‘लौ नाति मसँग ‘सिलोके पालाखे’ छ, तिमीसँग सीप छ, लेख्नुपर्यो ।’
भूमे पूजा गर्दै गर्दा गाउँले हजुरबुवा मनिराम थामीले धेरै वर्षअघि भन्नुभएको कुरा मेरो स्मृतिमा अझै ताजै छ । उहाँ गाउँको निकै गन्यमान्य झाँक्री हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा थामी समुदायको परम्परागत वैदिक ज्ञान ‘सिलोके पालाखे’ लिपिबद्ध गर्ने उहाँको उत्कट अभिलाषा रहेछ सायद । मैले ‘हुन्छ हजुरबुबा यो काम गर्नुपर्छ’ भन्ने औपचारिक जवाफ दिएको थिएँ ।
त्यतिबेला ‘सिलोके पालाखे’ भनेको झाँक्रीहरुले फलाँक्ने केही मन्त्र होला भन्ने मेरो बुझाइ थियो । यसबारे गहिरो बोध नभएरै तत्काल गरिहाल्नुपर्छ भन्नेतर्फ दिमाग अग्रसर भएन । भौतिकवादी दर्शनको स्कुलिङबाट प्रशिक्षित भएर पनि होला यो विषयलाई त्यति गम्भीरतापूर्वक लिन सकिएन । यद्यपि यो काम कुनैबेला गर्नुपर्छ भन्ने पक्कै थियो ।
अफसोच, केही वर्षपछि मनिराम हजुरबुबा हामीमाझ रहनुभएन । उहाँले शिष्यहरुलाई आफ्नो ज्ञान कति छाडेर जानुभयो कुन्नि थाहा छैन तर ‘सिलोके पालाखे’ जोगाउने उहाँको चाहना अधुरो रहन गयो । पछि ठूला थामी, जगतमान थामी, गोपाल थामी, देवेन्द्र थामी, इन्द्र थामी लगायत अग्रजहरुले तत्कालीन जिल्ला विकास समिति र आदिवासी जनजाति आर्थिक सामाजिक सशक्तीकरण परियोजना (जनसीप)का तर्फबाट केही स्रोत जुटाएर लेखन कार्य सुरु गरेको सुनियो । तर त्यसले पुस्तकको आकार ग्रहण गर्न सकेन ।
विनकुमार थामी कालिञ्चोक गाउँपालिकाको अध्यक्ष भएको बखत गाउँपालिका स्तरमा सिलोके पालाखेको संकलन र प्रकाशन गर्ने काम भयो । त्यसमा मैले पनि आंशिक रुपमा सहभागी हुने मौका पाएँ । त्यहीबेलादेखि मैले सिलोके पालाखेबारे अलि गहिरो बोध गर्न थालें । यो थामी जातिको पहिचान र अस्तित्वसँग अभिन्न रुपमा जोडिएको विषय रहेछ ।
स्कुलमा आफ्नो धर्म–संस्कृतिबारे पढ्न अनि सिक्न पाइएन । कलिलैमा भूमिगत हुनुपरेकाले देखेर धेरै अनुभूत गर्न पनि पाइएन । अहिले जन्मदेखि मृत्युसम्मका कर्मकाण्डहरुमा मौलिकता झल्किन छाडेको छ । मौलिक संस्कृति आधुनिकताको नाममा मासिंदै गएको छ । मौलिकता जोगाउनुपर्छ भन्ने चेतना र मनोविज्ञान कमजोर भएको छ । विशिष्ट एवं मौलिक पहिचान बोकेको समुदायका लागि यो भन्दा गम्भीर चिन्ताको विषय अरु सायदै होला ।
दोलखा जिल्ला थामी जातिको उद्गम थलो । यही जिल्लामा आफ्नो मौलिकता हराए कहाँ जीवित रहला र ? यहीबाट सिलोके पालाखे संरक्षण अभियानको सुरुवात हुनुपर्छ । भेटघाट र चियागफहरुमा यस्तै यस्तै अनौपचारिक छलफल चल्थ्यो ।
यही पृष्ठभूमिमा एउटा सुखद् संयोग मानौं । आर्थिक वर्ष २०७८/०७९ मा विगु गाउँपालिका उपाध्यक्ष देविका थामीबाट सोही शीर्षकमा बजेट विनियोजन गरिएको जानकारी प्राप्त भयो । स्रोत जुटेपछि नेपाल थामी समाज दोलखाले ‘सिलोके पालाखे’ संकलनको कार्ययोजना बनायो । शतप्रतिशत थामी समुदायको बसोबास रहेको थामीचागुबाट यसको शुभारम्भ गरियो । जिल्लाका थामी बाहुल्य क्षेत्र पुगेर त्यहाँका झाँक्री (गुरु) तथा अग्रजहरुसँग भेटघाट, छलफल, बहस र अन्तरक्रिया भयो ।
‘सिलोके पालाखे’का स्रोत व्यक्ति हाम्रा झाँक्री (गुरुआपा) हरु हुन् । परापूर्वकालदेखि हालसम्म उहाँहरुको श्रुति-स्मृतिमा यो सीमित रह्यो । पूरापूर वैदिक एवं तान्त्रिक ज्ञान श्रुति-स्मृतिमा पुस्तान्तरण हुँदै पक्कै आउन सकेन । त्यसैले हालसम्म जति छ, यो पटक पनि यसलाई लिपिबद्ध गर्न सकिएन भने यो लोप भएर जानेछ । यो हाम्रो लागि अन्तिम अवसर थियो ।
तर सोचेजस्तो सजिलो भएन । झाँक्री (गुरु) हरुबाट यो सजिलै लिनसक्ने कुरा थिएन । उहाँहरु (देवडाल) खडा गरेर फलाक्नुपर्थ्यो । देवडाल स्थापना गर्न जैवी र दैवी शक्तिसँग सम्बन्धित अनेक सरदमहरु जुटाउनुपर्थ्यो । प्रत्येक झाँक्रीहरुसँग बस्दा यो अनिवार्य थियो । यो विधि पूरा नगरी झाँक्रीहरु सिलोके पालाखे फलाक्न सक्दैन थिए ।
आवश्यक सामग्रीहरु जुटाएर साइत हेरेर देवडाल स्थापना गरिन्थ्यो । त्यहाँ गुरुहरुबाट सिलोके पालाखे फलाक्न सुरु हुन्थ्यो । अडियो रेकर्ड र टाइपिङका लागि हामी तयार हुन्थ्यौं । त्यसका लागि प्रष्टसँग विस्तारै भन्न अनुरोध गर्थ्यौं । उहाँहरु आफ्नै शैलीले पूजाआराधना गर्दै फलाँक्नुहुन्थ्यो । एक त झाँक्रीहरुको भाषा नबुझिने, त्यसमाथि कम्पन सुरु भएर ढ्यांग्रो र शरीरमा सजाइएका घण्टीहरुको आवाजले न टाइपिङ गर्न सकिन्थ्यो न अडियो रेकर्ड राम्रोसँग सुनिन्थ्यो । यो विधिले काम गर्न सक्ने सम्भावना रहेन । त्यसपछि झाँक्रीहरुलाई ढ्यांग्रो नबजाई, शरीरमा घण्टीमाला नराखी फलाँक्न आग्रह गरिन्थ्यो । धेरै सम्झाएपछि केही झाँक्रीहरु तयार हुन्थे भने कोही झाँक्रीहरुले अस्वीकार गर्थे । कतिपय झाँक्रीहरु त यो ज्ञान, तन्त्रमन्त्र दिन मिल्दैन भन्थे ।
‘होइन गुरुहरु, हाम्रो भाषा, धर्म–संस्कृति, परम्परागत मूल्य मान्यता मासिन लागिसक्यो । कति त लोप भइसक्यो । अहिले जोगाउन सकिएन भने सबै लोप भएर जान्छ । तपाईंहरुकै पालामा यो जोगाउनुपर्छ । इतिहासमा तपाईंहरुको नाम लेखिने छ । आउँदो पुस्ताले तपाईंहरुको नाम सम्झिरहने छ ।’ यस्तै यस्तै कुरा गरेर हामी उहाँहरुलाई सम्झाउने कोसिस गर्थ्यौं । तर अझै उहाँहरु पूरै तयार हुनुहुन्थेन ।
जाति, धर्म–संस्कृति, परम्परालाई कतिपयले मागिखाने भाँडो बनाएको सुनिन्थ्यो । त्यसबाट पनि झाँक्रीहरुमा नराम्रो छाप परेको रहेछ सायद । कतिपयको नियत त जानाजान सिलोके पालाखे लेख्न दिनुहुँदैन भन्ने पनि देखियो । तर हामी यो पटक कुनै पनि हालतमा यो काम सिद्ध गर्ने दृढसंकल्पित मनस्थितिमा थियौं । यो नि:स्वार्थ गर्नुपर्ने काम पनि हो । जे जस्तो आरोप लगाइए पनि बदनाम र कलंकको टीका लगाएर भए पनि यो काम फत्ते गर्नुपर्छ भन्नेमा थियौं ।
त्यसैले त झाँक्रीहरुलाई सम्झाउन हरेक उपाय लगाउँथ्यौं । सगुनदेखि दक्षिणासम्म, इतिहासदेखि भविष्यसम्मका कुरा गरेर उहाँहरुलाई तयार नबनाई हुन्नथ्यो । किनकि यो पुस्ताका झाँक्रीहरुसम्म सिलोके पालाखे बाँकी थियो । अर्को पुस्तामा त्यो पुस्तान्तरण नहुन पनि सक्थ्यो । भएपनि कति नै हुन्थ्यो होला र ?
जति झाँक्रीहरुलाई ‘कन्भिन्स’ गर्न सक्यौं, उहाँहरुबाट हामीले सिलोके पालाखे उतार्यौं । चरणबद्ध रुपमा वडा, पालिका, जिल्ला हुँदै सम्भव भएसम्म देशभरका थामी झाँक्रीहरुलाई एकै ठाउँमा भेला गराएर बहस गर्यौं । विभिन्न चरणमा भएका छलफल, बहस र अन्तरक्रियाबाट संकलन भएका अडियो, भिडियो सामग्री तथा टाइप र टिपोट गरिएका साथै पहिले संकलित सामग्रीहरुमाथि अग्रज झाँक्रीहरुसँग थप मसिनो गरी अर्को चरणमा छलफल चलायौं । सामूहिक छलफलबाट सम्पादन भएका सिलोके पालाखेको पाण्डुलिपि तयार गर्यौं । यसरी निकै समयको मेहनत र संघर्षपछि सिलोके पालाखे पुस्तकको रुपमा लिपिबद्ध भयो ।
यो अहिलको अतिरञ्जित र बनिबनाउ कुरा होइन । परापूर्वकालदेखि झाँक्रीहरुले फलाँक्दै आएको तुथुरबेद हो । सिलोके पालाखेमाथि जति छलफल चल्थ्यो, मलाई झन गहिराइसम्म पुगेर बहस गर्न मन लाग्थ्यो । ताकि, यसको अन्तरवस्तु केलाउन सकियोस् । सिलोके पालाखेमा ब्रह्माण्ड, पृथ्वी, मानव जाति र मानव समाजको प्रादुर्भावका कुरा बिस्तारमा आउने रहेछ । यही क्रममा गहिरो बोध भयो कि सिलोके पालाखे सामान्य होइन रहेछ, अद्भूत ज्ञान रहेछ । जीवनदेखि मृत्युसम्म थामी जातिले अवलम्बन गर्दै आएको परम्परागत वैदिक ज्ञान, मूल्य मान्यता रहेछ । जीवनदर्शन, जीवनपद्धति र जीवनशैली रहेछ । भाषा, धर्म–संस्कृति रहेछ । जीवन विज्ञान रहेछ ।
अध्यात्म र भौतिक विज्ञानबारे संसारमा ठूलो बहस छ । यिनलाई विपरीत ध्रुवमा हेरिन्छ । एकअर्कालाई निषेध गरिन्छ । तर सिलोके पालाखेभित्र अध्यात्म र विज्ञानको गजबको संयोजन र समिश्रण रहेछ । यसको अध्ययन गर्दै जाँदा भौतिक विज्ञान र अध्यात्म परिपूरक लाग्छ । अध्यात्मभित्र विज्ञान र विज्ञानभित्र अध्यात्म छ भन्ने मान्यता सिलोके पालाखेले बोकेको छ । मानव जाति र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध छ । प्रकृतिविना जीवन असम्भव छ । वातावरण सुशासन, जैविक विविधता, पर्यावरणको पूजा गर्नुपर्छ भन्ने कुरा सिलोके पालाखेमा प्राचीनकालमै प्रष्ट्याइएको रहेछ ।
मानव सभ्यताको विकास र बिस्तारका क्रममा पूर्वजहरुले ब्रह्माण्ड, पृथ्वी, मानव समाज र प्रकृतिको गहिरो अध्ययन गरेका रहेछन् । त्याग, तपस्या, योग तथा ध्यान गरेका रहेछन् । सोही साधना र अध्ययनबाट प्राप्त ज्ञान हो सिलोके पालाखे ।
जे होस् आफ्नो समुदायको सिलोके पालाखे जीवित राख्न सकिएकोमा खुसी र गौरव लागेको छ । यो पुस्तक लेखनका क्रममा मनिराम हजुरबुबा हुनुभएको भए सायद अर्कै आनन्दको अनुभुति हुन्थ्यो । खैर, उहाँको इच्छा पनि पूरा भए झैं लागेको छ । अब सिलोके पालाखेको कार्यान्वयन र पुस्तान्तरणको चुनौतीपूर्ण कार्यभार पूरा गर्ने दायित्व हाम्रो काँधमा आएको छ ।
(लक्ष्मण थामी ‘सिलोके पालाखे‘का संकलक, लेखक तथा संयोजक हुन् ।)