सिटीमा ग्वार्डिवाला युगको अन्त्य सुरु भएको हो ?

सिटीमा ग्वार्डिवाला युगको अन्त्य सुरु भएको हो ?


२५ कात्तिक, काठमाडौं । एक गोलको अग्रता लिइसकेको म्यानचेस्टर सिटी शनिबार राति ब्राइटनसँग २–१ ले पराजित भयो । २३ औं मिनेटमा अर्लिङ हालाण्डको गोलबाट अग्रता लिएको सिटीले दोस्रो हाफको अन्तिमतिर दुई गोल खान पुग्यो ।

लगातार चार खेलमा हारेको सिटीका प्रशिक्षक पेप ग्वार्डिवालाले चार वर्षअघिको विषय कोट्याए । क्लबले कठिन चुनौती सामना गरिरहेको हो भन्ने प्रश्नलाई उनले भने, ‘चार वर्षअघिको सिजनमा पनि हामीले सुरुका १३ खेलमा ६ मा मात्रै जित निकालेका थियौं । प्रारम्भिक चरणमा लिग लिडरहरु हामीभन्दा ५ अंकले टाढा थिए । त्यसपछि हामीले लगातार १५ खेलसम्म जित्दै उपाधि चुमेका थियौं ।’

प्रिमियर लिगको सिजन २०२०/२१ को १३ खेल सकिँदासम्म म्यानचेस्टर सिटीको नतिजामा चित्त बुझाउन सकिने अवस्था थिएन । २ मा हार र ५ मा बराबरी खेल्दै सिटीले ६ खेलमा मात्रै जित निकालेको थियो ।

तर त्यसपछि सिटीको प्रदर्शन अविश्वसनीय रह्यो । १२ अंकले म्याचनेस्टर युनाइटेडलाई पछि पार्दै सिटीले ८६ अंकका साथ प्रिमियर लिगको उपाधि जित्यो । सिटीले यस्तो कमब्याक गर्‍यो कि फुत्किसकेको उपाधि रक्षा गर्‍यो, प्रशिक्षक पेप ग्वार्डिवाला नायक ठहरिए ।

अहिले पनि ठीक त्यस्तै

अहिलेको सिटी र ग्वार्डिवालाले इतिहास दोहोर्‍याउलान् भनेर विश्वास गरिहाल्ने अवस्था छैन । पछिल्ला केही नतिजा केलाउने हो भने ग्वार्डिवाला अहिले सबैभन्दा खराब समयसँग जुधिरहेका छन् ।

उनले प्रशिक्षकको जिम्मेवारी सम्हालेदेखि सिटीले लगातार ४ खेल हारेको यो नै पहिलो पटक हो । ग्वार्डिवालाकै १७ वर्षको प्रशिक्षण करिअर हेर्ने हो भने पनि उनका लागि लगातार ४ खेल हारेको यो नै पहिलो रेकर्ड हो । सिटीको इतिहासमा १८ वर्षपछि लगातार ४ खेल हारेको पनि पहिलो रेकर्ड हो ।

शनिबार राति अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि त्यो पर्याप्त हुन सकेन । ब्राइटनका लागि ७८ औं मिनेटमा जाओ पेड्रो र ८३ औं मिनेटमा माट ओरिल्लीले गोल गरेपछि लगातार ४ खेल हार्दै ग्वार्डिवालाको टिम सिटीले खराब रेकर्ड राख्यो ।

सन् २०२१ पछि पहिलो हाफमा अग्रता लिएको प्रिमियर लिगको खेलमा सिटीले हारेको यो पहिलो पटक हो । यसअघि ६ नोभेम्बरमा सिटीले युईएफए च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब स्पोर्टिङसँग ४–१ को हार ब्यहोरेको थियो ।

४ मिनेटमै फिल फोडेनको गोलमा अग्रता लिए पनि सिटी सम्हालिन सकेन । स्पोर्टिङको जितमा भिक्टर ग्योकोर्सले त ह्याट्रिक नै गरे । सिटीका स्टार हालाण्ड भने पेनाल्टीमा समेत चुकेका थिए ।

स्पोर्टिङसँग खेल्नुअघि प्रिमियर लिगमा लगातार २ हार ब्यहोरेकाले पनि सिटीका खेलाडीहरू दबाबमा थिए । स्पोर्टिङसँग खेल्नु ४ दिनअघि २ नोभेम्बरमा बर्नमाउथमसँग २–१ गोल अन्तरले सिटी पराजित भएको थियो । यसको २ दिनअघि ३१ अक्टोबरमा प्रिमियर लिगमै टोटनहामसँग सिटीले २–१ कै हार ब्यहोरेको थियो ।

पछिल्ला ४ खेलमा १० गोल खाएको सिटीले जम्माजम्मी ४ गोल मात्रै गरेको छ । शनिबारको हारपछि ग्वार्डिवालाको शारीरिक हाउभाउले समेत उनी अहिले संकटसँग जुधिरहेको संकेत गरेको थियो । सिटीको लगातार ४ खेलमा हार मात्रै होइन, केही तथ्यांक केलाउँदा पनि ग्वार्डिवाला युग संकटमा पर्न थालेको प्रष्ट देखिन्छ ।

सिटीको समस्याहरु अहिले मैदानका हरेकजसो भागमा देखिन थालेका छन् ।

अघिल्लो सिजनसँग सिटीको अहिलेको तथ्यांकहरु तुलना गर्ने हो भने धेरै तलमाथि हुन्छ । गत सिजनसँग तुलना गर्दा सिटीको प्रति खेल औसत गोल २.५३ हुन आउँछ । जारी सिजन भने २ मात्रै छ ।

जबकी गोलका लागि प्रहार बढी भएको छ । सिटी यो सिजन मुख्यत: हालाण्डमा निर्भर छ । तर समस्या के देखिएको छ भने आफूले पाएको धेरै अवसर उनले सदुपयोग गर्न सकेका छैनन् ।

अघिल्लो सिजन प्राप्त अवसरमध्ये औसतमा ३८ प्रतिशतलाई गोलमा परिणत गरेका हालाण्ड यो सिजन २९.८ प्रतिशत अवसरमा मात्र सफल देखिएका छन् ।

यससँगै सिटी अघिल्लो सिजन भन्दा बढी प्रहार सामना गरिरहेको छ । अघिल्लो सिजन सिटीले प्रति खेल औसतमा ०.९२ गोल खाएको थियो, अहिले त्यो प्रतिशत बढेर १.१७ मा पुगेको छ ।

किनकी सिटीको डिफेन्समा समस्या छ । ब्राइटनले त्यसको फाइदा पनि उठायो । ब्राइटनले सिटीको पोष्टमा जति पनि आक्रमण गर्‍यो, अधिकांशजसो बाँयाँ साइडतर्फ थिए । किनकी यसै सिजन डेब्यू गरेका बाँया तर्फका विंगर डिफेन्डर रिको लुइज भने आफ्नो पोजिसन छाडेर धेरैजसो समय मिडफिल्डमा पुगिरहेका हुन्थे ।

रिकोको बाँया साइडतर्फबाट सिटीको पोस्टमा ४४.९ प्रतिशत अट्याकिङ भइरहेको थियो । जबकी काइ वाकरको दायाँ साइडतर्फबाट २९.९ र मिडबाट २८.२ प्रतिशत आक्रमण भएको थियो ।

रोड्रीको अभाव पनि हो ?

सिटीमा देखिएको खराब लयको कारणमध्ये एक रोड्रीलाई लिने गरिन्छ । डिफेन्स लाइनदेखि मिडफिल्ड र गोल गर्न पनि उत्तिकै माहिर रोड्री चोटग्रस्त भएर मैदान बाहिर छन् । उनी सिजनभर खेल्ने छैनन् ।

के भन्ने गरिन्छ भने रोड्रीको अनुपस्थिति बिना सिटीलाई पुरानै लयमा ल्याउनु ग्वार्डिवालालाई असम्भव जस्तै छ । गत सिजन समग्र प्रतियोगितामा गरी रोड्रीले ५३ खेल खेलेका थिए । जसमध्ये ३९ मा जित १३ मा बराबरी र एकमा मात्रै रोड्रीले हार ब्यहोरे ।

सिटीमा ग्वार्डिवाला युगको अन्त्य सुरु भएको हो ?

५३ खेल खेल्दा एकमा मात्रै हार ब्यहोरेका रोड्री गत सेप्टेम्बरमा आर्सनलविरुद्धको खेलमा घुडाँको लिगामेन्टमा चोट बोकेर मैदान बाहिर छन् ।

रोड्री बिना अहिले सिटीले २४ खेल खेलिसकेको छ । जसमा १४ मा जित २ मा बराबरी र ८ मा हार ब्यहोरेको छ । बालोन डी’ओर विजेता रोड्रीको उपस्थितिमा सिटीको जित प्रतिशत ७३.६ थियो तर अहिले उनको उपस्थिति बिना सिटीको जित प्रतिशत जम्मा ५८.३ प्रतिशत छ । अर्थात् रोड्री बिना सिटीको जित १५ प्रतिशतले घटिसकेको छ ।

सिटीका पूर्वडिफेन्डर मिका रिचर्डसले म्याच अफ द डेमा बोल्दै भनेका छन्, ‘व्यक्तिगत रुपमा अहिले टिममा फलानोको कमजोरी भन्ने भन्दा पनि जब युरोपको उत्कृष्ट मिडफिल्डर रोड्रीलाई टिमले गुमाउँछ भने यस्ता समस्याहरु देखा पर्छन् । टिममा तनाव देखिन्छ ।’

अझ इंग्ल्याण्डका पूर्वमिडफिल्डर जेमी रेडक्नापले त रोड्रीले खेलेको भए सिटीले अहिले लगातार ४ खेल नै नहार्नेसम्म प्रतिक्रिया दिएका छन् । जेमीले स्काई स्पोर्टससँग भनेका छन्, ‘रोड्रीले खेलेको भए सिटीले यी ४ खेल गुमाउने नै थिएन ।’

यसका साथै डिफेन्डर रुबेन डायस, जोन स्टोन्स, जेरेमी डोकु, ज्याक ग्रिलिस, ओस्कर बब घाइते भएर अहिले टोली बाहिर छन् । सेन्टर ब्याक नाथन एके र म्यानुअल अकान्जी बेन्चका लागि मात्र पर्याप्त थिए । त्यसैले १९ वर्षीय डिफेन्डर जाहमाई सिम्पसन पुसेलाई पहिलो रोजाइमा डिफेन्सको जिम्मा दिइएको थियो । तर सिटीको मिडफिल्डसँगै डिफेन्स लाइनमा पनि समस्या देखिएको छ ।

ग्वार्डिवालाले दिनु जति दिइसके

फ्रेबुअरी २०१६ मा ३ वर्षका लागि सिटीले ग्वार्डिवालालाई अनुबन्ध गरेको थियो । २०१६/१७ मा तेस्रोमा सिजन सकाएका ग्वार्डिवालाले त्यसपछि प्रिमियर लिगको उपाधिमा कब्जा जस्तै गरे ।

त्यसयताको ७ मध्ये ६ सिजनको उपाधि सिटीले जित्यो । सिजन २०१९/२० को उपाधि मात्रै सिटीलाई पछि पार्दै लिभरपुलले जितेको थियो । त्यसयता लगातार चार सिजन उपाधि जितेर रेकर्ड नै बनायो ।

सिटीमा ग्वार्डिवाला युगको अन्त्य सुरु भएको हो ?

सिटीको इतिहासमा ग्वार्डिवालाले नै पहिलो पटक च्याम्पियन्स लिगको उपाधि दिलाए । ६ प्रिमियर लिग, २ एफए कप, ४ लिग कप, युईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि ग्वार्डिवालाले दिलाए ।

एउटा क्लबले जित्नुपर्ने सबै उपाधि ग्वार्डिवालाले सिटीलाई दिलाइसके । यसरी उपाधि नै उपाधिले घेरिएका ग्वार्डिवालाले पनि घुमाउरो रुपमा आफ्नो संकट आएको विषय स्वीकारिसकेका छन् ।

ब्राइटनसँग खेल हारेपछि उनले भने, ‘हामीले ६ वटा उपाधि उपचालिसकेपछि हुनसक्छ, अर्को कुनै टोली योग्य भयो होला । फुटबल सधैं घाम उदाएजस्तो पनि होइन । खेलमा तलमाथि भइरहन्छ ।’

अझ ग्वार्डिवालाले कतिपयले आफ्नो युगको अन्त्य होस् भनेर चाहेको समेत बताएका छन् ।

बीबीसी रेडियो ५ सँग ग्वार्डिवालाले भने, ‘आज पत्रकार सम्मेलनमा मलाई यो युगको अन्त्य हो कि भनेर सोधियो । मलाई थाहा छ, मानिसहरु यो चाहन्छन्, म धेरै वर्षदेखि यसको गन्ध थाहा पाइराखेको छु ।’

सिटीमा ग्वार्डिवाला युगको अन्त्य सुरु भएको हो ?





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School