंलाई हेर्ने दृष्टिकोण फरक छ। काली–कर्णाली प्रदेशको भाषा, साहित्य, संस्कृति फरक छ। डोट्याली भाषा, बझाङी र जुम्ली भाषामा बोल्न मन पराउँछन् यहाँका बासिन्दा। जुन शब्द देवनागरी लिपिमा लेखिएको भए तापनि पूर्वतिरका श्रोताका लागि नौलो लाग्दै आएको छ। खासमा भन्नुपर्दा केन्द्र सरकारबाट हेपिँदै आएको क्षेत्र हो यो। पटकपटक यो प्रदेशबाट प्रधानमन्त्रीको पद सम्हाल्दै आए तापनि यहाँका नागरिक अधिकारमा बत्तीमुनीको अँध्यारोमा बस्न बाध्य पारिएका देखिन्छन्।
हालका गृहमन्त्रीको पुख्र्यौली घर बैतडी जिल्लामा हो। कानुन व्यवसायीका रूपमा युवा अवस्थामा नाम कमाएका रमेश लेखक कञ्चनपुरमा बस्दै आएकाले राजनीतिक आधारभूमि कञ्चनपुर रहन गयो। नेपाली कांग्रेसका तर्फबाट लेखक र पूर्व परराष्ट्रमन्त्री एनपी साउद र प्रदेश प्रमुख वीरबहादुर बलायरलाई सुदूरपश्चिमका नागरिकले आशाको दृष्टिले हेरेका छन्। सभापति देउवा उमेरले असी पार गर्नै लाग्दा उहाँहरू तीनजनामा राजनीतिक जिम्मेवारी, यो भूमिप्रतिको सद्भाव र स्नेह थप बढेर आउनु जरुरी देखिन्छ। शान्त र निर्मल तलाउको पानीजस्तै छ यहाँको जनजीवन। यस्तो तलाउमा अपर्झट ढुङ्गा फ्याँकिदिँदा तलाउ तरंगित हुन्छ। पाँच वर्षपहिले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना र खाडी मुलुकमा गतवर्ष हमास समुहद्वारा बन्धक बनाइएका विपिन जोशीको पीडालाई सुदूरका नागरिकले भुल्न सकेका छैनन्। तलाउको पानी छचल्किरहेछ। यसैगरी कोभिडका बेला डोरी समातेर स्वदेश फर्कने क्रममा युवा जयबहादुर धामीलाई डोरी काटेर महाकाली नदीमा बगाइएको थियो।
भारतीय सुरक्षाकर्मीको उक्त अमानवीय व्यवहारप्रति सरकारले त्यसबेला खेदजनक अभिव्यक्ति पनि दिन सकेन। तीन वर्षपहिले बझाङ, बाजुरा, डोटीमा आएको बाढी पहिरोका कारण ३७ जनाको मृत्यु भएको, उर्वर भूमि बगरमा परिणत भएका घटनाबारे तत्कालीन सरकारले आश्वासनबाहेक केही गर्न सकेन। बझाङका अन्नका भण्डार मानिएका छान्ना र थलारामा सो घटनाका कारण २८ जनाको निधन भयो। पहिरोका कारण गाउँ पुरियो, घर, घट्ट, जमिन र पशु चौपाया छान्ना खोलाले बगायो। त्यो दृश्य भुलेका छैनन् त्यहाँका बासिन्दाले। देशको शान्ति सुरक्षा कायम गर्न, सीमा विवाद समाधान गर्न, पहाडी जिल्लामा खाद्यान्न अभाव कम गर्न, तराईमा बाढी पीडितको उद्धार गर्ने काममा गृहमन्त्री लेखक लागिपर्नेछन् भन्ने आशामा छन् काली–कर्णालीका जनता। यसैगरी उद्योगमन्त्री भण्डारीले देशका साना ठुला उद्योगहरू सञ्चालन गरी कच्चा पदार्थको समुचित प्रयोगगरी स्वदेशी काममा लाग्न युवाहरूलाई प्रोत्साहन गर्नेछन् भन्ने आशा गर्न सकिन्छ।
विगत ४७ वर्षदेखि देउडा गीतसंगीत र गायनका माध्यमले अनवरत रूपमा सेवा गरेबापत सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान धनगढीले यसपटक पंक्तिकारलाई नागरिक अभिनन्दन गरेकोमा समाजप्रति थप जिम्मेवारी बढेको महसुस गरेको छु। सुरुका वर्षहरूमा देउडा गीत गाएबापत भाण, बादी शब्द पाएकोमा वर्तमानमा सो संस्था र बस्ती बस्तीका श्रोताहरूबाट देउडा सम्राटको उपाधि पाएको छु। जुन उपाधि मेरा लागि नपाइसक्नुको सम्पत्ति हो।
देउडा गीत गाउँदा २०३० को दशकमा रेडियो नेपालको स्टुडियोमा धेरैपटक रोएको थिएँ। २० थरी देउडा गीतका गीति क्यासेट प्रकाशित गरी काठमाडौंबाट काली–कर्णालीको भूमिमा बोरामा राखेर पुर्याउने क्रममा नेपालगन्जको सीमा रूपैडियादेखि धनगढीको गौरीफन्टा, महेन्द्रनगरको भारतसँग जोडिएको सीमानाका गड्डाचौकीमा पुग्दा भारतीय सुरक्षाकर्मीबाट धेरै नै दुःख पाएको थिएँ।
२०५२ सालपछि कर्णाली नदीको पुल निर्माण र सुदूरपश्चिमका २२ वटा पुल बनेपछि भने काठमाडौंबाट धनगढी र महेन्द्रनगर पुग्न सहज बन्यो। २०३४ सालदेखि २०५० सालसम्म सांस्कृतिक क्रान्ति गर्ने, गायन क्षेत्रमा लागिपर्ने एक्लो व्यक्ति थिएँ। अहिले देउडा गीतको राजमार्गमा कैयौं कलाकर्मीले साथ दिइरहेछन्।